चीनको स्वास्थ्य क्षेत्रमा पहिलाे पटक शतप्रतिशत विदेशी लगानी खुला

काठमाडौं । अन्य देशमा लगानी गरेर आफ्नो अधिकार स्थापित गरेको चीन पछिल्लो समय आर्थिक संकटबाट गुज्रिरहेको छ । चीनले कोरोना भाइरस महामारीपछि ठूलो आर्थिक संकटको सामना गरिरहेको समाचार बेलाबेला बाहिरिने गरेका छन् । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनमा सबै राम्ररी चलिरहेको छ त? भन्ने प्रश्न पनि बेलाबेला उब्जिरहेका हुन्छन् । ब्लुमबर्गको एक रिपोर्टअनुसार चीनले विदेशी लगानीका लागि आफ्नो ढोका पूर्णरूपमा खोल्ने भएको छ । चीनले पाकिस्तान, नेपाल, श्रीलंकालगायत देशमा ठूलो लगानी गरिरहेका बेला आफ्नै देशमा लगानीका लागि अन्य देशको भर पर्नुपरेको हो । रिपोर्टका अनुसार चीनको अर्थतन्त्र अहिले खराब अवस्थाबाट गुज्रिरहेको छ । एकातिर धेरै कम्पनीले चीन छाडिरहेका छन् भने अर्कातर्फ चीनले अहिले उत्पादनमा अन्य देशसँग प्रतिस्पर्धा गरिरहेको छ । ब्लुमबर्गका अनुसार आफ्नो अर्थतन्त्रलाई ट्र्याकमा ल्याउन चीनले उत्पादन र स्वास्थ्य क्षेत्रमा विदेशी लगानीका लागि ढोका खोलेको छ । चीनले कुनै पनि क्षेत्रमा शतप्रतिशत विदेशी लगानीलाई अनुमति दिएको यो पहिलो पटक हो । चीनको राष्ट्रिय विकास तथा सुधार आयोग (एनडीआरसी) ले जारी गरेको एक सूचनाअनुसार चीनले नोभेम्बर १ देखि उत्पादन र स्वास्थ्य क्षेत्रमा विदेशी लगानीका लागि ढोका खोल्ने जनाएको छ । अहिलेसम्म यी क्षेत्रमा शतप्रतिशत विदेशी लगानी आउन सकेको छैन । यति मात्र होइन, चीनले विदेशी लगानीका सम्बन्धमा केही नियमहरू पनि खुकुलो बनाउने छ ताकि लगानीमा कुनै समस्या नहोस् । एनडीआरसीले सरकारले सेवा उद्योगको विस्तार र यसमा विदेशी लगानीको पहुँचलाई प्रोत्साहन गर्ने कुरा गरेको पनि बताएको छ । यसबाहेक चीनले आफ्नो स्वास्थ्य सेवा क्षेत्रलाई थप खुला गर्न विभिन्न नीतिहरू पनि घोषणा गरेको छ । वाणिज्य मन्त्रालयको वेबसाइटमा पोस्ट गरिएको विज्ञप्तिअनुसार बेइजिङ, सांघाई, गुआङ्डोङ र हाइनानमा स्टेम सेल, जीन डायग्नोसिस र उपचारलाई समेट्ने प्रविधि विकास र प्रयोगमा विदेशी पुँजीलाई सहभागी हुन अनुमति दिइने छ । ‘सरकारले चीनमा पूर्णरूपमा विदेशी स्वामित्वका अस्पतालहरू स्थापना गर्न पनि अनुमति दिनेछ,’ विज्ञप्तिमा उल्लेख छ । एजेन्सी

