चीन-रुस व्यापार सम्बन्ध बिग्रिन थालेको हो ?
काठमाडौं । रुसी अधिकारी र सञ्चारमाध्यमले प्रायः आफ्नो देशको चीनसँगको आर्थिक सम्बन्धको रोमाञ्चक चित्र प्रस्तुत गर्छन् । दुवैले रुस र चीन बीचको व्यापार र संयुक्त परियोजनाहरू विस्तार गर्न वकालत पनि गरिरहन्छन् । तर, अहिले रुसी कम्पनीहरूले मात्रै चीनसँग व्यापार गर्न कठिनाइ भएको गुनासो गरिरहेका छन् । रुसी कम्पनीहरूले चिनियाँ बैंकले रोकिएको ट्रान्जेक्सन र शक्तिशाली चिनियाँ कम्पनीहरूबाट उनीहरूले सामना गरिरहेको कडा प्रतिस्पर्धाको बारेमा गुनासो गरिरहेका छन् । रुसी अधिकारीहरूले आफ्नो देशले विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनसँगको सम्बन्धलाई मजबुत बनाएको बताउँदै आएका छन् । यसबाट उनीहरूले रुसमाथि पश्चिमा राष्ट्रले नाकाबन्दी लगाए पनि चीन साथमा भए कुनै असर नपर्ने बताउँछन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनसँग आफ्नो देशको ‘अभूतपूर्व’ सहयोग रहेको बताएका छन् । रुस(युक्रेन युद्धपछि पश्चिमी देशका धेरै कम्पनीहरू रुसबाट बाहिरिएका छन् । चीनसँग रुसको बाचा पुटिन चिनियाँ कम्पनीहरूले रुसमा लगानी गरोस् भन्ने चाहन्छन् । यसका लागि उनी चिनियाँ कम्पनीलाई प्रोत्साहन गर्ने नीति पनि अपनाइरहेका छन् । सन् २०२३ को अन्त्यमा एक इन्भेस्टमेन्ट फोरममा पुटिनले चिनियाँ कम्पनीहरूलाई रुसमा आफ्नो गतिविधि विस्तार गर्न बाधाहरू हटाउने वाचा गरे । सरकारी तथ्यांकले रुस र चीनबीचको साझेदारी बढ्दै गएको देखाउँछ। २०२३ मा यी दुईबीचको व्यापार २ खर्ब ४० अर्ब अमेरिकी डलर पुगेको छ। तर, अहिले यसमा समस्या देखिएको छ । रुसले चीनलाई तेल र कोइला निर्यात गर्छ । यो निर्यात १२.७ प्रतिशतले बढेर १ खर्ब २९ अर्ब २० करोड डलर पुगेको छ । रुसमा चीनको निर्यात पनि ४६.९ प्रतिशतले बढेर १ खर्ब ११ अर्ब डलर पुगेको छ । यसमा कार र स्मार्टफोन समावेश छन् । अमेरिकी प्रतिबन्धका कारण चीनको व्यापारमा धक्का तर, हालै रुस र चीनबीचको व्यापारिक सम्बन्धमा केही अवरोधहरू देखा परेका छन् । रुसी कम्पनीहरूले चिनियाँ बैंकहरूमार्फत भुक्तानीका लागि पठाइएका चेकहरू बाउन्स भएको गुनासो गरेका छन् । रुस समर्थक दैनिक पत्रिका इज्भेस्टियाले आफ्नो स्रोतलाई उद्धृत गर्दै चीनका ठूला बैंकहरू आईसीबीसी, सिटी बैंक, इन्डस्ट्रियल बैंक र बैंक अफ ताइजुमार्फत रुससँग सम्बन्धित भुक्तानीमा समस्या रहेको बताएको छ । सर्भर, डाटा स्टोर सिस्टम र ल्यापटप जस्ता जटिल इलेक्ट्रोनिक सामानहरू एसेम्बल गर्न चिनियाँ पार्टपुर्जा प्रयोग गर्ने रुसी कम्पनीले यो समस्या बढी भोग्नुपरेको व्यापारिक पत्रिका कोमरसान्टले लेखेको छ । यी भुक्तानी सम्बन्धी समस्याहरू डिसेम्बर २०२३ पछि सुरु भयो । यसै महिना अमेरिकाले रुसमाथि धेरै प्रतिबन्ध लगाएको थियो । तर, मार्च २०२४ सम्म स्थिति खराब भयो । यहाँ, हालै चीनले आफ्नो नीति र नियमलाई अझ कडा बनाएको छ । चीनले रुसको कब्जामा रहेको युक्रेनको कुनै क्षेत्रबाट कुनै व्यापार भइरहेको छ कि छैन वा कुनै पनि लेनदेन रुसी सेनासँग सम्बन्धित छ कि छैन भनेर जानकारी मागिरहेको छ । पश्चिमी देशको प्रतिबन्धपछि रुस र चीनबीचको व्यापार बढेको थियो । तर, ब्लुमबर्गको रिपोर्ट अनुसार मार्च २०२३ को तुलनामा मार्च २०२४ मा रुसमा चीनको निर्यात १६ प्रतिशतले घटेको छ । रुसी व्यापारिक पत्रिका आरबीसीका अनुसार चिनियाँ विद्युतीय मेसिनरी, उपकरण र पार्टपुर्जाको प्रत्यक्ष डेलिभरी १५ प्रतिशतले घटेको छ । सोही महिनामा रुसको चीनमा कोइला निर्यात २१ प्रतिशतले घटेको छ । रुसमा चिनियाँ कम्पनीको विस्तार रोक्न माग तर, रुसको चीनसँगको बढ्दो व्यापारिक सम्बन्धले समस्या सिर्जना गरिरहेको रुसी व्यापारिक सर्कलमा भनिएको छ । उदाहरणका लागि रुसको सबैभन्दा ठूलो अटोमोबाइल निर्माता अव्टोवाजका प्रमुख म्याक्सिम सोकोलोभले सरकारलाई विदेशी कारहरूमा कर बढाउन आग्रह गरेका छन् ताकि आन्तरिक बजारमा चिनियाँ कम्पनीहरूको विस्तारलाई नियन्त्रण गर्न सकियोस् । सोकोलोभका अनुसार रसियामा चिनियाँ कार कम्पनीहरूको प्रभाव उल्लेखनीय रूपमा बढेको छ । हाल रुसी यात्रुवाहक कार बजारमा चिनियाँ कम्पनीहरूको हिस्सा बढेर ५० प्रतिशतभन्दा बढी पुगेको छ । सोकोलोभ रुसमा चिनियाँ कार कम्पनीहरूको प्रभाव उल्लेखनीय रूपमा बढेको छ। सोकोलोभ भन्छन्, ‘यसले रुसी अटो बजारको विकासमा बाधा पुर्याउने मात्र नभई घरेलु अटो र अटो पार्ट्सको बजारलाई पनि ठप्प पारेको छ ।’ यसैबीच रुसी सरकार भने चिनियाँ कम्पनीहरू रुसमा आएर स्थानीय बजारका लागि उत्पादन गरोस् भन्ने चाहन्छ । यसमा यात्रु कार, इलेक्ट्रोनिक्स सामान र ड्रोनजस्ता उत्पादनहरू समावेश छन् । ‘व्यापार गर्नुहोस् र आफ्नो भावनालाई नियन्त्रणमा राख्नुहोस्’ तर, यसको विपरीत रुससँग व्यापार गर्ने विषयमा चिनियाँ सञ्चारमाध्यममा निकै कम गुनासो छन् । रुसका लागि चिनियाँ राजदूत झाङ हानहुईले तीनवटा चिनियाँ बैंकले रुसको भुक्तानीलाई तेस्रो मुलुकको हस्तक्षेप भएको भन्दै अस्वीकार गरेका थिए । उनले अमेरिकी प्रतिबन्धको धम्कीलाई संकेत गरेका थिए । चीनको सरकारी मिडिया ग्लोबल टाइम्सका अनुसार उनले यो समस्याको समाधान छिट्टै खोजिने बताएका थिए । चिनियाँ सरकारी मिडिया आउटलेट गुआन्चाले यस समस्याको दुईवटा समाधान सुझाव दिएको छ । पहिलो भनेको कजाकिस्तान वा ताजिकिस्तान जस्ता तेस्रो देशमार्फत भुक्तानी हस्तान्तरण गर्नुपर्छ । दोस्रो समाधान रुसमा सबै भुक्तानीहरू