टिकटकदेखि दुर्लभ खनिजसम्म : ट्रम्प–सी बीचको ‘ट्रेड वार’ झन् गहिरिँदै

काठमाडौं । चीनले दुर्लभ खनिज (रेयर अर्थ) निर्यात नियन्त्रणलाई ‘वैध’ भन्दै अमेरिकाको नयाँ शुल्क कदमको कडा आलोचना गरेको छ, जसले ट्रम्प–सी भेट हुने वा नहुने अवस्थालाई अनिश्चित बनाएको छ । आइतबार चीनले दुर्लभ खनिजमा नयाँ निर्यात नियन्त्रणलाई अन्तर्राष्ट्रिय कानुनअनुसारको ‘वैध कदम’ भन्दै अमेरिकाले लगाएको ‘आर्थिक दबाब’ का आरोपहरू अस्वीकार गरेको हो । वाशिङ्टनले चीनमाथि व्यापक प्रतिशोधात्मक शुल्क र निर्यात प्रतिबन्ध घोषणा गरेपछि चीनको यो प्रतिक्रिया आएको हो । चीनको वाणिज्य मन्त्रालयले अक्टोबर ९ मा जारी ती नियन्त्रणहरूलाई आफ्नो निर्यात नियन्त्रण प्रणाली सुदृढ गर्ने र ‘विश्व शान्ति तथा क्षेत्रीय स्थायित्वलाई संरक्षण गर्न’ उठाइएको कदम बताएको छ । मन्त्रालयका अनुसार यो निर्णय विश्व सुरक्षा अवस्थाको अस्थिर पृष्ठभूमिमा गरिएको हो । यी नयाँ कदमहरूले दुर्लभ खनिज मात्र होइन, त्यससँग सम्बन्धित बौद्धिक सम्पत्ति र प्रविधिलाई पनि समेटेका छन् । यो घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच सम्भावित भेट हुनुअघि केही साताअघि गरिएको हो । ‘यी नियन्त्रणहरू निर्यात प्रतिबन्ध होइनन्। निर्धारित मापदण्ड पूरा गर्ने आवेदनहरू स्वीकृत गरिनेछ,’ वाणिज्य मन्त्रालयका प्रवक्ताले भने, ‘चीनले यी कदमहरूको आपूर्ति शृंखलामा पर्ने प्रभावको पूर्ण मूल्यांकन गरिसकेको छ र प्रभाव अत्यन्तै सीमित हुनेमा विश्वस्त छ ।’ नयाँ नियमअनुसार अब विदेशी कम्पनीहरूले ०.१ प्रतिशतभन्दा बढी चिनियाँ स्रोतबाट प्राप्त दुर्लभ खनिज भएका वा चीनको खनन, प्रशोधन, चुम्बक निर्माण वा पुनःप्रयोग प्रविधि प्रयोग गरी बनेका उत्पादनहरू निर्यात गर्न विशेष अनुमति लिनुपर्नेछ । हतियार वा सैन्य प्रयोजनका लागि प्रयोग हुन सक्ने वस्तुहरूका लागि आवेदन अस्वीकृत गरिनेछ । बेइजिङले यी नियन्त्रण कडा बनाएको केही समयमै चीनस्थित युरोपेली वाणिज्य मण्डलले निर्यात अनुमति पत्रका आवेदनहरू रोकिने अवस्थाको जानकारी दिँदै नयाँ नियमहरूले ‘दुर्लभ खनिज आपूर्ति शृंखलामा थप जटिलता’ थपेको बताएको छ । यसको जवाफमा ट्रम्पले अक्टोबर १० मा चीनबाट आयात हुने वस्तुहरूमा हालको भन्दा ‘अतिरिक्त १०० प्रतिशत शुल्क’ नोभेम्बर १ देखि लागू हुने घोषणा गरे । उनले सोही मितिदेखि ‘महत्त्वपूर्ण सफ्टवेयरहरू’ मा पनि अमेरिकी निर्यात नियन्त्रण लागू हुने बताएका थिए । ट्रम्पले ‘ट्रुथ सोसल’ मा लेखेको सन्देशपछि विश्व बजारमा ठूलो गिरावट आयो — जसले करिब २ ट्रिलियन डलर बराबरको बजार मूल्य नष्ट गर्‍यो । उनले भनेका थिए, ‘चीनलाई दुर्लभ खनिज नीतिमार्फत विश्वलाई ‘बन्धक’ बनाउन दिइनु हुँदैन ।’ चीनको वाणिज्य मन्त्रालयले अमेरिकामाथि ‘दोहोरो मापदण्ड’ अपनाएको आरोप लगाउँदै भन्यो — ‘अमेरिकाको नियन्त्रण सूचीमा ३ हजारभन्दा बढी वस्तु छन्, जबकि चीनको सूचीमा १ हजारभन्दा कम छन् ।’ विश्वको करिब ७० प्रतिशत दुर्लभ खनिज आपूर्ति चीनले गर्छ र उसले यी आवश्यक खनिजहरूलाई बारम्बार व्यापारिक वार्तामा दबाबका रूपमा प्रयोग गर्दै आएको छ । तनाव थप चुलियो दुर्लभ खनिज निर्यात नियन्त्रण कडा बनाएलगत्तै चीनले अक्टोबर १४ देखि अमेरिकी जहाजहरूले चिनियाँ बन्दरगाह प्रयोग गर्दा शुल्क तिर्नुपर्ने घोषणा गर्‍यो । यो कदम अमेरिकाले पनि सोही मितिदेखि चिनियाँ जहाजहरूलाई लाग्ने नयाँ शुल्क घोषणा गरेसँगै आएको हो । रणनीतिक र अन्तर्राष्ट्रिय अध्ययन केन्द्रका अनुसार विश्व जहाज निर्माण बजारमा अमेरिकाको हिस्सा ०.१ प्रतिशत मात्र छ भने चीनको ५३.३ प्रतिशत छ । चीनले आफ्नो निर्णयलाई ‘आवश्यक र रक्षात्मक प्रतिक्रिया’ बताउँदै अमेरिकाको कदमले ‘दुवै देशबीचको आर्थिक र व्यापारिक वार्ताको वातावरणलाई गम्भीर रूपमा नोक्सान पुर्‍याएको’ जनाएको छ । ट्रम्पले सुरु गरेको विश्वव्यापी व्यापार युद्धपछि पहिलो पटक अमेरिकी र चिनियाँ वरिष्ठ अधिकारीहरू मे महिनामा जिनेभामा व्यापार वार्तामा बसेका थिए । जुन महिनामा लण्डनमा भएको दोस्रो वार्तामा व्यापार ‘ढाँचा’मा सहमति भएको थियो । तेस्रो चरणको उच्चस्तरीय वार्ता जुलाईमा भयो, जहाँ दुवै पक्षले प्रगति भएको संकेत दिएका थिए । सेप्टेम्बरमा म्याड्रिडमा सम्पन्न पछिल्लो वार्तामा टिकटकको अमेरिकी स्वामित्व फिर्ता सम्बन्धी ‘आधारभूत सहमति’ भएको थियो । सेप्टेम्बर १९ मा ट्रम्प र सीबीच टेलिफोन वार्ता भए पनि टिकटकबारे अन्तिम निर्णय भएन । त्यसपछि ट्रम्पले घोषणा गरे कि उनी र सी अक्टोबरको अन्तिम साता दक्षिण कोरियाको ग्येओन्जुमा हुने एशिया–प्रशान्त आर्थिक सहयोग (एपीईसी) सम्मेलनको क्रममा भेट्नेछन् । चीनले आगामी भेटबारे मौनता साधेको भए पनि ट्रम्पले आगामी वर्ष चीन भ्रमण गर्ने र त्यसपछि सी अमेरिका आउने बताएका थिए । तर, चीनले दुर्लभ खनिजमा नयाँ निर्यात नियन्त्रण कडा बनाएपछि ट्रम्पले शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो सीसँगको आगामी भेट रद्द गर्ने चेतावनी दिएका छन्।

