लघुवित्त संस्थालाई विकास बैंक बनाउन सम्भव छ ?

<p>काठमाडौं । केही दिनअघि पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले एक अर्बभन्दा बढी पूँजी भएका लघुवित्त संस्थाहरुलाई विकास बैंकमा स्तरोन्नति गर्न राष्ट्र बैंकलाई सुझाएका थिए । एक कार्यक्रममा बोल्दै डा. खतिवडाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया)लाई संशोधन गरेर भए पनि ठूला लघुवित्तलाई विकास बैंकमा स्तरोन्नति गर्नुपर्ने बताएका थिए । आफू अर्थमन्त्री हुँदा बाफियामा ‘घ’ वर्गबाट [&hellip;]</p>

काठमाडौं । केही दिनअघि पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले एक अर्बभन्दा बढी पूँजी भएका लघुवित्त संस्थाहरुलाई विकास बैंकमा स्तरोन्नति गर्न राष्ट्र बैंकलाई सुझाएका थिए ।

एक कार्यक्रममा बोल्दै डा. खतिवडाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया)लाई संशोधन गरेर भए पनि ठूला लघुवित्तलाई विकास बैंकमा स्तरोन्नति गर्नुपर्ने बताएका थिए ।

आफू अर्थमन्त्री हुँदा बाफियामा ‘घ’ वर्गबाट ‘ख’ वर्गमा लैजान सकिने व्यवस्था मस्यौदामा राख्न लगाएको उनले सम्झिए । सो मस्यौदा अहिले पनि संसदमै रहेकाले त्यसलाई पारित गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

‘अब लघुवित्त संस्थाहरुलाई ‘ख’ वर्गको विकास बैंक बनाउनु पर्छ । एक अर्बभन्दा बढी कारोबार गर्ने लघुवित्त संस्थाहरु बजारमा भीडभाड गरेर बस्नुभन्दा विकास बैंक भएर स्तरोन्नति गर्नु पर्छ । अब लघुवित्त संस्थाहरुको पूँजी वृद्धि गरेर विकास बैंक बनाउनुपर्छ,’ उनले भने ।

पछिल्लो तथ्याङ्कअनुसार एक दर्जनभन्दा बढी लघुवित्त संस्थाहरुको चुक्ता पूँजी एक अर्बभन्दा बढी रहेको छ । निर्धन उत्थान लघुवित्त, डिप्रोक्स लघुवित्त, छिमेक लघुवित्त, स्वावलम्बन लघुवित्त, साना किसान विकास लघुवित्त, फस्र्ट माइक्रोफाइनान्स लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त, मेरो माइक्रोफाइनान्स लघुवित्त, ग्रामीण विकास लघुवित्त, एनआईसी एसिया लघुवित्त, जीवन विकास लघुवित्त र नेशनल माइक्रोफाइनान्स लघुवित्तको चुक्ता पूँजी एक अर्ब रुपैयाँभन्दा बढी छ ।

साथै, केही लघुवित्त संस्था मर्जर प्रक्रियामा रहेकाले ती संस्था पनि छिट्टै एक अर्ब क्लबमा प्रवेश गर्नेछन् । हाल स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्त, नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त संस्था मर्जर प्रक्रियामा रहेका छन् । यी संस्थाको मर्जर पश्चात् चुक्ता पूँजी एक अर्ब रुपैयाँभन्दा बढी पुग्नेछ ।

साना किसान लघुवित्तका सीईओ डा. शिवराम कोइराला ठूला लघुवित्त संस्थालाई विकास बैंकमा स्तरोन्नति गर्नुपर्नेमा जोड दिन्छन् । लघुवित्तलाई विकास बैंकमा स्तरोन्नति गरेर उत्पादनशील क्षेत्रमा लगानी गर्न दिनुपर्ने उनको भनाईं छ ।

