युक्रेनको रक्षा गर्न अमेरिकी सेना नपठाउने : ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार युक्रेनलाई रुसबाट जोगाउन अमेरिकी सेना नपठाउने आश्वासन दिएका छन् । यद्यपि उनले एक दिनअघि यस्तो सम्भावनालाई खुला छाडेका थिए । टिभी अन्तर्वार्तामा ट्रम्पले युक्रेनको नाटोमा प्रवेश गर्ने र रुसबाट क्रिमिया प्रायद्वीप फिर्ता पाउने आशा ‘असम्भव’ भएको बताए । रिपब्लिकन राष्ट्रपति ट्रम्प, युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की र अन्य युरोपेली नेताले सोमबार ह्वाइट हाउसमा रूस–युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले लामो वार्ता गरेका थिए । पत्रकारको प्रश्नमा ट्रम्पले जेलेन्स्कीले माग्नुभएको सुरक्षा ग्यारेन्टी अन्तर्गत अमेरिकी सेना पठाउने कुरा भने अस्वीकार गरेनन् । गत हप्ता अलास्कामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि ट्रम्पले युक्रेनका लागि सुरक्षा ग्यारेन्टीबारे पुटिन खुला भएको बताएका थिए । तर मङ्गलबार फक्स न्युजको ‘फक्स एन्ड फ्रेन्ड्स’ कार्यक्रममा उनले अमेरिकी सेना युक्रेनको सिमाना रक्षा गर्न नजाने प्रष्ट पार्दै भने, “तपाईंलाई मेरो आश्वासन छ, र म राष्ट्रपति हुँ ।” सन् २०२९ जनवरीमा आफ्नो कार्यकाल समाप्त भएपछि ट्रम्पको अमेरिकी सेनामाथि कुनै नियन्त्रण हुनेछैन । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटले पनि पुष्टि गर्दै भनिन्, “कुनै पनि शान्ति मिसन अन्तर्गत अमेरिकी सेना जमिनमा रहने छैन ।” ट्रम्पले अन्तर्वार्तामा रूसी आक्रमण अन्त्य गर्न सम्भावित सम्झौतामा पुग्ने आशा व्यक्त गरिन् । तर उनले युक्रेनले क्रिमिया फिर्ता पाउने वा नाटोमा सामेल हुने आकांक्षा अलग राख्नुपर्नेमा जोड दिइन् । उनले भनिन्, 'यी दुवै कुरा असम्भव छन् ।' पुटिनले डोनेट्स्क र लुहान्स्क क्षेत्रबाट युक्रेनी सेना फिर्ता लैजाने र क्रिमियालाई रूसी क्षेत्रका रूपमा मान्यता दिन दबाब दिइरहेका छन् । सोमबार ट्रम्पले पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता गर्ने व्यवस्था गरिरहेको बताएका थिए । तर पुटिन युक्रेनी नेतासँग प्रत्यक्ष भेट्न इच्छुक हुनुहुन्छ कि हुनुहुन्न भन्नेबारे क्रेमलिनले अझै केही खुलाएको छैन । पत्रकारको प्रश्नमा लेविटले भने, 'पुटिनले भेट्ने वाचा गरिसक्नुभएको छ ।' जेलेन्स्की, पुटिन र आफूबीच त्रिपक्षीय वार्ताको दबाब दिइरहेको बताउँदै ट्रम्पले भने, 'आवश्यक परेमा त्रिपक्षीय बैठक हुनेछ तर पहिले पुटिन–जेलेन्स्की आमनेसामने हुनुहुनेछ ।' पुटिनका विदेश सल्लाहकार युरी उशाकोभले युक्रेनसँग द्विपक्षीय वा त्रिपक्षीय बैठकबारे सहमति भएको कुनै सङ्केत दिएनन् । आगामी दुई हप्तामा पुटिनको निर्णय स्पष्ट हुने विश्वास व्यक्त गर्दै ट्रम्पले भने, 'मलाई लाग्छ पुटिन यस युद्धबाट थकित हुनुहुन्छ, सबै थकित छन् । तर के हुन्छ भन्ने दुई हप्ताभित्रै पत्ता लाग्छ ।' रासस
