गाजाको स्वास्थ्य क्षेत्रको पुनर्निर्माणमा ७ अर्ब डलर आवश्यक

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले बिहीबार गाजामा ध्वस्त बनेको स्वास्थ्य क्षेत्रको पुनर्निर्माणका लागि कम्तीमा ७ अर्ब डलर आवश्यक पर्ने बताएको छ। विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले भने, ‘इजरायली आक्रमणमा गाजामा भएका आक्रमणमा अस्पतालहरूसमेत निशानामा परेका थिए ।’ अहिले गाजामा पूर्ण क्षमता काम गर्ने अस्पतालहरू छैनन् । ३६ अस्पतालमध्ये १४ वटाबाट सेवा दिइएको उनले बताए ।  उनका अनुसार गाजामा अत्यावश्यक औषधि, उपकरण र स्वास्थ्यकर्मीको गम्भीर अभाव छ । ध्वस्त बनेको गाजा स्वास्थ्य प्रणालीको पुनर्निर्माणको लागि कम्तीमा  ७ अर्ब खर्च हुने उनकाृ भनाइ छ । 

अमेरिकाको ऋण ३८ ट्रिलियन डलर नाघ्यो

काठमाडौं । संघीय सरकार आंशिक रूपमा बन्द भइरहेका बेला अमेरिकी सरकारको कुल राष्ट्रिय ऋण बुधबार ३८ ट्रिलियन डलर नाघेको छ ।  यो संख्या अमेरिकाको वित्तीय सन्तुलनमा तीव्र रूपमा बढ्दै गएको ऋणलाई झल्काउँछ । यो कोभिड(१९ महामारीबाहेकको अवधिमा अमेरिकी इतिहासमै सबैभन्दा छिटो १ ट्रिलियन डलर ऋण थपिएको समय पनि हो । यसअघि सन् २०२५ को अगस्टमा अमेरिकी राष्ट्रिय ऋण ३७ ट्रिलियन डलर पुगेको थियो । ३८ ट्रिलियन डलरको यो अद्यावधिक तथ्यांक अमेरिकी ट्रेजरी विभागको पछिल्लो प्रतिवेदनमा समावेश छ, जसमा राष्ट्रको दैनिक वित्तीय स्थिति उल्लेख गरिएको छ । पेन्सिल्भेनिया विश्वविद्यालयको पेन ह्वार्टन बजेट मोडेलका केन्ट स्मेटर्स जो पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुसको ट्रेजरी विभागमा कार्यरत थिए । उनका अनुसार समयसँगै बढ्दै गएको ऋणभारले अन्ततः मुद्रास्फीति बढाउँछ र अमेरिकन जनताको खरिद शक्ति कमजोर बनाउँछ । अमेरिकी सरकारी लेखा निकायका अनुसार बढ्दो सरकारी ऋणले निम्न असर पार्छ — घर वा गाडीका लागि ऋण लिँदा बढी ब्याजदर तिर्नु पर्ने, व्यवसायहरूमा लगानी गर्न पैसा अभाव हुँदा तलब घट्नु, र वस्तु तथा सेवाहरू महँगा हुनु । ‘धेरै मानिसहरू आफ्नो सन्तान र नातिनातिनीहरूको भविष्य सुरक्षित होस् भन्ने चाहन्छन् — उनीहरूलाई घर किन्ने सामथ्र्य रहोस् भन्ने चाहना हुन्छ । तर बढ्दो मुद्रास्फीति त्यसलाई झन् कठिन बनाउँदै लैजान्छ र उपभोक्ताको खरिद शक्ति घटाउँछ,’ उनले भने । ट्रम्प प्रशासनका अनुसार उनीहरूको नीतिले सरकारी खर्चमा नियन्त्रण ल्याएको र देशको ठूलो घाटा घटाइरहेको छ । ट्रेजरी विभागको नयाँ विश्लेषण अनुसार अप्रिलदेखि सेप्टेम्बरसम्मको कुल घाटा ४६८ अर्ब डलर रहेको छ ।  बुधबार एक्स (पुरानो ट्वीटर) मा ट्रेजरी सेक्रेटरी स्कट बेस्सेन्टले भनेका छन् — ‘यो सन् २०१९ पछि देखिएको सबैभन्दा न्यून घाटा हो ।’ ‘राष्ट्रपति ट्रम्पले पदभार ग्रहण गरेको पहिलो आठ महिनामा खर्च कटौती र राजस्व बढाएर सन् २०२४ को सोही अवधिको तुलनामा घाटा ३५० अर्ब डलरले घटाएका छन्,’ ह्वाइट हाउसका प्रवक्ता कुश देसाईले विज्ञप्तिमा भनेका छन् ।  ‘सरकारले बलियो आर्थिक वृद्धि, घट्दो मुद्रास्फीति, शुल्क राजस्व वृद्धि, कम ऋण लागत र फजुल खर्च तथा भ्रष्टाचार नियन्त्रणका कार्यक्रमहरू अघि बढाउँदैछ,’ उनले थपे । संयुक्त आर्थिक समितिका अनुसार पछिल्लो एक वर्षमा अमेरिकी कुल राष्ट्रिय ऋण प्रति सेकेन्ड ६९ हजार ७१३.८२ डलरले बढेको छ । पिटर जी। पिटरसन फाउन्डेशनका अध्यक्ष तथा सीईओ माइकल पिटरसनका अनुसार ‘सरकार बन्द भइरहेका बेला ऋण ३८ ट्रिलियन डलर पुग्नु सांसदहरूले आफ्ना मौलिक वित्तीय जिम्मेवारी पूरा गर्न असफल भएको स्पष्ट संकेत हो ।’ ‘ऋण बढ्दै जाँदा ब्याज भुक्तानी पनि तीव्र गतिमा बढ्दै गएको छ, जुन अहिले बजेटको सबैभन्दा छिटो बढ्ने हिस्सा बनेको छ । गत दशकमा हामीले ब्याज तिर्नेमा ४ ट्रिलियन डलर खर्च गरेका थियौं, तर आगामी दशकमा यो १४ ट्रिलियन डलर पुग्नेछ । ब्याज खर्चका कारण महत्त्वपूर्ण सार्वजनिक तथा निजी लगानीहरू घट्नेछन्, जसले प्रत्येक अमेरिकीको अर्थतन्त्रमा दीर्घकालीन असर पार्नेछ,’उनले थपे । अमेरिकी ऋण सन् २०२४ जनवरीमा ३४ ट्रिलियन डलर, जुलाईमा ३५ ट्रिलियन डलर र नोभेम्बरमा ३६ ट्रिलियन डलर पुगेको थियो। 

