
काठमाडौं । कुनै बेला वन्यजीवन पर्यटन (वाइल्डलाइफ टुरिज्म) का लागि संसारमा अफ्रिकापछि नेपालको नाम आउँथ्यो । त्यो ‘उपाधि’ ले मुलुकको पर्यटन उद्योगलाई एउटा राम्रै उचाइमा पुर्याएको थियो ।
तर, यो उचाइलाई नेपालले केही दशकमात्र कायम राख्न सक्यो । जब चितवन राष्ट्रिय निकुञ्ज भित्रबाट सात उत्कृष्ट रिसोर्टलाई सरकारले बाहिर निकाल्यो, त्यसपछि भने नेपालको वाइल्डलाइफ टुरिज्ममा एकखालको ‘सेटब्याक’ आइलाग्यो ।
अहिले भने बिस्तारै त्यही उपाधि उचाल्न नेपालले वाइल्डलाइफ टुरिज्ममा भरमग्दुर प्रयास जारी राखेको छ । यसमा सरकारदेखि निजी पर्यटन व्यवसायी दिलोज्यानले लागिपरेका छन् ।
आखिर, नेपालको वाइल्डलाइफ टुरिज्मको ताजा अवस्था कस्तो छ त ? यसबारे विस्तृतमा चर्चा गरौं ।
अहिलेलाई भने वाइल्डलाइफ टुरिज्ममा केही आशाका किरण पलाएका छन् । पछिल्लो समय वाइल्डलाइफ टुरिज्ममा सुधार देखिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा सन् १९६४ मा खुलेको टाइगर टप्स होटलले वाइल्डलाइफ टुरिज्म भित्र्याएको थियो । टाइगर टप्स होटल चितवन राष्ट्रिय निकुञ्ज स्थापना हुनुअघि नै सञ्चालनमा आएको थियो ।
देशभरि राष्ट्रिय निकुञ्ज, आरक्षजस्ता संरक्षित क्षेत्र स्थापना भएपछि वाइल्डलाइफ टुरिज्मका लागि एउटा बिलयाे आधार स्तम्भ खडा भएको हो । अहिले नेपाल घुम्न आउने करिब ६० प्रतिशत पर्यटक वाइल्डलाइफ टुरिज्माा संलग्न हुन रूचाउँछन्। वाइल्डलाइफ टुरिज्मअन्तर्गत जीप सफारी, हात्ती सफारी, जङ्गलमा पैदल यात्रा, मचानमा बसेर वन्यजन्तु अवलोकन, चरा अवलोकन, डुङ्गा सफारी र शासनिक शिकार (ट्रफि हन्टिङ) पर्छन् ।
चितवनमा रहेको मचान वाइल्डलाइफ रिसोर्ट सञ्चालक प्रकाश श्रेष्ठ वाइल्डलाइफ टुरिज्ममा अहिले धेरे ठूलो परिवर्तन आएको बताउँछन् । उनका अनुसार पहिले वाइल्डलाइफ टुरिज्म राष्ट्रिय निकुञ्जभित्र मात्रै केन्द्रित थियो । अहिले निकुञ्ज वरिपरि धेरै होटल तथा रिसोर्ट निर्माण भएका छन् ।
‘अहिलेको अवस्थामा वाइल्डलाइफ टुरिज्म क्वान्टिटी होइन, क्वालिटीमा जानुपर्छ,’ होटल व्यवसायीहरूको छाता संगठन होटल एसोसिएसन नेपाल (हान) का पूर्वअध्यक्ष समेत रहेका श्रेष्ठ भन्छन्, ‘पहिले जब सातवटा होटल राष्ट्रिय निकुञ्जभित्र थिए, तब हामी अफ्रिकाको वाइल्डलाइफ टुरिज्म पहिलो र हामी दोस्रो स्थानमा थियौं । पछिल्लो समय ती होटलहरूको लिज रिन्यू हुन सकेन । र, त्यसपछि भित्रका होटल बाहिर आए । त्यसले पनि त्यहाँको टुरिज्ममा प्रभाव पार्यो ।’
श्रेष्ठकै मचान वाइल्डलाइफ रिसोर्ट पनि निकुञ्जबाट बाहिर निकालिनेमा परेको थियो ।
