काठमाडौं । कर्णालीका १७ स्थानीय तह बैंकविहिन रहेका छन् । नेपाल राष्ट्र बैंकले निर्देशन दिएको एक वर्ष बितिसक्दा समेत कर्णालीका १७ स्थानीय तह अझै बैंक विस्तार भएको छैन । सुरक्षा, विद्युत् र इन्टरनेटजस्ता आधारभूत पूर्वाधारको अभाव जनाउँदै बैंकले ती स्थानीय तहमा शाखा विस्तार नगरेका हुन् ।
कर्णाली प्रदेशका ७९ मध्ये हालसम्म ६२ स्थानीय तहमा मात्र बैंकका शाखा छन् । राष्ट्र बैंकका निर्देशक हिमप्रसाद न्यौपानेले स्थानीय तहमा शाखा विस्तार गर्न सम्बन्धित बैंकलाई प्रथामिकता दिएको बताएका छन् ।
बैंकलाई आवश्यक पर्ने आधारभूत पूर्वाधार नहुँदा शाखा विस्तार गर्न समस्या रहने हुँदा बैंकको सुरक्षा, विद्युत् र इन्टरनेटको समस्या देखाएको जानकारी दिएका छन् ।
निर्देशक न्यौपानेले आगामी असार मसान्तभित्र सबै स्थानीय तहमा वाणिज्य बैंकले शाखा विस्तार गर्ने जिकिर गरेका छन् । सरकारी कारोवारको सहजताका लागि ०७६ असार मसान्तसम्म देशभरका स्थानीय तहमा आफ्नो शाखा विस्तार गर्न वाणिज्य बैंकलाई पनि निर्देशन दिएको छ । राष्ट्र बैंकले कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा छिट्टै आफ्नो प्रादेशिक संरचना निर्माण गर्ने जनाएको छ ।