जापानको पहिलो महिला प्रधानमन्त्री बनिन् सानेई ताकाइची
काठमाडौं । सानेई ताकाइची जापानकी पहिलो महिला प्रधानमन्त्री चुनिएकी छन् । जापानी संसदका दुवै सदनमा भएको मतदानमा उनलाई बहुमत प्राप्त भएको हो । ६४ वर्षीया ताकाइची दक्षिणपन्थी नेतृ हुन् । उनलाई जापानकी ‘आइरन लेडी’ भनेर पनि चिनिन्छ । जापानको प्रधानमन्त्री बन्ने यो उनको तेस्रो प्रयास हो । ताकाइची सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) की सदस्य हुन् । एलडीपीले पछिल्ला पाँच वर्षमा चौथोपटक नयाँ प्रधानमन्त्री चयन गरेको हो । पछिल्ला वर्षहरूमा यो पार्टी अनेक घोटालाका आरोपहरूमा घेरिएको थियो । सानेई ताकाइची जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेकी निकट सहयोगी पनि हुन् । यसअघि उनी सरकारमा मन्त्रीको रूपमा काम गरिसकेकी छिन् । उनी टेलिभिजन होस्ट र हेभी मेटल ड्रमर पनि रहिसकेकी छिन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताकाइचीको प्रशंसा गर्दै उनलाई 'अत्यन्त सम्मानित र बुद्धिमान नेतृ' भनेका थिए । प्रधानमन्त्री बनेपछि ताकाइचीका अगाडि धेरै चुनौतीहरू रहनेछन् । जस्तै, सुस्त अर्थतन्त्रलाई गति दिनु, अमेरिका–जापान सम्बन्धमा देखिएको खटासलाई सुधार्नु, र विभाजित सत्तारूढ पार्टीलाई एकताबद्ध गर्नु ।
बलिउडका उम्दा कलाकार असरानीको निधन
काठमाडौं । बलिउडका उम्दा कलाकार असरानीको निधन भएको छ । स्वास्थ्य समस्याका कारण चार दिनदेखि मुम्बईको जुहूस्थित आरोग्य निधि अस्पतालमा भर्ना भएका असरानीको सोमबार दिउँसो ३ देखि ३:३० बजेको बीचमा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनको ८४ वर्षको उमेरमा उनको निधन भएको हो । उनको दाहसंस्कार सान्ताक्रुज क्षेत्रको शास्त्री नगरस्थित श्मशानघाटमा गरिय । असरानीको जन्म सन् १९४१ मा जयपुरमा भएको थियो । सन् १९६७ मा उनले काँच की चुँडियामार्फत सिनेयात्रा तय गरेका थिए । उनले ३५० भन्दा बढी हिन्दी फिल्ममा काम गरिसकेका छन् ।
पटका पड्काउने चलन कहाँ र कहिलेबाट सुरु भयो ?
काठमाडौं । नेपालमा तिहारको अवसरमा पटका पड्काउने चलन छ । नेपालमा मात्रै नभएर पटका पड्काउने चलन भारतसहित विश्वमा विभिन्न मुलुकमा पनि छ । तिहारको अवसरमा मात्रै नभएर विभिन्न उत्सव, समारोहमा पनि पटका पड्काइन्छ । संयुक्त राज्य अमेरिकामा जुलाई ४ मा स्वतन्त्रता दिवसको अवसरमा पटका पड्काएर प्रदर्शन गरिन्छ । क्यानडाले जुलाई १ मा क्यानडा दिवसको अवसरमा पटका पड्काएर मनाउने गरिन्छ । चीन र धेरै एसियाली देशहरूमा पनि नयाँ वर्षको समयमा विशेष कार्यक्रमहरू आयोजना गरिन्छ र लाखौं पटकाहरू पड्काइन्छ । मेक्सिकोमा पनि क्रिसमसको अवसरमा पटका पड्काएर मनाइन्छ । पटाका पड्काउने परम्परा चीनको हो । ईसापूर्व दोस्रो शताब्दीमा चीनका मानिसहरूले बाँसका टुक्राहरूलाई आगोमा हाल्ने गर्थे भन्ने विश्वास गरिन्छ । जब बाँसभित्रको हावा गर्मीका कारणले फैलियो, यो ठूलो आवाजले विस्फोट हुने गर्थ्यो । मानिसहरूले विश्वास गर्थे कि यो ठूलो आवाजले दुष्ट आत्माहरूलाई भगाउँछ । धेरै सय वर्षपछि चिनियाँ रसायनशास्त्रीहरूले गल्तीले बारुद पत्ता लगाए । जब यो बारुद बाँस वा कागजको ट्युबमा भरियो, यसले पहिलो पटक विस्फोट र प्रकाश उत्पादन गर्यो । यसले संसारमा आतिशबाजीको सुरुआत गर्यो । विस्तारै यो कला चीनबाट युरोपमा फैलियो । समयसँगै नयाँ प्रविधि थपिए र पटाकाहरू अझ रंगीन, उच्च पहुँचयोग्य र ठूलो स्वरमा बने । अब पटाकाहरू मनोरञ्जनको माध्यम मात्र नभएर चाडपर्व, विवाह र उत्सवहरुको अभिन्न अंग बनेका छन् । यसबाहेक हरियो पटाकाहरूको पनि विकास भइरहेका छन् । जसले वातावरणीय र स्वास्थ्यमैत्री सुरक्षा दुवै सुनिश्चित गर्दछ । पटका पड्काउँदा फरक–फरक रंगहरू निस्कन्छन् । पटाकाहरूमा केही रसायनहरू हुन्छन् । जब पटाकाहरू जल्छन्, यी रसायनहरू तातो हुन्छन् र विभिन्न रंगहरूको प्रकाश निस्किन्छ । प्रारम्भिक दिनमा पटाकाहरू रंगहीन थिए । बारूद जलाइँदा यसले सुन्तला रंगको प्रकाश मात्रै निस्कन्थ्यो । जसले अँध्यारोलाई उज्यालो बनाउँथ्यो । १९ औं शताब्दीमा युरोपेली वैज्ञानिकहरूले पटाकाहरूमा विभिन्न धातु–आधारित यौगिकहरू थपेर रंगीन प्रकाश उत्पादन गर्न सकिने कुरा पत्ता लगाए । उदाहरणका लागि रातो प्रकाश स्ट्रोनटियम, हरियो बेरियम र सेतो प्रकाश टाइटेनियम, जिरकोनियम र म्याग्नेसियम मिसाएर उत्पादन गरिन्छ । नीलो रंग सिर्जना गर्न सबैभन्दा गाह्रो मानिन्छ । नीलो रंग तामाबाट बनेको हुन्छ, तर यदि तापक्रम धेरै बढ्यो भने रंग गायब हुन्छ र यदि यो कम रह्यो भने रंग बन्दैन ।