अमेरिकी इस्पात भन्सार शुल्कबाट मुक्त नहुनु ‘खेदजनक’ : जापान

टोकियो । जापानले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इस्पात र एल्युमिनियममा २५ प्रतिशत भन्सारबाट देशलाई छुट नदिनु ‘खेदजनक’ भएको बताएको छ । जापानले प्रतिशोधात्मक उपायहरूबारे विचार गरिरहेको छ कि भनेर सोधिएको प्रश्नमा शीर्ष सरकारी प्रवक्ता योशिमासा हयासीले दुई राष्ट्रले अमेरिकी समयानुसार मध्यरात (०४०० जिएमटी बुधबार) मा लागू भएको भन्सार शुल्कको विवरण छलफल गर्न जारी राख्ने बताए ।  ‘व्यापार सीमित गर्ने व्यापक उपायहरूले जापान–अमेरिका आर्थिक सम्बन्धका साथै विश्व अर्थतन्त्र र बहुपक्षीय व्यापार प्रणालीमा उल्लेखनीय प्रभाव पार्ने जोखिम रहन्छ’, हयासीले पत्रकारहरूलाई भने, ‘जापानलाई अतिरिक्त भन्सार लगाउनबाट बाहिर नराखिएकामा खेदजनक छ ।’ सन् २०२४ मा जापानले तीन करोड १४ लाख टन इस्पात निर्यात गरेको थियो । सोमध्ये ११ लाख टन अमेरिकामा गएको थियो । वासिङ्टनका अनुसार यो देशको इस्पात आयातको चार प्रतिशत हो । ‘जापानी इस्पात र एल्युमिनियम उत्पादनहरूको आयातले अमेरिकी राष्ट्रिय सुरक्षालाई हानी गर्दैन, बरु, हाम्रा उच्च गुणस्तरका उत्पादनहरू प्रतिस्थापन गर्न कठिन छ र अमेरिकी निर्माण उद्योगको प्रतिस्पर्धात्मकतालाई बलियो बनाउन आवश्यक छ’, हयासीले भने । अर्थव्यवस्था, व्यापार र उद्योगमन्त्री योजी मुटोले यस हप्ता वासिङ्टनमा अमेरिकी अधिकारीहरूलाई जापानलाई धातु र आगामी सवारी भन्सार शुल्कबाट छुट दिन आग्रह गरेका थिए । ‘मन्त्री मुटोको अमेरिकी भ्रमणका क्रममा वासिङ्टनले जापानसँगको आफ्नो सम्बन्धलाई प्राथमिकताका रूपमा लिएको र संयुक्त राज्य अमेरिकामा जापानको लगानीका साथै अमेरिकी अर्थतन्त्रमा रोजगारीका माध्यमबाट खेलेको भूमिकालाई मूल्यवान ठानेको आफ्नो स्थिति व्यक्त गरेको थियो’, हयासीले भने । ‘संयुक्त राज्य अमेरिकामा इस्पात र एल्युमिनियमको जापानी निर्यातको अनुपात… धेरै सानो छ, त्यसैले जापानी कम्पनीहरूमा प्रत्यक्ष प्रभाव त्यति ठूलो हुनेछैन’, जापान बिजनेस फेडरेसनका अध्यक्ष मासाकाजु टोकुराले यस हप्ताको सुरुमा भनेका थिए । यद्यपि विशेष गरी धेरै जापानी कम्पनीहरू मेक्सिको र क्यानाडामा विस्तार भएका छन् र त्यहाँबाट संयुक्त राज्य अमेरिकामा निर्यात गरिरहेकाले अटोमोबाइलहरूमा लगाइएको भन्सार शुल्कले महत्त्वपूर्ण प्रभाव पार्नेछ । ‘सबैभन्दा ठूलो समस्या भनेको व्यापारको पूर्वानुमान क्षमतामा आएको गिरावट हो, जसले कम्पनीहरूलाई लगानी गर्न हिचकिचाउने बनाउन सक्छ’, टोकुराले भने । जापान विश्वको सबैभन्दा धेरै बिक्री हुने कार निर्माता टोयोटाको घर हो र अटो उद्योगको स्वास्थ्यले पार्ट्स निर्माणदेखि इस्पात र माइक्रोचिपसम्म धेरै क्षेत्रहरूलाई असर गर्छ । सन् २०२४ मा देशको २१३ खर्ब येन (एक खर्ब ४५ अर्ब डलर) अमेरिकी निर्यातमा कार र अन्य सवारी साधनको हिस्सा लगभग एक तिहाइ थियो । रासस