रूसका दुई ठूला तेल कम्पनीमाथि अमेरिकाले लयायो नयाँ प्रतिबन्ध

काठमाडौं । युक्रेनमा शान्ति वार्ताका लागि मस्कोलाई दबाब दिन अमेरिकाले रूसका दुई ठूला तेल कम्पनीहरू— रोजनेफ्ट र लूकओइललाई निशाना बनाउँदै नयाँ प्रतिबन्धहरूको घोषणा गरेको छ । 'मैले भ्लादिमिरसँग हरेक पटक कुरा गर्दा राम्रो संवाद हुन्छ, तर ती कतै पुग्दैनन् । ती केवल कतै पुग्दैनन्,' शान्ति वार्ताको बारेमा नेटोका महासचिव मार्क रुटसँगको भेटपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले भने । यी प्रतिबन्धहरूको घोषणा ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग बुडापेस्टमा गर्ने भनिएको भेटवार्ता अनिश्चितकालका लागि स्थगित भएको बताएको एक दिनपछि आएको हो। यसअघि बुधबार रूसले युक्रेनमा गरेको तीव्र गोलाबारीमा बालबालिकासहित कम्तीमा सात जनाको मृत्यु भएको थियो । अमेरिकी ट्रेजरी सचिव स्कट बेसन्टले 'पुटिनले यो अर्थहीन युद्ध अन्त्य गर्न अस्वीकार गरेकाले' नयाँ प्रतिबन्धहरू आवश्यक भएको बताए । उनले यी तेल कम्पनीहरूले क्रेमलिनको 'युद्ध मेसिन' लाई कोष प्रदान गरिरहेको बताए । बुधबार ओभल अफिसमा रुटसँगै बोल्दै ट्रम्पले शान्ति कायम गर्न गम्भीर नभएको भन्दै पुटिनको आलोचना गरे र प्रतिबन्धले वार्तामा सफलता ल्याउन मद्दत गर्ने आशा व्यक्त गरे । उनले रूसले युद्ध रोक्न सहमति जनाएमा ती छिट्टै फिर्ता गर्न सकिने आशा व्यक्त गरे । यो कदम अमेरिका र रूसको शान्ति प्रस्तावहरू बीचका मुख्य मतभेदहरू यसै हप्ता झनै स्पष्ट भएका बेला आएको छ । ट्रम्पले मस्कोले हालको फ्रन्ट लाइनमा लडाइँ रोक्न अस्वीकार गर्नु मुख्य अड्चन रहेको संकेत गरेका छन् । गत हप्ता बेलायतले पनि रोजनेफ्ट र लूकओइलमाथि यस्तै प्रतिबन्धको प्याकेज लगाएको थियो। बेलायतलाई जवाफ दिँदै लन्डनस्थित रूसी दूतावासले आफ्नो देशको प्रमुख ऊर्जा कम्पनीहरूलाई निशाना बनाउँदा विश्वव्यापी इन्धन आपूर्तिमा अवरोध आउने र विश्वभर लागत बढ्ने बताएको थियो । यी दुई रूसी तेल कम्पनीहरूले दैनिक ३.१ मिलियन ब्यारेल तेल निर्यात गर्छन् । बेलायत सरकारको अनुमान अनुसार रोजनेफ्ट रूसको लगभग आधा तेल उत्पादन को लागि जिम्मेवार छ, जुन विश्वव्यापी उत्पादनको ६ प्रतिशत हो । तेल र ग्यास रूसको सबैभन्दा ठूलो निर्यात हो र मस्कोका सबैभन्दा ठूला ग्राहकहरूमा चीन, भारत र टर्की पर्छन् । ट्रम्पले पनि क्रेमलिनमाथि आर्थिक दबाब बढाउन यी देशहरूलाई रूसी तेल खरिद रोक्न आग्रह गरेका छन् । ट्रम्पको यो कदमको बेलायतकी विदेश सचिव इभेट कूपरले प्रशंसा गरेकी छन् ।