विगतमा ठूलो संख्यामा पर्यटक व्यवस्थापन गर्ने पहिलो स्थानमा चितवन सौराहा थियो । ‘मास टुरिज्म’ व्यवस्थापन गर्नेमा राष्ट्रिय निकुञ्ज वरिपरि वाइल्डलाइफ टुरिज्म गतिविधि सञ्चालन भएका होटल तथा रिसोर्ट हुन् । त्यसबेला सौराहामा नारायणी सफारीसहित सात होटल चितवन राष्ट्रिय निकुञ्जभित्र थिए । बढी पैसा लिएर सञ्चालन गर्ने एउटा रिसोर्ट भने राष्ट्रिय निकुञ्जभित्र थियो । तर, अधिकांश पर्यटकको खर्च चाहिँ सौराहामा हुन्थ्यो । त्यो त्यसरी नै चलिरहेको थियो ।
‘जब निकुञ्जभित्रका होटलहरूको लिज रिन्यू हुन सकेन, त्यसपछि भित्रका होटल बाहिर आए,’ श्रेष्ठ भन्छन, ‘अरू विभिन्न ठाउँ जस्तै मेघौली, जगतपुर, सौराहा र नवलपरासी साइडमा पनि धेरै होटलहरू आए । एक किसिमले यो पनि ठिकै हो ।’
अहिले अरू पर्यटन जस्तो वाइल्डलाइफ टुरिज्म ‘मास’ मा व्यवस्थापन गर्न नसकिने श्रेष्ठ बताउँछन् । ‘जति होटल बाहिर खोले पनि ती होटलमा पुग्ने पर्यटक जाने त निकुञ्जभित्र हो, अब सौराहामै २ सय बढी होटल छन्,’ उनी थप्छन्, ‘मास टुरिज्मलाई थेग्न निकुञ्जले सक्दैन, किनभने त्यहाँ गाडी चल्नुपर्यो, डुंगा चल्नुपर्यो, मान्छे पनि हिँड्नुपर्यो, त्यसले गर्दा कन्ट्रोल मेकानिज्म सरकारले गर्नुपर्ने हुन्छ ।’
श्रेष्ठका अनुसार निकुञ्जबाट होटल बाहिर आइसकेपछि त्यसको प्रभाव अहिलेसम्म परिरहेको छ । ‘अलिकति बढी पैसा तिर्ने क्वालिटीको वाइल्डलाइफ टुरिज्म थियो,’ उनी भन्छन्, ‘त्यहाँ भित्रका होटल अन्तर्राष्ट्रिय स्तरका थिए र ती नेपाललाई चिनाउने महत्वपूर्ण गन्तव्य थिए भन्ने कुरा सरकारले बुझेन । यो हाम्रो प्रडक्ट पर्यावरण र वातावराण्मा आधारित थियो ।’
पहिले निकुञ्जभित्रका होटलले जे योगदान गरेका थिए, त्यो अहिलेका जतिसुकै लक्जरी होटलले पनि गर्न नसक्ने उनको भनाइ छ । ‘लक्जरीको कुनै लिमिटेसन नै छैन, संसारभरिका सबै टुरिस्ट यहाँका लक्जरी होटलमा बस्ने भनेर आउँदैनन्,’ श्रेष्ठ भन्छन्, ‘उनीहरू यहाँ आउने भनेको वातावरण र पर्यावरण हेर्न हो । निकुञ्जभित्रैबाट जुन वातावरण देखिन्छ, त्यो कुनै पनि बाहिरका लक्जरी होटलले पूरा गर्न सक्दैनन् ।’
वाइल्डलाइफ टुरिज्मलाई सरकारले छुट्टै स्थान दिनुपर्ने श्रेष्ठ बताउँछन् । उनका अनुसार पहिला पहिला पर्यटकहरू वाइल्डलाइफ टुरिज्म हेरेर पछिमात्रै फुर्सदको समयमा पोखरा, काठमाडौं, लुम्बिनी जाने गर्थे । पहिला वाइल्डलाइफ नेपालको सबैभन्दा ठूलो गन्तव्य थियो ।
कमजोर पूर्वाधारले समस्या
विगतमा वाइल्डलाइफ टुरिज्ममा विदेशी पर्यटकको हिस्सा बढी हुन्थ्यो । तर, अहिले यसमा बिस्तारै परिवर्तन आउन थालेको छ । वाइल्डलाइफ टुरिज्ममा अब स्वदेशी पर्यटक संख्या बढिरहेको छ ।
पहिलेको हिसाबमा अहिले धेरैमा घुमघाम गर्नुपर्छ भन्ने सोच आइसकेको मचान वाइल्डलाइफ रिसोर्ट सञ्चालक श्रेष्ठ बताउँछन् । विदेशीले तिर्न नसक्ने मूल्य तिरेर स्वदेशीले घुम्ने गरेको श्रेष्ठको भनाइ छ ।
