कालिमाटी रत्नपार्क हुँदै बौद्धसम्म शहरी केबलकार, १५ अर्ब लागत

<p>काठमाडौं । कालिमाटी देखि रत्नपार्क हुँदै बौद्धसम्म सञ्चालन हुने शहरी केबलकारको सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । फ्रान्स सरकारको आर्थिक सहयोगमा एमडीपी कन्सल्टिङ एण्ड इञ्जिनियरिङ र सिस्ट्राले संयुक्त रुपमा सम्भाव्यता अध्ययन गरेका हुन् । अध्ययनका लागि फ्रान्स सरकारले साढे तीन करोड रुपैंयाँ खर्चको थियो । फ्रान्स नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष श्याम मोहन श्रेष्ठले ७ [&hellip;]</p>

काठमाडौं । कालिमाटी देखि रत्नपार्क हुँदै बौद्धसम्म सञ्चालन हुने शहरी केबलकारको सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । फ्रान्स सरकारको आर्थिक सहयोगमा एमडीपी कन्सल्टिङ एण्ड इञ्जिनियरिङ र सिस्ट्राले संयुक्त रुपमा सम्भाव्यता अध्ययन गरेका हुन् । अध्ययनका लागि फ्रान्स सरकारले साढे तीन करोड रुपैंयाँ खर्चको थियो ।

फ्रान्स नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष श्याम मोहन श्रेष्ठले ७ किलोमिटर केबलकारको निर्माण लागत १५ अर्ब हुने प्रक्षेपण गरिएको बताए । सो दुरी यात्रा गर्दा सुरुमा ४० रुपैंयाँ भाडा तोक्न सकिने अध्ययनले देखाएको हो ।

सम्भाव्यता अध्ययन प्रतिवेदन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठलाई बुझाईसकिएको श्रेष्ठले बताए । बौद्धबाट सुरु हुने केबलकार चावहिल, गौशाला, डिल्लीबजार, रत्नपार्क न्युरोड, बसन्तपुर हुँदै कालिमाटीसम्म पुग्नेछ । केबल कारको गति भने प्रति सेकेण्ड पाँच मिटर हिड्नेछ ।

बौद्ध, गौशाला, डिल्लीबजार, रत्नपार्क, न्युरोड, बसन्तपुर र कालीमाटीमा स्टेशन राखिनेछ । १५८ वटा डब्बा राखिने केबल कारका प्रत्येक डब्बाले १० देखि १२ जना यात्रु बोक्नेछ । श्रेष्ठले रत्नपार्क हुँदै पुल्चोक, जावलाखेल, लगनखेल र सातदोबाटो जाने अर्काे रुटको पनि सम्भाव्यता अध्ययन सम्पन्न भएको बताए ।

त्यस्तै, रत्नपार्कबाट लैनचौर गोंगम्बु हुँदै नयाँ बस पार्कसम्म जाने तेश्रो रुटको पनि पहिचान भएको जानकारी दिए । रत्नपार्कबाट लैनचौर हुँदै लाजिम्पाट, चक्रपथको अर्काे रुट पनि सम्भावित रहेको बताए ।

पीपीपी मोडल प्रस्ताव
सम्भाव्यता अध्ययन सम्पन्न भएसँगै डीपीआर र निर्माण कार्यका लागि पीपीपी मोडल प्रस्ताव गरिएको श्रेष्ठले जानकारी दिए ।‘सरकारले २०/२५ प्रतिशत लगानी गरोस, निजी क्षेत्रले केहि लगानी गर्छ र केहि लगानी एडीबी, जाइका जस्ता दातृ निकायबाट खोज्न सकिन्छ’, श्रेष्ठले भने ।

निर्माण आरम्भ भएको २ बर्षभित्रै सम्पन्न गरेर सञ्चालन गर्न सकिने अवस्था रहेको सम्भाव्यता अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । काठमाडौं उपत्यकाको भित्रि सडकमा मेट्रो र मोनो रेल सम्भव नभएकाले केबल कार नै उपयुक्त विकल्पका रुपमा रहेको दावी पनि प्रतिवेदनमा गरिएको छ ।

भेनेजुयला, ब्राजिल, बोलिभिया, कोलम्बिया लगायतका देशमा शहरी केबल कार सञ्चालन भैरहेको दावी गर्दै उपत्यकाको भित्रि सडकमा केबल कार नै सबै भन्दा राम्रो यातायातको साधन हुन सक्ने प्रतिवेदनमा लेखिएको छ ।

Share News