मुलुकको आर्थिक समृद्धिका लागि घरजग्गा व्यवसायी सरकारसँग हातेमालो गर्न तयार : अध्यक्ष घिमिरे
काठमाडौं । नेपाल घरजग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले मुलुकको आर्थिक समृद्धिका लागि घरजग्गा व्यवसायी सरकारसँग हातेमालो गर्न तयार रहेको बताएका छन् । महासंघको तेस्रो स्थापना दिवस कार्यक्रममा बोल्दै उनले व्यवसायीले सामना गर्नुपरिरहेको नीतिगत तथा कानुनी समस्या समाधान गरिदिन सरकारसँग आग्रह गरे । उनले मुलुकको अर्थतन्त्रमा घरजग्गा व्यवसायको ठूलो योगदान रहेको उल्लेख गरे । सो क्षेत्रमा देखिएका समस्या सम्बन्धित व्यवसायीसँग छलफल गरेर अन्त्य गरिनुपर्ने उनको भनाइ छ । अध्यक्ष घिमिरेले चालु आवको नौ महिनामा घरजग्गा व्यवसायबाट ३३ अर्ब राजस्व सङ्कलन भएको जानकारी दिए । उनले घरजग्गा आवास तथा विकास महासंघमा धेरै समस्या रहेकाले यसमा सहयोग गर्न सरकारसँग आग्रह गरे । उनले नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनसँग सहकार्य गर्न सहमत रहेको र चाँडै सहकार्य हुने प्रतिबद्धता व्यक्त गरे । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनका अध्यक्ष सीताराम दाहालले नेपाल घरजग्गा तथा आवास विकास महासंघसँग सहकार्य गर्ने बताए । महासंघको कार्यक्रममा बोल्दै दाहालले महासंघप्रति आफूहरू संधै सकारात्मक भएको जानकारी दिए । उनले भने, ‘हामी सहकार्य गर्न आधिकारिक रूपमै आतुर छौं । पहिलेका सरकारका कारण परेको असर हाल विस्तारै हल भएपनि लयमा जान सकेको छैन । विगतका भूमि ऐन अव्यावहारिक हुनु, सही मूल्याकंन नहुनु कित्ताको निकास सही कार्यान्वयन नहुनु जस्ता थुप्रै समस्या छन् ।’ सरकारले ल्याएको नीति सकारात्मक रहेको उनको भनाइ छ । अब दुबै महासंघले सहकार्य गरेर अगाडि बढे घर जग्गा कारोबारमा निकै सहयोग पुग्ने उनको जिकिर छ ।
इच्छाशक्ति भएमा आयात नियन्त्रण गर्न सकिन्छ : मन्त्री भण्डारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योगीहरूमा इच्छाशक्ति भएमा नेपालमा अत्यावश्यक उपभोग्य वस्तुहरूको आयात नियन्त्रण गर्न सकिने बताएका छन् । नेपाल चामल, तेल, दाल उद्योग संघको ४५औँ वार्षिक साधारण सभामा बोल्दै मन्त्री भण्डारीले निजी क्षेत्रले उत्पादन र उत्पादकत्व वृद्धिमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए । उनले भने, ‘चामल, तेल, दालजस्ता वस्तुहरूको नेपालमै उत्पादन गर्ने पर्याप्त सम्भावना छ। यस क्षेत्रमा उपयुक्त लगानी गरी प्याकेजिङ र ब्रान्डिङमा निजी क्षेत्रले अझ ध्यान दिनुपर्ने आवश्यकता छ। सरकार उद्योगमैत्री नीति अवलम्बन गर्दै नीतिगत सहुलियत दिन तयार छ।’ भारतको उदाहरण दिँदै उनले भने, ‘नेपालभन्दा कैयौँ गुणा बढी जनसंख्या भएको भारतले आफ्ना पर्याप्त उत्पादनहरू निर्यात गर्न सकेको छ भने, हाम्रो देशको हावापानी हेर्दा एकै दिनमा हिमाल, पहाड र तराईको अनुभव गर्न सकिन्छ। यस्तो विविध वातावरण भएको देशमा उत्पादन वृद्धि गर्नु कुनै ठूलो चुनौती होइन। त्यसैले निजी क्षेत्र उत्पादन वृद्धिको अभियानमा सक्रिय हुनुपर्छ। सरकारले नीति तथा सहुलियतका माध्यमबाट अनुकूल वातावरण बनाउने प्रतिबद्धता जनाएको छ।’ उनले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माणको पूर्वसन्ध्यामा सरकार सबै क्षेत्रसँग परामर्शमा केन्द्रित रहेको बताए । मन्त्री भण्डारीका अनुसार नेपालमा ३३ हजार मेट्रिक टन खाद्यान्न स्टक गर्नुपर्ने लक्ष्य रहेपनि त्यो अझै पूरा हुन सकेको छैन । ‘हाल हामी त्यो लक्ष्यको नजिक पुग्दैछौं,’ उनले भने, ‘तर यस वर्ष पेट्रोलियम पदार्थभन्दा पनि बढी सोयाबिनको आयात भएको देखिएको छ। पहाडहरू रित्तिँदै गएका छन्, खेतबारी बाँझो छन्, र युवाहरू खाडी मुलुकमा श्रम बेच्न बाध्य छन् । विदेशको विषादीयुक्त खाद्यपदार्थ खाएर जीउ जोगाउनु हाम्रो लागि विडम्बनाको कुरा हो ।’ उनले हिमाली तथा पहाडी क्षेत्रमा रैथाने अन्नबालीको उत्पादन वृद्धि गरी आत्मनिर्भरतातर्फ उन्मुख हुनुपर्नेमा जोड दिए । मन्त्री भण्डारीले चामल, दाल, तरकारी, फलफूलजस्ता वस्तु उत्पादन हुने प्रमुख क्षेत्रहरूको पहिचान गरी उत्पादन र निर्यातसम्मको प्रक्रियामा निजी क्षेत्रसँग सहकार्य गर्दै सरकार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले देशको आर्थिक सुधार र जनतालाई आत्मनिर्भर बनाउने दिशामा सरकार क्रियाशील रहेको स्पष्ट पारे । नेपाल चामल, तेल, दाल उत्पादक संघका अध्यक्ष कुमोद अग्रवालको अध्यक्षतामा सम्पन्न ४५औँ वार्षिक साधारणसभामा मन्त्री भण्डारी प्रमुख अतिथि थिए । संघका सदस्य विभोर अग्रवालका अनुसार, संघमा दुई दशकभन्दा बढी समयदेखि सक्रिय योगदान पुर्याएका अजय पराजुलीलाई मन्त्री भण्डारीद्वारा सम्मान गरिएको छ ।
विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नुपर्ने अध्यक्ष ढकालको जोड
अबुधाबी । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा सिकेको सीपलाई स्वदेशमा प्रयोग गरेर स्वदेशमै अवसरहरू सिर्जना गर्नु पर्ने बताउनु भएको छ । अबुधाबीस्थित नेपाली राजदूतावास र दुबईस्थित गैरआवासीय नेपाली संघको सहकार्यमा आयोजित नेपाल महोत्सव २०२५ लाई सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन् । नेपालमा पर्याप्त सम्भावना रहेकोले ती सम्भावनाबाटै आर्थिक समृद्धि हासिल गर्न पर्ने उनको जोड थियो । 'योजनाबद्ध दीर्घकालीन सोच विना विकास सम्भव छैन । विकासका लागि दूरदर्शी र स्थिर नेतृत्व आवश्यक हुन्छ भन्ने कुरा हामीले दुवईबाट सिक्न सक्छौं । तेलमा मात्र निर्भर भएको युएईले अर्थतन्त्रको विविधीकरण गर्दै पर्यटन, वित्तीय सेवा, निर्माण, स्मार्ट सीटी र व्यापार जस्ता क्षेत्रहरूमा ध्यान दिएको छ । हामीले पनि हाम्रो देशमा भएका सम्भावनाहरको पनि यसैगरी विविधिकरण गरेर त्यसबाट लाभ लिन सक्नुपर्छ,’ उनले भने । नेपालको सन्दर्भमा ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधि जस्ता क्षेत्रमा व्यापक सम्भावना रहेकोले यी क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन सके यसले रोजगारी सिर्जना तथा नेपालको समग्र आर्थिक विकासमा टेवा पुग्ने अध्यक्ष ढकालले बताए । नेपाल कला र संस्कृतिमा धनी देश रहेको र देशका अमूल्य निधिका रूपमा रहेका कला, संस्कृति र परम्पराहरुको माध्यमबाट नेपाललाई विश्वसामु चिनाउन सकिने उल्लेख गर्दै उनले विदेशमा आयोजना गरिने यस्ता महोत्सवहरूले नेपाललाई विश्वमा चिनाउने र मित्रता तथा सद्भाव बढाउने कार्यमा महत्वपूर्ण भूमिका खेल्ने बताए । महासंघले नेपाल र यूएईबीचको आर्थिक सम्बन्धलाई अझ सुदृढ बनाउने दिशामा निरन्तर कार्य गरिरहेको समेत अध्यक्ष ढकालले बताए । विदेशमा कार्यरत नेपाली कामदारहरूको योगदानको निजी क्षेत्रले उच्च सम्मान गर्ने गरेको बताउँदै उनले महासंघले नेपाल र यूएई दुवैलाई लाभ पुग्ने साझेदारीहरू निर्माण गर्न कटिबद्ध रहेको पनि बताए ।