अटो उद्योगको निद्रा बिथोल्ने बीवाईडी, जसको रोकिने नामोनिशान छैन
काठमाडौं । चिनियाँ इलेक्ट्रिक गाडी (ईभी) कम्पनी बीवाईडीले विश्व अटोमोबाइल बजारमा हलचल मच्चाएको छ । गत वर्ष कम्पनीको बिक्री ४१ प्रतिशतले बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यस अवधिमा कम्पनीले कूल ४२ लाखभन्दा बढी गाडी बिक्री गरेको छ । यो कम्पनीले विद्युतीय र हाइब्रिड सवारीसाधन उत्पादन गर्दै आइरहेको छ । गत वर्ष कम्पनीले १७.९ लाख ईभीहरू बेचेको थियो र एलन मस्कको टेस्लालाई उछिन्न नजिकै पुगेको थियो । टेस्लाको बिक्री १० वर्षभन्दा बढीमा पहिलो पटक घटेको छ । कम्पनीले यस अवधिमा १७.९ लाख सवारीसाधन बिक्री गरेको थियो भने सन् २०२३ मा १८ लाख सवारीसाधन बिक्री गरेको थियो । बीवाईडीको उदयले संसारभरका अटो कम्पनीहरूको निद्रा बिथोलेको छ । हालै जापानका दुई ठूला कम्पनीले मर्जरको घोषणा गरेका छन् । परम्परागत विदेशी अटोमोबाइल निर्माता कम्पनीहरूले चीनको विद्युतीय कार (इभी) बजारमा आफूलाई अनुकूल बनाउने समय सकिँदै गएको विश्लेषकहरू बताउँछन् । विश्लेषकहरू कम्पनीहरूले चीनमा आफ्नो स्थायित्व कायम राख्न स्थानीय कम्पनीसँग साझेदारी गर्नैपर्ने दावी गर्छन् । चीनमै ९० प्रतिशत बिक्री बीवाईडीले आफ्ना ९० प्रतिशत कार चीनमा बेच्दै आइरहेको छ, जुन टेस्लाका साथै जर्मनीको फक्सवागन र जापानको टोयोटाका लागि महत्त्वपूर्ण बजार हो । चीनमा कडा प्रतिस्पर्धा र सरकारी अनुदानका कारण ईभीको माग बढिरहेको छ । फक्सवागन, फर्ड र जनरल मोटर्सले बिक्री लक्ष्य घटाएका छन् । हालै जापानी अटो कम्पनी होन्डा र निसानले मर्जरका लागि वार्ता सुरु गरेका छन् । चिनियाँ कम्पनीसँग विश्वका अधिकांश कम्पनी ध्वस्त पार्ने क्षमता अक्टोबरमा युरोपेली संघ (इयू) ले चीनबाट ईभी आयातमा ४५.३ प्रतिशत ट्यारिफ लगाएको थियो । अमेरिकाले पनि चिनियाँ ईभीमा शतप्रतिशत शुल्क लगाएको छ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई अझै बढाउने धम्की दिएका छन् । यसका बावजुत पनि बीवाईडी धेरै देशमा आफ्नो उपस्थिति बढाउँदैछ । यो कम्पनीमा के छ जसले विश्वव्यापी अटो उद्योगको निद्रा बिथोलेको छ ? कम्पनीले ब्राजिल, हंगेरी, थाइल्याण्ड र उज्वेकिस्तानमा एसेम्बली लाइन निर्माण गरिरहेको छ । यसले इन्डोनेसिया र मेक्सिकोमा पनि एसेम्बली लाइन खोल्ने योजना बनाएको छ । गत वर्ष मस्कले चिनियाँ कम्पनीसँग विश्वका अधिकांश कम्पनी ध्वस्त पार्ने क्षमता रहेको बताएका थिए । बीवाईडीको स्थापना बीवाईडीको स्थापना सन् १९९५ फेब्रुअरीमा भएको थियो । सुरुमा बीवाईडी रिचार्जेबल ब्याट्री उत्पादनमा केन्द्रित थियो । सन् १९९८ मा यो विश्वकै