‘एक अर्ब पूँजी ठूलो रकम हो । अब लघुवित्तलाई विकास बैंकमा स्तरोन्नति गर्न सम्भव छ । अहिले लघुवित्तमा समस्या पनि आइरहेका छन् । विकास बैंकमा स्तरोन्नति गरेर उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छ । आन्तरिक उत्पादन बढाउन सबैको चासो छ,’ उनले भने ।

‘विकास बैंक बनेपछि आन्तरिक स्रोत परिचालन पनि गर्छ । लघुवित्तहरुले निक्षेप लिन पाउँदैनन् । भोलि विकास बैंक बन्यो भने सर्वसाधारणको निक्षेप पनि संकलन गर्न पाउँछन् । आफैं आत्मनिर्भर पनि हुन सक्छन् । विपन्न वर्ग कर्जाको भर पर्नुपर्ने अवस्थाको अन्त्य हुन्छ’, कोइरालाले भने ।

उनले कर्जाको लेयर पनि धेरै भएकाले विकास बैंक बनाउन आवश्यक रहेको बताए । उनकाअनुसार वाणिज्य बैंकले लघुवित्तलाई कर्जा दिने, फेरि लघुवित्तले समूहलाई दिने, समूहले किसानलाई दिने गरेका छन् । साथै, होलसेल लघुवित्तको हकमा भने वाणिज्य बैंकले होलसेललाई दिने, होलसेलले रिटेलरलाई, रिटेलरले ब्यक्तिलाई कर्जा दिने गरेका छन् । यो लेयर घटाउन पनि विकास बैंकमा स्तरोन्नति हुन जरुरी रहेको उनको भनाइ छ । लेयर धेरै हुँदा सबैले मार्जिन राख्दै जाँदा सर्वसाधारणलाई अन्ततः ब्याजदर महँगो हुने गरेको उनले बताए ।

‘विकास बैंक बनाउँदा लेयर घट्छ । किसान वा सर्वसाधारणले सस्तो ब्याजदरमा कर्जा पाउँछन् । साथै, संस्था पनि दीगो हुन्छ’, सीईओ डा. कोइराला भन्छन्, ‘विकास बैंकमा स्तरोन्नति हुने भएपछि सोही अनुसारको पुर्वाधार तयार गर्न लघुवित्त सक्षम छन् । लघुवित्त क्षेत्रमा पनि क्षमतावान जनशक्ति छन् ।’

डा. कोइरालाका अनुसार अहिले पनि लघुवित्त संस्थाहरुले विकास बैंक सरह नै काम गरिरहेका छन् । मर्जरको माध्यमबाट भए पनि पूँजी बढाएर लघुवित्तको संख्या घटाउनु पर्नेमा उनले जोड दिए । कर्जाको डुप्लिकेशन पनि बढीरहेकाले लघुवित्तको स्वरुप परिवर्तन गर्नुपर्ने कोइराला बताउँछन् ।

‘अब लघुवित्तलाई पब्लिक निक्षेप पनि संकलन गर्न अनुमति दिनु पर्छ । लघुवित्तलाई स्रोतको अभाव छ । वाणिज्य बैंकको भर परेर मात्रै संस्थाहरु चल्दैनन् । भोलिका दिनमा वाणिज्य बैंकले विपन्न वर्ग कर्जा बन्द गर्याे भने लघुवित्त संस्था नै बन्द गर्नु पर्छ,’ उनले भने ।

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तका अध्यक्ष सुरेन्द्रराज रेग्मी विकास बैंकमा स्तरोन्नति हुन लघुवित्त संस्था सक्षम रहेको बताउँछन् । विकास बैंकमा जाने भएपछि निक्षेप पनि लिन पाउने र संस्था दीगो हुने उनले बताए । प्रतिस्र्पधाका आधारमा जसको क्षमता छ सोही संस्था मात्रै विकास बैंक बन्न सक्ने उनको भनाईं छ ।

