अष्ट्रेलियामा वार्षिक मूल्यवृद्धि १२ महिनाको उच्च बिन्दुमा, जनजीवनमा असर

काठमाडौं । अष्ट्रेलियाको उपभोग्य वस्तु तथा सेवाको मूल्यवृद्धि दर सन् २०२५ को जुलाई महिनामा २ दशमलव ८ प्रतिशत पुगेको छ, जुन पछिल्लो एक वर्षको सबैभन्दा उच्च दर हो । अष्ट्रेलियाली तथ्यांक विभागका अनुसार, एक वर्षको अवधिमा उपभोक्ता मूल्य सूचकांक २ दशमलव ८ प्रतिशतले वृद्धि भएको हो, जुन अघिल्लो महिनासम्म १ दशमलव ९ प्रतिशत थियो । यो दर सन् २०२४ को जुलाईपछि कै सबैभन्दा उच्च हो, त्यसबेला वार्षिक मूल्यवृद्धि ३ दशमलव ५ प्रतिशत थियो । अर्थशास्त्रीहरूले अनुमान गरेको भन्दा यो दर उच्च देखिएको हो । उनीहरूले करिब २ दशमलव ३ प्रतिशतको वृद्धि हुने आँकलन गरेका थिए ।  मूल्यवृद्धिको आधारभूत मापन (ट्रिम गरिएको औसत दर) पनि अघिल्लो महिनाको २ दशमलव १ बाट बढेर २ दशमलव ७ प्रतिशतमा पुगेको छ । वर्षको अवधिमा मूल्यवृद्धिमा मुख्य योगदान दिने क्षेत्रहरूमा घर भाडा तथा आवास खर्चमा ३ दशमलव ६ प्रतिशत, खाद्यान्न तथा गैर–मद्यपेय वस्तुहरूमा ३ प्रतिशत र मद्यपान तथा सुर्तीजन्य वस्तुहरूमा ६ दशमलव ५ प्रतिशतको वृद्धि देखिएको छ । विशेषगरी कफी, चिया र कोकोको मूल्य १४ दशमलव ४ प्रतिशतले बढेको छ, जसको कारण अन्तर्राष्ट्रिय उत्पादनमा प्रतिकूल मौसमका कारण आपूर्तिमा आएको असर हो भनी विभागकी प्रमुखले बताइन् ।  देशको केन्द्रीय बैंकले यसै महिनामा सार्वजनिक गरेको अनुमानअनुसार, सन् २०२५ को बाँकी समयमा मूल्यवृद्धि अझै बढ्नेछ र सन् २०२६ को अधिकांश समयसम्म करिब ३ प्रतिशतमा स्थिर रहनेछ । रासस

आजदेखि भारतीय सामानमा ५० प्रतिशत कर

काठमाडौं । अमेरिकी सरकारले भारतमाथि लगाइने थप २५ प्रतिशत ट्यारिफ लागू गर्ने सम्बन्धमा आधिकारिक नोटिस जारी गरेको छ । यो ट्यारिफ बुधबार अर्थात् अगस्ट २७ देखि लागू भएको छ । यसअघि ट्यारिफ दर २५ प्रतिशत थियो । यससँगै अब भारतमाथि कुल ५० प्रतिशत ट्यारिफ लाग्ने भएको छ । नोटिसमा उल्लेख भएअनुसार अगस्ट २७ वा त्यसपछि प्रयोगका लागि आउने वा गोदामबाट निकालिने कुनै पनि भारतीय सामानमा ५० प्रतिशत ट्यारिफको दायरामा पर्नेछ । राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा ५० प्रतिशत ट्यारिफ लगाउनुको कारण भारतले रूसबाट कच्चा तेल किनेर युक्रेनविरुद्धको युद्धमा रूसलाई सहयोग गरेको बताएका थिए। तर भारतले ट्रम्पको यस निर्णयलाई ‘अनुचित, अकारण र तर्कहीन’ भनेको थियो । अमेरिकी ट्यारिफको क्रम : अप्रिल २०२५ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि २६ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका थिए, तर पछि यो निर्णयलाई ९० दिनका लागि स्थगित गरियो । जुलाईमा राष्ट्रपति ट्रम्पले घोषणा गरेअनुसार अगस्ट १ बाट भारतीय वस्तुहरूमा २५ प्रतिशत ट्यारिफ लागू भयो । अगस्टमा २५ प्रतिशत ट्यारिफपछि ट्रम्पले थप २५ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरे र ट्यारिफ दर ५० प्रतिशतमा पुगेको छ । अब अगस्ट २७ बाट भारतीय सामानहरूमा ५० प्रतिशत ट्यारिफ लागु हुनेछ ।