दोस्रो ठूलो ब्याट्री उत्पादक कम्पनी बन्यो । बीवाईडी मोटोरोला र नोकियालाई ब्याट्री उपलब्ध गराउने प्रमुख कम्पनीसमेत बनेको थियाे । सन् २००३ मा बीवाईडी इन्धनबाट चल्ने सवारीसाधन उत्पादनका साथ अटोमोटिभ इन्डस्ट्रीमा प्रवेश गरेको थियो । अमेरिकी अधिकारीको अपमान २००३ मा बीवाईडीले कार निर्माण गर्ने एउटा कारखाना किन्यो । सुरुवातमा उसले धेरै कठिनाइहरूको सामना गर्नुपर्यो । २००७ को कुरा हो, बीवाईडीले कार निर्माण गर्दै थियो । उसले आफ्नो सबैभन्दा नयाँ मोडेल ग्वाङ्झाउ अटो शोमा प्रदर्शनीका लागि राखेको थियो । त्यतिबेला अमेरिकी अधिकारीहरूले यसको धेरै मजाक उडाएका थिए । कारण थियो कि उक्त कारमा रंग पनि ठीकसँग लगाइएकाे थिएन र यसको ढोका पनि ठीकसँग फिट भएको थिएन । बीवाईडीको लोकप्रियता २००८ मा बीवाईडीकाे बिक्री बढ्न थाल्यो । २०१२ सम्ममा माग बढेपछि उत्पादन बढ्यो । कम्पनीका सीमित मोडलमात्र थिए । २०१६ मा कम्पनीले अडीका प्रख्यात डिजाइनर वोल्फगाङ एगरलाई बोर्डमा भित्र्यायाे । एगरले सयौं कार इन्जिनियरहरू ल्याए र बीवाईडीको मोडलहरूको मुहार पूर्ण रूपमा परिवर्तन गरे । हालै १ करोड न्यु इनर्जी भेहिकल उत्पादन गर्ने पहिलो कम्पनी बन्न बीवाईडी सफल भएको छ । बीवाईडीले ५० लाख एनईभी उत्पादन गर्न १५ वर्षको समय लगाएको थियो । तर अर्को ५० लाख सवारीसाधन उत्पादनको लक्ष्य भने १५ महिनामै हासिल गर्न सफल भयो । बीवाईडीले सन् २०२५ मा नयाँ पुस्ताको ब्लेड ब्याट्री सार्वजनिक गर्ने योजनासमेत बनाइसकेको छ । उक्त ब्याट्रीले राम्रो दूरी प्रदर्शन गर्ने अपेक्षा बीवाईडीको छ । आगामी दिनमा बीवाईडीले अटोमोटिभ सिस्टमका लागि इन्टेलिजेन्ट टेक्नोलोजीमा कृत्रिम बौद्धिकता (एआई)लाई एकीकृत गर्न र ड्राइभिङ सिस्टम अपग्रेड गर्न १०० अर्ब युआन लगानी गर्ने घोषणासमेत गरिसकेको छ । ३० वर्ष पहिले २० कर्मचारीबाट सुरुवात भएको बीवाईडी हाल विश्वभर करिब १० लाख कर्मचारीसहितको बहुराष्ट्रिय कम्पनीमा रूपान्तरण भएको छ । सम्बन्धित सामग्री : होन्डासँगको मर्जरले निसान ‘नरसंहार’ को शिकार हुनसक्ने स्टेलान्टिस र सीएटीएलले स्पेनमा ईभी ब्याट्री प्लान्ट निर्माण गर्ने, ४.३ बिलियन डलरको लगानी बेलायतमा ईभीको वर्चश्व बढ्दै, आगामी दशकसम्म पेट्रोलबाट चल्ने कारको संख्या आधा घट्ने झन् सशक्त बन्दै बीवाईडी, अर्को वर्ष नयाँ पुस्ताको ब्लेड ब्याट्री लन्च गर्ने चीनमा इभीको वर्चश्व बढ्दै, अरू विदेशी कम्पनी टिक्न सकस गरिब किसानको छोराले बनाएको ‘हुन्डाई’, विश्वको तेस्रो ठूलो कार कम्पनी
सिङ्गापुरले सन् २०२९ सम्म ‘हाइड्रोजन जेनेरेटर’ निर्माण गर्ने
