डा. पुकारचन्द्र श्रेष्ठ सेवाबाट अवकाश

काठमाडौं । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ सरकारी सेवाबाट सेवा निवृत्त भएका छन् । वरिष्ठ अङ्ग प्रत्यारोपण सर्जन समेत रहेका श्रेष्ठ उमेर हदका कारण सेवा निवृत्त हुँदा अस्पतालले उनको बिदाइ गरेको छ ।  शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र वि.सं. २०६९ मा केन्द्र स्थापनापछि डा. श्रेष्ठले निरन्तर कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका थिए । तेह्र वर्षको कार्यकालमा डा. श्रेष्ठको नेतृत्वमा केन्द्रले १५ सयभन्दा बढी मिर्गौला प्रत्यारोपण, ३५ कलेजो प्रत्यारोपण र सात जनाको मस्तिष्क मृत्युपछि भएको अङ्गदानमार्फत १८ जनामा सफल प्रत्यारोपण गरी ऐतिहासिक उपलब्धि हासिल गरेको छ । श्रेष्ठको कार्यकाल सकिएपछि अब केन्द्रले नयाँ निर्देशक पाउने भएको छ ।  

विद्युत प्राधिकरणका नवनियुक्त प्रमुख मनोज सिलवालले गरे पदभार ग्रहण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्दशक मनोज सिलवालले पदभार ग्रहण गरेका छन् । सिलवालले मंगलबार रत्नपार्कस्थित प्राधिकरणका मुख्यालमा पुगेर पदभार ग्रहण गरेका हुन् । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले प्राधिकरणबाट हितेन्द्रदेव शाक्यलाई हटाएर सिलवाललाई नियुक्त गरेको थियो ।   

एनआईसी एशिया बैंकको कामु सीईओमा सन्तोषकुमार राठी नियुक्त

काठमाडौं । एनआईसी एशिया बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा सन्तोष कुमार राठी नियुक्त भएका छन् । असोज २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले राठीलाई कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।  यस अघिका सीईओ रोशन कुमार न्यौपानेले राजीनामा दिएका छन् ।