‘विदेशी पर्यटक कम देखिनुको कारण हाम्रो पूर्वाधार कमजोर हुनु पनि हो,’ उनी भन्छन्, ‘काठमाडौंबाट पोखरा जान, चितवन जान, चितवनबाट नवलपरासी जान कयौं घन्टा लाग्छ, यतिका वर्षसम्म एउटा राम्रो बाटो बन्न नसकेको अवस्था छ, यसमा बाधक हाम्रो पूर्वाधार देखिएको छ ।’
पहिला निकुञ्जभित्र अवस्थित होटलहरूलाई नै हात्ती सफारी गराउने अनुमति थियो । बाहिरका होटलाई थिएन । तर, अहिले निकुञ्जभित्र हात्ती सफारी गराउन पाइँदैन ।
‘त्यहाँका होटलहरू बन्द भएपछि कुनै पनि बाहिरका होटलहरूको हात्ती कहीँ लैजान दिइएको छैन, जुन एक किसिमले हेर्दा ठिकै पनि हो,’ श्रेष्ठ भन्छन्, ‘पहिलो त हात्ती पाल्नु धेरै महँगो हुन जान्छ, अर्को हत्तीलाई चेन गरेर राख्नु हुँदैन भनेर जनावरवादी संस्थाले पनि विरोध गरे, त्यसरी राख्दा यहाँ आउने टुरिस्टले पनि त्यही हिसाबले हेर्छन् र आलोचना हुन्छ, त्यसरी नराखे हात्तीले क्षति पुर्याउँछ ।’
अहिले हात्ती सफारीको सट्टा जीप सफारी, डुंगा सफारी, जंगल वाक गर्न पाइन्छ ।
वाइल्डलाइफ टुरिज्ममा सरकारले दिएन चासो
वाइल्डलाइफ टुरिज्म विकासका लागि सरकारले खासै सहयोग गर्न नसकेको श्रेष्ठको अनुभव छ । ‘सरकारले बुझेकै छैन कि वाइल्डलाइफ टुरिज्म, हामीसँग धेरै ठूलो सामुदायिक वन, राष्ट्रिय निकुञ्ज, हेरिटेज साइट छन्,’ उनी भन्छन्, ‘हरेक प्रकारका पर्यटनको आनन्द लिन पाइन्छ, हामीले व्यवस्थित गर्न सक्ने हो भने वाइल्डलाइफ टुरिज्मबाट नै ठूलो समृद्धि हासिल गर्न सकिन्छ ।’
अहिलेको अवस्थामा वाइल्डलाइफ टुरिज्म ‘डाइर्भट’ हुन लागेको जस्तो देखिने श्रेष्ठ बताउँछन् । ‘जसरी म गाउँमा होटल खोलेर बसेको छु, निकुञ्जभित्रको जुन चार्म छ त्यो मैले चाहेर पनि दिनै सक्दिनँ,’ उनी भन्छन्, ‘यसबारे सरकारले सोच्नुपर्ने हुन्छ, किनभने, अफ्रिकामा एक रातको १५ सय देखि २ हजार डलरसम्म कोठा बिक्री भइरहेको छ, यो भनेको होटलले पाउने फाइदा होइन । सरकारले ट्याक्समा पाउने हो ।’
श्रेष्ठका अनुसार हाम्रो देश जंगलमा अफ्रिकाभन्दा पनि धनी छ । देशमा विभिन्न किसिमका जंगल छन् । हामीकहाँ भन्दा अफ्रिकामा जनावरको संख्या धेरै छ । तर, प्रकृतिले दिएका वस्तुको हामीले राम्रोसँग सदुपयोग गर्न सकेका छैनौं । पहिला वाइल्डलाइफ टुरिज्ममा दोस्रो नम्बरमा गनिने नेपाल अहिले हराइसकेको छ ।
वाइल्डलाइफ टुरिज्ममा निजी क्षेत्रले लाखौं, करोडौं रुपैयाँ खर्च गरेको श्रेष्ठ बताउँछन् । उनका अनुसार निजी क्षेत्रले होटल बनाउन सक्छ, स्पा, स्विमिङ पुल बनाउन सक्छ । अरू पर्यटनका गतिविधि गर्न सक्ला । तर, पूर्वाधार निर्माण सरकारले गर्नुपर्छ । सरकारले बनाएका नीति नियम पर्यटनमैत्री हुनुपर्छ । सरकारले गर्न सक्ने पनि गरेको छैन । पर्यटनमा निजी क्षेत्रको योगदान सह्रानीय छ ।
चितवनका पर्यटन व्यवसायी के भन्छन् ?
