बन्द रहेका उद्योगलाई २१ दिनभित्र स्पष्टिकरण बुझाउन मन्त्रालयको आग्रह

काठमाडौं, २७ मंसिर । सरकारले विभिन्न कारणले बन्द भएका निजी क्षेत्रका उद्योग खोल्न सहजीकरण गर्ने भएको छ । उद्योग मन्त्रालयले सूचना प्रकाशन गरी २१ दिनभित्र मुलुकभर बन्द भएका त्यस्ता उद्योगको विवरण लिने जनाएको छ । बन्द भएको स्पष्ट कारणसहित सम्पर्कमा आउन आग्रह गर्दै मन्त्रालयले त्यस्ता उद्योगको अध्ययन र मूल्याङ्कनका लागि समिति गठन गर्ने तयारी गरेको छ । मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा मन्त्री नवीन्द्रराज जोशीले पुनः खुल्ने सम्भावना रहेका बन्द उद्योगलाई सरकारका तर्फबाट भौतिक, पूर्वाधार र नीतिगत रुपमा सहयोग गरिने बताए । मुलुकभित्रै रोजगारी सिर्जना गरी अर्थतन्त्रलाई सुदृढ गर्ने योजनाका साथ मन्त्रालय अघि बढेको बताउँदै मन्त्री जोशीले भने, “बन्द उद्योग खोल्न उद्यमी, स्थानीय, श्रमिक र राजनीतिक दललाई आग्रह गर्छौ ।” साना ठूला सबै उद्योग पुनःसञ्चालन गर्न जिल्ला र केन्द्रबाट आवेदन लिइने तथा आवेदनको अध्ययन र मूल्याङ्कनपछि खोल्न मन्त्रालयले सहजीकरण गर्ने बताइएको छ । मन्त्रालयका अनुसार मुलुकभर निजी क्षेत्रका हजारौँ उद्योग बन्द अवस्थामा छन् । मन्त्रालयले पहिलो चरणमा नेपाल औषधि लिमिटेड र हेटाँैडा कपडा उद्योग आफैँ पुनः सञ्चालन गर्ने कार्य अन्तिम चरणमा पुर्याएको छ । अर्काे चरणमा बन्द अवस्थाका वीरगन्ज चिनी उद्योग र बुटवल धागो कारखाना निजी क्षेत्रलाई भाडामा दिएर पुनः सञ्चालन गर्ने तयारी पनि छ ।

सरकारी लगानीका उद्योगलाई प्रतिस्पर्धी बन्न मन्त्री जोशीको आग्रह

हेटौँडा, २६ मंसिर । उद्योग मन्त्री नविन्द्रराज जोशीले सरकारले लगानी मैत्री वातावरण बनाउन लागेको बताएका छन् । हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको आइतबार आयोजित ३१ औं बार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री जोशीले रोजगारीको अवसर सिर्जना गर्ने क्षेत्र उद्योगमा भन्दा व्यापारमा लगानी बढ्दो रहेकोले सरकारले लगानीमैत्री वातावरण तयार गर्न लागेका बताए । मन्त्री जोशीले सबैको साझा प्रयास र प्रतिबद्धता भएमा १० भित्रमा युवालाई रोजगारीका लागि विदेश जानुपर्ने अवस्थाबाट मुक्त गरी स्वदेशमा नै अवसर सिर्जना गर्न सकिने बताउँदै सरकारी लगानीका उद्योगहरु सञ्चालनलाई प्रभावकारी बनाउन आफू लागेको बताए । हेटौँडा कपडा, वीरगञ्ज चिनी, औषधि उद्योगलगायतका सरकारी स्वामित्वका उद्योगहरु सञ्चालनको निर्णय गरेको भन्दै उनले भने, कागजी प्रतिबद्धतालेमात्र हुँदैन निजी उद्योगसँग प्रतिस्पर्धा गर्नसक्नु पर्छ । सिमेन्टको गुणस्तर र लागतमा प्रतिस्पर्धि बन्न क्षमताको उपयोग गर्नु आवश्यक रहेको बताउँदै उनले हेटौँडा सिमेन्टलाई सरकारी स्वामित्वको उदाहरणीय उद्योग बनाउन उद्योगका व्यवस्थापक र कर्मचारीलाई आग्रह गरेका छन् । उद्योग सञ्चालक समितिका अध्यक्ष रघुरमण न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंहले उद्योगमा नियमित बिद्युतको व्यवस्था भएमा उत्पादन बढाउने प्रतिबद्धता ब्यक्त गरेका छन् । यस्तै उद्योगका नायब महाप्रबन्धक मुकुन्दराज बानियाँले बोलपत्र आव्हानबाट सामान आपूर्ति गर्ने प्रक्रियालाई सहज बनाउनुपर्ने बताए । अर्डिनरी पोर्टलैण्ड र अर्डिनरी स्लैग सिमेन्ट उत्पादन र बिक्री गर्ने उद्देश्यका साथ स्थापना भएको उद्योगको अधिकृत पूँजी तीन अर्ब, जारी पूँजी एक अर्ब ५० करोड, चुक्ता पूँजी ९० करोड, ६ लाख ८५ हजार र ऋण १२ करोड रहेको उद्योगले जनाएको छ ।  उद्योगले २०४२ मंसिर २६ गतेबाट व्यावसायिक उत्पादन सुरु गरेको उद्योगको उत्पादन क्षमता दैनिक ७५० टन रहेको छ । उद्योगमा हाल ३९५ कर्मचारी कार्यरत रहेका छन् ।

