
काठमाडौं । सबै कुरा सरकारले पूरा गर्देला भनेर बसेर उद्योगीहरु डुब्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले बताएका छन् । आज काठमाडौंमा आयोजित नेपाल मैदा उद्योग संघको २३औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री रिजालले सरकारसँग आशा लिएर उद्योगी बस्दा उद्योगी र उद्योग डुब्ने बताएका हुन् ।
‘सबै कुरा सरकारले पूरा गर्देला भन्ने आशा लिएर बस्नुभयो भने तपाईंहरु पनि डुब्नुहुन्छ, उद्योग पनि डुब्छ, त्यसैले तपाईंहरु पनि कृषि क्षेत्रको विकासमा लाग्नुहोस’, मन्त्री रिजालले भने । निजी क्षेत्र धनी भयो भने सरकार पनि धनी हुने भन्दै उनले उद्योगीहरु पनि गहुँको खेतिको वृद्धि गर्न लाग्नुपर्ने बताए ।
निजी क्षेत्रको समस्या समाधान गर्न सरकार सधैं लाग्ने बताउँदै उनले गहुँको आयात खोल्न थप सहजिकरण गर्ने बताएका छन् । साथै सरकार पाँच वर्षसम्म टिक्छ भन्ने धारणा राखेर अगाडि बढ्न उनले उद्योगीहरुलाई आग्रह गरेका छन् ।