काठमाडौं । भारतले चामल निर्यातमा लगाएको प्रतिबन्धको असर नेपाली बजारमा देखिन थालेको छ । साउन ४ गते भारतको वाणिज्य तथा वैदेशिक व्यापार विभागले एक सूचना जारी गर्दै चामल निर्यातमा रोक लगाएको घोषणा गरेको थियो ।
भारतले बासमति बाहेक मोटा, जिरामसिनो लगायतका चामल निर्यातमा रोक लगाएको १५ दिनको अबधिमा नेपालमा प्रति बोरा २ सय रुपैयाँसम्मले मूल्य बढेकाे छ ।
भारतले निर्यातमा रोक लगाएको देखाउँदै व्यवसायीहरुले मूल्य बढाउन थालेको बजार अनुगमनको जिम्मेवारीमा रहेकाेवाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।
विभागका महानिर्देशक गजेन्द्र कुमार ठाकुर भारतको प्रतिबन्धलाई देखाउँदै व्यवसायीले मूल्य बढाउन थालेको बताउँछन् ।
‘भारतले साउन ४ गतेदेखि बासमति बाहेकका चामल निर्यातमा रोक लगाएको हो, तर नेपालका व्यवसायीहरुले घोषणा गरेसँगै मूल्य बढाउन थालिसके, हामीले दैनिक रुपमा बजार अनुगमनसँगै चामल आयात गर्ने उद्योगीहरुसँग नियमित रुपमा वार्ता गरिरहेका छौँ’, उनले भने ।
व्यवसायीसँग छलफल गर्दा निर्यातमा प्रतिबन्धको असर भनिरहेको बताउँदै विभागले थप अध्ययन गरिरहेको उनले बताए ।
बजार अनुगमनका क्रममा खुद्रा बजारमा प्रति बोरा १ सयदेखि २ सय रुपैयाँ मूल्य बढेको भेटिएको उनको भनाई छ ।
‘हामीले निरन्तर रुपमा बजार अनुगमन गरीरहेका छौँ, भारतको घोषणा पछि थोक बजारमा ५०, खुद्रा बजारमा २ सय रुपैयाँ मूल्य बढेको भेटियो’, महानिर्देशक ठाकुरले भने ।
उनले पछिल्लो समय चामलसँगै दाल, चिनी लगायतका वस्तुको समेत मूल्य बढेको पाइएको जानकारी दिए ।
अप्रत्याशित रुपमा चामल लगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढेपछि विभागले व्यवसायीहरुसँग छलफल गरेको थियो । छलफलका क्रममा व्यवसायीहरुले भारतीय बजारमा केही मूल्य बढेको, भारतबाट धान आयात गर्दा सरकारले ढुवानीमा भ्याट लगाएका कारण मूल्य बढेको जानकारी दिएको विभागले जनाएको छ ।
यस्तै, विभागले गरेको अध्ययनले भारतले निर्यातमा रोक लगाउँदा नेपाली बजारमा अभाव हुनेभन्दै उपभोेक्ताले धेरै स्टक राख्नु तथा केही व्यवसायीहरुले कालोबजारी गर्दै मूल्य बढाउनु मुख्य कारण रहेको पाइएको जनाएको छ ।
भारतको घोषणा पछि नेपाली खुद्रा बजारमा जिरा मसिनो र सोना मन्सुली चामलको मूल्य बोरामै २ सय रुपैयाँसम्मले बढेको खुद्रा व्यवसायीहरुले बताएका छन् ।
होलसेलले नै आयातकर्ता कम्पनीले मूल्य बढायो भनेर हामीलाई बढाएपछि बाध्य भएर मूल्य बढाउनु परेको उनीहरुको भनाई छ ।