सीईओ टीम कुकसँग ट्रम्पको असन्तुष्टि, भन्छन्- म भारतमा नभई अमेरिकामा एप्पल बनेको चाहन्छु
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकलाई आफूले भारतमा उत्पादन नगर्न आग्रह गरेको बताएका छन् । चीनबाट उत्पादन हटाएर अन्य देशतर्फ केन्द्रित हुँदै गरेको एप्पलको कदमप्रति असन्तुष्टि जनाउँदै उनले उत्पादन अमेरिकामा ल्याउन आग्रह गरे । साउदी अरबमा आयोजित यूएस-साउदी लगानी फोरममा बोल्दै ट्रम्पले यस्तो आग्रह गरेका हुन् । मैले टिमलाई भनें, ‘हेर टिम, हामीले तिमीलाई धेरै राम्रो व्यवहार गर्यौं, वर्षौंसम्म चीनमा बनाएका कारखानाहरूलाई पनि स्वीकार गर्यौं । अब तिमी हामीका लागि बनाऊ । हामीलाई भारतमा तिमीले उत्पादन गर्नुमा चासो छैन, भारत आफै हेर्ला... हामी चाहन्छौं कि तिमी यहाँ बनाऊ’, ट्रम्पले भने । ट्रम्पले एप्पलले अमेरिकाभित्र ५०० अर्ब डलर लगानी गर्ने घोषणा गरेको फेब्रुअरी महिनाको प्रतिबद्धतामा उल्लेख गरेका थिए । चीनमा लगभग ९० प्रतिशत प्रमुख स्मार्टफोन उत्पादन हुने अवस्थामा एप्पलले त्यो निर्भरता घटाउँदै भारतमा उत्पादन बढाउने लक्ष्य लिएको छ । कम्पनीले आगामी केही वर्षमा विश्वभरका २५ प्रतिशत आइफोन भारतमै बनाउने योजना बनाएको छ । राष्ट्रपतिले एप्पलले अमेरिकाभित्र उत्पादन बढाउने तयारी गरिरहेको बताएका छन्, तर थप विवरण भने खुलाएका छैनन् । ट्रम्पले एप्पलबारे टिप्पणी गर्दै भारतसँगको व्यापक व्यापार सम्बन्धबारे पनि बोलेका छन् । उनले भारतलाई 'संसारको सबैभन्दा उच्च शुल्क लिने राष्ट्रमध्ये एक' भने, तर भारतले अमेरिकालाई एक यस्तो प्रस्ताव दिएको उल्लेख गरे जहाँ उनीहरू हामीमाथि 'शून्य शुल्क' लगाउन तयार छन् । ह्वाइट हाउसको अप्रिलमा सार्वजनिक गरिएको व्यापार सुरक्षा नीतिअन्तर्गत ट्रम्पले भारतबाट आयात हुने वस्तुहरूमा २६ प्रतिशत पारस्परिक शुल्क लगाएका छन्, जुन हाल जुलाईसम्मका लागि अस्थायी रूपमा घटाइएको छ । भारतमा एप्पलको प्रमुख असेम्ब्ली साझेदार फक्सकनले भारत सरकारबाट एचसीएल ग्रुपसँग संयुक्त लगानीमा अर्धचालक (सेमिकन्डक्टर) कारखाना निर्माण गर्न अनुमति पाएको छ । एप्पलले चीनमा दशकौं लगाएर आपूर्ति श्रृंखला निर्माण गरेको भए पनि अहिले भियतनाम र भारतजस्ता देशहरूमा उत्पादन क्षमता विस्तार गर्ने प्रयास गरिरहेको छ। तर विज्ञहरूका अनुसार आइफोनको उत्पादन अमेरिकामा सार्नु निकै असम्भवजस्तो देखिन्छ, किनभने त्यसो गर्दा अन्तिम मूल्य अत्यधिक महँगो