‘लघुवित्तले समूहको निक्षेप लिएर मात्रै कारोबार गरिरहेका छन् । होलसेल लघुवित्तको स्रोत चुक्ता पूँजी हो कि सापटी रकम हो । सापटी रकम पनि वित्तीय संस्थाबाट लिनुपर्छ । विकास बैंक बनाइयो भने सबै समस्या समाधान हुन्छ,’ उनले भने, ‘घाँटी हेरेर हाँड निल्ने हो । जसको क्षमता छ ऊ विकास बैंक बन्छ । प्रतिस्पर्धामा जसले सक्यो ऊ नै बन्ने हो । फस्र्ट माइक्रोफाइनान्स पनि सुरुमा १० करोड पूँजी थियो । अहिले १ अर्ब १४ करोड पुर्याएका छौं । त्यहीअनुसार जनशक्ति पनि राखेका छौं ।’

विकास बैंक बनेपछि नियामकीय दायरामा बसेर काम गर्ने उनले बताए । लघुवित्तलाई विकास बैंक बनाएर क्षेत्रगत संस्थाका रुपमा छुट्याउन सकिने उनको भनाईं छ । ‘कृषिको विकासका लागि कृषि विकास बैंक थियो । उद्योगधन्दाको लागि एनआईडीसी बैंक थियो । अहिले वाणिज्य बैंक बनेका छन् । त्यसैगरी नै विकास बैंक बनाउन सकिन्छ,’ उनले भने ।

छिमेक लघुवित्तका सीईओ चोलाराज शर्मा विकास बैंक बनाउँदा आफ्नो लक्ष्य पुरा हुन नसक्ने बताउँछन् । अहिले पनि लघुवित्त संस्थाहरुले बैंकको प्रणालीलाई नै पच्छ्याईरहेकाले लघुवित्त नै कायम राख्नु पर्ने उनको भनाइ छ । उनका अनुसार सबै लघुवित्त विकास बैंक बन्न सक्षम छैनन् ।

‘सबै लघुवित्त विकास बैंक बनाउन सक्षम छैनन् । सानो पूँजीमा पनि सञ्चालन भइरहेका छन् । अहिलेका सबै लघुवित्तले वाणिज्य बैंकको सिस्टम नै फलोअप गरिरहेका छन्,’ उनले भने, ‘तर, विकास बैंक बनाउँदा गरिब विपन्न वर्ग छुट्छन् । बिनाधितो कर्जा पाउने वर्ग पछाडि पर्छन् । लघुवित्तको उद्देश्य नै पुरा हुँदैन । अहिले गरिबलाई नै मारमा पारेको भन्ने नकारात्मक सन्देश प्रवाह भएको बेला झन् समस्या आउँछ ।’

लघुवित्तका कमजोरी भएमा सुधार गर्नु पर्ने तर, लघुवित्तको काम नै गर्नु पर्ने उनको धारणा छ । वित्तीय पहुँच नभएका गरिबलाई पहुँचमा पुर्याउन लघुवित्तको ठूलो भूमिका रहेको उनले बताए । विकास बैंक बनाउँदा गरिब वर्ग वित्तीय सेवाबाट टाढा रहने उनको तर्क छ ।

‘साना र ठूला संस्था छुट्याउनुभन्दा पनि साना लघुवित्तलाई ठूलो बनाउनु पर्छ । पूँजी बढी भयो भने ब्यापार व्यवसाय पनि ठूलो हुन्छ । सबै संस्था ठूलो भएकै राम्रो हुन्छ । संस्था ठूलो भएपछि सबै कुरामा अब्बल हुन्छ । काम गर्ने क्षमता पनि विकास हुन्छ,’ सीईओ शर्माले भने ।

लघुवित्त संस्थामा काम गर्ने वातावरण बन्यो भने विकास बैंक बनाउनु आवश्यक नरहेको उनले बताए । तर, अवस्था अहिले गम्भीर र बिनाधितो कर्जा दिएपछि तिर्नु पर्दैन भन्ने मानसिकता बढेकाले काम गर्ने वातावरण नरहेको उनको दुखेसो छ ।

Share News