प्रशोधन गर्न विशेष बैंक सिर्जना गर्नु हो, जसले यूरो र डलर प्रयोग नगरी काम गर्ने छ । उदाहरणका लागि इरानलाई तेलको भुक्तानी प्रशोधन गर्न इराक प्रयोग गरिएको थियो । गुआन्चाको लेखले चिनियाँ बैंकहरूको कार्यको रक्षा गर्दछ । अहिले पनि चीनले अमेरिकासँग ६ खर्ब ६० अर्ब डलर र युरोपेली युनियनसँग ४ खर्ब ८० अर्ब डलरको व्यापार गरिरहेको उल्लेख छ । जबकि रुससँग चीनको व्यापार हालसम्म २ खर्ब ४० अर्ब डलरमात्र पुगेको छ । रुस चिनियाँ कम्पनीहरूको सफलताको उत्सव मनाउँदै गुआन्चाले लेखेको छ, ‘यस विषयमा आपसी व्यापारिक हितमा थप छलफल हुनुपर्छ । यस मामिलामा भावनालाई हावी हुन दिनु हुँदैन।’ चिनियाँ सञ्चारमाध्यममा रुसी बजारमा चिनियाँ कार कम्पनीहरूको सफलताको उत्सव मनाइएको छ । उदाहरणका लागि गुआन्चाले फेब्रुअरी १७ मा एक लेख प्रकाशित गर्यो जसमा चिनियाँ कम्पनीहरूले उनीहरूलाई उच्च गुणस्तरको डिजाइन र उपकरणहरू उपलब्ध गराउँदै आएकाले चीनप्रति रुसी उपभोक्ताहरूको धारणा परिवर्तन भएको छ । दोंगचेदी डटकम नामक एक अटोमोबाइल वेबसाइटले आफ्नो एक लेखमा रुसी मिडियाको अपेक्षा धेरै उच्च भएको बताएको छ । रुसमा निर्यात हुने हरेक कार रुसमै बनोस् उनीहरू चाहन्छन् । सिना टेक्नोलोजी कम्पनीको आधिकारिक खाताले नयाँ रुसी ट्यारिफको विवरण दिएको छ, जसका कारण चिनियाँ कारहरू कम्तिमा एक तिहाइले महँगो हुँदै गएको छ । जसका कारण केही चिनियाँ कार डिलरले रुसी बजारमा आफ्नो काम रोकेका छन् । बीबीसी
जलवायु परिवर्तनले फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन
नाइजेरिया । गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही रोगको खतरालाई पुनर्जीवित वा स्थानान्तरण गर्दैछ भन्ने कुराको सम्झना गराएको थियो । यद्यपि अफ्रिकी महादेशमा मलेरियाले लाखौँ मानिसलाई मारेको वा बिरामी पारेको छ । नाइजेरियाको लागोस सहरको अनौपचारिक छिमेकी मकोकोका ६६ वर्षीया फनमिलायो कोटुनलाई नै लिन सकिन्छ। यहाँको फोहर पानीको पोखरीले मलेरिया फैलाउने लामखुट्टेका लागि अनुकूल प्रजनन अवस्था प्रदान गर्दछ। अमेरिकी डलर सातदेखि २१ को बीचमा पाइने उपचार गरिएको कीटनाशक मच्छरदानी कोटुनले किन्न सकिन्न। यहाँ एन्टिमलेरिया औषधि वा उपचार अत्यन्त कम हुन्छ। मलेरिया परजीवी अधिकांश सङ्क्रमित लामखुट्टेमार्फत मानिसमा फैलिन्छ र ज्वरो, टाउको दुख्ने र चिसोेलगायतका लक्षण निम्त्याउन सक्छ । यसले धेरैजसो पाँच वर्षभन्दा कम उमेरका बालिबालिका र गर्भवतीहरूलाई असर गर्दछ । खोपको प्रयास अहिले पनि प्रारम्भिक चरणमा छ । क्यामरुन यस वर्ष बालबालिकालाई नियमितरूपमा मलेरियाको नयाँ खोप दिने पहिलो मुलुक बन्यो । यहाँ यो ३० प्रतिशतमात्र प्रभावकारी छ र