३२५ अर्ब डलर नगद लिएर बसेका वारेन बफेटको के छ योजना ?
काठमाडौं । अमेरिकाका प्रशिद्ध लगानीकर्ता वारेन बफेटको कम्पनी बर्कशायर ह्याथवेले लगातार आफ्नो क्यास (नगद) वृद्धि गरिरहेको छ । तेस्रो त्रैमासिकमा कम्पनीको नगद सञ्चिति रेकर्ड ३२५.२ बिलियन डलर पुगेको छ । यो भारतको सबैभन्दा मूल्यवान कम्पनी रिलायन्स इन्डस्ट्रिजको मार्केट क्यापभन्दा करिब ११७ अर्ब डलर बढी हो । मुकेश अम्बानीको कम्पनीको मार्केट क्याप हाल २०८ बिलियन डलरको आसपास छ । ९४ वर्षीय बफेटले सन् १९६५ देखि बर्कशायरको नेतृत्व गर्दै आएका छन् र कम्पनीको बाघडोर उपाध्यक्ष ग्रेग एबललाई सुम्पने अपेक्षा गरिएको छ । प्रश्न यो छ- अमेरिकी बजार रेकर्ड स्तरमा छ भने बफेटले किन यति धेरै नगद जम्मा गरिरहेका छन् ? अमेरिकाको एसएन्डपी ५०० इन्डेक्स अक्टोबर २०२३ देखि ४० प्रतिशतले बढेको छ । कम्पनीको १२ महिनाको इतिहासमा यो सबैभन्दा ठूलो छलाङ हो । बफेट आफ्नो कम्पनीलाई जोखिममा राख्न चाहँदैनन् । उनले आफ्नो नगद होल्डिङ मात्र बढाएका छैनन्, उनले आफ्नो ट्रेजरी बिल पनि बढाएर २८८ बिलियन डलरमा पुर्याएका छन् । बर्कशायर ह्याथवेले तेस्रो त्रैमासिकमा कुनै पनि कम्पनीको सेयर किनेको छैन भने गत वर्षको सोही अवधिमा कम्पनीले ३४५ मिलियन डलरकाे सेयर किनेको थियो । पछिल्लाे दुई वर्षमा कम्पनीको नगद मौज्दातमा उल्लेखनीय वृद्धि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । वर्कशायरको नगद विश्वका धेरै कम्पनीको मार्केट क्यापभन्दा बढी बर्कशायर ह्याथवेको नगद ब्यालेन्स विश्वका धेरै कम्पनीकाे मार्केट क्यापभन्दा बढी छ । तेस्रो त्रैमासिकमा कम्पनीले विश्वको सबैभन्दा मूल्यवान कम्पनी एप्पलको १४.३ बिलियन डलरको सेयर बेचेको छ । पछिल्ला दुई वर्षमा बफेटले १०० अर्ब डलरको एप्पलको सेयर बेचेका छन् । (एजेन्सीहरूकाे सहयोगमा)
विश्वका सबैभन्दा धनी राजा, घरजग्गा, बैंक र सिमेन्ट उद्योगमा ठूलो लगानी
काठमाडौं । थाइल्याण्डका राजा महा वजिरालोङकोर्नलाई राजा राम दशौं भनेर चिनिन्छ । उनी संसारकै सबैभन्दा धनी राजा हुन् । ६६ वर्षीय वजिरालोङकोर्नले आफ्ना पिता भूमिबोल अदुल्यादेजको मृत्युपछि अक्टोबर २०१६ मा राजगद्दी सम्हालेका थिए । उनका बुबाले ७० वर्ष शासन गरेका थिए । भूमिबोल संसारमा सबैभन्दा लामो समय शासन गर्ने राजा थिए । मे २०१९ मा वजिरालोङकोर्नले राज्याभिषेक गरेका थिए । अचम्मको कुरा के छ भने बेलायतका राजा चार्ल्स तृतीय संसारभरका एक प्रभावशाली राजा हुन् । तर, उनी विश्वका शीर्ष १० धनी राजाको सूचीमा भने परेका छैनन् । उनको कुल सम्पत्ति लगभग ४४७ मिलियन अमेरिकी डलर अनुमान गरिएको छ। यता महा वजिरालोङकर्नको कुल सम्पत्ति भने ४३ अर्ब डलर छ । राजा भूमिबोल अदुल्यादेज जसले ७० वर्षसम्म थाइल्यान्डको राजाकाे रूपमा शासन गरेका थिए । थाई शाही परिवारले शताब्दीयौंदेखि जम्मा गरेको विशाल सम्पत्ति र स्रोतसाधनलाई वजिरालोङकोर्नको सम्पत्तिको श्रेय मान्न सकिन्छ । रिपोर्टका अनुसार उनको ठूलो सम्पत्ति मुख्यतया रियल स्टेटमा उनकाे लगानीका साथै थाइल्यान्डकाे सबैभन्दा ठूलो सिमेन्ट कम्पनी र बैंकको स्वामित्वबाट आएको हो । थाइल्याण्डले आफूलाई संवैधानिक राजतन्त्रको रूपमा मान्यता दिँदै आएकाे छ । फक्स बिजनेसका अनुसार राजा महा वजिरालोङकर्नको अनुमानित कुल सम्पत्ति ३० अर्ब डलरदेखि ४५ अर्ब डलरको बीचमा छ । रोयटर्सका अनुसार उनका पिता भूमिबोल अदुल्यादेजलाई २०११ मा विश्व प्रसिद्ध पत्रिका फोर्ब्सले विश्वको सबैभन्दा धनी शासकको सूचीमा राखेको थियो । शासकको अधिकांश सम्पत्ति क्राउन प्रोपर्टी ब्यूरोबाट आउँछ । स्रोतका अनुसार क्राउन प्रोपर्टी ब्यूरोसँग थाइल्याण्डमा ६ हजार ५६० हेक्टर (१६ हजार २१० एकड) जमिन छ । यसअन्तर्गत देशभर ४० हजार भाडा सम्झौता छन् । जसमध्ये १७ हजार राजधानीमा छन् । राजा वजिरालोङकोर्नले यो सम्पत्तिको एक महत्त्वपूर्ण हिस्सा विरासतमा पाएका थिए । यसमा विशाल रियल स्टेट होल्डिङ, व्यापक व्यावसायिक हित र लगानीको ठूलो पोर्टफोलियो समावेश छ । चार सन्तानमध्ये एक छोरा सन् १९५२ मा जन्मेका वजिरालोङकोर्न राजा भूमिबोल र रानी सिरिकिटका चार बच्चामध्ये दोस्रो र एकमात्र छोरा हुन् । थाइल्याण्डमा आफ्नो प्राथमिक शिक्षा पूरा गरेपछि वजिरालाेङकोर्नले बेलायत र अष्ट्रेलियाका निजी विद्यालयमा पढेका थिए । उनले क्यानबेरा, अष्ट्रेलियाको रोयल मिलिटरी कलेज डन्ट्रोनमा पनि अध्ययन गरेका थिए र अस्ट्रेलियाको न्यू साउथ वेल्स विश्वविद्यालयबाट सैन्य अध्ययनमा स्नातक डिग्री हासिल गरेका थिए । राजाको आधिकारिक जीवनीका अनुसार वजिरालोङकोर्न एक योग्य हेलिकप्टर र लडाकु पाइलट पनि हुन् । उनले रोयल थाई आर्मीमा क्यारियर अफिसरको रूपमा सेवा गरेका थिए । वजिरालोङकोर्न एक योग्य हेलिकप्टर र लडाकु पाइलट पनि रहेको जनाइएकाे छ । चार विवाहको कथा के हो ? राजा महा वजिरालोङकर्नले आफ्नो वयस्क जीवनको अधिकांश समय विदेशमा बिताएका छन् । उनको जर्मनीमा घर समेत छ । उनले चार पटक विवाह गरिसकेका छन्, जसबाट उनका सात सन्तान छन् । बीबीसीका अनुसार सन् १९७७ मा राजा वजिरालोङकर्नले आफ्नी भतिजी राजकुमारी सोम्सावलीसँग विवाह गरेका थिए । डिसेम्बर १९७८ मा उनीहरूको पहिलो बच्चाकाे रूपमा राजकुमारी बज्रकितियाभाको जन्म भएको थियो । तर, त्यतिबेलासम्म उनको युवधिधा नामकी अभिनेत्रीसँग सम्बन्ध गाँसिएको थियो । १९७९ देखि १९८७ सम्म वजिरालोङकोर्नका