होटल एसोसिएसन नेपाल (हान)-चितवन च्याप्टरका पूर्वअध्यक्ष सुमन घिमिरे कोरोनापछि अहिले विस्तारै वाइल्डलाइफ टुरिज्मले गति लिँदै गएको बताउँछन् । ‘अहिले सिजन सुरु भएकाले राम्रै चलिरहेको छ,’ घिमिरे भन्छन्, ‘समग्रमा भन्नुपर्दा नेपालमा पर्यटक बढिरहेका छन्, यो हिसाबले राम्रो मान्नुपर्छ ।’
चितवन राष्ट्रिय निकुञ्जमा स्वदेशी पर्यटक संख्यामा उल्लेख्य वृद्धि भएको घिमिरे बताउँछन् । ‘अहिलेको अवस्थामा ७० प्रतिशत स्वदेशी र ३० प्रतिशत विदेशी पर्यटक छन्,’ उनी भन्छन्,’ सफारी टुरिज्ममा पहिला निकुञ्जभित्रका होटलले धेरै प्रचारप्रसार गरेका थिए, निकुञ्जभित्रका होटल बन्द भइसकेपछि विश्वबजारमा यसको प्रचार हुन सकेन भन्ने लाग्छ ।’
उनका अनुसार अहिले जीप सफारी निकुञ्जभित्र साढे ४ घण्टाको हुन्छ । हात्तीलाई निकुञ्जभित्र प्रवेश दिइएको छैन । अहिले बाध्य भएर सामुदायिक वनमा हात्ती सफारी गर्न बाध्य भएको घिमिरेको भनाइ छ ।
‘निकुञ्जभित्र पनि जीपहरूको छोटो दुरीका लागि सफारी रुट नभएकाले सामुदायिक वनमा पनि गर्छौं,’ उनी भन्छन्, ‘पर्यटकलाई भने हामी सूचना दिएर नै सामुदायिक वनमा सफारी गराउने गरेका छौं ।’
वाइल्डलाइफ टुरिज्ममा राज्यका पनि धेरै कमी कमजोरी भएको घिमिरे बताउँछन् । सरकारबाट वाइल्डलाइफ टुरिज्मका लागि जति सहयोग हुनुपर्ने त्यो हुन नसकेको उनको भनाइ छ ।
उनका अनुसार विश्व पर्यटन बजारमा नेपालको पर्यटनलाई हामीले जसरी शो गर्नुपर्ने हो र बजारीकरण गर्नुपर्ने हो त्यो गर्न नसकेका कारण नेपालको स्थान घट्दै गएको छ । हामीसँग प्रशस्त स्रोत साधन हुँदा पनि प्रचारप्रसार गर्न नसकिएको हो ।
‘नेपालमा सफारी पर्यटनलाई विकास गर्न सरकारले राष्ट्रिय निकुञ्जहरूमा वाइल्डलाइफ टुरिज्मका गतिविधि बढाउन सहयोग गर्नुपर्छ,’ घिमिरे भन्छन्, ‘हाम्रा हात्ती सफारी, जीप सफारीजस्ता गतिविधिलाई अझै व्यवस्थित बनाउन जरुरी छ ।’
सरकारको आफ्नै भनाइ
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकाल नेपाल आउने विदेशी पर्यटकमध्ये दुई तिहाइभन्दा बढीले संरक्षित क्षेत्रमा घुमफिर गर्ने गरेको रेकर्ड रहेको बताउँछन् ।
उनका अनुसार अहिले काठमाडौं केन्द्रित पर्यटकका हिसाबले अन्नपूर्ण ट्रेकिङदेखि लिएर चितवन राष्ट्रिय निकुञ्ज, सगरमाथा ट्रेकिङ र नयाँ गन्तव्यका रूपमा बर्दियामा पनि सुरुवात भएको देखिएको छ । सानातिना होमस्टेमा नेपाली पर्यटकको भूमिका रहन्छ ।
