राष्ट्र बैंकका पूर्वईडी ढकाल राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नियुक्त
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा देव कुमार ढकाल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले ढकाललाई अध्यक्षमा नियुक्त गरेको सूचना अधिकारी तथा उप-कार्यकारी अधिकृत पवन रेग्मीले जानकारी दिए । ढकालले गत मंसिरमा ५८ वर्षे उमेर हदका कारण नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक (ईडी)बाट अवकाश पाएका थिए । व्यवस्थापनमा स्नातकोत्तर गरेका ढकालसँग राष्ट्र बैंकमा तीन दशक काम गरेको अनुभव छ । विभिन्न विभागीय प्रमुखका साथै ढकालले प्रवक्ताको समेत जिम्मेवारी सम्हालेका थिए । बैंकको सञ्चालक समितिमा महेश भट्टराई, लक्ष्मण घिमिरे, डा. राम प्रसाद ज्ञवाली, रोमिला ढकाल उप्रेती र डा. सुर्य बहादुर राणा रहेका छन् । बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भने देवेन्द्र रमण खनाल कार्यरत छन् ।
आइक्यानको अध्यक्षमा निल सारु मगर र उपाध्यक्षमा आनन्द शर्मा निर्वाचित
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को अध्यक्षमा सीए निल बहादुर सारु मगर निर्वाचित भएका छन् । यसअघि उपाध्यक्ष रहेका मगर आइक्यानको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । यस्तै, आइक्यानको उपाध्यक्षमा सीए आनन्द राज शर्मा वाग्ले निर्वाचित भएका छन् ।
भावना घिमिरे लुम्बिनी लायन्सको सीईओमा नियुक्त
काठमाडौ । लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा नियुक्त गरेको छ । उनी पूर्व क्यान सीईओसमेत हुन् । उनको नियुक्तिले लुम्बिनी लायन्सको रणनीतिक योजना, संस्थागत व्यवस्थापन तथा दीर्घकालीन लक्ष्यहरूलाई थप स्पष्ट दिशा प्रदान गर्ने अपेक्षा गरिएको छ । घिमिरेले राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत क्रिकेटसम्बन्धी कार्यहरूमा महत्वपूर्ण भूमिका निभाएकी छन् । आईसीसी टूर्नामेन्टहरूमा परामर्शदाताका रूपमा संलग्न भएकी उनले विश्व क्रिकेटप्रति आफ्नो अनुभव र योगदान प्रस्तुत गरिसकेकी छन् । यो नियुक्तिले टिम व्यवस्थापनलाई अझ सुदृढ बनाउने छ भन्ने लुम्बिनी लायन्सले विश्वास लिएको छ, साथै खेलाडी विकास र समग्र टिम प्रदर्शनमा सकारात्मक प्रभाव पार्ने कम्पनीले जनाएकाे छ । भावना घिमिरेको नियुक्तिको विषयमा आफ्नो प्रतिक्रिया दिँदै लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले भने, 'हामी भावना घिमिरेलाई हाम्रो लायन्स परिवारमा स्वागत गर्न पाउँदा अत्यन्त हर्षित छौं । उनको अनुभव, नेतृत्व क्षमता र क्रिकेटप्रतिको समर्पणले लुम्बिनी लायन्सलाई नयाँ उचाइमा पुर्याउनेछ भन्ने मलाई लागेको छ ।'