अपोलो-८ अन्तरिक्ष यात्री एन्डर्सको विमान दुर्घटनामा मृत्यु

वासिङ्टन डिसी । ५५ वर्षअघि अन्तरिक्षबाट ऐतिहासिक ‘अर्थराइज’ फोटो खिच्ने पूर्व अमेरिकी अन्तरिक्ष यात्री विलियम एन्डर्सको शुक्रबार ९० वर्षको उमेरमा विमान दुर्घटनामा मृत्यु भएको उनको परिवारले जनाएको छ। एन्डर्स सानो विमान उडाउँदै गर्दा शुक्रबार बिहान वासिङ्टन राज्यको तटमा दुर्घटनाग्रस्त भएको उनको छोराले अमेरिकी मिडियालाई बताए । विमानमा एन्डर्स एक्लै थिए । शेरिफ एरिक पिटरले दुर्घटना क्षेत्रमा खोजी भइरहेको तर अहिलेसम्म शव फेला नपरेको बताए । डिसेम्बर १९६८ मा अपोलो–८ मिसनको सदस्य एन्डर्स उनका समकक्षी फ्रान्क बोर्मन र जेम्स लभेलसँगै चन्द्रमामा पुग्ने पहिलो व्यक्तिमध्ये एक थिए । चन्द्रमाको एउटा कक्षबाट एन्डर्सले अन्तरिक्षको विशाल अन्धकारको विरुद्ध चम्किलो निलो पृथ्वीको फोटो खिचेका थिए । ‘अर्थराइज’ नामक उक्त तस्बिर प्रमुख ऐतिहासिक छविहरूको राउन्डअपमा सूचीबद्ध गरिएको छ, र लाइफ म्यागजिनको पुस्तक ‘संसार बदलेको १०० तस्बिर’हरूको सूचीमा समावेश गरिएको थियो। । ‘सन् १९६८ मा अपोलो–८ को समयमा बिल एन्डर्सले मानवतालाई अन्तरिक्ष यात्रीले दिन सक्ने सबैभन्दा ठूलो उपहार प्रदान गर्नुभएको थियो,’ नासाका प्रमुख बिल नेल्सनले सामाजिक सञ्जाल एक्समार्फत बताए । सन् १९३३, अक्टोबर १७ मा हङकङमा जन्मिएको एन्डर्सले अन्तरिक्ष यात्रीका रूपमा आफ्नो समयपछि विभिन्न प्रविधि–सम्बन्धित सरकारी पदहरू सम्हाले । उनी विशेष गरी आणविक नियामक आयोगको पहिलो अध्यक्ष बने र त्यसपछि नर्वेका लागि अमेरिकी राजदूतको रूपमा पनि सेवा गरेका थिए ।

श्रीलंकाको वायु ऊर्जा उत्पादनमा १ अर्ब डलर लगानी गर्दै अडानी ग्रुप

काठमाडौं । भारतीय व्यावसायिक घराना अडानी ग्रुपले श्रीलंकामा वायु ऊर्जासम्बन्धी परियोजनाहरूमा १ अर्ब डलर लगानी गर्ने योजना बनाएको छ । यो श्रीलंकाको सबैभन्दा ठूलो वैदेशिक लगानी हुनेछ । साथै, यो देशको सबैभन्दा ठूलो विद्युत् परियोजना पनि हो । अडानी ग्रुपले श्रीलंकासँग मन्नार र पुनरिन गाउँमा दुईवटा वायु ऊर्जा फार्म स्थापना गर्न सम्झौता गरेको छ । ४ सय ८४ मेगावाट कुल क्षमताका लागि ७४ करोड डलर लगानी गरिने छ। श्रीलंका सरकारले यसअघि सम्झौता अनुसार कम्पनीलाई प्रतिकिलोवाट घण्टा ८.२६ सेन्ट तिर्ने बताएको थियो । अडानी ग्रुप कोलम्बोमा ७० करोड डलर लगानीको श्रीलंकाको सबैभन्दा ठूलो बन्दरगाहको टर्मिनल परियोजना निर्माणमा पनि संलग्न छ । सन् २०२२ मा आर्थिक संकटका बेला तीव्र ऊर्जा संकट र इन्धन अभावको सामना गरिरहेको श्रीलंकाले अहिले आयातित इन्धनको महँगीबाट बच्न नवीकरणीय ऊर्जा आयोजनाहरू तीव्र गतिमा सम्पन्न गर्ने प्रयास गरिरहेको छ । तसर्थ, श्रीलंकाको ऊर्जा आवश्यकताहरू पूरा गर्न यो परियोजना धेरै विशेष छ । एजेन्सी

मुद्रास्फितिको जोखिम कायमै, ब्याजदर यथास्थितिमा रहने

मुम्बई । भारतीय केन्द्रीय बैंक (आरविआई)ले विश्वको पाँचौं ठूलो अर्थतन्त्रमा मुद्रास्फितिको जोखिम कायमै रहेकाले शुक्रबार लगातार आठौं पटक ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । भारतीय रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले आफ्नो महत्त्वपूर्ण रिपो रेट ६.५० प्रतिशतमा स्थिर रहने बताएको छ । युरोपेली केन्द्रीय बैंकसहित दुई प्रमुख केन्द्रीय बैंकले सन् २०१९ पछि पहिलो पटक ब्याजदर कटौती गरेका छन् । भारतमा मुद्रास्फीति सन् २०२२ को ७.८ प्रतिशतको उच्च बिन्दुबाट खुम्चिएको छ तर अझै पनि आरबीआईको चार प्रतिशतको लक्ष्यभन्दा माथि छ । भारतीय रिजर्भ बैंकका गभर्नर शक्तिकान्त दासले विशेषगरी खाद्य वस्तुको मूल्य वृद्धिका कारण हुने कुनै पनि जोखिमप्रति बैंक सचेत रहेको बताएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले लोकसभा चुनावमा पूर्ण बहुमत हाँसिल नगरेपछि सरकार सञ्चालनका लागि गठबन्धन साझेदारहरूमा निर्भर हुन बाध्य भएको केही दिनपछि यो निर्णय आएको हो । विज्ञहरूका अनुसार यसले मोदीको अर्को प्रशासनलाई आफ्नो समर्थन आधार बढाउन र सहयोगीहरूलाई शान्त पार्न पपुलिस्ट खर्चको सहारा लिन बाध्य पार्न सक्छ । रासस