ट्रम्पको धम्कीका बावजुद अमेरिकाभर विरोध प्रदर्शन फैलिँदै
काठमाडौं । कडा अध्यागमन रणनीतिका विरुद्ध संयुक्त राज्य अमेरिकाभर विरोध प्रदर्शन भड्किएको छ । यो लस एन्जलसमा दैनिक प्रदर्शनपछि आएको हो । क्यालिफोर्नियाले बिहीबार राष्ट्रपति डोनाल्ड ट्रम्पको सेना तैनाथीका विरुद्ध कानूनी लडाइँको तयारी गरिरहेको छ । अमेरिकाको दोस्रो ठूलो सहर लस एन्जलसमा बुधबार छैटौँ दिनको विरोध प्रदर्शनका लागि एक हजारभन्दा बढी मानिस भेला भएका थिए । उनीहरू सडकमा मार्च गर्दा भिड शान्तिपूर्ण थियो । सहरका नेताहरूले पाँच सय वर्गमाइल (एक हजार तीन सय वर्गकिलोमिटर) महानगरका केही सहर ब्लकहरूलाई क्षति पुर्याउने अँध्यारो तोडफोड र लुटपाटलाई नियन्त्रण गर्ने प्रयास गर्दा दोस्रो रातको कर्फ्यू लगाइएको थियो । 'म भन्न सक्छु कि अधिकांश भागमा यहाँ ग्राउन्ड जिरोमा सबै कुरा ठीकै छ', ६६ वर्षीय सेवानिवृत्त स्कूल शिक्षक एवं प्रदर्शनकारी लिन स्टर्गिसले भने, 'हाम्रो सहरमा आगो लागेको छैन, यो जलिरहेको छैन, जसरीे हाम्रो भयानक नेताले तपाईंलाई भन्न खोजिरहेका छन् ।' देशमा अवैध रूपमा आप्रवासीहरूलाई समात्ने प्रयासमा अचानक वृद्धि भएपछि प्रायः शान्तिपूर्ण विरोध प्रदर्शनहरू भड्किए । सेल्फ ड्राइभिङ ट्याक्सीहरू जलाउने र प्रहरीमाथि ढुङ्गा फ्याँक्ने लगायतका हिंसाका घटनाहरू लस एन्जलस प्रहरी विभागका आठ हजार पाँच सय अधिकारीले पहिले सामना नगरेको केही पनि थिएन । वासिङ्टनको स्पोकेनमा प्रहरीले ३० जनाभन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरेपछि र भिडलाई तितरबितर गर्न मरिचका गोलीहरू प्रहार गरेपछि रातिको कर्फ्यू घोषणा गरिएको प्रहरी प्रमुख केभिन हलले पत्रकार सम्मेलनमा बताए । कागजातविहीन आप्रवासीहरूको ‘आक्रमण’ भएको दाबी गर्नेसँग लड्ने वाचा गरेर ट्रम्पले गत वर्ष आंशिक रूपमा चुनाव जितेका थिए । गभर्नर गेभिन न्युसमको आपत्तिका बावजुद क्यालिफोर्निया नेसनल गार्डलाई तैनाथ गर्न आदेश दिँदै ट्रम्पले अब राजनीतिक पूँजी बनाउने अवसर कब्जा गरिरहेका छन् । दशकौँमा पहिलो पटक अमेरिकी राष्ट्रपतिले लिएको पहिलो यस्तो कदम हो । 'हामीसँग सुरक्षित देश हुनेछ', उनले वासिङ्टनमा ‘लेस मिजरेबल्स’ को प्रदर्शनमा जाँदै गर्दा पत्रकारहरूलाई भने, 'लस एन्जलसमा के हुने थियो त्यो हुन दिनेछैनौँ । याद गर्नुहोस् यदि म त्यहाँ नभएको भए... लस एन्जलस जमिनमा जलिरहेको हुने थियो ।' ट्रम्पले तैनाथ गरेका चार हजार सात सय सैनिकमध्ये करिब एक हजार जना सक्रिय रूपमा सुविधाहरूको सुरक्षा गरिरहेको र आइसिई एजेन्टहरूसँग मिलेर काम गरिरहेको अपरेसनको नेतृत्व गरिरहेका आर्मी नर्थका डिप्टी कमान्डिङ जनरल स्कट शेरम्यानले बताए । बाँकी सात सय सक्रिय ड्युटी मरीन सहित भेला भएका वा नागरिक अशान्तिको सामना गर्न भेला भइरहेको वा प्रशिक्षण लिइरहेको उनले जानकारी दिए । पेन्टागनले यो तैनाथीले करदाताहरूलाई १३ करोड ४० लाख डलर खर्च हुने बताएको छ । सन् २०२८ को राष्ट्रपतीय चुनावका लागि व्यापक रूपमा हेरिएका डेमोक्रेट गभर्नर न्युसमले ट्रम्पमाथि राजनीतिक लाभका लागि द्वन्द्व बढाउन खोजिरहेको आरोप लगाएका