वाइवाइको उत्पादन अब युरोपमा, युरोपेली राष्ट्र सर्विया वाइवाइ प्लान्ट स्थापनाको कार्य अन्तिम चरणमा
काठमाडौं, १४ पुस । चौधरी ग्रुपले युरोपमा आफ्नो लोकप्रिय ब्राण्ड वाइवाइको उत्पादन तथा वितरणको तयारी तीव्र बनाएको छ । युरोपेली राष्ट्र सर्वियाको रुमा शहरमा वाइवाइ प्लान्ट स्थापनाको कार्य अन्तिम चरणमा पुगेको छ । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले बिहीबार सर्वियाको राजधानी बेल्ग्रेडमा सर्वियाका प्रधानमन्त्री अलेक्ज्याण्डर भुसिक र उर्जा, पर्यटन तथा कृषि मन्त्रीहरुसँग र रुमा शहरका मेयर स्लोदान म्यान्सिकका साथ शिष्टाचार भेट गरेका थिए । उक्त अवसरमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीलगायत ग्रुपका उच्चपदस्थ अधिकारीहरुको पनि उपस्थिति थियो । यसअघि उनले रुमा शहरको रुम्स्का इन्डस्ट्रियल लुपमा प्लान्टको अवलोकन गरेका थिए । “नेपालीहरुको आफ्नै लोकप्रिय ब्राण्ड वाइवाइलाई विश्वव्यापी रुपमा विस्तार गर्ने हाम्रो अभियान हो । सोही क्रममा हामीले वाइवाइको विस्तार युरोपमा गरेका हौं ” प्रधानमन्त्री भुसिकसँगको भेटपश्चात चौधरीले बताए । “नेपाली उद्यम र व्यवसायलाई विश्व सामु लिएर जाने हाम्रो प्रयत्नको अर्को कडीको रुपमा यो विस्तार रहेको छ ।” भेटमा प्रधानमन्त्री भुसिकले सर्वियामा वाइवाइ प्लान्ट स्थापना गर्ने योजना ल्याई लगानी विस्तार तथा रोजगारी सिर्जना गरेकोमा चौधरी ग्रुपलाई धन्यवाद दिँदै विश्वव्यापी रुपमा सर्वियाको वैदेशिक लगानी विस्तारका लागि सहयोग गर्न समेत आग्रह गरेका छन् । त्यस्तै मेयर म्यान्सिकले सर्वियाको स्थानीय सरकार उद्यमीहरुसँग सहकार्य तथा सहयोगका लागि तयार रहेको बताउँदै चौधरी ग्रुपलाई उद्योग स्थापनाका लागि धन्यवाद व्यक्त गरेका छन् । विश्वव्यापी रुपमा वार्षिक २ अर्ब २० करोड बिक्री भैरहेको वाइवाइले विश्व तयारी चाउचाउ बजारको २.२ प्रतिशत हिस्सा ओगटेको कम्पनीले जनाएको छ । नेपालमा ६ र भारतमा ८ प्लान्टमार्फत उत्पादन भैरहेको नेपालको सर्वाधिक लोकप्रिय वाइवाइले भारतीय तयारी चाउचाउ बजारमा २७ प्रतिशत हिस्सा ओगटेको छ । चौधरी ग्रुपले बंगलादेश, केन्या र साउदी अरेवियामा पनि वाइवाइका प्लान्टहरु स्थापना गरेको छ । प्लान्टको स्थापनासँगै विश्वभरका ३० मुलुकका उपभोक्ताले रुचाएको वाइवाइको व्यवसायिक उत्पादन सर्वियामा निकट भविष्यमै शुरु हुनेछ । यहाँबाट युरोपेली बजारमा वितरण शुरु गरिनेछ । युरोपेली महाद्वीपमा चौधरी ग्रुपको यो पहिलो उद्योग हुनेछ । यो तयारीसँगै चौधरी ग्रुप युरोपबाट तयारी चाउचाउको उत्पादन थाल्ने नेपालको पहिलो व्यावसायिक समूह हुनेछ । उद्योगले पहिलो चरणमा करीब चार सय तथा उत्पादन र वितरण शुरु हुँदासम्म १२ सयभन्दा बढीलाई रोजगारी प्रदान गर्नेछ ।
राजविराजकाे औद्योगिक क्षेत्रमा गाईभैँसी र गँजडी, १० वटा उद्योग बस्ने ठाउँमा एउटा डेरी मात्र
