अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर दिने
काठमाडौं । संयुक्त राज्य अमेरिका र इजिप्टले आठ कोष सम्झौतामा हस्ताक्षर गरेका छन् । जस अन्तर्गत अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी एजेन्सी (युएसएआइडी) ले इजिप्टको विकासमा सहयोग गर्न इजिप्टलाई १३० मिलियन अमेरिकी डलरको अनुदान उपलब्ध गराउनेछ । इजिप्टको राजधानी कायरोमा इजिप्टका अन्तर्राष्ट्रिय सहयोगमन्त्री रानिया अल–मशात र इजिप्टका लागि अमेरिकी राजदुत हेरो मुस्तफा गर्गले सम्झौतापत्रमा हस्ताक्षर गरे । मशातले विकास अनुदानहरू समावेशी आर्थिक सुशासन, शिक्षा, स्वास्थ्य, कृषि व्यवसाय विकास, जलवायु कार्य, र पानी व्यवस्थापन समाधानलगायत धेरै प्राथमिकताका क्षेत्रहरूमा निर्देशित गरिने बताए । इजिप्टमा रहेको अमेरिकी दुतावासले सबै इजिप्टवासीहरूका लागि आर्थिक अवसर सिर्जना गर्न र अवस्था सुधार गर्न अमेरिकी सरकारको लामो समयदेखिको प्रतिवद्धता पुष्टि गरे । विगत केही वर्षहरूमा, इजिप्ट आयातका लागि आवश्यक विदेशी मुद्राको अभावबाट पीडित भएको छ । जसले स्थानीय मुद्राको अवमूल्यन र समानान्तर बजारको वृद्धिको कारणले गर्दा उच्च मुद्रास्फीति र सबैभन्दा धेरै जनसंख्या भएको अरब देशमा मूल्य महंगिएको छ ।
अष्ट्रेलियाको बेरोजगारी दर ४ प्रतिशतले घट्यो
अस्ट्रेलिया । अस्ट्रेलियाको बेरोजगारी दर मे महिनामा घटेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । अष्ट्रेलियाली तथ्यांक विभाग (एबीएस) ले बिहीबार प्रकाशित गरेको श्रमशक्तिको तथ्यांकका अनुसार बेरोजगारी दर अप्रिलमा ४.१ प्रतिशतबाट मे मा ४.० प्रतिशतले घटेको छ । अस्ट्रेलियन एसोसिएटेड प्रेस (एएपी) ले यो गिरावट अर्थशास्त्रीहरूको अपेक्षा अनुरूप रहेको बताएको छ । एबीएसले अप्रिल र मेको बिचमा ४० हजार मानिसहरूको रोजगारी बढ्नुका साथै सोही अवधिमा नौ हजार मानिसहरूको बेरोजगारी घटेको बताएको छ । अप्रिलमा सामान्यभन्दा धेरै बेरोजगार मानिसहरू काम सुरु गर्न चाहेकोमा मे महिनामा बेरोजगारीमा केही गिरावट र रोजगारीमा भएको वृद्धिले मानिसहरूले जागिर सुरु गर्ने प्रतिबिम्बित गर्ने एबीएसका ब्योर्न जार्विसले एक विज्ञप्तिमा भने । ‘अहिले लगभग छ लाख बेरोजगार व्यक्तिहरू भएता पनि महामारी अघि मार्च २०२० को तुलनामा अझै पनि एक लाख दश हजार कम व्यक्तिहरू छन् ।’ रोजगारीमा वृद्धिका बावजुद, अष्ट्रेलियालीले काम गर्ने घण्टाको सङ्ख्या अप्रिल र मेको बीचमा ०.५ प्रतिशतले घटेको छ । जार्विसले घण्टाको कमीले रोगको कारण कामबाट समय निकाल्ने मानिसहरूको बढ्दो सङ्ख्यालाई प्रतिबिम्बित गरेको बताए । बिरामी भएका कारण थोरै समय काम गरेकोले सन् २०२३ मेको जस्तै लगभग ४.२ प्रतिशत नागरिकले काम गरेको र पूर्व–महामारीको औसत ३.५ प्रतिशतको तुलनामा सामान्य बढी भएको उनले बताए । सहभागिता दरले काम गर्ने उमेरको जनसङख्याको अंश मापन गर्दछ । कार्यरत र सक्रिय रूपमा काम खोज्ने सङख्या ६६.८ प्रतिशतमा स्थिर रहेको छ । रासस
भारतमा ‘मानवमा बर्ड फ्लु’ भेटिएको विश्व स्वास्थ्य संगठनको पुष्टि
काठमाडौं । पश्चिम बंगालमा चार वर्षीय बच्चामा एच-९ एन-२ भाइरस पत्ता लागेपछि विश्व स्वास्थ्य संगठनले भारतमा बर्ड फ्लूको मानव संक्रमण पुष्टि गरेको छ । भारतबाट डब्ल्यूएचओलाई अधिसूचित एभियन इन्फ्लुएन्जा ए (एच-९ एन-२) को यो दोस्रो मानव संक्रमण हो । पहिलो सन् २०१९ मा पुष्टि गरिएको थियो । संक्रमित बच्चा भने निको भई अस्पतालबाट डिस्चार्ज गरिएको छ । पश्चिम बंगालमा एभियन इन्फ्लुएन्जा भाइरसको मानव संक्रमण सम्बन्धी खबर डब्ल्यूएचओका भारतका लागि अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन अधिकारीबाट अधिसूचना प्राप्त गरेको डब्ल्यूएचआले प्रेस विज्ञप्तिमा जनाएको छ । श्वासप्रश्वासमा गम्भीर समस्या, बारम्बार उच्च ज्वरो र पेटमा ऐंठनका कारण बिरामीलाई स्थानीय अस्पतालको बाल स्याहार एकाइ (आईसीयू) मा भर्ना गरी उपचार सुरु गरिएको थियो । उनलाई फेब्रुअरी २८ मा अस्पतालबाट डिस्चार्ज गरिएको थियो तर श्वासप्रश्वासको गम्भीर कष्टको पुनरावृत्तिपछि उनलाई अर्को सरकारी अस्पतालको बाल आईसीयूमा भर्ना गरिएको थियो भने मार्च ३ मा उनलाई ट्युव राखेर औषधी दिने काम गरिएको थियो । बिरामीको रगत तथा खकारको नमूनालाई कोलकाता भाइरस रिसर्च एन्ड डायग्नोस्टिक प्रयोगशालामा पठाइएको र त्यहाँको परीक्षणबाट उनलाई एच-९ एन-२ संक्रमण पुष्टि भएको हो । बिरामीलाई मे १ मा अक्सिजन सहयोगसहित अस्पतालबाट डिस्चार्ज गरिएको छ । डब्लुएचओले संक्रमित बिरामी घर र वरपरको कुखुराको सम्पर्कमा आएका हुनसक्ने जनाएको छ । यद्यपि, यस संक्रमणसँग सम्बन्धित परिवार, छिमेकमा वा वा स्वास्थ्यकर्मीमा श्वासप्रश्वासको रोगको लक्षणका ज्ञात व्यक्तिहरू नभेटिएको उल्लेख गरिएको छ । विश्वव्यापी मार्ग निर्देशन अनुरूप मानव र पशु दुवै क्षेत्रमा प्राविधिक सल्लाह, जोखिम मूल्यांकन र आकस्मिक योजना अद्यावधिक गरेर भारत सरकारलाई निरन्तर सहयोग प्रदान गरिरहेको डब्लुएचओले जनाएको छ ।