काठमाडौं । कोभिड–१९ को जोखिमलाई ध्यान दिँदै खाद्य भण्डारण एवं विपद् व्यवस्थापन शुरु भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको संयोजनमा संयुक्त सुरक्षा फौजले खाद्य भण्डारण एवं विपद् व्यवस्थापनको कार्य शुरु गरेका हुन् । कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहदा आउन सक्ने सङ्कटलाई ध्यान दिँदै मध्यपुरठिमि नगरपालिका–४ राधेराधेमा रहेको दुर्गाप्रसाद न्यौपानेको प्रयोगविहीन १७ तले भवनमा खाद्यान्न भण्डारणलगायतको तयारी गरिएको छ ।
जिल्लाका चारवटै नगरपालिकामा वितरण गर्ने गरी ती नगरपालिकाको सहयोगमा उक्त भवनमा नेपाली सेनाको सुरक्षामा खाद्यान्न भण्डारणको तयारी गरिएको प्रमुख जिल्ला अधिकारी होमकला पाण्डेले जानकारी दिए । पानी, खाना वितरणलगायतका सामग्री भण्डारण शुरु गरिएको जानकारी दिँदै उनले बजारमा खाद्यान्न अभाव हुने अवस्था आएमा स्थानीय तहको सहयोगमा उक्त भवनमा खाद्यान्न भण्डारण गरिने गरी तयारी अवस्थामा राखिएको उनले जानकारी दिए ।
सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा फौजको मातहतमा राखेर सङ्कटमा वितरण गर्ने योजनाअनुसार नै खाद्यान्न भण्डारणको तयारी गरिएको हो । सेनाको वीरदल गण सूर्यविनायक ब्यारेकबाट खटिएका सेनाको टोलीले भवनको स्टोरमा सुरक्षा दिइरहेका छ ।
सो गणपति कर्णेल शिव पौडेलका अनुसार सेनाको टोलीले नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले उपलब्ध गराएको ५० थान त्रिपाल ओछ्याउने र खाद्यान्न भण्डारणका लागि ठाउँ तयारी गर्दै सामग्रीको भण्डारण गर्ने कार्य शुरु गरेको जानकारी दिए । कोरोना सङ्क्रमणको संभावित जोखिम आइ घरमै उपचार गर्नुपर्ने, क्वारेन्टाइन घरमै बनाउनुपर्ने, आइसोलेसनको अभाव हुने अवस्था आएमा बिरामी, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई समेत सहयोग गर्ने गरी तयारी गरिएको उनले जानकारी दिए ।
उनले भने, “अहिले खाद्यान्न भण्डारण गर्दा बिग्रन सक्छ, बजारमा अभाव हुने अवस्था आयो भने तत्काल भण्डारण गर्छाैं, अहिले १० हजार बोतल पानी, खाना प्याकिङ गर्ने किट १० हजार थान, शव व्यवस्थापनका लागि आवश्यक पर्ने ५ सय रोल प्लाष्टिक, शव राख्ने ब्याग ६५ थान भण्डारण गरेका छौं ।”
शवलाई कसरी व्यवस्थापन गर्ने भन्नेसमेत तयारी गरिएको छ । यसका लागि ती सुरक्षा निकायका १५ जनालाई शव व्यवस्थापनको तालिम प्रदान गरी तयारी अवस्थामा राखिएको छ । कोरोना सङ्क्रमित बिरामीसँगको व्यवहार, शवको व्यवस्थापन, एम्बुलेन्स तथा सवारी साधनलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा तालिम प्रदान गरिएको थियो ।
त्यसैगरी लकडाउनले बीचमै रोकिएको हनुमन्ते करिडोरको निर्माण कार्यको अनुगमनसमेत गरिएको छ । महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक सविन प्रधानले अनुगमनलगत्तै वर्षा अगाडि नै हनुमन्ते नदी थुनिने अवस्था नराख्न र अत्यावश्यक निर्माण सम्पन्न गर्न निर्देशन दिएको जानकारी दिए । उनले भने, “हनुमन्ते करिडोर निर्माणका क्रममा रोकिएका अत्यावश्यक काम तत्काल सम्पन्न गर्न निर्माण पक्षलाई भनेका छौं, निर्माणका क्रममा खोला थुनिने गरी राखिएका सामान र माटो हटाएर खोला पूर्णरूपमा खोल्न भनेका छौं, आवश्यक सवारी साधन र मजदुरका लागि पास व्यवस्था गरेकाले आजैदेखि काम शुरु हुनेछ ।”
कोभिड–१९ को विपद् व्यवस्थापनसँगै वर्षामा हुनसक्ने विपद् व्यवस्थापनको तयारीसमेत शुरु गरिएको जनाइएको छ । दुई वर्षअघिको वर्षामा मध्यपुरथिमि र भक्तपुरका धेरै ठाउँ डुबानमा परेकाले यसवर्ष त्यस्तो विपद् आउन नदिन तयारीमा लागेको जानकारी दिँदै उनले विपद् व्यवस्थापनका सम्पूर्ण सामग्री र जनशक्ति तयारी अवस्थामा राखिएको जानकारी दिए ।
उनले भने, “हामी कोरोनासँग जुधिरहेका छौं, यो अवस्थामा कोरोना सङ्कट व्यवस्थापनको साथै वर्षामा हुनसक्ने विपद् व्यवस्थापनको तयारीमा पनि जुटेका छौं, हामी जनशक्ति र सामग्री सबै तवरबाट तयारी अवस्थामा छौं।” खरिपाटीमा क्वारेन्टाइन निर्माणदेखि कोरोना भाइरस नियन्त्रणको अभियानसँगै पिपिइ, मास्क, पञ्जालगायतका सामग्रीको व्यवस्थापनमा सेनाको सो गण सक्रिय हुँदै आएको छ । रासस