प्रसारणलाई यसले रोक्न सक्तैन । दोस्रो खोपलाई हालै मञ्जुरी दिइएको थियो । एन्टिमलेरिया औषधि र कीटनाशकहरूको प्रतिरोधका घटनाहरू बढिरहेका छन् भने सरकार र दाताहरूबाट नवप्रवर्तनका लागि कोष सुस्त भइरहेको छ । भीडभाड भएको क्षेत्र, जमेको पानी, खराब सरसफाई तथा उपचार र रोकथाम सामग्रीसम्म पहुँचको अभावले धेरै क्षेत्रमा बस्ने अवस्थाको भूमिका निर्वाह गर्दछ । यसअघि भारत र फारसको खाडीमा देखिएका लामखुट्टेको आक्रामक प्रजाति नयाँ चिन्ताको विषय बनेको छ । विश्वव्यापीरूपमा मलेरियाका मामिला बढिरहेका छन् । सन् २०१९ मा सङ्क्रमण २३ करोड ३० लाखबाट बढेर सन् २०२२ मा ८५ मुलुकमा २४ करोड ९० लाख पुगेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का अनुसार मलेरियाबाट मृत्युको सङ्ख्या सन् २०१९ मा पाँच लाख ७६ हजारबाट बढेर सन् २०२२ मा छ लाख आठ हजार पुगेको छ । मलेरियाको विश्वव्यापी बोझको करिब ७० प्रतिशत वहन गर्ने १२ मुलुकमा ११ अफ्रिकामा छन् भने अर्को मुलुक भारत हो । सन् २०२२ मा अफ्रिकामा मलेरियाबाट मर्ने पाँच लाख ८० हजारमा ८० प्रतिशत मृत्यु पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको भएको थियो । मलेरियाविरुद्धको लडाइँले तीव्ररूपमा निदान परीक्षण, खोप र नयाँ मच्छरदानीजस्ता कीटनाशक प्रतिरोधको सामना गर्ने क्षेत्रमा केही प्रगति देखिएको छ तर कोभिड–१९ र फोकस फर फन्डिङमा परिवर्तनले यी प्रयासहरूलाई पछाडि धकेलेको छ । गत वर्ष ट्रपिकल मेडिसिन एन्ड इन्फेक्सियस डिजिजमा प्रकाशित एक अध्ययनमा कोभिड–१९ का कारण जारी लकडाउनले सम्पूर्ण अफ्रिकामा ३० प्रतिशत ग्रामीण सामुदायिक स्वास्थ्य विन्दुहरूमा अवरोध उत्पन्न भएको बताइएको छ । सन् २००० र सन् २०१९ को बीच घट्ने प्रवृत्तिलाई तोड्दै मलेरियाका मामिला पुनः बढ्न थालेको छ । डब्ल्युएचओका अनुसार घट्दो प्रवृत्ति चाँडै फर्कन सक्छ । ग्लोबल फन्ड टु फाइट एड्सका कार्यकारी निर्देशक पिटर स्यान्ड्सले भने, ‘अफ्रिका जलवायु परिवर्तनको तीव्र अन्त्यमा छ र चरम मौसमी घटनाहरूको बढ्दो आवृत्तिले निम्न र मध्यम आय भएका क्षेत्रमा मलेरियासँग मुकाबिला गर्ने प्रयासलाई बर्बाद गरिरहेको छ ।’ सन् २०२३ मा डब्ल्युएचओको विश्व मलेरिया प्रतिवेदनमा पहिलो पटक मलेरिया र जलवायु परिवर्तनबीचको सम्बन्धमा एउटा अध्याय समावेश गरिएको छ । यसमा सम्भावित जोखिम गुणकका रूपमा यसको महत्त्माथि प्रकाश पारिएको छ । वैज्ञानिकहरूले माउन्ट किमिमान्जरोको ढलान र पूर्वी इथियोपियाको पहाडलगायत कुनै पनि समयमा लामखुट्टेको बसोबास नहुने क्षेत्रमा बस्ने मानिसहरू मलेरियाको चपेटामा आउनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । दशकौँमा आफ्नो सबैभन्दा तातो दिन रेकर्ड गरेको जिम्बाब्वेका केही जिल्लामा मलेरियाको प्रसारण अवधि बढाइएको छ । जिम्बाब्वेमा मलेरियाका लागि डब्ल्युएचओका प्राविधिक अधिकारी डा प्रिसियस एन्डिफासीले भने, ‘यो परिवर्तनका लागि जलवायु परिवर्तनलाई श्रेय दिइएको छ ।’ रासस
