काठमाडौं । भारत सरकारले फलामजन्य बस्तुको निर्यातमा कर बढाएको भन्दै नेपालमा चर्चा सुरु भएको छ । भारतबाट स्पन्ज आइरन आयात गरी नेपालमा फलामे डण्डी उत्पादन गर्दै गरेका उद्योगहरुले भारतको नयाँ नीतिगत व्यवस्थाले समस्या पर्ने बताइरहेका छन् ।
नेपाल सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत स्पन्ज आइरनबाट फलामे डण्डी उत्पादन गर्ने उद्योगलाई संरक्षण गर्ने नीतिगत व्यवस्था गरेको थियो । सरकारले स्पन्ज आइरनमा लाग्ने भन्सार महसुल घटाएको थियो भने अन्तःशुल्क पनि कम गरेको थियो ।
एमएस बिलेट आयात गरी फलामे डण्डी बनाउने कार्यलाई भने सरकारले निरुत्साहित गरेको थियो । सरकारले एमएस विलेटको आयातमा अन्तःशुल्क बढाएको थियो ।
सरकारले स्पन्ज आइरनबाट फलामे डण्डी उत्पादन गर्ने उद्योगलाई संरक्षण गर्ने नीतिगत व्यवस्था गरेपछि एमएस विलेट आयात गरी फलामे डण्डी बनाउने उद्योगले विरोध गरेका थिए । सरकारले एमएस विलेटबाट फलामे डण्डी उत्पादन गर्ने उद्योगलाई मार्ने नियतका साथ त्यस्तो नीतिगत व्यवस्था गरेको उनीहरुको आरोप थियो ।
तर, यसपाली भारत सरकारले स्पन्ज आइरनको निर्यातमा कर बढाएको भन्दै स्पन्ज आइरनबाट फलामे डण्डी उत्पादन गर्ने उद्योगले चिन्ता व्यक्त गरेका छन् । तर, एमएस विलेटबाट फलामे डण्डी बनाउँदै आएका उद्योगीले भने भारत सरकारले त्यस्तो कुनै नीतिगत व्यवस्था नगरेको बताएका छन् ।

‘स्पन्ज आइरनको निर्यातमा भारतले महसुल बढाएको भन्ने कुरा सही होइन, तार बनाउन प्रयोग हुने आइरनको निकासीमा कर बढाइएको भएपनि फलामे डण्डी बनाउन प्रयोग हुने स्पन्ज आइरनको निर्यातमा भारतले कर लगाएको छैन,’ शाखः स्टीलका संचालक किरण शाखःले भने । शाखः स्टीलले एमएस विलेट आयात गरी फलामे डण्डी बनाउने गरेको छ ।