छन् । ‘लोकतन्त्र हाम्रो आँखामुनि आक्रमणमा परेको छ’ भन्दै उनले मङ्गलबार आफ्नो राज्यको सीमाभन्दा बाहिर अभूतपूर्व सैन्यीकरण सर्ने चेतावनी दिए । क्यालिफोर्नियाका वकिलहरू बिहीबार अदालतमा सैनिकहरूलाई अध्यागमन अधिकारीहरूसँग आप्रवासीहरूलाई गिरफ्तार गर्दा साथ दिनबाट रोक्न आदेश माग्ने अपेक्षा गरिएको थियो । ट्रम्प प्रशासनका वकिलहरूले यो आवेदनलाई ‘कच्चा राजनीतिक नाटक’ भनेका छन् । – राष्ट्रव्यापी विरोध बढ्दै – अन्य डेमोक्रेटिकद्वारा प्रशासित राज्यहरूमा नेसनल गार्ड तैनाथ गर्ने ट्रम्पको धम्कीका बावजुद प्रदर्शनकारीहरू निडर देखिन्थे । सेन्ट लुइस, रेले, म्यानहट्टन, इन्डियानापोलिस र डेनभरमा प्रदर्शनहरू भएको रिपोर्ट गरिएको थियो । सान एन्टोनियोमा सयौँले सिटी हल नजिकै मार्च गरे र नारा लगाए । त्यहाँ टेक्सासका रिपब्लिकन गभर्नर ग्रेग एबोटले राज्यको नेसनल गार्ड तैनाथ गरेका छन् । ट्रम्पले अमेरिकी राजधानीमा अत्यधिक असामान्य सैन्य परेडमा भाग लिने बेला शनिबार राष्ट्रव्यापी ‘नो किङ्ग्स’ आन्दोलनको अपेक्षा गरिएको थियो । युद्धक विमान र ट्याङ्कहरू सहितको यो परेड अमेरिकी सेनाको स्थापनाको दुई सय ५०औँ वार्षिकोत्सव मनाउन आयोजना गरिएको हो तर यो ट्रम्पको ७९औँ जन्मदिनको दिन पनि हो । – भड्किएको अवस्था – ट्रम्प प्रशासनले विरोध प्रदर्शनलाई राष्ट्रका लागि हिंसात्मक खतराका रूपमा चित्रण गरिरहेको छ । यसले नियमित अध्यागमन एजेन्ट र प्रहरीलाई समर्थन गर्न सैन्य बलको आवश्यकता पर्ने बताएको छ । तर लस एन्जलसका मेयर करेन बासले यो सङ्कट वासिङ्टनमा निर्मित भएको बताए । 'एक हप्ताअघि लस एन्जलस सहरमा सबै कुरा शान्तिपूर्ण थियो', उनले पत्रकारहरूलाई भने, 'शुक्रबार छापा मारिएपछि कुराहरू कठिन हुन थाले... यही नै समस्याको कारण हो । यो ह्वाइट हाउसद्वारा उक्साइएको थियो ।' नक्काबधारी र हतियारधारी पुरुषहरूद्वारा गिरफ्तारी बुधबार पनि जारी रह्यो । डाउनीको लस एन्जलसको उपनगरका एक पास्टरले राज्य बाहिर कार चलाउने पाँच सशस्त्र व्यक्तिले चर्चको पार्किङमा स्पेनिस भाषी व्यक्तिलाई समातेको बताए । जब उनले पुरुषहरूलाई चुनौती दिनुभयो र उनीहरूको ब्याज नम्बर र नाम सोध्नुभयो, तिनीहरूले अस्वीकार गरे । 'उनीहरूले मलाई आफ्नो राइफल औँल्याए र भने, ‘तपाईंले फर्किनु आवश्यक छ', लोपेजले प्रसारणकर्ता केटीएलएलाई भने । रासस
२४२ जना यात्रु बोकेको एयर इन्डियाको जहाज दुर्घटना
काठमाडौं । भारतको अहमदाबादमा एअर इन्डियाको यात्रुवाहक विमान दुर्घटनाग्रस्तमा परेको छ । गुजरात राज्यको अहमदाबादमा एअर इन्डियाको यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको बताइएको छ । विमानमा २४२ जना यात्रु रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले बताएका छन् । तर, पुष्टि हुन बाँकी छ। अहमदाबादको अग्नि नियन्त्रण विभागले दुर्घटनास्थलमा दमकलहरू पठाइएको पुष्टि गरेको बीबीसी हिन्दीले जनाएको छ।
‘५ मिनेटमै अमेरिकाको घाटा हटाउने’ बफेटको सुझावले फेरि तहल्का पिट्यो