हुनेछ । अनुमानका अनुसार यदि आइफोन अमेरिका भित्र बनाइयो भने यसको मूल्य एक हजार ५ सयदेखि ३ हजा ५ सयसम्म पर्न सक्छ । हाल एप्पलले अमेरिकामा केही मात्र उत्पादन गर्छ । कम्पनीले आफ्नो म्याक्स प्रो अमेरिका भित्र बनाउने गर्छ । फेब्रुअरीमा एप्पलले टेक्सासमा एप्पल इन्टेलिजेन्सका लागि सर्भर उत्पादन गर्ने कारखाना स्थापना गर्ने घोषणा गरेको थियो । कार्यक्रमका क्रममा ट्रम्पले सार्वजनिक रूपमा एनभीडीयाका सीईओ जेन्सेन हुआङको प्रशंसा गरेका थिए । 'मेरा मित्र जेन्सेन यहाँ हुनुहुन्छ, तर एप्पलका सीईओ टिम कुक यहाँ हुनुहुन्न,'उनले भने । ट्रम्पले हुआङको एआई चिप बजारमा ९९ प्रतिशत हिस्सा ओगटेको उपलब्धिको प्रशंसा गरे र एनभीडीयाले अमेरिकी एआई पूर्वाधारमा ५०० अर्ब डलर लगानी गर्ने योजना रहेको उल्लेख गरे ।
ओटावाका कन्डो किङ : यस्तो छ बिल मल्होत्राको सफलताको कथा
काठमाडौं । बिल मल्होत्रा क्यानडाका सबैभन्दा धनी भारतीय हुन् । भारतदेखि ओटावासम्मको उनको यात्रा प्रेरणादायी छ । उनले कडा मेहनत र दूरदृष्टिका साथ सफलता हासिल गरेका हुन् । उनी क्लेरिज होम्सका संस्थापक र सीईओ हुन् । उनले १९८६ मा यस कम्पनीको स्थापना गरेका थिए । बिल मल्होत्राले ओटावाको रियल स्टेट बजारलाई नै परिवर्तन गरिदिएका छन् । बिडला इन्स्टिट्युट अफ टेक्नोलोजी एन्ड साइन्सबाट सिभिल इन्जिनियरिङमा स्नातक गरेका मल्होत्रा २० वर्षको उमेरमा क्यानडा गएका थिए । सुरुमा उनले एक इन्जिनियरिङ कम्पनीमा काम गरे र पछि सिटी गभर्नमेन्टमा योगदान दिए । उनले त्यहाँबाट एक स्थायी विरासतको जग बसाले । उनको नेतृत्वमा क्लेरिज होम्सले १४ हजारभन्दा बढी घर निर्माण गरेको छ, जसमा घर, कन्डो र रिटायरमेन्ट होमहरू समावेश छन् । उनलाई ‘कन्डो किङ’ भनेर पनि चिनिन्छ । उनको नेटवर्थ २.३ अर्ब अमेरिकी डलर रहेको फोर्ब्सले उल्लेख गरेको छ । उनी क्यानडाका सर्वाधिक धनी व्यक्तिहरू मध्ये एक हुन्। प्रारम्भिक जीवन र शिक्षा बिल मल्होत्राको जन्म भारतको राजधानी दिल्लीमा भएको थियो । उनले आफ्नो प्रारम्भिक शिक्षा भारतमै पूरा गरे । त्यसपछि राजस्थानको बिट्स पिलानीबाट सिभिल इन्जिनियरिङको डिग्री लिए । राम्रो अवसरको खोजीमा उनी क्यानडा गए । त्यहाँ उनले इन्जिनियरिङ फर्ममा काम सुरु गरे र पछि सहरको सरकारी निकायमा पनि काम गरे । क्लेरिज होम्सको स्थापना १९८६ मा उनले क्लेरिज होम्स स्थापना गरे, जसले ओटावाको रियल स्टेट बजारमा ठूलो क्रान्ति