१२.७० अर्ब डलरमा अफ्रिकाकै ठूलो विमानस्थल इथियोपियामा ​​​​​​​बन्दै, ११ करोडलाई सेवा दिने

काठमाडौं । इथियोपियाले अफ्रिकाको सबैभन्दा ठूलो विमानस्थल बन्ने लक्ष्यसहित शनिबार राजधानी आदिस अबाबाको दक्षिणपूर्वमा पर्ने बिशोफ्टु सहरमा नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण औपचारिक रूपमा सुरु गरेको छ । निर्माण सम्पन्न भएपछि यो विमानस्थल महादेशकै सबैभन्दा विशाल हवाई यातायात केन्द्र हुने सरकारको दाबी छ । यस महत्त्वाकाङ्क्षी परियोजनाको कुल लागत करिब १२ अर्ब ७० करोड अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । पूर्ण क्षमतामा सञ्चालनमा आएपछि यस विमानस्थलले वार्षिक ११ करोड यात्रुलाई सेवा दिन सक्नेछ । परियोजना सम्पन्न गर्न करिब ५ वर्ष लाग्ने अनुमान गरिएको छ । राष्ट्रिय ध्वजावाहक इथियोपियन एयरलाइन्सको आंशिक लगानीमा निर्माण हुन लागेको बिशोफ्टु हबले हाल राजधानीमा सञ्चालनमा रहेको बोले अन्तर्राष्ट्रिय विमानस्थललाई प्रतिस्थापन गर्ने अपेक्षा गरिएको छ । बोले विमानस्थलले अहिले वार्षिक करिब २ करोड ५० लाख यात्रुलाई मात्र सेवा दिन सक्ने क्षमता राख्छ । प्रधानमन्त्री अबी अहमदले शनिबार यस परियोजनालाई ‘अफ्रिकाको उड्डयन इतिहासकै सबैभन्दा ठूलो पूर्वाधार परियोजना’ का रूपमा उल्लेख गर्दै यसको निर्माण सुरु भएको औपचारिक घोषणा गरे । उनले बहु-विमानस्थल रणनीतिले इथियोपियालाई भविष्यमा पनि अफ्रिकाको अग्रणी हवाई यातायात प्रवेशद्वारका रूपमा स्थापित गर्ने लक्ष्य लिएको स्पष्ट पारे । उनका अनुसार यस परियोजनाले इथियोपियन एयरलाइन्सको विश्वव्यापी प्रतिस्पर्धात्मक क्षमता अझ सुदृढ बनाउनेछ । साथै यसले अफ्रिकी मुलुकहरूबीचको हवाई सम्पर्क विस्तार गर्नुका साथै व्यापार र पर्यटनका मार्गहरूलाई थप मजबुत बनाउनेछ । दीर्घकालीन रूपमा इथियोपियालाई प्रमुख अन्तरमहाद्वीपीय हबको रूपमा उभ्याउने सरकारको विश्वास छ । यस विशाल विमानस्थल परियोजनाअन्तर्गत नयाँ हवाई अड्डालाई राजधानीसँग जोड्ने बहु-लेन मोटरवे निर्माण गरिनेछ भने ३८ किलोमिटर लामो उच्च-गतिको रेलमार्ग पनि समावेश गरिएको छ । प्रधानमन्त्री अहमदले उक्त रेलमार्गले प्रतिघण्टा २०० किलोमिटर (१२४ माइल) को गतिसम्म पुग्न सक्ने जानकारी दिए ।  परियोजनाको वित्तीय पक्षमा अफ्रिकी विकास बैंकले ५० करोड अमेरिकी डलर सहयोग उपलब्ध गराइसकेको छ । साथै इथियोपियाली अधिकारीहरू एसियाली विकास बैंक, युरोपेली लगानी बैंक र अमेरिकी विकास वित्त निगमसँग थप लगानी जुटाउने विषयमा छलफलमा रहेको बताइएको छ । अम्हारा र ओरोमिया क्षेत्रहरूमा जारी सशस्त्र द्वन्द्वका बाबजुद पनि इथियोपियाले यस परियोजनामार्फत विदेशी पर्यटन आकर्षित गर्ने अपेक्षा राखेको छ । बिशोफ्टु क्षेत्रमा निर्माण हुन लागेको भविष्यको विमानस्थल ३५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिनेछ । इथियोपियन एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत मेसफिन तासेव बेकेलेले गत नोभेम्बरमा बताउनुभए अनुसार यस परियोजनाका कारण करिब २ हजार ५०० किसान विस्थापित भएका छन्, जसलाई सरकारले गत वर्ष करिब ३५ करोड अमेरिकी डलर खर्च गरेर पुनःस्थापना गरेको थियो । करिब १३ करोड जनसङ्ख्या भएको इथियोपिया अफ्रिकाको दोस्रो सबैभन्दा बढी जनसङ्ख्या भएको देश हो । पछिल्ला वर्षहरूमा यस मुलुकले ठूला-ठूला पूर्वाधार परियोजनाहरू अघि बढाइरहेको छ । गत वर्ष इथियोपियाले महादेशकै सबैभन्दा ठूलो बाँधको औपचारिक उद्घाटन गरेको थियो भने आदिस अबाबा लगायत अन्य प्रमुख सहरहरूमा व्यापक सहरी नवीकरण परियोजनाहरू पनि तीव्र गतिमा अघि बढिरहेका छन् ।

