विश्वकै पहिलो २ अङ्कको खर्बपति बन्ने इतिहास रच्दै एलन मस्क

काठमाडौं । विश्वकै सबैभन्दा धनी व्यक्ति एलन मस्कले इतिहासमा पहिलो पटक खर्बपति बन्ने सम्भावना बढाएको फोर्ब्स पत्रिकाले रिपोर्ट गरेको छ । मस्क अहिले विश्वको पहिलो २ अङ्कको खर्बपति बन्ने यात्राको करिब आधा चरणमा पुगेका हुन् ।  टेस्ला र स्पेसएक्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मस्कको नेटवर्थ हालै ५ खर्ब डलर नाघेको थियो । यद्यपि, उनको विद्युतीय गाडी कम्पनी टेस्लाको सेयरमा उतार-चढावका कारण बुधबार बिहान ५ खर्ब १० अर्ब डलर पुगेको सम्पत्ति केही समयमै झरेर ४ खर्ब ९९ अर्ब १० करोड डलरमा पुगेको फोर्ब्सको रियल-टाइम बिलियनेयर्स ट्र्याकर मा उल्लेख छ । विश्वका अन्य धनी व्यक्तिहरू मस्कपछि दोस्रो स्थानमा ओरेकलका सिइओ ल्यारी एलिसन ३ खर्ब ५० अर्ब ७० करोड डलर नेटवर्थसहित रहेका छन् । तेस्रो स्थानमा मेटाका प्रमुख कार्यकारी मार्क जुकरबर्ग २ खर्ब ४५ अर्ब ८० करोड डलर सम्पत्तिसहित अगाडि छन् ।  मस्कको यात्रा: विद्यार्थीदेखि उद्यमीसम्म पेन्सिलभेनिया विश्वविद्यालयबाट स्नातक र स्ट्यानफोर्ड विश्वविद्यालयमा अध्ययन सुरु गरे पनि पूरा नगरेका मस्कले सन् १९९९ मा पहिलो ठूलो सफलता पाए । उनले आफ्नै अनलाइन प्रकाशन सफ्टवेयर कम्पनीलाई अमेरिकी कम्प्युटर निर्माता कम्प्याकलाई ३० करोड डलरभन्दा बढीमा बेचे । त्यसपछि सुरु गरिएको अर्को कम्पनी पछि पेपालसँग मर्ज भयो । त्यो उद्यम छोडेपछि दक्षिण अफ्रिकामा जन्मेका यी टेक उद्यमीले सन् २००२ मा अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्स स्थापना गरे । त्यसपछि सन् २००४ मा विद्युतीय कार निर्माता टेस्लाको अध्यक्ष बने  कम्पनीलाई विश्वकै अग्रणी प्रविधि व्यवसायमध्ये एकमा उभ्याए ।  २ अङ्कको खर्बपति बन्ने सम्भावना विशेषज्ञहरूको भनाइमा मस्कको सम्पत्ति वृद्धि टेस्ला, स्पेसएक्स र अन्य प्रविधि व्यवसायको तीव्र विस्तारसँग जोडिएको छ । हालको प्रगति हेर्दा उनलाई विश्वकै पहिलो २ अङ्कको खर्बपति बन्ने सम्भावना निकट देखिएको छ । मस्कले आफ्नो व्यवसायिक साहस, नवीन सोच र प्रविधिमा लगानीमार्फत सम्पत्ति मात्र नभई विश्व अर्थतन्त्रको भविष्यलाई समेत पुनः परिभाषित गरिरहेको फोर्ब्सले टिप्पणी गरेको छ ।