ल्यायो । कम्पनीले सहरभर १४ हजार भन्दा बढी घर निर्माण गरिसकेको छ, जसमा अपार्टमेन्ट र वृद्धहरूको लागि विशेष घरहरू पनि छन् । क्लेरिज आइकन, कम्पनीको एक प्रसिद्ध प्रोजेक्ट, ओटावाको सबैभन्दा अग्लो भवनहरूमध्ये एक हो ( ४६९ फिट अग्लो यो भवन सहरको एक चिनारी बनिसकेको छ । बिल मल्होत्राले ओटावामा कन्डो निर्माणमा उल्लेखनीय भूमिका खेलेका छन् । कन्डो भन्नाले त्यस्ता अपार्टमेन्टहरूलाई जनाइन्छ, जुन व्यक्तिगत स्वामित्वमा हुन्छन् तर साझा संरचनाको हिस्सा हुन्छन् । समाजसेवी पनि बिल मल्होत्रा एक सफल व्यवसायी मात्र होइनन्, उनी समाजसेवी पनि हुन् । उनी ओटावा सीनाटर्स नामक आइस(हक्की टिमका मालिक समेत हुन् । सहरको विकासमा उनी सक्रिय रूपमा संलग्न छन् । प्रेरणादायी उदाहरण क्लेरिज नाम मल्होत्राको मनमा विशेष स्थान राख्छ- यो नाम नयाँ दिल्लीको एक होटेलबाट प्रेरित गरिएको हो, जहाँ उनले बाल्यकालमा आफ्ना पितासँग रमाइला क्षणहरू बिताएका थिए । बिल मल्होत्राको जीवन कथा एक प्रेरणादायी उदाहरण हो- जसले देखाउँछ कि कडा मेहनत, स्पष्ट दृष्टिकोण र लगनले असाधारण सफलता हासिल गर्न सकिन्छ । उनले ओटावा सहरमा गहिरो छाप छोडेका छन् ।
विश्वव्यापी संकटसँग जुध्दै निसान : २० हजार रोजगारी कटौती र ७ कारखाना बन्द
काठमाडौं । जापानी अटोमोबाइल कम्पनी निसान मोटर कम्पनीले आफ्नो व्यवसाय पुनर्संरचना गर्ने योजनाअन्तर्गत सन् २०२७ सम्म विश्वभरका सात उत्पादन प्लान्ट बन्द गर्ने घोषणा गरेको छ । यससँगै झन्डै २० हजार कर्मचारी कटौती गरिनेछ, जुन कम्पनीको कुल कार्यबलको करिब १५ प्रतिशत हो । कम्पनीले अमेरिकी ट्यारिफ नीति तथा विश्वव्यापी बजारमा बढ्दो अनिश्चितताका कारण सन् २०२६ मा समाप्त हुने आर्थिक वर्षको नाफा अनुमान स्थगित गरेको छ । निसानले मार्च २०२५ मा समाप्त हुने आर्थिक वर्षमा ६७०.८ अर्ब येन (झन्डै ४.५४ अर्ब अमेरिकी डलर) को शुद्ध घाटा व्यहोरेको छ । जुन चार वर्षमा पहिलोपटक वार्षिक घाटा हो । यो घाटा मुख्यतः अमेरिकी बजारमा बढेको विक्री खर्च र उत्पादन प्लान्टहरूको पुनर्मूल्याङ्कनबाट भएको क्षतिका कारण भएको कम्पनीको भनाइ छ । पुनरुत्थान योजना अन्तर्गत, निसानले प्रारम्भिक रूपमा ९ हजार कर्मचारी कटौतीको योजना अघि सारेको थियो । अब थप ११ हजार कटौती गरी कुल २० हजार रोजगारी घटाउने अन्तिम निर्णय गरिएको छ । कम्पनीले यसै योजनाबाट आफ्नो खर्च घटाउँदै लाभदायकता फर्काउने लक्ष्य लिएको छ ।