उद्योगी व्यवसायीका संस्थाको एकै स्वर, स्वदेशी उद्योग मार्ने कर नीति फिर्ता लेऊ

<p>काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमार्फत ल्याइएको कर नीतिप्रति उद्योगी व्यवसायीका प्रतिनिधिमुलक संस्थाले एकै स्वरमा विरोध गरेका छन् । उद्योगी व्यवसायीहरुका सबैभन्दा ठूला प्रतिनिधिमुलक संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल उद्योग परिसंघ (सीएनआई) ले बेग्ला बेग्लै विज्ञप्ति जारी गर्दै सरकारले गरेको नयाँ व्यवस्थाले स्वदेशी र अहिले संचानमा रहेका उद्योगहरु बन्द हुने अवस्थामा पुग्ने [&hellip;]</p>

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमार्फत ल्याइएको कर नीतिप्रति उद्योगी व्यवसायीका प्रतिनिधिमुलक संस्थाले एकै स्वरमा विरोध गरेका छन् ।

उद्योगी व्यवसायीहरुका सबैभन्दा ठूला प्रतिनिधिमुलक संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल उद्योग परिसंघ (सीएनआई) ले बेग्ला बेग्लै विज्ञप्ति जारी गर्दै सरकारले गरेको नयाँ व्यवस्थाले स्वदेशी र अहिले संचानमा रहेका उद्योगहरु बन्द हुने अवस्थामा पुग्ने बताएका हुन् ।

सरकारको आर्थिक वर्ष २०७९÷८० को बजेटमा भन्सार महशुल, अन्तःशुल्क लगायतका राजस्वका दरहरूमा परिवर्तन गरेको थियो । यस्ता नयाँ प्रावधानबाट स्वदेशी उद्योग व्यवसाय प्रभावित भएकोतर्पm आफूहरुको गम्भीर ध्यानाकर्षण भएको एफएनसीसीआई र सीएनआईको उल्लेख गरेका छन् । नयाँ व्यवस्था गर्दा सरोकारवालासँग कुनै परामर्श नगरेको एफएनसीसीआईको भनाई छ ।

‘विनापरामर्श र उद्यमी व्यवसायीको राय सुझाव विपरित एकतर्फीरूपमा बजेट र आर्थिक ऐनमा समावेश गरिएका प्रावधानले उद्योगलाई पर्न गएको समस्या तत्काल सम्बोधन गर्न महासंघ सरकारसँग माग गर्दछ, स्टिल रोलिङ मिल तथा एमएस वायर उद्योग, वनस्पति घ्यूतेल उद्योग, स्यानेटरी प्याड उत्पादन गर्ने उद्योगहरू लगायतका उद्यम व्यवसाय बजेटमा गरिएका व्यवस्थाका कारण बन्द हुने अवस्थामा पुगेका छन्,’ एफएनसीसीआईले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सरकारको राजश्व नीतिका कारण वायर रड उद्योग, घ्यू तेल उद्योग, सेनेटरी प्याड उत्पादन गर्ने उद्योग जस्ता स्वदेशी उद्योगहरु भने प्रत्यक्ष मारमा पर्न गएका सीएनआईको भनाई छ ।

भारत सरकारले स्वदेशी उद्योगहरुको संरक्षण गर्ने नीति अबलम्बन गर्दै वायर रड निर्यातमा १५ प्रतिशत निर्यात कर लगाएको छ । तर वायर रडबाट बन्ने तयारी सामानको निर्यातमा कुनै कर लगाएको छैन । यसका कारण वायर रड आयात गरी विभिन्न प्रकारका फलामे तारहरु नेपालमा उत्पादन गर्दा नेपाली उद्योगहरुको लागत निकै बढी पर्ने भएको छ । भारतले आफ्ना उद्योगहरुको संरक्षण गर्ने नीति लिएसँगै नेपाल सरकारले समेत स्वदेशी उद्योगहरुको संरक्षण गर्नुपर्नेमा यस्ता वस्तुहरुमा भन्सार तथा अन्तःशुल्क बढाएर स्वदेशी उद्योगहरुलाई धरासायी बनाउने वातावरण बनेको सीएनआईको भनाइ छ ।

