आवेदन दिने सबैलाई सीप सिकाउँदै महानगर, उत्पादन भएका जनशक्तिलाई रोजगार दिने
काठमाडौं । गत वैशाख १९ गतेदेखि काठमाडौं महानगरपालिकाले आयोजना गरेको सीप मेलामा आवश्यकभन्दा बढी आवेदन परेपछि विद्यालय र क्याम्पससँगको सहकार्यमा तालिम उपलब्ध गराउने भएको छ । कामपाले २०८१ को शुभारम्भसँगै दुई हजार ८१ जनालाई सीपमूलक तालिम दिएर ‘स्वरोजगार’, ‘रोजगार’ र ‘अन द जब ट्रेनिङ’ उपलब्ध गराउने लक्ष्य लिएको थियो । तोकिएको सङ्ख्याभन्दा बढी आवेदन परेपछि शैक्षिक संस्थासँग सहकार्य गरेर तालिम उपलब्ध गराउने योजना रहेको कामपाले जनाएको छ । कामपा सामाजिक विकास विभाग निमित्त प्रमुख विमला कोइरालाले भनिन्, ‘६० हजार बढीले आवेदन दिनुभएको । अवेदन परेकामध्येबाट छनोट गरेर वा कागजात पूरा भएका नागरिकलाई कामपाले भनेअनुसारको तालिम उपलब्ध गराउँछौँ ।’ उनका अनुसार महानगरले आवश्यकता आधारमा क्याम्पस र विद्यालयसँग सम्झौता गरिसकेको छ । फाराम भरेकामध्येबाट दुई हजार ८१ जनालाई तत्काल तालिम दिने र अन्यलाई आवश्यकताका आधारमा आगामी तीन वर्षभित्र तालिम दिइने कोइरालाले जानकारी दिइन् । कामपाको गौरव योजनाअन्तर्गत ‘रोजगारी र आयमा वृद्धि, काठमाडौंको समृृद्धि’ अन्तर्गत सीप मेला सुरु गरेको हो । मेलाका लागि महानगरले नेपाल तालिम तथा रोजगारी व्यवसायी महासङ्घसँग सहकार्य गरेको जनाएको छ । मेलाबाट १० क्षेत्रका ३६ पेसासम्बन्धी तालिम दिने लक्ष्य राखिएको विभाग निमित्त प्रमुख कोइरालाले बताइन् । उनका अनुसार मेलाले छरिएर रहेका सीपलाई एकीकृत गर्ने, सीप भएका व्यक्तिलाई रोजगारदाताको पहुँचमा पुर्याउन मद्दत गर्ने छ । कोइरालाका अनुसार गत वैशाख १९ गते सुरु भएको ‘सीप मेला’ अन्तर्गत १५ दिन अवधिका पहिलो चरणका तालिम सकिएका छन् । अहिले ती कक्षाहरु दोस्रो चरणमा सञ्चालन भइरहेका छन् । ‘पहिलो चरणमा एक हजार पाँच सय ७७ जनाका लागि तालिमको कोटा थियो’, उनले भनिन्, ‘यसमध्ये एक हजार पाँच सय पाँच जना तालिममा सहभागी हुनुभएको छ । यही जेठ ६ गतेदेखि १५ दिन अवधिका दोस्रो चरणका कक्षा सुरु भएका छन् ।’ कोइरालाका अनुसार १० क्षेत्रका ३० पेसासँग सम्बन्धित सीप तालिममा समावेश गरिएका छन् । अटो इलेक्ट्रिक, इलेक्ट्रिक कार (इभी), डकर्मी, टाइल एण्ड मार्बल फिटिङ, इलेक्ट्रिसियन, प्लम्बिङ, रेफ्रिजेरेसन एण्ड एसी टेक्निसियन र आर्ट एण्ड स्कप्चर ३० दिन अवधिका हुन् । नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घ, नेपाल चेबर अफ कमर्स, नेपाल उद्योग वाणिज्य महासङ्घलगायत विभिन्न निजी क्षेत्रहरुले सीपमेलाबाट उत्पादन भएका जनशक्तिलाई कामको प्रकृति हेरेर रोजगार दिने जनाएका छन् ।
सिटिजन्स बैंकको सञ्चालक ईला शर्माले लिइन् सपथ