जापानले अमेरिकामा साढे ५ खर्ब डलर लगानी गर्ने, ४५ दिनभित्र रकम उपलब्ध गर्नुपर्ने

काठमाडौं । जापानका कर दूतले बुधबार स्पष्ट पार्दै हालै सम्पन्न जापान-अमेरिका व्यापार सम्झौताको हिस्साका रूपमा प्रस्तावित ५ खर्ब ५० अर्ब डलरको लगानी विषयमा ‘संयुक्त राज्य अमेरिकासँग कुनै विसङ्गति नरहेको’ जानकारी दिए ।  ह्वाइट हाउसका अनुसार उक्त सम्झौता अन्तर्गत खतरामा परेका केही भन्सार शुल्कहरू घटाइने र सोको सट्टा टोकियोले अमेरिकामा लगानी गर्नेछ । यससँगै, दक्षिण कोरियाले पनि ३ खर्ब ५० अर्ब डलर ऋण उपलब्ध गराउने सम्झौता गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापान र दक्षिण कोरियाले यसलाई ‘साइनिङ बोनस’ का रूपमा अग्रिम उपलब्ध गराउने धारणा सार्वजनिक गरेका छन् । तर, अमेरिका-जापानबीच भएको समझदारी ज्ञापनपत्र (एमओयु) मा तत्काल भुक्तानीको प्रावधान नभई ‘समय-समयमा’ रकम उपलब्ध गराइने उल्लेख गरिएको छ । सम्झौतामा वासिङ्टनले लगानी क्षेत्र तोकेको ४५ दिनभित्र जापानले आवश्यक रकम उपलब्ध गराउनुपर्ने वा अन्यथा उच्च भन्सार शुल्कको जोखिम ब्यहोर्नुपर्ने व्यवस्था पनि छ । तर, जापानका लागि प्रमुख वार्ताकार रियोसेइ अकाजावाका अनुसार, कुल ५ खर्ब ५० अर्ब डलरमध्ये एक/दुई प्रतिशत मात्र प्रत्यक्ष लगानी हुनेछ भने बाँकी रकम ऋण तथा ऋण ग्यारेन्टीका स्वरूपमा रहनेछ । ‘वासिङ्टनले लगानी, ऋण र ऋण ग्यारेन्टीबीचको भिन्नतामा खास ध्यान दिएको छैन,’ उनले भने, ‘त्यहाँ कुनै विसङ्गति छ भन्ने म विश्वास गर्दिनँ । विसङ्गतिबाट जोगिनका लागि अमेरिकाले एमओयु प्रस्ताव गर्यो, जापानले त्यसको जवाफ दियो र त्यसमा हस्ताक्षर भयो ।’ दूत अकाजावाले भने, ‘समझदारी ज्ञापनपत्र कुनै अन्तर्राष्ट्रिय सन्धि होइन, न त यो कानूनी रूपमा बाध्यकारी हुन्छ । यो त एक प्रशासनिक कागजात मात्र हो जसले साझा बुझाइ र समझदारीलाई अभिव्यक्त गर्दछ, जुन दुवै पक्षबीच विद्यमान छ भन्नेमा म पूर्ण विश्वस्त छु ।’

भारतको मेट्रो रेल परियोजनाको लागि एडीबीले स्वीकृति गर्यो १९० मिलियन अमेरिकी डलर ऋण

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले भारतमा इन्दौर मेट्रो रेल परियोजनाको निर्माणका लागि १९० मिलियन अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।  यस परियोजनामा इन्दौरको अत्यधिक मानविय चाप भएको क्षेत्रलाई विमानस्थलसँग जोड्ने ७ वटा स्टेसन सहित ८.६२ किमी स्थलगत मेट्रो लाइन निर्माण गरिएको थियो ।  मेट्रो लाइनले ग्रीन हाउस ग्याँस उत्सर्जनलाई वार्षिक रूपमा अनुमानित १२ हजार ४१४ टन कार्बन डाइअक्साइड घटाउने र भारतमा हावाको गुणस्तर सुधार गर्ने अपेक्षा गरिएको छ । यस पहलमा सेवाहरूसँग बहुआयामिक एकीकरण, शैक्षिक संस्था र बजारमा पहुँच सुधार गर्ने लगायतका प्रयास समावेश गरिएको छ । मेट्रो, विमानस्थल, रेलवे र बस प्रणालीहरू बिचको सम्न्वयात्मक कार्यलाई अनुकूलन गर्न बहुआयामिक एकीकरण अध्ययन पनि गरिने जनाइएको छ ।  सन् २०३० जनवरी सम्ममा सञ्चालन सुरु हुने अपेक्षा गरिएको यस परियोजनालाइ मध्य प्रदेश मेट्रो रेल कर्पोरेसन लिमिटेडले सञ्चालन गर्ने जनाइएको छ ।