व्यापारिक मेलामा अवलोकनकर्ताको भीड, निर्माण सामाग्रीका स्टलप्रति बढी आकर्षण

भक्तपुर, २६ मंसिर । शुक्रबारदेखि भक्तपुरमा सुरु भएको अन्तर्राष्ट्रिय व्यापार मेलामा निर्माण सामाग्रीका स्टलप्रतिको आकर्षण बढी देखिएको छ । भूकम्पपछि पुननिर्माणको क्रम तीव्र भएसँंगै मेलामा सहभागीहरुको विशेष आकर्षण निर्माण सामाग्रीप्रति देखिएको हो । मेलामा सहभागी कृष्णहरि श्रेष्ठले भूकम्पले भत्केको घर पुननिर्माण सुरु गर्न लागेकोले आफ्नो विशेष रुचि मेलाका निर्माण सामाग्री स्टलप्रति रहेको स्पष्ट पारे ।   भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा भक्तपुरको सल्लाघारीमा भइरहेको वृहतस्तरको अन्तर्राष्ट्रिय व्यापार मेलामा आठ वटा स्टल निर्माण सामाग्रीका छन् । मेलाका संयोजक राजुमृगेन्द्र जोशीका अनुसार मेलामा निर्माण सामाग्रीका स्टल थोरै रहे पनि त्यसप्रतिको आकर्षर्ण वढी देखिएको जनाए । मेलामा सहभागी सीपी डिजाइन कन्सल्टिंग आर्किटेक्चर्स एण्ड इन्जिनियर्स घटेकुलो चोक काठमाडौंको निर्देशक एवं आर्किटेक्ट रञ्जन प्रजापतिले आफनो विशेष आकर्षण भूकम्पपछिको पुननिर्माणमा उपयुक्त देखिएको गोरखा इको प्यानलप्रति रहेको जनाए । ‘भकम्पप्रतिरोधी मात्रै नभई, स्वदेशमै उत्पादित भएकोले पनि मेरो विशेष रुचि इको प्यानका प्यानलप्रति रह्यो’, उनले भने, ‘यसबाहेक निर्माण सामाग्री स्टलहरु पनि मैले हेरें ।’ मेलामा गोरखा इको प्यानलबाहेकका सिमेन्ट, रंगलगायतका निर्माण सामाग्रीका स्टल छन् । गोरखा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत कृष्णभक्त दुवालले आफूहरुको उत्पादन वातावरणमैत्री भएकाले पनि उपभोक्ताको रुचि रहेको जनाए । मेला २९ गतेसम्म चल्नेछ ।