काठमाडौं । अमेरिकी सरकार लगातार बजेट घाटासँग जुधिरहेको छ । सरकारले हरेक वर्ष आफ्नो आम्दानीभन्दा बढी खर्च गरिरहेको छ । दुबै दलका प्रयासहरूका बाबजुद पनि २०२५ जुनसम्म अमेरिकाको ऋण बढेर ३३.८ ट्रिलियन डलर पुगेको छ । र यो ऋण घट्ने कुनै संकेत देखिँदैन । यस आर्थिक संकटको बीचमा चर्चित लगानीकर्ता वारेन बफेटको एउटा सुझाव फेरि चर्चामा आएको छ । धेरै प्रतिष्ठित व्यक्तिहरूले यस सुझावको समर्थन गरेका छन् । सन् २०११ मा सीएनबीसीलाई दिएको एक अन्तर्वार्तामा बफेटले अमेरिकाको घाटा घटाउने सजिलो उपाय बताएका थिए । उनले भनेका थिए, 'म ५ मिनेटमै घाटा समाप्त गर्न सक्छु । बस यति गर्नूहोस्- एक यस्तो कानुन पास गर्नुहोस् कि जब जीडीपीको ३ प्रतिशतभन्दा बढी घाटा हुन्छ तब संसदका सबै सदस्यहरू पुनः निर्वाचन लड्न अयोग्य ठहरिनेछन् ।' यो पुरानो अन्तर्वार्ता फेरि भाइरल भएको छ । वाशिंगटनमा जवाफदेहिताको विषयमा बहस सुरु भएको छ । टेस्लाका सीईओ तथा विश्वकै सबैभन्दा धनी व्यक्ति एलन मस्कले पनि यसमा सहमति जनाएका छन् । सीनेटर माइक लीले उक्त भिडियो सामाजिक सञ्जाल प्लेटफर्म एक्समा सेयर गर्दै सोधेका छन्, 'के तपाईं यस संशोधनको समर्थन गर्नुहुन्छ ?' यस पोस्टमा धेरै मानिसहरूले आफ्नो धारणा व्यक्त गरेका छन् । एलन मस्कले पनि समर्थन जनाउँदै लेखे, '१०० प्रतिशत- यही सही उपाय हो ।' अर्थशास्त्री पीटर शिफले पनि यसबारे आफ्नो विचार राख्दै ट्वीट गरे, 'बफेटको योजना कडा छ, तर उत्कृष्ट छ । अन्ततः कंग्रेसले आफ्ना आर्थिक गल्तीहरूको महसुस गर्नेछ ।' सीनेटर लीले एक्समा लेखेका छन्, 'म एक संविधानिक संशोधनको मस्यौदा तयार गरिरहेको छु । यसअनुसार जब महँगी ३ प्रतिशतभन्दा बढी हुनेछ, तब कंग्रेसका सबै सदस्यहरू हटाइने छन् । सम्पूर्ण देश महँगीसँग जुध्नुभन्दा नेताहरूलाई अयोग्य घोषित गर्नु राम्रो हो ।' लीको सुझाव बफेटको सुझावभन्दा अलिक फरक छ । लीले कंग्रेसको योग्यता महँगीसँग जोडेका छन्, जबकि बफेटले घाटासँग । यद्यपि, दुवै विषय सरकारको खर्चसँग सम्बन्धित छन् । खस्किँदै गएको अमेरिकी अर्थतन्त्र हाल अमेरिकी अर्थतन्त्र कठिन समयबाट गुज्रिरहेको छ । वित्तीय वर्ष २०२४ मा अमेरिकाको जीडीपी २८.८३ ट्रिलियन डलर थियो । सरकारको खर्च ६.७५ ट्रिलियन डलर थियो भने आम्दानी ४.९२ ट्रिलियन डलर मात्र थियो । त्यसकारण १.८३ ट्रिलियन डलरको घाटा भयो, जुन जीडीपीको ६.३ प्रतिशत हो । यो बफेटले उल्लेख गरेको ३ प्रतिशतभन्दा दोब्बरभन्दा बढी हो । कंग्रेसनल बजेट अफिसको अनुमानअनुसार सन् २०३४ सम्म यो घाटा बढेर २।६ ट्रिलियन डलर पुग्नेछ । यसको मुख्य कारण राष्ट्रिय ऋणमा बढ्दो ब्याज हो, जुन अहिले हरेक वर्ष १ ट्रिलियन डलरभन्दा बढी भइसकेको छ । किन बढिरहेको छ ऋण? अर्थशास्त्रीहरूले लामो समयदेखि घाटा र महँगीबीचको सम्बन्धबारे चेतावनी दिँदै आएका छन् । नोबेल पुरस्कार विजेता मिल्टन फ्राइडम्यानले भनेका थिए, 'महँगीको कारण सरकारी खर्चको अत्यधिक वृद्धि र सरकारद्वारा छापिएको बढी पैसा हो- अरू केही होइन ।' हालका तथ्यांकहरूले पनि यही देखाउँछन् । सन् २०२४ मा महँगी ३.२ प्रतिशतसम्म पुगेको थियो, जुन फेडरल रिजर्भको २ प्रतिशत लक्ष्यभन्दा बढी हो । यसको एक कारण सरकारका खर्चिला नीतिहरू पनि हुन् ।