विहारमा विषाक्त मदिरा सेवनबाट ९२ जनाको मृत्यु, ६ वर्षमा १ हजार बढीको ज्यान गयो
काठमाडौं । भारतको पूर्वी राज्य विहारमा विषाक्त मदिरा सेवनबाट ९२ जनाको मृत्यु भएको छ भने बिरामी भएका कैयौँ अस्पतालमा भर्ना भएका छन् । सन् २०१६ मा राज्य सरकारले मदिरा बिक्री र उपभोगमा प्रतिबन्ध लगाए पनि यो महिना दूषित मदिरा पिएर ९२ जनाले ज्यान गुमाएका तथा धेरैलाई अस्पताल भर्ना गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । विषाक्त मदिरा सेवन गरेकाहरूले चक्कर लाग्ने, बान्ता हुने र दृष्टि धमिलो हुने गुनासो गरेका थिए । राज्यको राजधानी पटनाबाट ६० किलोमिटर उत्तरपश्चिममा रहेको सारण जिल्लाबाट सुरुमा मृत्यु भएको खबर आएको थियो । त्यहाँ सबैभन्दा धेरै ८५ जनाको मृत्यु भएको तथा २९ जनाले आँखाको ज्योति गुमाएका भारतको सरकारी प्रसारण संस्था अल इन्डिया रेडियोले जनाएको छ । राज्यका विभिन्न अस्पतालमा २१ जनाको उपचार भइरहेको र तीमध्ये ८ जनाको अवस्था गम्भीर रहेकाले ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने सम्भावना छ । विगत ६ वर्षमा विहारमा विषाक्त मदिराक सेवनबाट १ हजारभन्दा बढीको मृत्यु भएको तथा ६ लाख जना जेलमा परेका विपक्षी दलका नेता एवम् विहारका सांसद सुशीलकुमार मोदीलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले जनाएका छन् । भारतका ४ राज्य गुजरात, मणिपुर, नागाल्याण्ड र विहारमा मदिरा पूर्णरुपमा प्रतिबन्धित छ भने केही अन्य राज्यमा पनि यो आंशिक रूपमा प्रतिबन्धित छ तर यसको उत्पादन, बिक्री एवम् सेवन रोकिएको छैन । यो वर्षको जुलाईमा गुजरातमा विषाक्त मदिरा सेवनबाट ४२ जनाको मृत्यु भएको थियो । नेशनल क्राइम रेकर्ड ब्यूरोका अनुसार भारतमा गत वर्ष नक्कली मदिरा सेवनबाट ७८२ जनाको मृत्यु भएको थियो । सन् २०२० मा पञ्जाबमा विषाक्त मदिरा पिएपछि १२० जनाले ज्यान गुमाएका थिए ।
चीनमा कोरोना महामारी फेरि फैलिँदै
काठमाडौं । चीनको सिचुआन प्रान्तमा कोभिड–१९ का बिरामी बढेका छन् । सिचुआनमा गरिएको सर्वेक्षणमा ६० प्रतिशतभन्दा बढीले कोभिड–१९ को परीक्षण गराउँदा सकारात्मक परिणाम आएको बताएका छन् । सरकारी अधिकारीहरूले गरेको अनलाइन सर्वेक्षणमा १ लाख ५८ हजार ५ सयले भाग लिएका र भाग लिएका र ६३ प्रतिशतले आफ्नो परीक्षणको नतिजा सकारात्मक आएको बताए छन् । सिचुवान प्रान्तको जनसङ्ख्या ८३ लाख छ । यसैबीच, सिचुआन सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले कोभिडको परीक्षण नगरेका करिब ३० प्रतिशतले आफूलाई ज्वरो आएको र खोकी लागेको बताएकाले वास्तविक सङ्क्रमितको प्रतिशत बढी रहेको बताएको छ । यसै महिनाको