काठमाडौं । असोज लागेपछि बैंकहरुको व्यवसाय (विजनेस) मा निकै सुधार देखिएको छ । असोज २ गतेदेखि १६ गतेसम्म १४ दिनको बैंकहरुको व्यवसाय सन्तोषजनक देखिएको हो ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमण सन्त्रासको कारण बैंकहरुले कर्जाको मागमा सिथिलता आएर तरलता अधिक भएको बताउँदै आएका छन् । तर, असोज २ गतेदेखि १६ गतेसम्मको तथ्यांक हेर्दा वाणिज्य बैंकहरुबाट मात्रै प्रतिदिन २ अर्ब रुपैयाँभन्दा बढीको कर्जा प्रवाह भएको देखिएको छ ।
बैंकर्स संघका अनुसार गत असोज २ गतेसम्ममा वाणिज्य बैंकहरुले २९ खर्ब १३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । तर, असोज १६ गतेसम्ममा बैंकहरुले २९ खर्ब ४६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरिसकेको तथ्यांकले देखाएको छ ।
बैंकहरुका निक्षेप संकलनको तथ्यांक अझ उत्साहजनक छ । यो १४ दिनको अवधिमा वाणिज्य बैंकहरुले ४३ अर्ब रुपैयाँ निक्षेप बढाएका छन् ।
संघले दिएको जानकारी अनुसार गत असोज २ गतेसम्ममा वाणिज्य बैंकहरुमा ३५ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप थियो । तर, असोज १६ गतेसम्म पुग्दा यस्तो निक्षेप बढेर ३५ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको तथ्यांकले देखाएको छ ।
वाणिज्य बैंकहरुमा निक्षेप बृद्धि हुनुको कारण रेमिटान्स आप्रवाह राम्रै रहेको तथा सरकारी खर्च बढेका कारणले हो । सरकारले चालु आर्थिक वर्षको असोज १८ गतेसम्ममा १ खर्ब ३३ अर्ब ८५ करोड रुपैयाँ खर्च गरिसकेको छ ।
कर्जा प्रवाहमा बृद्धि राम्रै देखिएको कारण आर्थिक गतिविधि बढ्न लागेको अनुमान गरिएको छ । कोरोना भाइरस संक्रमण नियन्त्रण र रोकथामको लागि भन्दै संघीय सरकारले गत चैत ११ गतेदेखि साउन ६ गतेसम्म देशव्यापी लकडाउन जारी गरेको थियो । संघीय सरकारको लकडाउन सकिए लगत्तै पुनः सटडाउन र त्यसपछि प्रमुख जिल्ला अधिकारीहरुको आदेशले देशका अधिकांश स्थानमा निषेधाज्ञा जारी गरिएको थियो ।
सरकारले गरेको लकडाउन, सटडाउन र निषेधाज्ञाको समयमा मानवीय आवागमन रोकिएको थियो भने उद्योग, व्यवसाय, कलकारखना जस्ता आर्थिक गतिविधि ठप्प बनाइएको थियो । सोही कारण बैंकमा निक्षेप बढी जम्मा भएको र कर्जाको माग नभएको बैंकरहरुले बताएका थिए ।