शुक्लाफाँटा सीमा क्षेत्रमा विशेषगरी भारतीय पर्यटकलाई लक्ष्य गरेर केही विकास गरिएको छ तर धेरै राम्रो गर्न नसकिएको उपमहानिर्देशक ढकालको भनाइ छ ।
‘मन्दीपछि व्यवसायीहरू क्रमशः रिभाइभ हुँदै हुनुहुन्छ, एकैपटक लगानी ल्याउने भन्ने पनि हुँदैन,’ उनी भन्छन्, ‘पर्यटक भित्र्याउने भनेको कन्ट्याक्टले नै हो, व्यवसायीले आफ्नो लगानी पनि बढाउने र त्यसको स्कोप बढेपछि ट्राभल एजेन्सीमार्फत पर्यटक बढ्ने हुन् ।’
भारतीय पर्यटकलाई लक्ष्य गरेर पर्यटन क्षेत्रमा राज्यले सहजीकरण गरिदिनुपर्ने उनको भनाइ छ । ‘स्थानीय नाका व्यवस्थापन गर्ने, जस्तै कन्चनजंघाको गड्डाचौकी नाका, धनगढी नाका, पर्सासँग जोडिएको वीरगन्ज रक्सौल नाका व्यवस्थापन गर्नुपर्ने देखिन्छ,’ उनी भन्छन्, ‘अर्को भनेकोे मास टुरिज्मलाई पनि पर्यापर्यटकका रूपमा लिनुभएन, सबै आएका टुरिस्टलाई राष्ट्रिय निकुञ्जमा लैजानुपर्छ भन्ने पनि होइन ।’
उपमहानिर्देशक ढकालका अनुसार वातावरणमा इच्छा राख्ने र वातावरणलाई कमभन्दा कम क्षति गरेर त्यसको प्राकृतिक सुन्दरता पनि हेर्छु र त्यसको संरक्षणमा योगदान पनि गर्छु भन्ने हिसाबले पर्यटक जाने गर्छन् ।
चितवन राष्ट्रिय निकुञ्ज वरिपरिका होटलहरूलाई हेर्ने हो भने तिनीहरूले सिर्जना गरेको जनशक्ति र रोजगारीलाई हेर्यो भने स्थानीय र राष्ट्रिय आयआर्जनमा वाइल्डलाइफ टुरिज्मले धेरै सहयोग गरेको छ ।
विभाग पर्यटनसँग प्रत्यक्ष नजोडिएको भए पनि संरक्षित क्षेत्रलाई पर्यटन गन्तव्यको रूपमा लिएका कारणले पर्यटन मन्त्रालय र निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढिरहेको उनी बताउँछन् ।
चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिना अर्थात् पुससम्म कुल १ लाख ४८ हजार ३ सय ९१ पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन् ।
निकुञ्जमा स्वदेशी पर्यटक संख्या उल्लेख्य छ । चितवन राष्ट्रिय निकुञ्जमा पाइने जीवजन्तु, पन्छी, जलचर, वनस्पति हेर्न र निकुञ्ज वरिपरिका आदिवासी थारु, बोटे, कुमाल समुदायका संस्कार, संस्कृति नाँचगानमा रुचि भएका स्वदेशी तथा विदेशी पर्यटक निकुञ्ज घुम्न आउँछन् ।
निकुञ्ज घुम्नेमध्ये ९० हजार १ सय १४ नेपाली र ४३ हजार ४ सय २५ विदेशी रहेको निकुञ्जले जनाएको छ । निकुञ्जका अनुसार यो अवधिमा सार्क राष्ट्रका १४ हजार ८ सय २२ पर्यटकले निकुञ्ज घुमेका छन् । यो संख्यामा अधिकांश भारतीय छन् ।
गत आर्थिक वर्षको पहिलो ६ महिनामा पनि करिब डेढ लाख पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज घुमेका थिए ।