काठमाडौं । सानिमा बैंक लिमिटेडको प्रस्तावित १४ प्रतिशत नगद लाभांश पारित भएको छ । बिहीबार सम्पन्न बैंकको १४औँ वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।
सभाले पारित गरेबमोजिम बैंकले सेयरधनीलाई चुक्ता पुँजीको सो मात्राको नगद लाभांश वितरण गर्ने भएको छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब रहेको छ ।
साथै, सभाले सर्वसाधारण समूह (समूह“ख”) बाट संचालक समितिमा प्रतिनिधित्व गर्ने २ (दुई) जना संचालकमा भरतकुमार पोखरेल र महेश घिमिरे निर्बिरोध निर्वाचित भएका छन् ।
आर्थिक वर्ष २०७४/७५मा खुद नाफा १ अर्ब ७० करोड रुपैयाँ मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति ९१ अर्ब ८२ करोड रुपैयाँ रहेको छ । त्यस्तै, बैंकको कुल निक्षेप ७९ अर्ब १८ करोड तथा कर्जा सापटी खुद ६९ अर्ब २४ करोड रुपैयाँ रहेको छ ।
बैंकले आर्थिक वर्ष २०७३/७४ को तुलनामा नाफा, निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश २३.२७, ३५.९९, ३४.०८, र ३२.१५ प्रतिशतले बृद्धि गरेको छ ।