भारतको हमलापछि पाकिस्तानको सेयर बजार धराशायी
काठमाडौं । भारतले बुधबार कश्मीरमा गरेको सैन्य कारबाहीपछि पाकिस्तानको सेयर बजारमा ठूलो गिरावट आएको छ । कराची स्टक एक्सचेञ्ज (केएसई- १००) सूचकांक एकै दिनमा ६००० अंकभन्दा धेरैले घटेर बजार धराशायी बनेको हो । भारतीय सेनाले बुधबार 'अपरेशन सिन्दुर' अन्तर्गत पाकिस्तानमा लुकेका आतंककारीहरू विरुद्ध लक्षित कारबाही गरेको थियो । यस अपरेशनमा आतंककारीहरूको थुप्रै अड्डा ध्वस्त पारिएको भारतीय रक्षा स्रोतहरूले जनाएका छन् । भारतको यो जवाफी कारबाही गत महिनाको पहलगाम आतंकी हमलापछि गरिएको हो । बुधबार केएसई– १०० सूचकांक मंगलबारको ११३५६८.५१ अंकबाट घटेर १०७२९६.६४ अंकमा खुलेको थियो, जुन ५.५२ प्रतिशतको गिरावट हो । पहलगाम हमलापछि निरन्तर गिरावट २२ अप्रिलको पहलगाम आतंकी हमलापछि पाकिस्तानको सेयर बजारमा लगातार गिरावट देखिएको छ । उक्त दिन सूचकांक ११८४३०.३५ अंकमा बन्द भएको थियो । त्यसयता सूचकांकमा झन्डै ९.४० प्रतिशतको गिरावट आइसकेको छ, जसले पाकिस्तानको अर्थतन्त्रमा गम्भीर धक्का पुर्याएको छ । बुधबारको गिरावटअघि ३० अप्रिलमा पनि पाकिस्तानको सेयर बजारमा ३.०९ प्रतिशतको गिरावट आएको थियो, जुन पछिल्ला केही हप्ताको सबैभन्दा ठूलो गिरावट थियो । विशेषज्ञहरूको चेतावनी २ मेमा बजारले २.५ प्रतिशतले सुधार देखाएको भए पनि विज्ञहरूका अनुसार त्यो केवल 'डेड क्याट बाउन्स’ (मृत बिरालो उफ्रनुजस्तै क्षणिक सुधार) मात्र हो । उनीहरूको भनाइमा जबसम्म भारत–पाकिस्तानबीचको तनाव घट्दैन, तबसम्म बजारमा स्थायी सुधारको सम्भावना निकै कम छ । भारतको 'अप्रेशन सिन्दूर': पाकिस्तानमाथि सैन्य कारबाही, तनाव उच्च बिन्दुमा भारत-पाकिस्तानबीचको युद्ध उत्कर्षमा पुग्ने संकेत, यस्तो छ दुई देशको शैन्यशक्ति
भारतको 'अप्रेशन सिन्दूर': पाकिस्तानमाथि सैन्य कारबाही, तनाव उच्च बिन्दुमा
काठमाडौं । भारतले बुधबार बिहान जम्मु–कश्मीरमा आतंकवादी पूर्वाधारहरू लक्षित गरी सैन्य कारबाही गरेको जनाएको छ । भारतको रक्षा मन्त्रालयले यो कारबाहीलाई 'अप्रेशन सिन्दुर' नाम दिएको छ र त्यस अन्तर्गत नौवटा स्थानमा आक्रमण गरेको बताएको छ । मन्त्रालयका अनुसार यी स्थानहरूबाट भारतमाथि आतंकवादी हमला योजना बनाइएका थिए । 'हाम्रो कारबाही लक्षित, सीमित र तनाव नबढाउने प्रकृतिको छ । कुनै पनि पाकिस्तानी सैन्य संरचना लक्षित गरिएको छैन,' विज्ञप्तिमा उल्लेख छ । यो कारबाही जम्मु-कश्मीरको पहलगाममा गत महिना भएको एक उग्रवादी हमलाको जवाफस्वरूप गरिएको हो, जसमा २६ जनाको ज्यान गएको थियो । पाकिस्तानले भने भारतले आफ्ना नागरिकहरूमाथि हमला गर्दै आफ्नो भू–सम्प्रभुतामा उल्लंघन गरेको आरोप लगाएको छ । पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तारारले पाँच भारतीय लडाकु विमान खसालिएको दाबी गरेका छन् । पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले भने, 'यो भारतले जन्माएको युद्ध हो र हामी कडा जवाफ दिइरहेका छौं ।' पाकिस्तानी गोलाबारीका कारण तीनजना नागरिकको मृत्यु भएको बताइएको छ । यता भारतले भने कुनै पनि नागरिकलाई लक्षित नगरिएको स्पष्ट पारेको छ । उता अन्तर्राष्ट्रिय समुदायबाट संयमता अपनाउन आह्वान गरिएको छ। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेस, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, र यूएईका विदेशमन्त्री शेख अब्दुल्ला बिन जायेदले दुबै पक्षलाई तनाव घटाउन आग्रह गरेका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग कुराकानी गरेको जानकारी भारतको वाशिङ्टनस्थित दूतावासले दिएको छ । सैनिक कारबाहीपछि क्षेत्रीय उडानहरू प्रभावित भएका छन् । कतार एयरवेजले पाकिस्तानका लागि उडानहरू अस्थायी रूपमा स्थगित गरेको छ भने भारतीय एयरलाइन्सहरू पनि उत्तरी भारतका विमानस्थलहरूबाट प्रभावित भएका छन् । रक्षा मन्त्रालयले दिनको उत्तरार्धमा थप विस्तृत जानकारी दिने बताएको छ ।