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सञ्चालकमा ईला शर्मा नियुक्त भएकी छन् । ईला शर्मालाई अध्यक्ष प्रवल जंग पाण्डेले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । कानुनमा विशेष अनुभव सँगालेकी शर्मा पूर्व निर्वाचन आयुक्त हुन् । उनले त्रिभुवन विश्वविद्यालय बाट पब्लिक इन्टरनेसनल ल एन्ड ह्यूमन राइट्समा एलएलएम गर्नुका साथै युनिभर्सिटी अफ हल युकेबाट पनि इन्टरनेसनल विजनेस ल, इन्टरनेसनल ट्रेड एन्ड डिभेलपमेन्टमा एलएलएम गरेकी छन् । उनीसँग अन्तराष्ट्रिय व्यापार, कानून, जनसम्पर्क, शिक्षा र विकास लगायत क्षेत्रमा साढे ३ दशक काम गरेको अनुभव छ । निर्वाचन सम्बन्धी कानुन, नियमावली र निर्देशनमा संलग्न उनी उच्चस्तरीय कानूनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको अध्यक्ष समेत भइसकेकी छन् । काठमाडौं विश्वविद्यालय लगायत विदेशी विश्व विद्यालयको पाठ्यक्रम विकास र अध्यापनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन् । उद्योग तथा वाणिज्य मन्त्रालय र यूएनडीपी परियोजनाका लागि राष्ट्रिय परामर्शदाताको रूपमा समेत काम गरेकी शर्मा विभिन्न आईएनजीओमा समेत संलग्न छिन् । उनले फूड फस्र्ट इन्फर्मेशन एक्शन नेटवर्क नेपालको कार्यकारी समितिमा संस्थापक उपाध्यक्ष र साउथ एसियन वुमन इन मिडियाको कार्यकारी समितिका साथै साउथ एशिया वाच अन ट्रेड, इकोनमिक्स एन्ड इनभारोमेन्टको कार्यकारी समितिको बोर्डमा पनि काम गरिसकेकी छन् । आइआइएलएम विश्वविद्यालय गुढगाँव भारतमा एक प्राध्यापकको रूपमा ल एन्ड जस्टिस, क्रस बोर्डर आरबिट्रेसन एन्ड इनभेष्टमेन्ट ल र इन्टरनेसनल ह्यूमन राइट्स अध्यापन गराउँदै आएकी छन् । उनी यस अघिनै एक प्रतिष्ठित वाणिज्य बैंकको सञ्चालक भइसकिन् ।
देवेन्द्ररमण खनाल बने राष्ट्रिय वाणिज्य बैंकको सीईओ
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा देवेन्द्ररमण खनाल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले खनाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको उपकार्यकारी अधिकृत (डीईओ) देवेशप्रसाद लोहनीले जानकारी दिए । खनाल खुला प्रतिस्पर्धाबाट बैंकको सीईओमा नियुक्त भएका हुन् । वि.सं २०६४ भदौमा बैंकमा आवद्ध भएका खनाल चार्टर्ड एकाउन्टेन्ट हुन् । उनले एमबीए पनि गरेका छन् । बैंकको शाखा कार्यालय, प्रादेशिक कार्यालय, कर्जा विभाग लगायत विभिन्न विभागको जिम्मेजारी सम्हालेका खनालसँग डेढ दशक बढीको बैंकिङ अनुभव छ । पूर्व सीईओ किरण कुमार श्रेष्ठले अवकाश पाएपछि खनालले कामु सीईओको जिम्मेवारी समेत पाएका थिए । बैंकको सीईओ छनोट तथा सिफारिस समितिले ५ जनाको नाम सर्ट लिष्ट गरी बुधबार अन्तवार्ताका लागि बोलाएको थियो । अन्तवार्तामा ३ जनाको नाम सञ्चालक समितिमा पेस गरेको थियो । राष्ट्रिय वाणिज्य बैंकको सीईओ बन्न २० जनाले आवेदन दिएका थिए ।