पोपको रूपमा आफ्नो एआई फोटो सेयर गरेपछि ट्रम्पको आलोचना
काठमाडौं । अमेरिकी राष्ट्रपतिको कार्यालयको इन्स्टाग्राम खाताबाट डोनाल्ड ट्रम्पको पोपको रूपमा बनाइएको एआई तस्वीर सेयर गरिएको छ, जसप्रति क्याथोलिक समूहले कडा आपत्ति जनाएका छन् । यो तस्वीर त्यस्तो समयमा सार्वजनिक गरिएको हो जब क्याथोलिक समुदाय पोप फ्रान्सिसको निधनपछि शोकमा डुबेको छ । ट्रम्पले पोस्ट गरेको तस्वीरमा उनी पोपजस्तै सेतो पोशाक अनि टोपी लगाएर घाँटीमा ठूलो क्रस झुण्ड्याई गम्भीर मुद्रामा एक औंला माथि उठाएर उभिएका देखिन्छन् । न्यूयोर्क स्टेट क्याथोलिक कन्फरेन्सले ट्रम्पमाथि उनीहरूको आस्थाको अपमान गरेको आरोप लगाएको छ । केही दिनअघि मात्र ट्रम्पले पत्रकारहरूसँग मजाक गर्दै भनेका थिए, 'म पोप बन्न चाहन्छु ।’ ट्रम्प यस्ता पहिलो अमेरिकी राष्ट्रपति होइनन्, जसले यस्ता आरोप खेप्नुपरेको हो । एक वर्षअघि अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनले गर्भपतनको पक्षमा आयोजित र्‍यालीमा ‘साइन अफ द क्रस’ बनाएर क्याथोलिक समुदायलाई आक्रोशित बनाएका थिए । भ्याटिकनका प्रवक्ताले ट्रम्पको तस्वीरबारे कुनै टिप्पणी गरेका छैनन् । भ्याटिकनमा बुधबारदेखि पोपको उत्तराधिकारी चयनको प्रक्रिया सुरु हुन लागेको छ । न्युयोर्क स्टेट क्याथोलिक कन्फरेन्सले एक्स (पूर्वट्विटर) मा लेखेको छ, 'यस तस्वीरमा केही पनि रमाइलो छैन, मिस्टर प्रेसिडेन्ट ।’ 'हामीले भर्खरै आफ्ना प्रिय पोपलाई गाडेका छौं र अब एक गम्भीर चयन प्रक्रिया सुरु हुँदैछ । कृपया हाम्रो मजाक नउडाउनुहोस् ।’
सेयर बजारका बादशाह बफेटले सीईओ पद छाड्दै, ग्रेग एबेल बन्दै उत्तराधिकारी
काठमाडौं । सेयर बजारका बादसाहका रूपमा परिचित वारेन बफेटले पदबाट सन्यास लिने घोषणा गरेका छन् । यस वर्षको अन्त्यसम्ममा आफू प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट सन्न्यास लिने र ग्रेग एबेललाई आफ्नो उत्तराधिकारीको रूपमा सिफारिस गर्ने घोषणा उनले गरेका हुन्। ९४ वर्षीय बफेटले शनिबार बर्कशायर हाथवेको वार्षिक बैठकमा भने, 'भोलि हामी बोर्ड बैठक गर्दैछौं । मलाई लाग्छ, अब समय आएको छ कि ग्रेग एबेलले कम्पनीको सीईओको जिम्मेवारी सम्हाल्नुपर्छ ।’ सन् २०२१ मा एबेललाई सीईओको उत्तराधिकारीको रूपमा घोषणा गरिए पनि यसपटकको औपचारिक घोषणा हजारौं सेयरधनीहरूका लागि अप्रत्याशित थियो । ६ दशक लामो यात्राको उत्कर्षमा बिदाइ सन् १९६५ मा एक असफल कपडा कारखाना किन्दै सुरु भएको बफेटको बर्कशायर यात्राले उनलाई ‘ओमाहाको भविष्यवक्ता’ बनायो । अहिले बर्कशायर हाथवे विश्वकै सबैभन्दा ठूला समूहहरूमध्ये एक बनेको छ, जसको बजार मूल्य झन्डै १.२ ट्रिलियन अमेरिकी डलर पुगेको छ । बफेटले स्पष्ट पारे, 'म अझै वरिपरि रहनेछु, तर कम्पनीको सञ्चालन र पूँजी व्यवस्थापनको अन्तिम निर्णय ग्रेगकै हुनेछ ।’ बफेटको विश्वास- ग्रेग एबेल अझ सक्षम ६२ वर्षीय एबेल हाल बर्कशायरका बीमा बाहेकका व्यवसायहरूको उपाध्यक्ष हुन् । बफेटले भने, 'ग्रेगको व्यवस्थापन शैली मेरोभन्दा प्रभावकारी छ । अहिले एबेलले निकै मेहनत गरिरहेका छन् ।’ बफेटले आफ्नो सम्पूर्ण सेयर होल्डिङमा राख्ने घोषणा गर्दै भने, 'यो आर्थिक निर्णय हो। मलाई लाग्छ, ग्रेगको नेतृत्वमा बर्कशायर अझै राम्रो प्रदर्शन गर्नेछ ।’ कम्पनी संस्कारको निरन्तरताको संकेत हाल बफेट बर्कशायरका अध्यक्षसमेत हुन् । अबको भूमिका कस्तो हुने भन्नेबारे आइतबाको बोर्ड बैठकमा छलफल हुनेछ । यसअघि बफेटले संकेत दिएका थिए कि आफ्नो मृत्युपछि उनका छोरा हाउइ बफेट गैर-कार्यकारी अध्यक्ष बन्नेछन् । शनिबारको घोषणा र एबेलको नाममा गरिएको सरप्राइज घोषणापछि ४० हजार सेयरधनीहरू उभिएर बफेटलाई सम्मानित गर्दै ताली बजाए । बर्कशायर निर्देशक रोन ओल्सनले टिप्पणी गरे, 'म यो घोषणाबाट अचम्ममा परें, तर यो प्रेरणादायी छ । अब म वारेनलाई ग्रेगका लागि चार्ली मंगरको भूमिकामा देख्न चाहन्छु ।’ नयाँ नेतृत्व, पुरानै दर्शन ग्रेग एबेलले भने, 'हामीले पूँजी विनियोजनमा बफेटले अपनाएको दीर्घकालीन दृष्टिकोणलाई निरन्तरता दिनेछौं । बर्कशायरको लगानी शैली परिवर्तन हुने छैन ।’ अब ६ दशक लामो नेतृत्वको अन्त्य भई बर्कशायर हाथवेमा नयाँ अध्याय सुरु हुनेछ।
ट्रम्पको १०० दिन : ट्यारिफ युद्धले मन्दीको सन्त्रास र महँगीको शंका
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालका १०० दिन पूरा भइसकेका छन् । तर आर्थिक मोर्चामा उनीले लिएका आक्रामक नीतिहरूले अमेरिका मात्रै होइन, विश्व अर्थतन्त्रलाई समेत झस्काइरहेको छ । एकपछि अर्को गर्दै विदेशी वस्तुहरूमा भारी प्रतिशोधात्मक शुल्क (रेसिप्रोकल ट्यारिफ) लगाउँदै आएका ट्रम्पले ९० दिनका लागि अस्थायी राहत दिएका छन्, तर यसले उठाएको आँधी अझै शान्त भएको छैन । मन्दीको सन्त्रास र महँगीको शंका विश्वभरका बजारहरू उथलपुथलमा छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले धेरै मुलुकहरूको जीडीपी वृद्धि दरको अनुमान घटाएको छ । अमेरिकी सेयर बजारमा गिरावटले लगानीकर्ताहरूको अर्बौं डलर डुबेको छ । ट्रम्पको मूल मन्त्र 'अमेरिकालाई फेरि महान बनाउने' भए पनि अहिले अमेरिकी अर्थतन्त्र नै दिशाहीन देखिन थालेको छ । अविश्वास, अनिश्चितता र लगानी संकट ट्रम्पको बारम्बार बदलिँदो नीति र ट्यारिफको कठोर दृष्टिकोणले बजारमा अनिश्चितता निम्त्याएको छ । विज्ञहरू भन्छन्- यस्तो अस्थिरता अमेरिका चाहँदैन । ट्यारिफले उपभोक्ताका लागि सामान महँगा बनाउँछ, कम्पनीको लागत बढाउँछ र लगानी रोकिएको देखिन्छ । अर्थतन्त्रको मेरुदण्डमै असर ट्राभल उद्योगदेखि उपभोक्ता खर्चसम्म, असर व्यापक छ । डेल्टा एयरलाइन्सले आम्दानी पूर्वानुमान घटाएको छ भने एयरलाइन कम्पनीहरूले गर्मी सिजनको यात्रा कम हुने संकेत दिँदै उडानहरू कटौती गर्न थालेका छन् । एसएन्डपी ग्लोबलका अनुसार मात्र दुई महिनामा १२९ कम्पनीले टाट पल्टेको घोषण गरेका छन्- जुन २०१० यताकै उच्च हो । अमेरिका एक्लै युद्धको केन्द्रमा अहिले ट्रम्पको नीति अमेरिका विश्वव्यापी व्यापार युद्धको केन्द्रमा छ । लगानीकर्ताहरू डलर र अमेरिकी कोषपत्रबाट पैसा हटाउँदै छन् । बजारमा अस्थिरता बढेको छ । यद्यपि बेरोजगारी दर घटेको र मुद्रास्फीति २.५ प्रतिशतको हाराहारीमा रहेको सरकारी तथ्यांकले केही सान्त्वना दिएको छ । चीनसँगको व्यापार युद्ध अझ चर्किँदै अमेरिकाले चीनमाथि १४५ प्रतिशत ट्यारिफ लगाएको छ र चीनले पनि १२५ प्रतिशत ट्यारिफ लगाएको छ । परिणामस्वरूप पछिल्ला तीन हप्तामै अमेरिका-चीन बीचको ढुवानी ६० प्रतिशतभन्दा बढी घटेको बताइएको छ । यद्यपि हालसालै ट्रम्पको व्यवहार केही नरम देखिएको छ । उनी चिनियाँ राष्ट्रपति सी जिनपिङसँग वार्ता चाहन्छन् । जनताको असन्तोष र चुनावी दबाब एसएसआरएसको नयाँ सर्वेक्षणअनुसार ५९ प्रतिशत अमेरिकीले ट्रम्पको नीतिले अर्थतन्त्र बिगारेको ठानेका छन् । ६० प्रतिशतले महँगी बढेको भन्दै आक्रोश व्यक्त गरेका छन् भने ७० प्रतिशतले आगामी वर्ष मन्दीको डर व्यक्त गरेका छन् ।