काठमाडौं । काठमाडौंको चोभारमा रहेको सुख्खा बन्दरगाहाबाट निर्यात सुरु भएको छ । गत चैत २२ गतेदेखि सञ्चालनमा आएको नाकाबाट आयातमात्र हुँदै आएकोमा पहिलो पटक निर्यात सुरु भएको हो ।
मंगलबार डेनमार्कका लागि एक ट्रक उनबाट बनेका फेल्टगुड्स (जुत्ता, बुट, सिल्पर लगायतका) मालवस्तु पठाएर औपचारिक रुपमा निर्यात सुरु गरिएको प्रमुख भन्सार प्रशासक धनबहादुर बडुवालले जानकारी दिए ।
उनका अनुसार ४३ हजार ४६७ युरो अर्थात ५५ लाख ७१ हजार नेपाली रुपैयाँ बराबरको नेपाली वस्तु निर्यात भएको हो । ब्लोरुप एनपी कम्पनीका वस्तु एभरेष्ट ट्राभल्स सर्भिसको नामबाट निर्यात सुरु भएको हो ।
बन्दरगाहामा सञ्चालनमा आएपछि हालसम्म १५ वटा कन्टेनरमा ७ करोड ३९ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।
सरकारले चोभार सुख्खा बन्दरगाहा निर्माणका लागि २०७५ सालबाट तयारी थालेको थियो । लामो तयारी पश्चात १ खर्ब ६० करोड लागतमा २ सय ६१ रोपनी जग्गामा बन्दरगाहा निर्माण गरिएको छ ।
सुख्खा बन्दरगाहले भारतको नाकाबाट आउने सामग्रीहरुलाई काठमाडौंमै ल्याएर भन्सार चेकजाँच र पास गराउने गर्दै आएको छ ।
वीरगन्ज भन्सार कार्यालय, मेची भन्सार कार्यालय, विराटनगर भन्सार कार्यालय, भैरहवा भन्सार कार्यालय र सुक्खा बन्दरगाहा भन्सार कार्यालय सिर्सिया पर्साबाट नेपालमा प्रवेश गर्ने मालवस्तुहरुमात्र चोभार भित्रने पाउनेछन् ।
उक्त ५ भन्सार कार्यालयबाहेक अन्य भन्सार कार्यालयबाट नेपाल प्रवेश गर्ने मालवस्तुहरु चोभार भित्रने भए आवश्यकताका आधारमा भन्सार विभागको महानिर्देशकले सार्वजनिक सूचना प्रकाशन गरी भन्सार कार्यलय तोक्न सक्नेछन ।