पाँच सन्तान थिए । राजाले अभिनेत्रीसँग सन् १९९४ मा विवाह गरे । तर, १९९६ मा उनले सार्वजनिक रूपमा अभिनेत्री श्रीमतीको निन्दा गरे र आफ्ना चार छोराहरूलाई अस्वीकारसमेत गरे । उनीहरू त्यतिबेला बेलायतमा अध्ययनरत थिए । राजा महा वजिरालोङकोर्न र रानी सुथिदा । रिपोर्टमा वजिरालोङकोर्नले २००१ मा तेस्रो श्रीमती श्रीरास्मीसँग विवाह गरेको उल्लेख छ । २००५ मा तिनीहरूको अर्को छोरा राजकुमार दिपाङकोर्नको जन्म भयाे । महा वजिरालोङकोर्न आफ्नो राज्याभिषेक हुनुभन्दा केही दिनअघि मे २०१९ मा रानी सुथिदा बज्रसुधाबिम्बलक्षासँग विवाह गरेका थिए । दरबारले उनी रानी सुथिदा बन्ने र शाही परिवारको हिस्साकाे रूपमा शाही उपाधि र पदहरू धारण गर्ने घाेषणा गरेकाे थियाे । (एजेन्सीहरूकाे सहयाेगमा)
ट्वीटरका पूर्वकर्मचारीले मस्कविरुद्ध हाले मुद्दा, वाचाअनुसारको तलब नदिएको गुनासो
काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कलाई अमेरिकी अदालतले ठूलो झट्का दिएको छ । क्यालिफोर्निया अदालतले ट्वीटर (अहिले एक्स)का पूर्वसीईओ पराग अग्रवाल र अन्य अधिकारीहरूलाई मस्कविरुद्ध मुद्दा दायर गर्न अनुमति दिएको हाे । ब्लुमबर्गको रिपोर्टअनुसार अदालतलाई भनिएको छ कि मस्कले २०२२ मा ट्वीटर किन्दा कुनै सूचनाबिना नै यी कार्यकारीहरूलाई बर्खास्त गरेको थियो । अधिकारीहरूले मस्कले आफूहरूलाई राजीनामा दिने मौका पनि नदिएकाे र उनले धोखापूर्वक बर्खास्त गरेको आरोप लगाएका छन् । पूर्वकार्यकारीहरूले मस्कविरुद्ध मुद्दा हालेका छन् । पराग अग्रवालबाहेक, पूर्व सीएफओ नेड सेगल, कानुनी र नीति प्रमुख विजया गड्डे र पूर्वट्वीटर जनरल काउन्सिल सीन एजेटले मस्क विरुद्ध मुद्दा दायर गरेका हुन् । के हाे पूरा विषय ? मस्कले २०२२ मा ट्वीटर किनेका थिए र यसको नाम परिवर्तन गरेर ‘एक्स’ राखेका थिए । उनले कर्मचारीहरूलाई जागिरबाट बर्खास्त गरी पैसा र अन्य सुविधा (विच्छेदन तलब) नदिएको आरोप छ । पूर्वकार्यकारीहरूले मार्च २०२४ मा मस्कविरुद्ध उजुरी दिएका थिए । मस्कले आफूलाई एक वर्षको तलब र अन्य सुविधा दिने वाचा गरेको तर आफूले नपाएको उनीहरू बताउँछन् । मस्कविरुद्ध धेरै मुद्दा मस्कविरुद्ध अन्य धेरै मुद्दा पनि विचाराधीन छन् । ट्वीटर खरिद गरेपछि उनले धेरै कर्मचारीलाई बर्खास्त गरेका थिए । यीमध्ये धेरै कर्मचारीहरूले मस्कलाई अनुचित रूपमा बर्खास्त गरेको आरोप लगाएका छन् । ट्वीटरका पूर्व कोर टेक महाप्रबन्धक निकोलस काल्डवेलले पनि मस्कविरुद्ध मुद्दा हालेका छन् । काल्डवेलले २० मिलियन डलरको क्षतिपूर्ति माग गरेका छन् । जुलाईमा मस्क र ‘एक्स’ले करिब ६ हजार कर्मचारीको तर्फबाट दायर गरेको ५० करोड डलरको मुद्दा जितेका थिए ।