इरानमा देशभर सरकार विरोधी प्रदर्शन, कडा दमन जारी, रोकिएन आन्दोलन

काठमाडौं । इरानभर फैलिएको सरकार विरोधी प्रदर्शन शनिबार दुई हप्ताको नजिक पुगेको छ । अधिकारीहरूले कडा दमन जारी राखेको भए पनि आन्दोलन रोकिएको छैन, बरु प्रमुख शहरहरूमा नयाँ र्‍यालीहरू देखिएका छन् । इन्टरनेट र अन्तर्राष्ट्रिय फोन सेवा लगभग पूर्ण रूपमा बन्द गरिएपछि देशभित्रको वास्तविक अवस्था बाहिरी संसारका लागि झनै अस्पष्ट बनेको छ । यद्यपि मानव अधिकार समूहहरू र सीमित रूपमा उपलब्ध भिडियो प्रमाणका आधारमा मृतक, घाइते र पक्राउ पर्नेहरूको सङ्ख्या तीव्र रूपमा बढिरहेको देखिएको छ । अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट्स न्युज एजेन्सीका अनुसार हालसम्म कम्तीमा ६५ जनाको ज्यान गएको छ भने २ हजार ३०० भन्दा बढी प्रदर्शनकारीलाई हिरासतमा लिइएको छ । अर्कोतर्फ, नर्वेमा आधारित इरान मानव अधिकार समूहले मृतकको सङ्ख्या कम्तीमा ५१ पुगेको भए पनि वास्तविक आँकडा अझ धेरै हुनसक्ने चेतावनी दिएको छ । इरानी राज्य टेलिभिजनले भने सुरक्षा बलमाथि भएको आक्रमण र सुरक्षाकर्मीको हताहतलाई जोड दिँदै राष्ट्रको नियन्त्रण कायम रहेको सन्देश प्रसारण गरिरहेको छ । सर्वोच्च नेता आयातोल्लाह अली खमेनीले पछिल्लो सम्बोधनमा प्रदर्शनलाई बाह्य शक्तिले उक्साएको आरोप लगाउँदै कडा शब्दमा निन्दा गरेका छन् । उनले अवज्ञा र अराजकता सहन नसकिने भन्दै थप दमनको सङ्केत गरे । यसबीच, संयुक्त राज्य अमेरिकाले प्रदर्शनकारीहरूप्रति समर्थन जनाउँदै कडा चेतावनी दिए । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिकाले इरानका साहसी नागरिकहरूलाई समर्थन गर्ने बताए । अमेरिकी विदेश मन्त्रालयले छुट्टै वक्तव्य जारी गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ‘खेल नखेल्न’ चेतावनी दिए ।  शनिबार इरानमा कार्य सप्ताह सुरु भए पनि धेरै विद्यालय र विश्वविद्यालयहरूले अनलाइन कक्षा सञ्चालन गरेका छन् । सरकारी तथा अर्धसरकारी वेबसाइटहरू आन्तरिक रूपमा सञ्चालनमा रहेको विश्वास गरिए पनि आम नागरिकको इन्टरनेट पहुँच प्रायः बन्द छ । कतारस्थित अल जजिरालाई अपवाद मान्दा अधिकांश अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरू इरानभित्र स्वतन्त्र रूपमा काम गर्न असमर्थ छन् । राज्य टेलिभिजनले सरकार समर्थक प्रदर्शनहरू देखाउँदै देशका अधिकांश सहरहरूमा राति शान्ति कायम रहेको दाबी गरेको छ । राष्ट्रवादी भावनालाई बलियो बनाउन इरान–इराक युद्धकालीन गीतहरू बारम्बार प्रसारण गरिएका छन् । तर एसोसिएटेड प्रेस र एएफपीले प्रमाणित गरेका भिडियोहरूले उत्तरी तेहरानको सादाताबादसहित विभिन्न क्षेत्रमा हजारौँ मानिस सडकमा उत्रिएर ‘खमेनी मूर्दावाद’ जस्ता नाराहरू लगाइरहेको देखाएका छन् । अर्ध–आधिकारिक फार्स समाचार एजेन्सीले इस्फहानबाट आएको भन्दै सार्वजनिक गरेको निगरानी क्यामेरा फुटेजमा केही प्रदर्शनकारीले आगजनी र हतियार प्रयोग गरेको देखाइएको छ । राज्य सञ्चालित यङ जर्नालिस्ट्स क्लबका अनुसार विभिन्न सहरमा बासिज स्वयंसेवक बल र प्रहरीसहित सुरक्षा निकायका केही सदस्यहरू मारिएका छन् । ती सुरक्षाकर्मीहरूको अन्त्येष्टि दृश्यहरू कोम र शिराजलगायत सहरहरूमा सरकारी टेलिभिजनले प्रसारण गरेको छ । बिहीबारदेखि सरकारले इन्टरनेट र अन्तर्राष्ट्रिय सञ्चार पूर्ण रूपमा बन्द