मन्सा मुसा : विश्व इतिहासका सबैभन्दा धनी राजा जसको सम्पत्ति आज पनि एलन मस्कभन्दा धेरै

काठमाडौं । डिजिटल युगमा जब हामी ‘सबैभन्दा धनी’ भन्ने विषयमा सोच्दछौं तब धेरैको मनमा पहिलो नाम आउँछ– एलन मस्क । तर करिब १४औं शताब्दीमा पश्चिम अफ्रिकामा शासन गरेका माली साम्राज्यका राजा मन्सा मुसा (Mansa Musa I) को तुलनामा यी आधुनिक उद्योगपतिको सम्पत्ति धेरै कम देखिन्छ । मन्सा मुसालाई विश्वकै इतिहासकै सबैभन्दा धनी व्यक्ति मानिन्छ। मन्सा मुसा करिब १२८०–१३३७ ईस्वीमा माली साम्राज्यका राजा थिए । उनी आफ्नो साम्राज्यका सुन, खनिज स्रोत, व्यापार, भूमि र कर बाट अकल्पनीय धनको मालिक बने । आजको मूल्यमा उनको सम्पत्ति करिब ४–५ ट्रिलियन अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । यो आधुनिक समयका धनी उद्योगपति मस्क वा बेजोसको सम्पत्तिभन्दा धेरै गुणा बढी हो । उनको प्रसिद्धि विशेषगरी १३२४–१३२५ ईस्वीको हजयात्राबाट फैलियो । मन्सा मुसा मक्कामा हज गर्न गएका थिए र उनका हजारौं अनुयायी, सैनिक र सेवकहरू उनीसँगै थिए । उनले यात्रा गर्दा हजारौं किलो सुन वितरण गरे, जसले गर्दा अरब र इजिप्ट क्षेत्रको अर्थव्यवस्था केही समयका लागि अस्थिर भएको थियो । यो यात्रा केवल धार्मिक उद्देश्यको मात्र नभई माली साम्राज्यको शक्ति, सम्पत्ति र सांस्कृतिक सम्पदा प्रदर्शन गर्ने अवसर पनि बनेको थियो । मन्सा मुसा केवल धनाढ्य मात्र थिएनन्स उनी विद्या, कला र संस्कृति संरक्षणकर्ता पनि थिए । उनले टिम्बक्टु, जिने, कणो जस्ता शहरहरूलाई शिक्षा र सांस्कृतिक केन्द्रमा परिणत गरे ।  टिम्बक्टुमा उनले पुस्तकालय, इस्लामिक विद्यालय (मद्रासा) र विश्वविद्यालय स्थापना गरे, जसले पछि शताब्दीभर विद्वान र विद्यार्थीलाई आकर्षित गर्‍यो । उनी आफैले विद्वानलाई आमन्त्रित गर्थे र किताब किन्थे, जसले ज्ञानको संरक्षणमा ठूलो योगदान पुर्‍यायो । वास्तुकलामा पनि मन्सा मुसा अग्रणी थिए । उनले अफ्रिकामा इस्लामिक शैलीमा मस्जिद र सार्वजनिक भवनहरू बनाउन प्रोत्साहन गरेका थिए । टिम्बक्टुको प्रसिद्ध साँगोर मस्जिद उनकै शासनकालमा बनेको हो । मन्सा मुसाको सन्तानको बारेमा ऐतिहासिक रूपमा स्पष्ट जानकारी छैन । सिंहासनको उत्तराधिकारी परिवार वा अन्य सम्बन्धीबाट आएको मानिन्छ । तर उनका योगदानहरूले माली साम्राज्यलाई विश्वकै आर्थिक, धार्मिक र सांस्कृतिक शक्ति बनाएको थियो । मन्सा मुसाको जीवन र शासनकालले प्रमाणित गर्छ कि वास्तविक शक्ति केवल धनमा होइन, विद्या, संस्कृति र धर्मको संरक्षणमा पनि छ । उनी केवल धनी राजा नभई, इतिहासका उत्कृष्ट शासक र सांस्कृतिक संरक्षकका रूपमा आज पनि सम्झिन्छन् ।

हंगेरीका लाज्लो क्राज्नाहोरकाईले पाए साहित्यमा नोबेल पुरस्कार

काठमाडौं । साहित्यिक क्षेत्रका उत्कृष्ट कृति र योगदानको कदर गर्दै यस वर्षको नोबेल पुरस्कार हंगेरीका लेखक लाज्लो क्राज्नाहोरकाईलाई प्रदान गरिएको छ । विजेताको घोषणा आज गरिएको हो । नोबेल पुरस्कारको आधिकारिक वेबसाइटका अनुसार ‘​​​विनाशकारी डरको वातावरणबीच कलाको शक्ति पुन: स्थापित गर्ने र प्रभावशाली तथा दूरदर्शी रचनात्मक कार्यका लागि यो पुरस्कार दिइएको हो ।’  ‘लाज्लो क्राज्नाहोरकाई मध्य युरोपेली साहित्य परम्पराका एक महान महाकाव्य लेखक हुन् । यो परम्परा फ्रान्ज काफ्कादेखि थोमस बेर्नहार्डसम्म फैलिएको छ,’  वेबसाइटमा उल्लेख छ । लाज्लोको जन्म सन् १९५४ मा हंगरीको दक्षिणपूर्वस्थित सानो सहरमा भएको थियो, जुन रोमानियाको सीमासँग नजिकै पर्छ । उनको पहिलो उपन्यास ‘सटान्टान्गो’ सन् १९८५ मा प्रकाशित भएको थियो र त्यसयता साहित्यप्रेमीहरूको मन जित्दै आएका छन् । यस पुरस्कारसँगै उनी विश्वसाहित्यको प्रतिष्ठित लेखकको रूपमा झन् बलियोसँग स्थापित भएका छन् ।