काठमाडौं । सिङ्गापुरले नयाँ ‘हाइड्रोजन-रेडी कम्बाइन्ड साइकल ग्यास टर्बाइन’ उत्पादन इकाई निर्माण गर्ने भएको छ । सन् २०२९ मा सञ्चालन हुने गरी ‘हाइड्रोजन जेनेरेटर’ निर्माण गर्न लागेको हो । हाइड्रोजन जेनरेटर बिजुली उत्पादन गर्न प्रयोग गरिने तथा प्रदूषण कम गर्न मद्दत गर्दछ । ऊर्जा बजार प्राधिकरण (इएमए) प्रमुख कार्यकारी अधिकृत पुआ कोक केओङले भने, ‘उर्जाको बढ्दो मागसँगै हाम्रो दैनिक जीवनलाई बलियो बनाउन पर्याप्त उत्पादन सुनिश्चित गर्नु महत्त्वपूर्ण छ ।’ सिङ्गापुरको बिजुलीको खुद्रा बिक्रेता प्यासिफिकलाइट पावरले विकास गर्ने नयाँ उत्पादन युनिटको उत्पादन क्षमता कम्तीमा ६ सय मेगावाट हुनेछ । कम्पनीले दक्षिणपश्चिम सिङ्गापुरको जुरोङ टापुमा निर्माण हुने उक्त सुविधा सुरुमा कम्तीमा ३० प्रतिशत हाइड्रोजनबाट सञ्चालन गर्न सक्ने तथा भविष्यमा १०० प्रतिशत हाइड्रोजन जलाउने योजना रहेको बताएको छ । इएमएका अनुसार उन्नत उत्पादन, डिजिटल अर्थतन्त्र र यातायातको विद्युतीकरण जस्ता शक्ति-गहन क्षेत्रहरूद्वारा संचालित सिङ्गापुरको ऊर्जा आवश्यकताहरू बढ्दै गएको छ । सहर-राज्यको बिजुली प्रणालीमा चरम माग आगामी ६ वर्षमा ३.७ प्रतिशतदेखि ५.७ प्रतिशत सम्म चक्रवृद्धि वार्षिक दरमा बढेर सन् २०३० सम्ममा १०.१ गिगावाट र ११.८ गिगावाटको बीचमा पुग्ने प्रक्षेपण गरिएको छ । प्यासिफिकलाइट पावर हाइड्रोजन–तयार उत्पादन इकाई विकास गर्न पेश गरिएका ६ वटा प्रस्तावहरूबाट चयन गरिएको थियो ।
स्पेसएक्सले सातौं स्टारशिप परीक्षण उडान गर्दै
काठमाडौं । स्पेसएक्सले आफ्नो विशाल स्टारशिप रकेटको सातौं उडान परीक्षण सुरु गर्ने तयारी गरिरहेको छ । आगामी उडान परीक्षणले महत्त्वपूर्ण स्तरवृद्धि गर्नेछ । स्पेसएक्सका अनुसार स्टारशिपले माथिल्लो चरणमा योजनाबद्ध अपग्रेडको ब्लक उडान परीक्षण सुरु हुनेछ । जसले विश्वसनीयता र कार्यसम्पादनमा ठूलो सुधार ल्याउनेछ । स्पेसएक्सले रकेटको प्रोपल्सन प्रणालीलाई पुनः डिजाइन गरेको छ । जसमा प्रोपेलेन्ट भोल्युममा २५ प्रतिशत वृद्धि, फिडलाइनको भ्याकुम ज्याकेटिङ, सवारी साधनको र्याप्टर भ्याकुम इन्जिनका लागि नयाँ इन्धन फिडलाइन प्रणाली तथा सुधारिएको प्रोपल्सन एभियन सेन्सरहरू नियन्त्रण गर्ने प्रणाली समावेश छ । स्पेसएक्सका अनुसार अन्तरिक्षमा हुँदा स्टारशिपले १० स्टारलिङ्क सिमुलेटरहरू तैनाथ गर्नेछ । स्पेसएक्सको स्टारशिप अन्तरिक्ष यान र सुपर हेवी रकेटलाई सामूहिक रूपमा स्टारशिप भनिन्छ । नासामा स्टारशिपले महत्त्वपूर्ण भूमिका खेल्छ । नासाले चन्द्रमाको यात्राको अन्तिम चरणमा अन्तरिक्ष यात्रीहरूलाई आर्टेमिस ३ भनिने मिसनमा लैजान रोजेको थियो, जुन हाल सन् २०२६ को लागि योजना गरिएको छ ।