स्थानीय तहमा औद्योगिक ग्राम स्थापनाको तयारी

उद्योग मन्त्रालयले मुलुकका ७५३ स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने गृहकार्य गरिरहेको छ । सरकारले देशमा रोजगारी वृद्धि गरी युवा जनशक्तिलाई विदेशिनबाट रोक्न यस्तो ग्रामको विकास गर्न लागिएको हो । हरेक तहमा ससाना घरेलु उद्योग स्थापनाका लागि उचित वातावरणको व्यवस्थापन गर्न ती ग्रामको विकास गर्ने अवधारणा ल्याइएको उद्योग राज्यमन्त्री रेशम लामाले जानकारी दिए। उक्त ग्राम स्थापनाका लागि १०० देखि २०० रोपनी क्षेत्रफलको जमिनको व्यवस्था तथा बिजुली, बाटो, पानीलगायतका पूर्वाधार मन्त्रालयले तयार गर्नेछ । उद्योगी र व्यवसायीले सञ्चालन गर्न खोजेका उद्योगका बारे स्थानीय तहमा पेश गरेको प्रतिवेदनका आधारमा मन्त्रालयले ती ग्राममा स्थान उपलब्ध गराउने छ । के कस्तो उद्योग तथा व्यवसाय कुन स्थानीय तहमा उपयुक्त हुन्छ, त्यसको आधारमा ग्रामको विकास गरिन्छ । त्यसैगरी, मन्त्रालयले मझौला तथा ठूला उद्योग सञ्चालनका लागि १४ औद्योगिक क्षेत्र निर्माण गर्ने प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिनुभयो । यसका लागि एक हजार रोपनीभन्दा धेरै क्षेत्रफल आवश्यक हुन्छ । शहर बजार तथा त्यस वरपर क्षेत्रमा भएका उद्योगलाई समेत उक्त स्थानमा प्रतिस्थापन गर्न सकिने योजना छ । रासस

चेम्बरले भन्यो- व्यापारीलाई थुन्न पाइन्न, सुन्न मात्र पाइन्छ

काठमाडौं । उद्योगी व्यवसायी तथा व्यापारीहरुले बिना प्रमाण व्यापारीहरुलाई थुन्ने काम नगर्न सरकारसँंग अनुरोध गरेको छ । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले गृह सचिव मोहनकृष्ण सापकोटासँंग भेट गरी बजार अनुगमनपछि पहिला व्यापारीको कुरा सुन्ने अनि मात्रै थुन्ने काम गर्नुपर्ने माग राखे । बजार अनुगमनपछि व्यापारीलाई ल्याएर सिधै थुन्ने काम भएको भन्दै त्यसो नगर्न अनुरोध गरेका हुन् । गृह मन्त्रालय सिंहदरवारमा भएको भेटमा चेम्वरका अध्यक्ष श्रेष्ठले दोषि प्रमाणित नभइकनै आरोपका आधारमा व्यापारीलाई थुन्ने काम नगर्न अनुरोध गरेका हुन् । अनुसन्धानबाट दोषि प्रमाणित भएपछि मात्रै दण्ड सजायलगायतका कारबाहीको प्रक्रिया अगाडि बढाउन उनले अनुरोध गरेका छन् । भेटमा सचिव सापकोटाले व्यवसायीका मागमा आफू सकारात्मक रहेको बताए । यसका लागि निजी क्षेत्रका व्यवसायीहरुसँंग छलफल गरी अगाडि वढने आश्वासन उनले दिए । भेटमा चेम्वरका प्रथम उपाध्यक्ष ज्ञानेन्द्ररत्न तुलाधर, द्धितीय उपाध्यक्ष राजेन्द्र मल्ल, महासचिव कमलेश कुमार अग्रवाल, सचिवहरु देवेन्द्रभक्त श्रेष्ठ, सन्तोषकुमार पाण्डे, पर्शुराम दाहाललगायतका पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

तीन महिनामा ५० करोडको सिमेन्ट बिक्री

उदयपुर । देशकै ठूलो र सरकारी स्वामित्वमा रहेको जलजलेस्थित उदयपुर सिमेन्ट उद्योगले तीन महिनाभित्र ५० करोड रुपैयाँको सिमेन्ट बिक्री गरेको छ । साउनको पहिलो हप्तादेखि अहिलेसम्म उद्योगले छ लाख २० हजार बोरा सिमेन्ट बिक्री गरेको छ । अहिलेसम्मकै अत्यधिक सिमेन्ट बिक्री गर्न सफल भएको उद्योगका महाप्रबन्धक सुरेन्द्र पौडेलले बताए । गैँडा छाप सिमेन्टको माग अत्यधिक बढेर जाँदा बिक्री र माग धान्नै गाह्रो भएको उनको भनाइ छ । अहिले उद्योगबाट उत्पादित गैँडाछाप सिमेन्टको मूल्य प्रतिबोरा रु ८२९ रहेको छ । सो उद्योगले दैनिक ६०० मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको छ । रासस