उद्योगको कच्चा पदार्थ वायर रड आयात गर्दा भारतमा १५ प्रतिशत तथा नेपालमा १० प्रतिशत भन्सारका साथै ४५०० प्रतिटन अन्तःशुल्क लाग्ने व्यवस्था कायम गरेको छ । सोही कच्चा पदार्थबाट निर्मित तयारी वस्तुहरुको आयातमा भारततर्फ कुनै कर नलाग्ने, नेपाल सरकारले ६ प्रतिशत भन्सार तथा १० हजार रुपैयाँ प्रति टन अन्तःशुल्क लगाएको छ । यस व्यवस्थाले कच्चा पदार्थ तथा सोबाट निर्मित तयारी वस्तुको आयातमा लाग्ने शुल्क कम्तिमा एक तहको फरक हुने सरकारकै नीति विपरित व्यवस्था कायम भएको भन्दै एफएनसीसीआई र सीएनआईले स्वदेशी उद्योगहरुलाई धरासायी हुनबाट तत्काल जोगाउन हाल वायर रडको आयातमा कायम गरिएको भन्सार महसुलमा उद्योगहरुलाई ९० प्रतिशत छुट गर्न आग्रह गरेका छन् ।

अन्तःशुल्कको हकमा साविककै व्यवस्था बमोजिम उद्योग विभागको सिफारिसमा कच्चा पदार्थमा अन्तःशुल्क छुट हुने व्यवस्था समेत कायम गरिनुपर्ने उद्योगी व्यवसायीको भनाइ छ । उद्योगको कच्चा पदार्थमा अन्तःशुल्क नलगाउन उनीहरुले आग्रह गरेका छन् ।

यसैगरी वनस्पति घ्यू तेल उत्पादक उद्योगहरु पनि गम्भिर मर्कामा पर्ने अवस्था सिर्जना भएको व्यवसायीको भनाई छ । हालै भारतले कच्चा खाने तेलको भन्सार महशुल शून्य प्रतिशतमा झार्दै ५ प्रतिशत मात्र न्क्त् कायम गरेको छ । नेपालमा यस्तो कच्चा खाने तेलको आयातमा भन्सार महशुल १० प्रतिशत र मु.अ.कर १३ प्रतिशत लाग्दै आएको छ । यसले नेपाली उत्पादन महङ्गो हुन गएको छ । नेपालको प्रमुख निर्यात हुने वस्तु निर्यात गन्तव्यमै महङ्गो भइ निर्यात शून्य हुने साथै भारतीय उत्पादन नेपालमा सहजै आयात हुने भई नेपालमा संचालित उद्योगहरु बन्द हुने अवस्था सिर्जना भएको छ । यसलाई नेपाल भारतको खुला सिमानाका कारण भईरहेको अनधिकृत पैठारीले थप बल पुर्याएको छ ।

उपभोक्ताहरुलाई चरम महङ्गीवाट राहत दिन, तैयारी समान भन्दा कच्चा पदार्थको कम्तिमा एक तह कमको भन्सार महशुल हुने नीति यथार्थमा अवलम्वन गर्न र भारतबाट अनाधिकृत रुपमा आयात भई रहेको खाने तेल रोक्न समेत कच्चा खाने तेलको आयातमा भन्सार महशुल शून्य प्रतिशत र मु.अ.करमा ५० प्रतिशत छुट दिनुपर्ने उद्योगीहरुको माग सम्बोधन गर्न व्यवसायीका संस्थाहरुले आग्रह गरेका छन् । यस्तै, सेनेटरी प्याडहरु स्वास्थ्यको न्यूनतम आधारभूत आवश्यकता भएको सन्दर्भमा यस्ता वस्तुहरु मुलुकमै न्यूनतम मूल्यमा उत्पादन हुन सक्ने गरी यस्ता उद्योगहरुको संरक्षण उनीहरुको भनाइ छ ।

बजेट वक्तव्यमा एमएसवायर उद्योगले प्रयोग गर्ने कच्चा पदार्थ आयातमा भन्सार महसुल ५ बाट १० प्रतिशत र अन्तःशुल्क प्रतिटनमा २ हजार ५ सयबाट ४ हजार ५ सय पु¥याईदा वायर स्टिल उत्पादन गर्ने उद्योगले आयातित वस्तुहरूसंग प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुुगेका छन् ।

यसैगरि प्रशोधित पाम र पामोलिन तेल आयातमा ५ प्रतिशत भंसार महशुल कायम गरी उक्त आयल प्रयोग गर्ने उद्योगहरुलाई सिधै आयात गर्न दिने नीतिले सञ्चालनमा रहेका वनस्पती घिउतेल उद्योगहरू गम्भीर संकटमा जाने उद्योगीले उल्लेख गरेका छन् ।

Share News