कालीकोटमा नेपाली हाते कागज उत्पादन
काठमाडौं । कालिकोटको पचाल झरना गाउँपालिकामा नेपाली हाते कागज उद्योग सञ्चालनमा आएको छ । गाउँपालिकाको उद्योग विकास शाखाको आर्थिक सहयोगमा पचाल भरना गाउँपालिका-७ को समन्वय तथा पोखरा भ्याली टेक्निकल टेनिङ इन्स्टिच्युट पोखराको प्राविधिक सहयोगमा नेपाली हाते कागजको उद्योग सञ्चालन गरिएको हो । उद्योग सञ्चालनपछि स्थानीय समुदायलाई कागज उत्पादनमा दक्षता प्राप्त गर्न मद्दत पुर्याउने गाउँपालिकाको लक्ष्य रहेको छ । नेपाली हाते कागजको उत्पादनले वातावरणीय दृष्टिले पनि योगदान पु¥याउने भएकाले यसले समुदाय स्तरमा दिगो विकासमा मद्दत पुर्याउने विश्वास लिएको गाउँपालिका उद्योग विकास शाखा प्रमुख नेत्र राज शाहीले बताए । ‘स्थानीयलाई हाते कागज उत्पादन गरेर रोजगार मूलक काममा लगाउने लक्ष्य राखिएको छ । यहाँ उत्पादन भएको कागजलाई यहीको सरकारी कार्यालयमा खपत तथा बिक्री गर्ने उद्देश्य छ,’ उनले भने । कागजको उत्पादन प्रक्रिया सुरु भएपछि स्थानीय व्यावसायिक गतिविधिमा वृद्धि र युवालाई स्वरोजगारको अवसर उपलब्ध गराउने प्रशिक्षक रज बहादुर शाहीले बताए ।
१० अर्बको कम्पनीमार्फत लगानी गर्न चन्द्र ढकालको आह्वान
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको प्रशस्त सम्भावना भएको उल्लेख गर्दै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लगानीका लागि आह्वान गरेका छन् । कतारको राजधानी दोहामा बागलुङ सेवा समाज कतारको संरक्षकत्वमा बहुउद्देश्यीय अक्षय कोष स्थापनाका लागि आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा केही पनि छैन, केही भएन भन्ने जस्ता गलत भाष्य निर्माण गरिएको समेत बताए । उनले भने, ‘नेपालमा सम्भावना नै छैन भन्ने गलत र नकारात्मक भाष्य बनाउन खोजिएको छ, विदेशमा बसेर यहाँको विकास र प्रविधिसँग तुलना गर्दै नेपालको विरोध पनि गरिएको पाइन्छ, नेपालमा पनि विदेशमा जस्तै मेहनत गर्ने हो भने धेरै काम गर्न सकिन्छ ।’ वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लगानीको अवसर प्रदान गर्ने गरी १० अर्ब रुपैयाँ पुँजीको नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरिएको जानकारी गराउँदै ढकालले त्यस कम्पनीमार्फत लगानी गर्न वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आग्रह गरे । उक्त कम्पनीले मुलुकभित्र तथा बाहिर रहेका नेपालीहरूको छरिएर रहेको पुँजी सङ्कलन गरी जलविद्युत, पर्यटन, उद्योग तथा विभिन्न सम्भावना भएका क्षेत्रहरूमा लगानी गर्न गइरहेको उनले बताए । उक्त कम्पनीमा सहभागी भइ लगानी गर्न उनको अनुरोध छ । अध्यक्ष ढकालले बागलुङबाट कतारमा आएका बागलुङ वासीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काम गर्न अक्षय कोष स्थापना गरेकोमा विशेष धन्यवाद व्यक्त गर्दै उनले त्यस कोषमा १५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए । सो कार्यक्रममा बागलुङ वासी समेत भएकाले अध्यक्ष ढकाललाई सम्मान प्रदान गरिएको थियो ।