जेलेन्स्कीले चाहेमा युद्ध अन्त्य गर्न सक्नुहुन्छ : ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले चाहेमा युद्ध तुरुन्तै अन्त्य गर्नसक्ने वा लड्न जारी राख्नसक्ने बताएका छन् । आफ्ना युक्रेनी समकक्षी जेलेन्स्कीलाई भेट्नुअघि ट्रम्पले सो कुरा बताएका हुन् । ट्रम्पले सन् २०१४ मा ओबामा प्रशासनका समयमा भएको क्रिमियाको विलय सम्झाउँदै युक्रेनलाई नाटोमा प्रवेश नगर्ने विषयमा पुनः जोड दिए । उनले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखे, 'क्रिमिया फर्किने छैन, युक्रेन नाटोमा पनि प्रवेश गर्ने छैन, केही कुराहरू कहिल्यै परिवर्तन हुँदैनन् ।' 'शान्ति स्थायी हुनुपर्छ, अस्थायी सम्झौता होइन', जेलेन्स्कीले वासिङ्टन आइपुगेपछि क्रिमिया वा डोनबासजस्ता क्षेत्रहरू गुमाउन बाध्य पारिएको विगतलाई स्मरण गर्दै भने, 'अब हामी कुनै पनि भूमि त्याग्दैनौँ । युक्रेनीहरू आफ्नो स्वतन्त्रता र भूमिका लागि लडिरहेका छन् । हाम्रो सेना डोनेट्स्क र सुमीमा सफल भएको छ ।' उनले अमेरिकाप्रति र साझेदारहरूप्रति आभार व्यक्त गर्दै ‘युक्रेनको रक्षा प्रभावकारी रूपमा सुनिश्चित गर्ने’ विश्वास व्यक्त गरे । ट्रम्प–जेलेन्स्कीको भेट हालै अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ट्रम्पको उच्चस्तरीय वार्तापछि हुँदैछ । तीन घण्टा लामो उक्त वार्तापछि ट्रम्पले ‘रुस–युक्रेन युद्ध अन्त्य गर्ने सबैभन्दा राम्रो बाटो सीधा शान्ति सम्झौता हो, केवल युद्धविराम होइन’ भनेका थिए । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने, 'राष्ट्रपतिले अलास्काबाट फर्कने क्रममा मध्यरातमा नै जेलेन्स्की र युरोपेली नेताहरूसँग फोनमा लामो छलफल गर्नुभयो । दुवै पक्ष सहमत हुने उपाय खोज्न कठिन भइरहेको छ, तर हामी निरन्तर संलग्न छौँ ।' रुबियोले रुसका मागहरू स्वीकार्य नभएको स्पष्ट गर्दै भने, 'हामी युक्रेनलाई दबाब दिँदैनौँ । रुसले अस्वीकार्य माग गरिरहेको छ र युक्रेनीहरूले छोड्न नसक्ने कुराहरूमा अडान लिएका छन् । फ्रान्स, जर्मनी, बेलायत, इटाली र फिनल्यान्डका नेताहरू पनि वासिङ्टन बैठकमा सहभागी हुनेछन् । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन र नाटो महासचिव मार्क रुट पनि उपस्थित हुनेछन् । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले ‘युक्रेनको चासो र युरोपको सुरक्षालाई संरक्षण गर्ने स्थायी शान्ति’ को आवश्यकता औँल्याए । जर्मन चान्सलर फ्रेडरिक मेर्जले पनि छिटो शान्ति सम्झौतामा चासो व्यक्त गरेका छन् । बेलायती प्रधानमन्त्री किर स्टार्मरले जेलेन्स्कीको ‘न्यायपूर्ण र स्थायी शान्तिको चाहना’ को प्रशंसा गर्दै बैठकमा सहभागी हुने बताए । यसअघि, ट्रम्पका दूत स्टिभ विटकफले पुटिनले अमेरिकी सुरक्षा ग्यारेन्टी दिन सहमति जनाएको र सम्भावित शान्ति सम्झौतामा ‘भूमि विनिमय’ मा छुट दिएको सङ्केत गरेको बताएका थिए । तर मस्कोले यसबारे कुनै औपचारिक घोषणा गरेको छैन । रासस