प्रारम्भमा कोरोनाभाइरस नियन्त्रणमा सरकारले लचिलो नीति अपनाएपछि बिरामीको सङ्ख्या बढेको हो । कोभिडका बिरामी बढेसँगै ज्वरोको औषधि र ‘एन्टिजेन’ परीक्षण ‘किट’ पाउन कठिन भएको शानडोङ र युनान प्रान्तका केही भागमा तिको मूल्य बढेको छ । केही स्थानमा औषधिको अभाव भएको छ । साथै कोरोनाले चीनमा पुनः राष्ट्रव्यापी प्रकोपको रुप लिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
अमेरिकामा हिमआँधीमा परी ४९ जनाको मृत्यु
काठमाडौं । ‘शताब्दी कै विनासकारी हिमआँधी’ भनिएको आँधीबाट अमेरिकाका विभिन्न राज्यमा मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको सोमबार न्यूयोर्कका आपतकालीन कर्मचारीहरूले जानकारी गराएका छन् । प्रभावित बासिन्दाहरूलाई उद्धार गर्ने कोसिस भइरहेको स्थानीय प्रशासनले जनाएको छ । ‘उत्तरपूर्वी अमेरिकाका केही भागहरूमा हिमआँधीको अवस्था कायमै रहेको छ, यो खराब मौसमको विनाशकारी यात्रापछिको जोखिमयुक्त अवशेष हो, आँधीले देशलाई धेरै दिनसम्म चीसोको सामना गर्न बाध्य पारेको छ,’ न्यूयोर्कका गभर्नर क्याथी होचुलले भने । ‘हिमआँधीका कारण व्यापक रूपमा बिजुली कटौती भएको छ, हजारौँको बाटौमा अलपत्र परेका छन् र ९ राज्यहरूमा कम्तिमा ४९ जनाको मृत्यु भएको छ,’ न्यूयोर्क प्रशासनद्वारा सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । न्युयोर्क राज्यमा अधिकारीहरूले विशेष गरी बफेलोमा घन्टौंसम्मको हिमबर्षापछि, सवारी साधनको अवरूद्धता र हिउँको किनारमा शवहरू फेला परेको र आपतकालीन कर्मचारीहरू जीवित व्यक्तिहरूको खोजीमा ‘कारदेखि कारसम्म’ मा जाने डरलाग्दो अवस्थाको वर्णन गरेका छन् । तीव्र हिमआँधी, हावाहुरी र शून्यभन्दा कम तापक्रमका कारण हालैका दिनहरूमा १५ हजारभन्दा बढी अमेरिकी उडानहरू रद्द गरिएको ट्र्याकिङ, फ्लाइटवेयर डट कमले जनाएको छ । अमेरिकामा खराब जाडो मौसमको लागि अपरिचित नमानिने एरी काउन्टीको प्रसिद्ध शहर बफेलो सङ्कटपूर्ण अवस्थाको केन्द्रबिन्दुमा रहेको छ । शहरका धेरै भागमा ठूलो मात्रा तीन फिटसम्म हिउँले जमिनलाई ढाकेको छ । न्यूयोर्कका गभर्नर होचुलले मङ्गलबार पत्रकारसँगको कुराकानीमा भने, ‘निश्चित रूपमा यो शताब्दीको विनाशकारी हिमआँधी हो, न्युयोर्कका केही शहरमा रातभर ३० देखि ४० इन्च (०.७५ देखि १ मिटर) सम्म हिउँ जमेको छ ।’ विनाशकारी हिमआँधीपछि ह्वाइट हाउसले विज्ञप्ति जारी गर्दै होचुलले राष्ट्रपति जो बाइडेनसँग कुरा गरेको जनाएको छ । साथै न्यूयोर्क राज्यलाई सहयोग गर्न आग्रह गरे । बाइडेनले प्रभावित राज्यका लागि आपतकालीन सहयोगको घोषणालाई पनि अनुमोदन गरेको ह्वाइट हाउसले जनाएको छ ।