काठमाडौं । चीनले नेपालमा रहेका पेट्रोलियम खानीहरु अन्वेषणको कार्ययोजना बुझाएको छ । चिनियाँ प्राबिधिक टोलीले गरेको स्थलगत अध्ययनपछि तयार पारिएको प्रतिवेदनका आधारमा चीनले नेपाल सरकारलाई कार्यान्वयन योजना पठाएको हो ।
चाइना जिओलोजिकल सर्भेले अध्ययन प्रतिवेदनसहितको कार्यान्वयन योजना २ महिना अघि नै नेपाल सरकारलाई उपलब्ध गराएको खानी विभागका महानिर्देशक राजेन्द्र खनालले बताए ।
‘चीनियाँ टोलीले बजेटसहित थप अन्वेषणको योजना पठाएको छ, केहि ब्लकमा ड्रिल गरेर इन्धनको मात्रा र गुणस्तरसम्म जाच्न प्रस्ताव गरेको छ’, विभागका महानिर्देशक खनालले भने ।
विभागले आगामी आर्थिक बर्षका लागि पेट्रोलियम पदार्थहरुको अन्वेषणका लागि एक करोड बजेट विनियोजन गरेको छ । श्रोतका अनुसार चिन सरकारले नेपालमा पेट्रोलिमय उत्खननका लागि २ अर्ब २० करोडको बजेट विनियोजन गरेको छ । तर नेपालले भने ४ अर्ब रुपैंया लाग्ने प्रक्षेपण पठाएको छ ।
चीनले ६।७ ठाउँमा ड्रिल गरेर पेट्रोलियम पदार्थको मात्रा र गुणस्तर पत्ता लगाउने बताएको छ । सन २०१६ को अप्रिल ३० मा नेपाल आएको ६ सदस्यीय चाइना जिओलोजिकल सर्भेको टोलीले सुर्खेत(दैलेख, बुटवल(पाल्पा र चतरा(बराह क्षेत्रमा रहेका पेट्रोलियम खानीको संभाव्यता अध्ययन गरेको थियो । अब यीनै ब्लकहरुमा ड्रिल गरिनेछ ।
२०७४ साउन ३१ गते चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङको नेपाल भ्रमणका क्रममा नेपालका पेट्रोलियम खानीहरुको अन्वेषण तथा उत्खनन गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिएको थियो । सो अघि तत्कालिन प्रधानमन्त्री केपी ओलीले चिन भ्रमणका क्रममा जारी गरेको संयुक्त वक्तव्यमा पनि नेपालका पेट्रोलियम खानीहरुको अन्वेषण गर्ने उल्लेख थियो ।
पेट्रोलियम नियमावली २०४१, पाँचौं संसोधन २०७४ नेपाल पत्रमा प्रकाशित भएसँगै पेट्रोलियम उत्खननको बाटो खुल्ला भएको थियो । मन्त्रिपरिषदले स्वीकृत गरेको नियमावलीको पाँचौं संसोधन २०७४ साल साउन ९ गते नेपाल पत्रमा प्रकाशित भएर कार्यान्वयनमा आएको थियो ।
यी हुन १० ब्लक
नेपालका १० वटा ब्लकहरुमा पेट्रोलियम पदार्थको खानी रहेका छन् । ती खानीहरुले क्रमशः धनगढी, कर्णाली, नेपालगञ्ज, लुम्बिनी, चितवन, बिरगञ्ज, मलंगवा, जनकपुर, राजबिराज र बिराटनगरका एक देखि १० नम्बर ब्लकका रुपमा नामाकरण गरिएको छ ।