पोर्शेले मार्जिन जोगाउन कारको मूल्य बढाउने र लागत कटौती गर्ने सम्भावना

काठमाडौं । पोर्शेले कम बिक्री, उच्च लागत र व्यापार सम्बन्धी चिन्ताले सन् २०२५ को आम्दानीलाई असर गर्ने चेतावनी दिएको छ । कम्पनीले अमेरिकाद्वारा यूरोपियन युनियन (ईयू) आयातमा सम्भावित ट्यारिफ वृद्धिभन्दा अगाडि नै असर गर्ने चेतावनी दिएको हो । यसले पोर्शेलाई युरोपको प्रमुख स्टक सूचकांकमा सबैभन्दा ठूलो प्रतिशत गिरावट भोग्नुपर्ने स्थिति बनाएको छ । कार निर्माता कम्पनीले सम्भावित २५ प्रतिशत ट्यारिफ लागत उपभोक्ताहरूमा कसरी हस्तान्तरण गर्ने भन्ने मूल्याङ्कन गर्दै थियो । मूल्यांकनले मार्जिनमा दबाब नदिई बिक्री एकाइमा हुने गिरावटलाई सन्तुलित गर्न मूल्यवृद्धिको संकेत ग¥यो । आफ्नो अभिभावक कम्पनी फक्सवागनजस्तै पोर्शे पनि लागत कटौतीको अभियानमा छ । कम्पनीले करिब ४ हजार जागिर घटाउने र थप कटौतीको योजना बनाउँदैछ । पोर्शेले गत महिनामा चेतावनी दिएको थियो कि नयाँ आन्तरिक दहन इन्जिन र हाइब्रिड मोडेलहरूमा ८०० मिलियन यूरो (८७२.८० मिलियन) खर्चका कारण नाफामा असर पर्नेछ । पोर्शेको बिक्री गत वर्ष ३ प्रतिशतले घटेको थियो र यस वर्ष अझ कम बिक्रीको अपेक्षा गरिएको छ । पछिल्ला लगानीहरूका कारण मूल्यह्रासले यसको मार्जिनलाई केवल १०-१२ प्रतिशतमा झार्ने अनुमान गरिएको छ । यसले आफ्नो मध्यावधि नाफा मार्जिन लक्ष्य पनि घटाएको छ । जुन दशकको अन्त्यतिर मात्र पुग्ने अपेक्षा गरिएको छ । बिहान पोर्शेको सेयरहरू ४.५ प्रतिशतले घटे । जर्मनीको डीएएक्स सूचकांकमा प्रतिशतको हिसाबले सबैभन्दा ठूलो गिरावट देखाइरहेको थियो । विश्लेषकहरूले पोर्शेले बिक्रीमा आएको गिरावटलाई उच्च मूल्य निर्धारणद्वारा सन्तुलित गर्न नसक्ने जनाएका छन् । चीनमा सङ्घर्ष पोर्शे स्टक बजारमा प्रवेश गरेपछि आफ्नो गरिमा गुमाउँदै आएको छ । विशेष गरी चीनमा पोर्शेले चीनमा निकै संघर्ष गरिरहेको छ । यहाँ २०२४ मा बिक्री २८ प्रतिशतले घटेको छ । चिनियाँहरू एक रियल स्टेट संकटले हल्लाएका कारण विलासी सामानहरूमा खर्च गर्न अनिच्छुक छन् । सस्तो देखिने उस्तै खालका उत्पादनहरूको वृद्धि, जस्तै शाओमीको एसयू सेभेनले जर्मन कार निर्माताहरूका सम्भावनाहरूलाई अझ कमजोर बनाएको छ । अडी, मर्सिडिज बेन्ज र बीएमडब्ल्यूले पनि चीनमा तीव्र बिक्री गिरावट दर्ता गरेका छन् । पोर्शेले आफ्नो सफ्टवेयर सुधार गर्ने योजना बनाइरहेको छ र आफ्नो विरासत डिजाइनलाई अघि बढाउन ग्राहकहरूलाई पुनः जित्ने प्रयास गर्ने कम्पनीले जनाएको छ । पोर्शेले कम बिक्री मात्रा हुँदाहुँदै पनि मार्जिन जोगाउन आफ्नो डिलर नेटवर्क र आफ्नै अपरेसनमा थप लागत कटौती गर्ने जनाइएको छ । ग्लोबल अपरेटिङ नाफा २०२४ मा २२.६ प्रतिशतले घटेर ५.६ अर्ब यूरोमा झरेको छ। (एजेन्सीहरूको सहयोगमा) हाइब्रिडमा सफलतापश्चात ईभीमा जम्दै टोयोटा, २०२५ र २६ मा नौवटा नयाँ ईभी ल्याउने निसानले पायो नयाँ सीईओ, दिशाहीन कम्पनीको लय अनुभवी एस्पिनोसाको हातमा मस्कलाई ट्रम्प प्रशासन घाँडो, वाशिंगटन प्रवेशसँगै टेस्लाका सेयर घट्दै