नयाँ ऊर्जा प्रविधिमा चीन विश्वमै अग्रस्थानमा, ४० प्रतिशत हिस्सा

काठमाडौं । चीनले नयाँ ऊर्जा प्रविधि तथा उपकरणको क्षेत्रमा उल्लेखनीय सफलता प्राप्त गर्दै विश्व स्तरमै अग्रस्थान हासिल गरेको छ । हालसम्म चीनले नयाँ ऊर्जासम्बन्धी विश्वभर दर्ता भएका कुल प्रविधिगत अधिकारहरूमध्ये ४० प्रतिशतभन्दा बढी अधिकार प्राप्त गरेको चीनको राष्ट्रिय ऊर्जा प्रशासनका प्रमुख वाङ होङझीले जानकारी दिए । उनले भने, ‘चौधौं पाँच वर्षीय योजना (सन् २०२१–२०२५) अवधिभर चीनले ऊर्जा प्रविधिमा निरन्तर नवीनता ल्याउँदै धेरै क्षेत्रमा विश्व कीर्तिमान कायम गरेको छ ।’ प्रविधि रूपान्तरण र ऊर्जा भण्डारणमा चीनको अग्रता सौर्य ऊर्जाको रूपान्तरण दक्षता (घामबाट विद्युत् उत्पादन गर्ने क्षमता) मा चीनले उल्लेखनीय सुधार गर्दै उच्च स्तरको प्रविधि विकास गरेको छ । त्यस्तै, समुद्री हावाबाट ऊर्जा उत्पादन गर्ने विशाल क्षमताका पङ्खा प्रणाली (टरबाइन) निर्माणमा पनि चीनले अग्रता लिएको बताइएको छ । नयाँ प्रविधिमा आधारित ऊर्जा भण्डारण प्रणालीहरूको विकास र कार्यान्वयनमा समेत चीन अहिले विश्वकै अगाडि रहेको छ । वातावरणमैत्री र दिगो विकासमा योगदान प्रविधिगत नवप्रवर्तनका साथै चीनले वातावरण संरक्षण र हरित विकासमा विशेष जोड दिएको छ । चिनियाँ प्रविधिहरू अहिले विश्वका धेरैजसो देशहरूमा निर्यात भई प्रयोगमा आइरहेका छन्, जसले स्वच्छ ऊर्जा प्रणाली निर्माणमा महत्वपूर्ण योगदान दिइरहेका छन् । वाङ होङझीले भने, ‘हामी स्वच्छ, सुरक्षित र भरपर्दो ऊर्जा भविष्य निर्माण गर्न निरन्तर रूपमा अनुसन्धान, विकास र लगानीमा ध्यान दिइरहेका छौं । चीन नयाँ ऊर्जा क्षेत्रमा विश्व समुदायसँग सहकार्य गर्दै अघि बढ्न चाहन्छ । विश्वव्यापी रूपमा बढ्दो जलवायु संकट र ऊर्जा आवश्यकतालाई मध्यनजर राख्दै, चीनले ऊर्जा प्रविधिको क्षेत्रमा गरेको उल्लेखनीय प्रगति तथा प्रविधिगत स्वामित्वमा लिएको अग्रता विश्वकै लागि प्रेरणाको स्रोत बन्ने विश्वास गरिएको छ ।