भारत-पाकिस्तानबीचको युद्ध उत्कर्षमा पुग्ने संकेत, यस्तो छ दुई देशको शैन्यशक्ति
काठमाडौं । भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न नौ स्थानमा क्षेप्यास्त्र हमलाहरू गरेपछि अब भारत र पाकिस्तानको युद्ध उत्कर्षमा पुग्ने अनुमान गरिएको छ । अहिले दुवै देशमा भएका हमलाको विषयमा विभिन्न समाचार र तस्बिरहरू सार्वजनिक भइरहेका छन् । दुई साताअघि भारत प्रशासित कश्मीरमा पर्यटकहरूमाथि भएको आतङ्कवादी आक्रमणपछि भारतले प्रतिवाद गरेको हो । भारतले पाकिस्तान तथा पाकिस्तान प्रशासित कश्मीरमा शृङ्खलाबद्ध क्षेप्यास्त्र प्रहार गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यो आक्रमणलाई भारतीय सेनाले ‘अपरेशन सिन्दूर’ नाम दिएको छ । यो आक्रमणमा ३० जनाको मृत्यु भएको जनाएको छ । भारतले ९ ठाउँमा आक्रमण गरेको भनिए पनि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले पाँच स्थानमा आक्रमण भएको धारणा राखेका छन् । उनले यसको उचित जवाफ दिने पनि अभिव्यक्ति दिएका छन् । ‘पाकिस्तान र पाकिस्तानी सेनालाई थाहा छ, कसरी दुश्मनसँग व्यवहार गर्नुपर्छ । हामी कहिल्यै पनि शत्रुलाई उसको उद्देश्यमा सफल हुन दिनेछैनौं,’ प्रधानमन्त्री शरीफले सामाजिक सञ्जाल एक्स (पूर्व ट्वीटर) मा लेखेका छन् । अब भारत र पाकिस्तानबीच युद्ध बढ्ने अनुमान विज्ञहरुले गरेका छन् । भारत र पाकिस्तानसँग भएको शैन्य हातहतियार तथा शक्तिको विषयमा पनि अहिले अन्तर्राष्ट्रिय रुपमा चर्चाको विषय बनेको छ । कुन देशको सेना शक्तिशाली ? बीबीसी हिन्दीले उल्लेख गरेअनुसार सन् २०२५ को सैन्य शक्तिको वरीयतामा भारत १४५ देशहरूमध्ये चौथो स्थानमा हुनेछ भने पाकिस्तान १२औं स्थानमा हुनेछ । भारतीय सेनासँग करिब २२ लाख सैनिक, ४ हजार २०१ ट्याङ्क, झण्डै १.५ लाख बख्तरबन्द सवारी साधन, १०० सेल्फ प्रोपेल्ड आर्टिलरी र ३ लाख ९ हजार ७५ बाह्य सहायताका भरमा चल्ने आर्टिलरी छन् भने मल्टी ब्यारल रकेट आर्टिलरी २६४ वटा छन् । भारतीय वायुसेनासँग ३ लाख १० हजार सैनिक एवं ५१३ लडाकु विमान र २७० पारवहनमा प्रयोग हुने विमानसहित कुल २ लाख २२९ वटा विमान छन् । कुल विमानहरूमा १३० वटा हमलाकारी, ३५१ वटा प्रशिक्षणमा प्रयोग हुने विमान र छवटा ट्याङ्कर फ्लीट विमानहरू छन् । भारतीय सेनासँग ८९९ हेलिकप्टर, तीमध्ये ८० वटा हमलाकारी हेलिकप्टर छन् भने कुल २९३ वटा जहाज रहेका छन् । यस्तै, दुई विमानवाहक युद्धपोत भारतीय सेनासँग छन् भने आणविक वारहेड १७२ वटा छन् । यस्तै, बीबीसी हिन्दीका अनुसार पाकिस्तानी सेनामा झण्डै १३.११ लाख सैनिक, १.२४ लाख नौसैनिक र ७८ हजार वायुसेना छन् । पाकिस्तानसँग ३२८ लडाकु विमान, ९० आक्रामक प्रकारका, ६४ यातायात विमान, ५६५ ट्रेनर, ४ ट्याङ्कर फ्लीट र ५७ लडाकु हेलिकप्टरका साथ ३७३ हेलिकप्टर सहित कुल १,३९९ विमानहरू छन् । यसमा २ हजार ६२७ ट्याङ्क, ६६२ सेल्फ प्रोपेल्ड आर्टिलरी, २ हजार ६२९ बाह्य सहायताका भरमा चल्ने आर्टिलरी र ६०० मल्टी ब्यारल रकेट छन् । पाकिस्तानी नौसेनासँग नौवटा फ्रिगेट, नौवटा कर्भेट, आठवटा पनडुब्बी र ६९ गस्ती जहाज छन् । यस्तै, पाकिस्तानसँग १७० वटा आणविक वारहेड रहेको उल्लेख छ । भारतले हमाला गरेपछि भारतीय एयरलाइन्सहरूले ट्राभल एडभाइजरी जारी गरेका छन् । यसका कारण धेरै उडानहरू रद्द भएका छन् र केही प्रभावित भएका छन् । भारतको हमालापछि संयुक्त राष्ट्रसंघले औपचारिक प्रतिक्रिया दिएको छ । संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन दुजारिकले गुटेरेस ‘नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सिमानाका पारिपट्टिका भारतीय सैन्य कारबाहीहरूप्रति गहिरो चिन्तित रहेको’ बताएका छन् । उनले भारत र पाकिस्तान दुवैलाई आफ्ना सैन्य शक्तिलाई अधिकतम संयम राख्न आग्रह गरेका छन् । एजेन्सीको सहयोगमा ।