मासेराटी ब्रान्डको विद्युतीय स्पोर्ट्स कार नआउने

काठमाडौं । मासेराटीले आफ्नो एमसीट्वान्टी स्पोट्र्स कारको विद्युतीय संस्करणको योजना रद्द गरेको छ । यसको अपेक्षित माग कमजोर देखिएकाले योजना रद्द गरेको लक्जरी कार निर्माता कम्पनीले मंगलबार जानकारी दिएको छ । एमसीट्वान्टी फलगोर यस वर्ष सार्वजनिक हुने योजना थियो । मासेराटीले यो निर्णय व्यापारिक सम्भावनाका आधारमा लिएको हो किनकि आगामी वर्षहरूमा थोरै गाडीहरू बिक्री हुने अपेक्षा गरिएको मसारेटीका प्रवक्ताले जानकारी दिए । बजार अनुसन्धान अनुसार एमसीट्वान्टीका ग्राहकहरू शक्तिशाली पेट्रोल इन्जिनहरूलाई प्राथमिकता दिन्छन् र ’छिट्टै बीईभी (ब्याट्री विद्युतीय सवारी) मा रूपान्तरण हुन तयार छैनन्,’ प्रवक्ताले थपे । सन् २०२० मा सुरु गरिएको ६३० हर्सपावरको एमसीट्वान्टी मासेराटीको गृहनगर मोडेना, उत्तरी इटालीमा निर्माण गरिन्छ । यसको सुरुवाती मूल्य करिब २ लाख ४० हजार युरो (२ लाख ६२ हजार डलर) छ । यो खबर स्टेलान्टिसले नोभेम्बरमा युनियनहरूसँगको बैठकमा मसारेटीका पहिले घोषणा गरिएका विद्युतीकरण योजनाहरू पुष्टि गर्न अस्वीकार गरेपछि आएको हो । ब्रान्डले गत वर्ष मात्र ११ हजार ३०० सवारीसाधनहरू बेचेको थियो ।  २०२३ मा कम्पनीले २६ हजार ६०० बेचेको थियाे । इटालियन स्पोट्र्स कार निर्माता फरारीले अक्टोबरमा आफ्नो पहिलो ईभी सार्वजनिक गर्नेछ, जबकि फक्सवागन समूहको हिस्सा रहेको प्रतिस्पर्धी ल्याम्बोर्घिनीले २०२९ मा आफ्नो पहिलो ईभी ल्याउने योजना बनाएको छ । पोर्शेले २०१९ देखि ईभी मोडेलहरू प्रस्तुत गर्दै आएको छ । (एजेन्सीहरूको सहयोगमा) हाइब्रिडमा सफलतापश्चात ईभीमा जम्दै टोयोटा, २०२५ र २६ मा नौवटा नयाँ ईभी ल्याउने निसानले पायो नयाँ सीईओ, दिशाहीन कम्पनीको लय अनुभवी एस्पिनोसाको हातमा मस्कलाई ट्रम्प प्रशासन घाँडो, वाशिंगटन प्रवेशसँगै टेस्लाका सेयर घट्दै