छ्याङ्दी हाइड्रोले जेठ २३ गतेदेखि हकप्रद सेयर बिक्री गर्ने, कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । छ्याङ्दी हाइड्रोपावरले जेठ २३ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँको १ सय प्रतिशत अर्थात् हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर बिक्री गर्न लागेको हो । 

कम्पनीले ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अकित मूल्य दरका ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । हकप्रद निष्काशन कम्पनीको चुक्ता पुँजी ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुग्नेछ ।

हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले जेठ २ गते बुकक्लोज गरेको थियो । त्यसैले जेठ १ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कायम सेयरधनीहरूले कम्पनीको सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको सेयरमा लगानीकर्ताहरूरूे असार १२ गतेसम्म आवेदन दिन सक्नेछन् । 

कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीको सेयरमा लगानीकर्ताहरूले बिक्री प्रबन्धकसँगै ग्लोबल आइएमई बैंकको बेसीशहर, सुन्दरबजार-६ मिलनचोक, भोर्लेटार-८ बसपार्क, सिउँडीबार सुन्दरबजार-९, उदिपुर र दोर्दी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै, सिआस्बा सेवामा सहभागी बंक तथा वित्तीय संस्थाबाट र सिडिएस एण्ड क्लियरिङ्गले निर्माण गरेको मेरो सेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

इक्रा नेपालले कम्पनीलाई इक्रा एपी इस्यूअर रेटिङ्ग बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
 

Share News