काठमाडौं । देशभरका विभिन्न राष्ट्रिय गौरवका तथा अन्य ठूला सडक आयोजनाहरूमा उल्लेखनीय प्रगति भएको छ । अर्थमन्त्रीले विष्णु पौडेलले प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार मध्यपहाडी लोकमार्गको
कुल लम्बाइ १ हजार ८ सय ७९ किलोमिटरमध्ये २०८१ सालको फागुनसम्म १ हजार ४ सय ६३ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । यस अवधिमा १ सय ३७ पुलमध्ये १०७ पुल निर्माण सम्पन्न भएका छन् ।
यस्तै, हुलाकी लोकमार्गको कुल लम्बाइ १ हजार ८ सय ५७ किलोमिटरमध्ये १ सय २ सय ९१ किलोमिटर सडक कालोपत्रे भएको छ । यसअन्तर्गत २ सय ५० पुलमध्ये १ सय ४२ पुलको निर्माण सम्पन्न भएको छ ।
यसैगरी उत्तर-दक्षिण कालीगण्डकी करिडोरको कुल लम्बाइ ९ सय ४४ किलोमिटरमध्ये गैंडाकोट-राम्दी-मालढुङ्गा खण्डमा १ सय ९५ किलोमिटर सडक कालोपत्रे भइसकेको छ भने मालढुङ्गा-बेनी-जोमसोम-कोरला खण्डमा ६५ किलोमिटर कालोपत्रे, ८७ किलोमिटर ग्राभेल, र १३ नयाँ पुल निर्माण सम्पन्न भएका छन् ।
कर्णाली करिडोरको कुल लम्बाइ २ सय ६९ किलोमिटरमध्ये २६८.३ किलोमिटर ट्र्याक निर्माण भइसकेको छ । २० किलोमिटर ग्राभेल, २ पुल निर्माण भएका छन् । लालिबगर–दुल्लिकुना र घाटपारीचौर-भुक्वाखोला खण्डमा १७.५४ किलोमिटर नयाँ ट्रयाक निर्माण गरिएको छ ।
यस्तै, कोशी करिडोरको कुल लम्बाइ १ सय ६२ किलोमिटरमध्ये ८९ किलोमिटर ग्राभेल, ५ किलोमिटर पक्की सडक र ११ पुल निर्माण सम्पन्न भएका छन् । च्याम्ताङ–घोङ्घप्पा खण्डमा १०.११ किलोमिटर ट्र्याक निर्माण सम्पन्न भएको छ ।
मदन भण्डारी लोकमार्गको कुल लम्बाइ १ हजार ३ सय ९० किलोमिटरमध्ये ३ सय ३९ किलोमिटर सडक कालोपत्रे गरिएको छ भने १ सय ८५ पुलमध्ये १ सय ३३ पुलको निर्माण सम्पन्न भएको छ ।
गल्छी-त्रिशुली-मैलुङ-स्याफ्रुवेशी-रसुवागढी सडकको ८२ किलोमिटरमध्ये ३९ किलोमिटर सडक कालोपत्रे र २२ पुल निर्माण सम्पन्न भएका छन् ।
पूर्व-पश्चिम लोकमार्ग (नारायणघाट–बुटवल) १ सय १३ किलोमिटरमध्ये २८.६८ किलोमिटर सडक चार लेन र ३३.७० किलोमिटर दुई लेनमा कालोपत्रे गरिएको छ भने यस खण्डमा ४१ सामान्य पुल र ७ मुख्य पुल निर्माण सम्पन्न भएका छन् ।
कञ्चनपुर-कमला सडक खण्डमा ६३.८३ किलोमिटर सडक दुई लेनमा कालोपत्रे गरिएको छ ।
यस्तै, मुग्लिन–पोखरा सडक ८०.३३ किलोमिटरमध्ये ४९.४० किलोमिटर चार लेन र १७.१४ किलोमिटर दुई लेन सडक कालोपत्रे गरिएको छ ।
काठमाडौं-तराई-मधेश द्रुतमार्गको निर्माणाधीन ७ सुरुङमध्ये हालसम्म ४ सुरुङ निर्माणाधीन छन् भने बाँकी ३ सुरुङको डिजाइन तथा तयारी भइरहेको छ । आयोजना अन्तर्गत ८९ पुलमध्ये ८५ पुलको ठेक्का सम्झौता भई निर्माण कार्य सुरु भएको छ ।