गरेपछि अधिकारकर्मीहरू गम्भीर रूपमा चिन्तित बनेका छन् । नेटब्लक्स नामक इन्टरनेट निगरानी संस्थाले राष्ट्रव्यापी ब्ल्याकआउट ३६ घण्टाभन्दा बढी समयदेखि जारी रहेको जनाएको छ । एम्नेस्टी इन्टरनेसनलले सुरक्षा बलले प्रदर्शनकारीहरूमाथि घातक बलको गैरकानूनी प्रयोग बढाएको कष्टप्रद रिपोर्टहरू प्राप्त भइरहेको बताएको छ । नोबेल शान्ति पुरस्कार विजेता शिरिन एबादीले सञ्चार अवरोधको आवरणमा ‘व्यापक हिंसा र सम्भावित नरसंहार’ को जोखिम रहेको चेतावनी दिए । उनका अनुसार तेहरानका अस्पतालहरूमा आँखामा गम्भीर चोट लागेका सयौँ घाइतेहरू पुगेका छन् । यसअघि भएका आन्दोलनहरूमा पनि सुरक्षा बलले जानाजानी प्रदर्शनकारीहरूको आँखामा गोली हानेको आरोप लाग्दै आएको छ । तेहरान, मशहद, तब्रिज, कोम, हामेदानलगायत प्रमुख सहरहरूमा रातभर भएका प्रदर्शनमा मानिसहरूले भाँडा पिटेर, आगो बालेर र कारको हर्न बजाएर सरकारविरोधी भावना व्यक्त गरेका छन् । केही स्थानमा प्रदर्शनकारीहरूले शाहकालीन सिंह र सूर्य अङ्कित झण्डा फहराएका दृश्यहरू देखिएका छन्, जसले आन्दोलनभित्र विभिन्न राजनीतिक धाराहरू सक्रिय रहेको सङ्केत गर्छ । इरानका निर्वासित पूर्व युवराज रेजा पहलवीले आन्दोलनलाई ‘ऐतिहासिक’ भन्दै शनिबार र आइतबार थप लक्षित प्रदर्शन गर्न आह्वान गर्नुभएको छ । उनले अब आन्दोलनको लक्ष्य केवल सडकमा निस्कनु मात्र नभई ‘सहरका केन्द्रहरू कब्जा गर्ने तयारी’ रहेको बताए । यद्यपि उनको भूमिका र समर्थनबारे इरानभित्र मत विभाजित देखिन्छ । यो आन्दोलन डिसेम्बर २८ मा इरानी रियालको तीव्र अवमूल्यनपछि सुरु भएको हो । हाल रियाल करिब १४ लाख प्रतिअमेरिकी डलरमा कारोबार भइरहेको छ । आणविक कार्यक्रमका कारण लगाइएका अन्तर्राष्ट्रिय प्रतिबन्धले थलिएको अर्थतन्त्र, बढ्दो महँगी र बेरोजगारीले सुरु गरेको असन्तोष क्रमशः इस्लामिक गणतन्त्रको शासन व्यवस्थामाथि प्रत्यक्ष चुनौतीमा परिणत भएको विश्लेषकहरू बताउँछन् । इरानी अधिकारीहरूले भने देश ‘युद्धको अवस्थामा’ रहेको दाबी गर्दै कडा कदम चाल्ने चेतावनी दिएका छन् । अन्तर्राष्ट्रिय समुदायले बढ्दो हिंसा र दमनप्रति गहिरो चासो व्यक्त गर्दै संयमता, मानव अधिकारको सम्मान र संवादमार्फत समाधान खोज्न आग्रह गरिरहेको छ ।

आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.४ प्रतिशतले बढ्ने प्रक्षेपण

काठमाडौं । भारतको संघीय सरकारले आर्थिक वर्ष २०२५–२६ (१ अप्रिल २०२५ देखि ३१ मार्च २०२६) मा मुलुकको वास्तविक कुल ग्राहस्थ उत्पादन (जीडीपी) ७.४ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ ।  राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार यो प्रक्षेपण अघिल्लो आर्थिक वर्षको ६.५ प्रतिशतको आर्थिक वृद्धिदर भन्दा माथि रहेको छ । तथ्याङ्क कार्यालयका अनुसार आगामी आर्थिक वर्षमा भारतको नोमिनल जीडीपी ८ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।  भारतीय अर्थतन्त्रको यो विस्तारमा मुख्यतया सेवा क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने औंल्याइएको छ । सेवा क्षेत्रमा देखिएको निरन्तरको उत्साहजनक वृद्धिले समग्र अर्थतन्त्रलाई गति दिएको एनएसओले जनाएको छ ।  यो प्रक्षेपणले भारतीय अर्थतन्त्र सुधारको बाटोमा रहेको र आन्तरिक माग तथा सेवा क्षेत्रको प्रदर्शन बलियो रहेको सङ्केत गर्दछ ।