विश्वका धेरै देशहरूमा प्रतिबन्धित छन् भारतीय फुड आइटम
भारत विश्वमा मसलाको सबैभन्दा ठूलो उत्पादक, उपभोक्ता र निर्यातकर्ता हो । तर, हाल सिंगापुर र हङकङले दुई भारतीय कम्पनी भरेस्ट र एमडीएचलाई मसला उत्पादनमा प्रतिबन्ध लगाएका छन् । ती कम्पनीका उत्पादनमा तोकिएको सीमाभन्दा बढी विषादी ‘इथिलिन अक्साइड’ भेटिएको आरोप छ । सरकारले यी दुई देशमा रहेका भारतीय दूतावाससँग यस विषयमा विस्तृत प्रतिवेदन मागेको छ । साथै, यस सम्बन्धमा दुवै कम्पनीसँग विवरण माग गरिएको छ । विश्वका धेरै देशमा धेरै भारतीय खाद्य वस्तु प्रतिबन्धित छन् । समोसा भारतको सबैभन्दा लोकप्रिय स्ट्रिट फूड समोसा पूर्वी अफ्रिकी देश सोमालियामा प्रतिबन्धित छ । सोमालियामा समोसा प्रतिबन्धित हुनुको कारण यसको त्रिकोणीय आकार हो । सोमालियाको कट्टरपन्थी इस्लामिक संगठन अल शबाबले यसलाई क्रिस्चियन धर्मको प्रतीकको रूपमा हेर्छ । यो देशमा समोसा बनाउने, किन्ने र खानेलाई पनि सजाय दिइन्छ । च्यवनप्राश च्यवनप्राशलाई भारतमा औषधीका रूपमा लिइन्छ । यो धेरै प्रकारका जडीबुटी र मसलाको मिश्रण हो । तर, च्यवनप्रास क्यानडामा प्रतिबन्धित छ । सन् २००५ मा क्यानडा सरकारले यसलाई प्रतिबन्ध लगाएको थियो । यसमा ठूलो परिमाणमा सिसा र मरकरी भेटिएको आरोप छ । घिउ भारतमा शताब्दीयौंदेखि घिउ व्यापक रूपमा प्रयोग हुँदै आएको छ तर अमेरिकामा यसलाई प्रतिबन्धित गरिएको छ। धेरै प्रतिवेदनलाई उद्धृत गर्दै अमेरिकी एफडीएले घिउले मोटोपना, हृदयाघात र उच्च रक्तचापको जोखिम बढाउने बताएको छ । फोर्ब्सको रिपोर्ट अनुसार सन् १९६० को दशकदेखि घिउलाई अस्वस्थकर मानिन थालिएको थियो । मुटु रोगका लागि जिम्मेवार मानिन्थ्यो । तर, पछिल्ला केही वर्षयता प्रतिबन्ध हटाउने अभियानले तीव्रता पाएको छ । खसखस खसखस अथवा पोस्ता दाना अफिमको बिरुवाबाट अफिमको बीउ निकालिन्छ । धेरै देशहरूमा यो प्रतिबन्धित छ । यसको कारण यसमा मर्फिन र कोडिन जस्ता लागूऔषध पाइने जोखिम रहेको छ । साउदी अरब, सिंगापुर र युएईमा यसमा कडा प्रतिबन्ध छ । तोरीको तेल तोरीको तेल भारतमा खाना पकाउन व्यापक रूपमा प्रयोग गरिन्छ । तर, अमेरिका र युरोपका धेरै देशमा यो प्रतिबन्धित छ । यसमा युरिक एसिड हुने विश्वास गरिन्छ जुन स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । धेरै मात्रामा युरिक एसिड हुँदा मुटुमा असर पर्छ र लिपिड मेटाबोलिज्ममा पनि प्रतिकूल असर पर्छ । एजेन्सी