विश्वको दोस्रो धनी व्यक्ति बने ल्यारी एलिसन, एकै वर्ष १०७ अर्ब डलरको वृद्धि
काठमाडौं । विश्वका धनीहरूको सूचीमा यस वर्ष ओरेकलका संस्थापक ल्यारी एलिसन तीव्र गतिमा अगाडि बढेका छन् । यस वर्ष मात्रै उनको नेटवर्थमा १०८ अर्ब डलरको वृद्धि भएको छ । हाल एलिसनको कुल नेटवर्थ ३०१ अर्ब डलर पुगेको छ । यस आधारमा उनी एलन मस्क (३७२ अर्ब) पछि दोस्रो स्थानमा छन् । एलिसन ओरेकलका संस्थापक मात्र होइनन्, कम्पनीका सबैभन्दा ठूलो सेयरधनी पनि हुन् । ओरेकल मुख्यतया डेटाबेस सफ्टवेयर विकास गर्ने कम्पनी हो । ल्यारी एलिसनको जन्म १९४४ मा न्युयोर्कमा भएको हो । उनी एकल महिलाको सन्तान थिए । नौ महिनाको उमेरमा निमोनिया भएपछि उनकी आमाले उनलाई आफ्नी दिदी–भिनाजुलाई सुम्पिएकी थिइन् । उनको बाल्यकाल सिकागोको साउथ साइडमा बित्यो । एलिसनले युनिभर्सिटी अफ इलिनोई र युनिभर्सिटी अफ शिकागो दुबै अधुरै छाडे । पछि २२ वर्षको उमेरमा उनी क्यालिफोर्नियाको बर्कले सरे र एम्पेक्स नामक कम्पनीमा कम्प्युटर प्रोग्रामरको काम सुरु गरे । सन् १९७७ मा उनले आफ्ना दुई सहकर्मीहरूसँग मिलेर कम्पनी स्थापना गरे, जसको नाम पछि ओरेकल राखियो। ओरेकलले प्रारम्भमा अमेरिकी खुफिया निकाय सीआईएका लागि डेटाबेस तयार पारेको थियो । कम्पनीले १९८६ मा आईपीओ ल्याएर आफ्नो व्यावसायिक विस्तार सुरु ग¥यो । सन् २०१० मा ओरेकलले सन माइक्रोसिस्टम्स लाई ७.४ अर्ब डलरमा किने । सन् २०१६ मा कम्पनीले नेटसुइटलाई ९ अर्ब डलरमा अधिग्रहण गर्यो । ३१ मे २०२४ मा समाप्त भएको वर्षमा कम्पनीले ५३ अर्ब डलर राजस्व आर्जन गर्यो । हाल एलिसनसँग कम्पनीका ४० प्रतिशतभन्दा बढी सेयर रहेका छन् । ओरेकलको मुख्यालय अस्टिन, टेक्सासमा रहेको छ । कम्पनीसँगै एलिसनले टेस्लामा पनि लगानी गरेका छन् । उनीसँग आफ्नो सेलिङ टिम, इन्डियन वेल्स टेनिस इभेन्ट तथा हवाईको लनाइ टापु समेत छ । ८० वर्षीय एलिसन आफ्नो विलासी जीवनशैलीका लागि प्रख्यात छन् । उनले लक्जरी रियल एस्टेटमा ठूलो लगानी गरेका छन् । सन् २०१० मा उनले आफ्नो सम्पत्तिको कम्तीमा ९५ प्रतिशत दान गर्ने वाचा गरेका थिए । करिब ३७ वर्षसम्म ओरेकलको नेतृत्व गरेपछि एलिसनले सेप्टेम्बर २०१४ मा सीईओ पदबाट राजीनामा दिएका थिए । हाल उनी कम्पनीका चेयरम्यान र चीफ टेक्नोलोजी अफिसर (सीटीओ) छन्। सन् २०१८ देखि २०२२ सम्म उनी टेस्लाको बोर्डमा समेत रहे । सन् २०१२ मा उनले हवाईको एउटा पूरा टापु ३०० मिलियन डलरमा खरिद गरे र २०२० देखि स्थायी रूपमा त्यहीँ बस्न थाले । ओरेकल र टेस्लासँगै उनको कयौं अन्य कम्पनीमा पनि हिस्सेदारी छ ।