काठमाडौंका होष्टेल धमाधम बन्द हुँदै, कराेडाैंकाे नाेक्सान, अर्बौंको लगानी डुब्ने चिन्तामा व्यवसायी

<p>काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको प्रभाव होष्टेल व्यवसायमा पनि परेको छ । नेपाल सरकारले चैत ११ गतेदेखि गरेको देशव्यापी लकडाउनमा होष्टलमा बस्ने विद्यार्थीहरु घर फर्केपछि अहिले होष्टेल ब्यवसाय चल्न समस्या भएको हो । एकातिर व्यवसाय नचलेपछि र अर्कोतर्फ मासिक लाखौं रुपैयाँ घर भाडाले होष्टेल व्यवसायीहरुलाई समस्या परिरहेको छ । विभिन्न समयमा व्यवसाय [&hellip;]</p>

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको प्रभाव होष्टेल व्यवसायमा पनि परेको छ । नेपाल सरकारले चैत ११ गतेदेखि गरेको देशव्यापी लकडाउनमा होष्टलमा बस्ने विद्यार्थीहरु घर फर्केपछि अहिले होष्टेल ब्यवसाय चल्न समस्या भएको हो ।

एकातिर व्यवसाय नचलेपछि र अर्कोतर्फ मासिक लाखौं रुपैयाँ घर भाडाले होष्टेल व्यवसायीहरुलाई समस्या परिरहेको छ । विभिन्न समयमा व्यवसाय ठप्प भएको भनेर घरवेटीहरुलाई घरभाडा छुट र सरकारलाई सहुलियत कर्जाको माग गर्दा पनि उनीहरुका मागहरु हालसम्म समाधान नभएको गुनासो गरेका छन् ।
अहिले व्यवसाय नचलेपछि र महिनाैं लाखौं रुपैयाँ घरभाडा तिर्नु परेपछि धेरै होष्टेल ब्यवसायीहरु होष्टेल बन्द नै गर्न बाध्य भएक छन् भने धेरै बन्द गर्ने मनस्थितीमा पुगेका छन् ।

अझै पनि कोरोना भाइरसको संक्रमण बढ्दै गएकोले यसले कतिसम्म असर पार्ने हो भन्ने डरले व्यवसायीहरु व्यवसायबाट नै पलायन हुन थालेका हुन् । उनीहरुले मासिक तिर्नु पर्ने घरभाडा, बैंककको ऋण र कर तिर्न अब मुस्लिक पर्ने भएकोले व्यवसाय नै बन्द गनेए सोचमा पुगेको बताएका छन् ।

होष्टल संघका पूर्व महासचिव गोविन्द गिरीले होष्टेल सञ्चालन खर्च जुटाउनै नसकेर धेरै होटल बन्द भइसकेको बताए । उनले सरकारले होष्टेल व्यवसाय पनि एक व्यवसाय हाे भन्ने सोचले होष्टेल व्यवसायीलाई सहुलियत कर्जा दिनु पर्ने बताए ।

करोडौंको नोक्सान, अर्बाैं गुम्ने चिन्ता

विगत पाँच महनिादेखि बन्द अवस्थामा रहेका होष्टेलहरु सञ्चालन नहुँदा करोडौं रुपैयाको नोक्सान भएको होष्टेल व्यवसायीहरुको भनाई छ ।
होष्टेलहरु सञ्चालन नहुँदा मासिक लाखौं रुपैयाँ घर भाडा तिरिरहेका व्यवसायीहरु आर्थिक रुपमा पनि समस्यामा पर्दै गएको होष्टल व्यवसायी काठमाडौं जिल्ला अनामनगर क्षेत्रका सह संयोजक असराज खनालले बताए ।

‘अहिले आम्दानी एक रुपैयाँ पनि छैन, मासिक एक लाख भन्दा बढी घर भाडा तिर्नु परेको छ, विस्तार आर्थिक रुपमा पनि झन समस्या बढ्दै गएको छ,’ उनले भने ।

होष्टेल ब्यवसायीले यो क्षेत्रमा धेरै लगानी गरेको हुँदा विस्तारै त्यो लगानी पनि डुब्ने होकी भन्ने चिन्ता बढ्दै गएको उनले बताए । होष्टेल व्यवसायीले मासिक रुपमा न्युनतम एक लाख रुपैयाँ भाडा तिर्दै आएका छौं, अहिले होष्टेल सञ्चालन नभएको ५ महिना बितिसकेको छ, अहिले १२ सय होष्टेल छन्, यसको हिसाव गर्दा पनि ६० करोड रुपैयाँ भाडा तिर्नु पर्ने हुन्छ, यो सबै नोक्सान नै हो, उनले भने ।

यो भाडको मात्रै भएपनि अन्य खर्च अझ धेरै भएको उनको भनाई छ । होष्टेल व्यवसायमा व्यवसायीले धेरै लगानी गरेको र अहिले त्यो लगानी डुब्छ कि भन्ने चिन्ता बढ्दै गएको उनले बताए । उनका अनुसार कति घरधनीहरुले घरभाडा छुट गरेको र धेरैले छुट गरेका छैनन् ।