सप्तरी, १० पुस । सप्तरीको बसबिटीमा रहेको गजेन्द्रनारायण सिंह राजविराज औद्योगिक क्षेत्र लामो समयदेखि लथालिङ्ग अवस्थामा छ । करिब २२ बिगाहा क्षेत्रफलमा फैलिएको सो औद्योगिक क्षेत्रका विभिन्न स्थानमा पर्खाल भत्किएका छन् भने जथाभावी रुख काटिने र गाईभैँसीलगायतका घरपालुवा जनावरले सो क्षेत्रमा लगाइएका बोट बिरुवा नष्ट गरिदिने गरेका छन् । हुर्किएका ठूला रुख काटेर चोरी गर्ने र गाँजा खाएका व्यक्ति पसेर झैझगडा गर्ने गरेका कारण त्यहाँको सुरक्षा व्यवस्थामा समस्या रहेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख सञ्जय थापाले गुनासो गरे । बिदामा सो कार्यालयका कर्मचारीहरु औद्योगिक क्षेत्र बाहिर जाँदा स्थानीय बासिन्दाले विभिन्न किसिमका समस्या उत्पन्न गराउने गरेको कर्मचारीको गुनासो छ । हुलाक, स्वास्थ्य क्लिनिक, बैंक, अतिथिगृह चमेनागृह, विद्युत्, टेलिफोनलगायतका सुविधासहित १० वटा उद्योगको क्षमता भए पनि औद्योगिक क्षेत्रमा अहिले मिलन डेरी उद्योगमात्र सञ्चालनमा रहेको छ । कार्यालय प्रमुख थापाका अनुसार पहिले स्थापना भएका महालक्ष्मी खाद्य उद्योग, कृष्ण खाद्य उद्योग, पदम प्लास्टिक उद्योग, माँ भगवती कृषि उद्योग, फुड इन्डस्ट्रिज, अल नेपाल टि एन्ड कफी सेन्टर प्रालि, एस एन्डको इलेक्ट्रोनिक्स प्रालिलगायतका उद्योग बन्द भइसकेका छन् । उद्योग सञ्चालनका लागि औद्योगिक लगानी तथा वातावरण र औद्योगिक सुरक्षा बल आवश्यक रहेको बताउँदै उनले जिल्ला सुरक्षा समन्वय समिति, सप्तरीले यसबारे निर्णय गरेर पठाए पनि अहिलेसम्म कुनै पहल नभएको दुखेसो पोखे । सो निर्णयबारे तीन महिना अगाडि जिल्ला सुरक्षा समन्वय समितिले गृह मन्त्रालयमा लेखी पठाएको जिल्ला प्रशासन कार्यालय सप्तरीको प्रशासन शाखाले जनाएको छ । सो औद्योगिक क्षेत्र भारत सरकारको लगानीमा दुई दशक अगाडि निर्माण भएको हो । एक दशक अगाडि भूमिगत समूहको चन्दा आतङ्क, असुरक्षा र बजार अभावका कारण त्यहाँका उद्योग पलायन भएका राजविराजका उद्योगी व्यवसायी बताउँछन् । रासस
उद्योग मन्त्रालय पुगेर दर्जनौं राजदूतले भने-‘वैदेशिक लगानी बढाउन हायर एण्ड फायर’
काठमाडौं, ५ पुस । नेपालस्थित दर्जनौं मुलुकका राजदुतहरुले वैदेशिक लगानी बढाउनका लागि हायर एण्ड फायरको व्यवस्थासहित लचिलो श्रम ऐन ल्याउनुपर्ने बताएका छन् । उद्योगमन्त्री नवीन्द्रराज जोशीले आगामी फागुनको १९ र २० गते आयोजना गर्न लागिएको नेपाल लागानी सम्मेलनको छलफलमा सहभागी राजदुतहरुले हायर एण्ड फायर सहितको लचिलो श्रम ऐनले मात्रै नेपालमा वैदेशिक लगानी बढाउन मदत पुग्ने धारणा राखेका हुन् । सरकारले वैदेशिक लगानी प्रवद्र्धनका लागि हालसम्म ल्याएका कानुनहरु सकारात्मक भएपछि श्रम सम्बन्धलाई व्यवस्थित गर्न हायर एण्ड फायरको व्यवस्था अत्यावश्यक रहेको बताएका हुन् । छलफलमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क), जापान, सयुक्त राज्य अमेरिका, स्वीडेन, साउथ अफ्रिका, म्यानमार, न्युजल्यान्ड, थाइल्यान्ड, फिनल्यान्ड, चेक रिपब्लिक लगायतका मुलुकका राजदुतहरुको सहभागीता रहेको थियो । उनीहरुले नेपालमा लगानीका लागि उपयुक्त वातावरण बन्दै गएकोले नीतिगत र राजनीतिक स्थिरताका साथै लचकदार श्रम ऐन पनि चाडो ल्याउन सुझाएका थिएए । छलफलमा उद्योग मन्त्री जोशीले नेपाल सम्पुर्ण रुपले वैदेशिक लगानीका लागि सुरक्षित गन्तव्य बन्दै गएको बताएका थिए । उनले उद्योग दर्ता प्रक्रियालाई सरलीकृत एवम छरितो बनाइएको, अन्तर मन्त्रालयबीचको समन्वय सहज भएको दावी गर्दै नेपाल लगानी सम्मेलन मार्फत आफ्ना मुलुकका लगानी कर्तालाई नेपालमा लगानी गर्न प्रोत्साहन गरिदिन आग्रह गरेका हुन् ।