नदी सभ्यताको रक्षा गर्न १३ करोडमा बोतल प्रशोधन उद्योग स्थापना, रिसाइक्लिङबाट कपडा र झोला बनाउने
काठमाडौं । प्लास्टिकका विभिन्न फोहरले देशभरका नदी फोहर भइरहेका बेला नदी सभ्यताको रक्षार्थ बोतल प्रशोधन गर्ने उद्योग स्थापना गरिएको छ । विश्व बैंकको सहयोग र संयुक्त राष्ट्र सङ्घीय खरिद सचिवालय (युनोप्स) तथा दक्षिण एसियाली वातावरण सहकार्य (सकेप) को कार्यान्वयनमा ‘सेन्टर फर रिसर्च एण्ड सस्टेनेबल डेभलपमेन्ट नेपाल (क्रियसन)’ले भरतपुर महानगरपालिका-४ जगन्नाथ चोकमा करिब १३ करोड रुपैयाँको लागतमा उद्योग निर्माण गरेको हो । उद्योगको आज उद्घाटन गरिएको छ । चीनबाट ल्याएको अत्याधुनिक यन्त्र जडान गरेर स्थापना भएको उद्योगले प्लाष्टिकका बोतललाई ‘रिसाइक्लिङ’ गरी कच्चा पदार्थ बनाएर बिक्री गर्ने क्रियसनका संस्थापक अध्यक्ष आनन्द मिश्रले जानकारी दिए । उद्योगले अहिले प्लास्टिकको चिउरा र दाना बनाएर बजारमा बिक्री सुरु गरेको छ । भविष्यमा ‘रिसाइक्लिङ’ गरिएको प्लास्टिकबाट कपडा र झोला बनाउने लक्ष्य रहेको उनको भनाइ छ । नदी सफा गर्ने यो अभियानमा चितवनका युवा र सामुदायिक विद्यालयका विद्यार्थीको पनि योगदान रहेको छ । उक्त अभियानमा १२ सामुदायिक विद्यालयका विद्यार्थी ‘बेष्ट स्मार्ट क्लब’ खोलेर चेतना मूलक अभियानमा सक्रिय भएका छन् । यो उद्योगमा ३५ युवाले रोजगारी पाएका छन् । निजी कम्पनी र अनौपचारिक क्षेत्रका श्रमिकबाट बोतल किनेर उद्योगले काम गरिरहेको छ । उद्योग उद्घाटन समारोहमा समाज कल्याण परिषदका सदस्य सचिव मनोज भट्टले दिगो विकास लक्ष्य पूरा गर्न नदी एवं सार्वजनिक स्थलमा फालिने प्लास्टिकजन्य फोहरलाई व्यवस्थापन गर्नुपर्ने बताए । नेपालको संविधान एवं कानुन बमोजिम फोहर व्यवस्थापन गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले नदी सभ्यताको संरक्षणका लागि यस्ता योजनालाई निरन्तर सहयोग जारी रहने बताए । वातावरण विभागका दीपक ज्ञवालीले नेपालमा प्लास्टिकबाट बनेका फोहर व्यवस्थापन समस्या बन्दै गइरहेका बेला फोहरलाई मोहरमा बदल्ने गरी अभियान सुरु भएकामा सबैको सहयोग आवश्यक भएको बताए । सकेफका महानिर्देशक नोर्बु वाङ्चुकले प्लास्टिकका बोतल ‘रिसाइक्लिङ’ गरी बागमतीलगायत नेपालका नदीमा पुनः स्नान गर्न सकिने आशा पलाएको बताए । नेपाली चलचित्रका नायक दयाहाङ राईले जल, जङ्गल र जमिनमा बस्ने सबैलाई बाँच्ने अधिकार रहेको उल्लेख गर्दै मानिस चेतनशील प्राणी भएर पनि वातावरण बिगार्ने काम गरेको भन्दै असन्तुष्टि व्यक्त गरे। विश्व बैंकका समूह संयोजक जासेफले प्लास्टिकका बोतलका कारण दक्षिण एसिया नै समस्यामा परेकाले यसलाई व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।