करिब ३ सय होष्टेल बन्द

कोरोनाको समयमा सञ्चालन खर्च पनि धान्न नसकेर करिब ३ सय होष्टल बन्द भइसकेका छन् । होष्टेल व्यवसायी गिरीका अनुसार सरकारले चैतदेखि लकडाउन गरेपछि होष्टल पनि त्यो समयदेखि नै प्रभावित हुन थालेका हुन् ।

यो ५ महनिाको समावधिमा होष्टेल व्यवसायीहरुलाई धेरै समस्या भएको उनको भनाई छ । ‘२ सयदेखि ३ सयसम्म होष्टलहरु बन्द भइसकेका छन्, अझै धेरै होष्टेलहरु बन्द हुने अवस्थामा छन्, हामीले घरधनीलाई भाडा छुटको लागि पनि आग्रह गर्यौं, सरकारलाई पनि सहुलियत कर्जाका लागि माग राख्यौं, तर अहिलेसम्म कुनै सुनुवाई भएको छैन,’ उनले भने ।

होष्टेलहरु पनि यो सयममा धेरै प्रभावित भएकोले सरकारले प्रभावितको सूचीमा होष्टेलहरुलाई नराखेकोप्रति उनले गुनासो गरे । ‘हामी पनि व्यवसायी हौं, होटलको जस्तै भाडा तिरेर हामीले पनि व्यवसाय गरिरहेका छौं, त्यो सूचीमा होष्टेलको नामै राखेको छैन,’ उनले भने ।

अहिले कतिले सदाको लागि होष्टेल बन्द गरिसकेका छन् भने कतिपयले फेरि अवस्था सामान्य भइसेकपछि फेरि व्यवसाय सुरु गर्ने मनसायका साथ अन्य ठाउँमा सामान भण्डारण गरेको उनले बताए ।

६ हजारभन्दा बढी बेरोजगार

होष्टेल ब्यवसाय थला परेर नै ६ हजारभन्दा बढी मानिसहरुले रोजगार गुमाएको होष्टल व्यवसायीहरुको भनाई छ । गिरीका अनुसार एउटा होष्टेलले न्युनतम ५ जना कर्मचारी राखेको हुन्छ, काठमाडौंमा मात्रै १ हजारभन्दा बढी र नेपाल भर १२ होष्ट छन्, त्यसमा काम गर्ने ती सबै कर्मचारीले अहिले रोजगारी गुमाएका छन् ।

पाँच महिनादेखि सबै होष्टेलहरुमा विद्यार्थीहरु नहुँदा ठप्पै बनेको उनले बताए । होष्टेलहरु सञ्चलन नहुनाले कर्मचारीहरु पनि काम गर्न नआउने र उनीहरुको रोजगारी पनि गुमेको उनको भनाई छ ।

विद्यार्थीबाट ५० प्रतिशत मात्र शुल्क लिने निर्णय

कोरोना महामारी रोकथामका लागि होस्टेल व्यवसायीहरुले घर फर्केका विद्यार्थीहरुबाट ५० प्रतिशत मात्र शुल्क लिने निर्णय गरेका छन् ।

कोरोनाको महामारीले सबैलाई असर गरेकोले अहिले घरमै बसेका तर सामान होष्टेलमै रहेका विद्यार्थीहरुबाट ५० प्रतिशत मात्र शुल्क लिने निर्णय भएको खनालले बताए ।

‘एशोसियसनले आफ्नो तर्फबाट सक्दो पहल र सहयोग होस् भन्ने मनसायले ५० प्रतिशत छुट दिने निर्णय गरेका छौं, हामीले घरधनीलाई पनि ५० प्रतिशत छुटको माग गरेका छौं,’ उनले भने ।

एशोसियसनको अनुसार सरकार एवं एशोसियसनको सूचना बमोजिम विद्यार्र्थी र कर्मचारीलाई व्यवस्थित गरेर होस्टेल बन्द गरिएको छ ।

सरकार सँग पनि माग

होष्टेल व्यवसायीहरुले व्यवसायीहरुलाई पुनः होस्टेल संचालनमा ल्याउन सहुलियत कर्जाको व्यवस्था गरिनु पर्ने, होस्टललाई आवश्यक पर्ने खाद्यान्नको आपूर्तिमा सहजता र महंगीलाई समाधान गर्नु पर्ने, घरभाडा तथा सरकारलाई तिर्नु पर्ने करमा केहि छुटको व्यवस्था गर्न सरकारसमक्ष माग राखेका छन् ।

यसका साथै होष्टेलहरुर्लाइ बैधानिकता दिन पनि उनीहरुले जोडदार माग गरेका छन् । अहिले सम्म होष्टेल व्यवसाय कुन क्षेत्र तर्फ पर्छ, शिक्षा क्षेत्र तर्फ पर्छ वा सेवा क्षेत्र तर्फ त्यो स्वयम् व्यवसायीलाई पनि थाहा छैन । व्यवसायलाई तत्काल बैधानिकता दिनुपर्ने उनीहरुको माग छ ।

Share News