इरानका राष्ट्रपति इराक जाने

काठमाडौं । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले बुधबार छिमेकी मुलुक इराकको भ्रमण गर्ने भएका छन् । जुलाईमा पदभार ग्रहण गरेपछि उनको यो पहिलो विदेश भ्रमण हुनेछ । पेजेस्कियानले वरिष्ठ इराकी अधिकारीहरूसँग भेट्न बगदादमा उच्चस्तरीय इरानी प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । बगदादमा इरानका राजदूत मोहम्मद काजम अल–सदेघलाई उद्धृत गर्दै आधिकारिक आइआरएनए समाचार एजेन्सीले भ्रमण इराकका प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीको निमन्त्रणामा हुन लागेको हो । राजदूत सदेघले दुवै मुलुकबीच सहयोग र सुरक्षासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने जानकारी दिए । उनकाअनुसार इरानका दिवङ्गत राष्ट्रपति इब्राहिम रायसीको इराकको योजनाबद्ध भ्रमणका क्रममा सम्झौतामा हस्ताक्षर हुने भएको थियो । यद्यपि मेमा रायसीको हेलिकप्टर उत्तरी इरानमा कुहिरोले ढोकेको पहाडमा दुुर्घटनाग्रस्त हुँदा तत्कालीन विदेशमन्त्री होसेन अमिर–अब्दुल्लाहियानसँगै उनको निधन भएको थियो । पदभार ग्रहण गरेपछि पेजेस्कियानले इरानको छिमेकीहरूसँगको सम्बन्धलाई बलियो बनाउन ‘प्राथमिकता’ दिने वाचा गरेका थिए । पछिल्लो दुई दशकमा इरान र इराक दुवै शिया बुहल मुलुकबीचको सम्बन्ध घनिष्ठ भएको छ । तेहरान इराकको प्रमुख व्यापार साझेदारमध्येको एक हो । इरानले बगदादमा उसको इराकी सहयोगी संसद् र वर्तमान सरकारमाथि प्रभुत्व जमाउन पर्याप्त राजनीतिक प्रभाव राख्छ । तेहरानले इराकको उत्तरमा कुर्दिश विपक्षी समूहरूमाथि आक्रमण गरेको महिनौपछि सन् २०२३ मार्चमा दुवै मुलुकले साझा सीमालाई समेट्ने सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका हुन् । त्यसयता उनीहरू इरानी कुर्दिश विद्रोही समूहहरूलाई निशस्त्र बनाउन र उनीहरूलाई सीमावर्ती क्षेत्रहरूबाट हटाउन सहमत भएका छन् । इरानले ती समूहहरूमाथि इराकबाट हतियार आयात गरेको र इरानी-कुर्दिश महिला महसा अमिनीको हिरासतमा भएको मृत्यृपछि भड्किएको सन् २०२२ को विरोध प्रदर्शनलाई उक्साएको आरोप लगाएको छ । इरानले जनवरीमा ‘यहुदी शासन (मोसाद) का जासुसहरूले’ प्रयोग गर्ने स्थललाई निशाना बनाएको भन्दै उत्तरी इराकको स्वायत्त कुर्दिस्तान क्षेत्रमा घातक आक्रमण गरेको थियो । शनिबार निर्वासित एउटा इरानी कुर्दिश समूहले उसको कार्यकर्ता बेहदाज खोसरावीलाई इराकको उत्तरी सहर सुलेमानियाबाट पक्राउ गरेर ‘इरानी गुप्तचर’ लाई सुम्पिएको बताएको छ ।

ग्रीसले विदेशीलाई गोल्डेन भिसा दिने, ज्यालामा १४ प्रतिशत वृद्धि

काठमाडौं । ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले नागरिकको क्रयशक्ति बढाउन र देशको आवास सङ्कटसँग जुध्न नयाँ नीतिको घोषणा गरेका छन् । नयाँ योजनामा न्यूनतम ज्यालामा १४ प्रतिशत वृद्धि गर्ने, पेन्सनमा र पर्यटक करमा २.५ प्रतिशत वृद्धि गरेर आर्थिक सङ्कटको व्यवस्थापन गर्ने योजना उनले ल्याएका हुन् । युरोपेली सङ्घमा सन् २०२३ मा प्रतिव्यक्ति सबैभन्दा कम जिडिपी भएको देशमा ग्रीस दोस्रो स्थानमा पर्छ । सन् २०२७ सम्ममा समृद्धि ल्याउने मित्सोटाकिसले एक अन्तर्राष्ट्रिय मेला उद्घाटनमा घोषणा गरेका हुन् । ग्रीक प्रधानमन्त्रीले सार्वजनिक र निजी क्षेत्रको ज्यालामा एकरूपता, सस्तो ऊर्जाको प्रयोग गरी हरित सङ्क्रमण र पर्यटनमा बढ्दो वृद्धिको प्रभाव न्यूनीकरणमा सरकारले सामना गर्नुपरेका चुनौतीको सामना गर्न नयाँ योजना सार्वजनिक गरेका हुन् । साथै देशको घट्दो र वृद्ध जनसङ्ख्याको असरलाई कम गर्न प्रभावकारी काम गर्ने उनले प्रतिबद्धता पनि व्यक्त गरे । एक करोड जनसङ्ख्या भएको रहेको ग्रीक पर्यटनमा अत्यधिक निर्भर रहेको छ । ग्रीकले महामारीमा झण्डै एक दशक लामो आर्थिक सङ्कटको सामना गर्नुपर्ने जानकार बताउँछन् । उच्च मुद्रास्फीतिको कारण आकाशिएको आवास र खाद्यान्नको मूल्य पनि घट्न थालेको छ । सन् २०२३ मा ग्रीसको औसत वार्षिक आय युरोपेलीको औसतभन्दा आधा थियो भने न्यूनतम ज्याला फ्रान्सको भन्दा आधाभन्दा कम अर्थात् मासिक ८३० युरो (९२० अमेरिकी डलर) रहेको छ । मित्सोटाकिसले सन् २०२५ मा पेन्सनमा २.५ प्रतिशतसम्म वृद्धि गर्ने र सन् २०२७ सम्ममा न्यूनतम ज्याला क्रमशः ९५० युरो पुर्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले जन्मदर बढाउन र बजारलाई गति दिन करमा प्रोत्साहन गर्ने उनको भनाइ छ । स्वरोजगारलाई विशेष छुट दिने कार्यक्रमलाई क्रमशः समाप्त गरिने र ऊर्जा कम्पनीमा लगाइएको अप्रत्याशित करबाट संकलन भएको २४ करोड ३० लाख यूरोलाई कमजोर नागरिकहरूलाई वितरण गर्ने योजना सरकारले अघि सारेको छ । मित्सोटाकिसले ग्रीक बन्दरगाहमा क्रुज जहाजबाट ओर्लिने र २ लाख ५० हजार यूरोसम्म लगानी गर्ने विदेशीहरूका लागि गोल्डेन भिसा योजनाको पनि घोषणा गरेको छ ।