काठमाडौं । चर्को प्रतिस्पर्धाबीच वाणिज्य बैंकहरुमा नतिजामुखी प्रमुख कार्यकारी अधिकृतहरुको खोजी शुरु भएको छ । चार वटा वाणिज्य बैंकमा प्रमुख कार्यकारी अधिकृत पद खाली हुँदै छ भने कार्यसम्पादन नतिजा कमजोर भएका बैंक सञ्चालक समितिहरु पनि नयाँ सीईओको खोजी रहेको बुझिएको छ ।
ग्लोबल आईएमई बैंकमा चार महिनादेखि प्रमुख कार्यकारी पद खाली छ । तत्कालिन प्रमुख कार्यकारी अधिकृत जनकराज शर्माले माघको पहिलो साता राजीनामा दिएपछि उक्त बैंकमा कामु सिईओको रुपमा महेश ढकाल कार्यरत छन् ।
सरकारको बजेट आएपछि मात्र बैंकले नयाँ सीईओ राख्ने तयारी गरेको स्रोतले बतायो । ‘बजेटमा मर्जर नीति आउने सम्भावना छ । सरकारको नीतिले मर्जमा जानु पर्ने अवस्था आयो भने परिस्थिति अर्कौ बन्छ’ स्रोतले भन्यो ।
नेपालको सबैभन्दा पुरानो बैंक नेपाल बैंकमा पनि प्रमुख कार्यकारी अधिकृत पद खाली छ । देबेन्द्रप्रताव शाहको कार्यकाल गत चैतदेखि सकिएको हो । सरकारी सेयर बहुमत भएको यस बैंकमा सरकारले बैकिङ बुझेको नेकपाको क्याडर खोजी गरिरहेको छ ।
सनराईज बैंकमा रत्नराज बज्राचार्यको कार्यकाल सकिएको छ । चार वर्षे कार्यकाल सकिएपछि बज्राचार्यले बैंक छोडेका हुन् । सनराईजले बैंकभित्रबाट भन्दा बाहिरबाट नयाँ सीईओको खोजी गरिरहेको स्रोतले बतायो ।
उता प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरको पनि कार्यकाल सकिन लागेको छ । बैंक स्थापनाकाल देखि नै सीईओ रहेका मानन्धर थप कार्यकालको लागि अनिच्छुक रहेकोले सञ्चालक समितिले नयाँ सीईओको खोजी शुरु गरेको छ ।
उता सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भूवन दाहालले पनि वर्हिगमन खोजेको स्रोतले बतायो । कार्यकाल बाँकी नै भए पनि पछिल्लो समय उनी तनावमा रहेको र उनले सानिमा बैंक छोडेर विदेश जाने इच्छा प्रकट गरेको उनी निकट स्रोतले बतायो ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा केही बैंकको नाफा ५० प्रतिशतभन्दा माथि हुँदा केही बैंकको नाफा वृद्धि ऋणात्मक भएको छ । केहीको नाफा वृद्धि १० प्रतिशतभन्दा पनि कम देखिएको छ ।
व्यवसाय र नाफा विस्तार दुबैतर्फ कमजोर रहेका बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरु उच्च दवावमा परेका छन् । ती बैंकका सञ्चालक समिति नतिजामुखी सीईओको खोजीमा देखिएको जानकारहरु बताउँछन् ।
एकै पटक धेरै बैंकहरु प्रमुख कार्यकारी अधिकृतको खोजिमा रहेकाले आकांक्षीहरुको दौडदुप पनि चलेको छ । कुलिङ पिरेड सम्बन्धी नीतिका कारण वहालवाला सीईओहरुलाई संस्था परिवर्तन गर्न सजिलो छैन । त्यसैले खाली रहेको पूर्व सीईओहरुको सक्रियता बढी देखिएको छ ।