बजारमा माग बढाउन सरकारले सहयोग गर्नुपर्छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको अर्थतन्त्रको बाह्य क्षेत्र सन्तुलित भए पनि बजारमा माग कम भएकाले अर्थतन्त्र चल्न नसकेको बताए । बिहीबार मोरङ उद्योग व्यापार संघको ६७औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले सो कुरा बताएका हुन् । उनले बजारको माग बढाउन सरकारले सहयोग गर्नु पर्ने बताए । सरकारले लगानी सम्मेलनअघि संशोधन गर्ने भनेको कानुनलाई पनि संशोधन गर्नुपर्ने उनले औंल्याए । उनले समयमै संशोधन नभए यसले सम्भावित लगानीकर्तामा नकारात्मक सन्देश जाने बताए । ढकालले महासंघको सुझावमा १२ वटा ऐन नियम संशोधनको प्रस्ताव गरिएको जानकारी दिए । संशोधनपछि केही जटिल विषय सम्बोधन हुने उनले बताए । ढकालले व्यवसायीलाई दिइँदै आएको सहुलियतपूर्ण कर्जा सुविधा बन्द गरिएको उल्लेख गर्दै सहुलियतपूर्ण ऋण सुविधा पुनः सञ्चालन गर्न सरकारलाई आग्रह गरे । सुविधा ठप्प हुँदा उद्यमशीलतामा असर परेको उनले बताए । उनले आन्तरिक माग कम हुँदा निर्यात गरेर र बढी पर्यटक भित्र्याएर माग बढाउनुपर्ने तर निकासीमा दिइने अनुदान रोकिएको बताए । यस हिसाबले अहिले निर्यातमा प्रोत्साहन नहुने उनले बताए । उनले पूँजीगत खर्च बढाउन र ठेकेदारको बाँकी बक्यौता पनि तिर्न सरकारलाई आग्रह गरे । सरकारले व्यवसायीहरुको मनोबल बढाउनु पर्नेमा अध्यक्ष ढकालले जोड दिए । यसैबीच अध्यक्ष ढकालले मोरङ उद्योग व्यापार संघले चेम्बर आन्दोलन र देशको आर्थिक विकासमा पुर्याएको योगदानका लागि बधाई दिए । उनले मोरङ उद्योग व्यापार संघले यस क्षेत्रमा उद्यमशीलता प्रवर्द्धन, साना तथा मझौला उद्योगलाई टेवा पुर्याउन र व्यवसायको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न निर्णायक भूमिका खेलेको उल्लेख गरे । सो अवसरमा मोरङ उद्योग व्यापार संघका अध्यक्ष नवीन रिजालले कर्जाको ब्याजदर घटाउन सहयोग पुर्याएकोमा ढकाल र महासंघलाई धन्यवाद दिए । तर, बजारको माग कम भएकाले व्यवसायीले केही समस्या भोग्नु परेको जानकारी गराए । बजारमा छिट्टै सुधार आउने र अर्थतन्त्रले गति लिने उनको भनाइ थियो । मोरङ उद्योग व्यापार संघलाई पहिले मोरङ व्यापार संघ भनिन्थ्यो । संस्थाको नाममा यो परिवर्तन बिहीबार गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय कार्यसमिति सदस्य तथा प्रतिनिधिसभा सदस्य शेखर कोइराला थिए ।
उद्यमी बन्दै वनकरियाका महिला, तीतेपाती र निमबाट साबुन उत्पादन गर्दै
हेटौँडा । मकवानपुरको मजहरी गाउँपालिकामा बसोबास गर्दै आइरहेका अतिलोपोन्मुख वनकरिया बस्तीका महिलाले खोलाको किनार र वनमा खेर गइरहेको तीतेपाती र निमबाट साबुन उत्पादन गरी गुजारा चलाइरहेका छन् । मसिने शान्ति सामुदायिक वन मध्यवर्ती क्षेत्रमा परिणत भएसँगै वनमा आधारित यस समुदायका महिला खेर गइरहेको तीतेपाती र निमको प्रयोग गरेर उद्यमी बनेका हुन् । विसं २०६२ मा जिल्ला विकास समिति मकवानपुर र मनहरी गाविसको सहयोगमा वनको घुमन्ते जीवनबाट बस्तीमा बस्न आएका वनकरिया समुदायका वासिन्दा अहिले विस्तारै आत्मनिर्भर हुन थालेका हुन् । अहिले उनीहरुले आफ्ना सन्तानलाई विद्यालय पठाउनेदेखि सामाजिक कार्यहरुमा पनि संलग्न हुन थालेका बनकरियाकी मुखिया सन्तमाया बनकरियाले बताए । उनले भने, ‘हामी जङ्गली जीवनबाट गृहस्थ जीवनमा आएका हौँ । हामीले पाएको जस्तो दुःख हाम्रा छोराछोरीलाई नपरोस् भनेर कोशिस गरिरहेका छौँ ।’ हिजो जङ्गलकै गिठ्ठाभ्याकुर र अन्य फलफूल खाएर बाँचेका उनीहरु अहिले अन्नबाली उत्पादन गर्न लागिपरेका छन् । उनले भने, ‘हामीलाई अन्न खान रहर लाग्दा लोग्नेमान्छेहरुले कुरिलो, कुचो, माछा लिएर बस्ती जाने गर्थे, अहिले हामी आफैँ फलाइरहेका छौं ।’ बिरामी र सुत्केरी हुँदा खान नपाएको सम्झँदै त्यो दिन भोलिको पुस्ताका लागि कथा जस्तो हुने उनले बताए । जेटिए अध्ययन गरेकी सन्तोषी वनकरियाले पढाइपछि गाउँमा नै काम गरेर सबैलाई कृषितर्फ लाग्न प्रेरित गरेका छन् । उनका अनुसार अहिले प्रत्येक घरमा भैंसी पालिएको छ । भैंसीको दूध बिक्री गर्नुभन्दा पनि घिऊ बनाएर बेच्दा फाइदा हुने भएकाले धेरैले घिऊ बिक्री गर्ने गरेका छन् । केही वर्ष पहिला प्रत्येक घरमा करेसामा माछापोखरी खनिएको भएपनि सर्पले माछा खाइदिने समस्या रहेकाले अहिले उनीहरु पशुपालन र कृषितर्फ आकर्षित भएका छन् । गाउँपालिकाले उनीहरुलाई समयसमयमा सिलाइबुनाइ, तरकारी खेतीलगायतका तालिम उपलब्ध गराउँदै आएको छ । त्यस्ता तालिमबाट सिकेको ज्ञानले उनीहरु अहिले आफ्ना बारीमा तरकारी, फलफूल, मकै आधुनिक तरिकाले लगाउन थालेका छन् । कतिपयले बाख्रा, कुखुरा तथा माछापालनसमेत गरेका छन् । यसले उनीहरुको जीवनस्तरमा विस्तारै सुधार आएको छ । साबुन उत्पादनतर्फको आकर्षण विगतमा मसिने शान्ति सामुदायिक वनबाट कुचो/खरेटो, कुरिलो, गिट्ठा भ्याकुर खोज्ने र खोलामा माछा मार्ने काम गरेर गुजारा चलाउँदै आएका उनीहरुलाई सो वन मध्यवर्ती क्षेत्रमा परेपछि उनीहरुलाई समस्या भएको थियो । अहिले समुदायमा बस्न थालेपछि उनीहरुले तीतेपाती, नीम र ध्यूकुमारीबाट साबुन बनाउने व्यवसाय थालनी गरेका हुन् । हाल वनकरिया चेपाङ महिला साबुन उद्योग दर्ता गरेर उत्पादन सुरु गरेको उनले जानकारी दिए । बनकरिया र चेपाङ बस्तीको २५ जना महिला मिलेर साबुन बनाउन थालेको मुखिया सन्तमायाको भनाइ छ । उनका अनुसार गत वर्ष राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चले उनीहरुलाई साबुन बनाउने तालिम दिएको थियो । तालिमपछि आयआर्जनमा आफूहरु जोडिने अवसर पाएको उनले बताए । साबुन उत्पादन गर्नको लागि आवश्यक औजार समेत मञ्चले प्रदान गरेको छ । अब उनीहरुको चुनौती भनेको आवश्यक कच्चापदार्थ र बजारीकरणको रहेको छ । ‘साबुनका लागि कच्चा पदार्थ निम रोप्न थालेका छौँ, घ्यूकुमारी बारीमा अलिअलि रोपेका छौँ, तीतेपाती वरिपरि बगर, बाटोतिर पाउँछौँ’, सन्तमायाले भने । सानो, मध्यम र ठूलो साबुन उत्पादन गरेका उनीहरुले २० देखि ६० रुपियाँ सम्ममा साबुन बेच्ने गरेका छन् । मञ्चले फर्मा र साबुन बनाउन आवश्यक सामग्री र दुई लाख लगानी गरेको थियो । स्थानीय सम्झना बनकरियाले साबुन बनाउन बुटवलबाट फर्मा ल्याएको बताउँदै भने, ‘’साबुन बनाउन मेहनत पर्छ, तीतेपाती टिप्न जानुपर्यो, केलाउनु पर्यो, पकाउनु पर्यो ।’’ यहाँ उत्पादन गरिएको साबुन घाउ खटिरा, चिलाउने समस्या र छालाका लागि राम्रो हुने भएकाले विस्तारै माग बढ्न थालेको उनको भनाइ छ । अहिले मञ्चले नै उनीहरुले बनाएका साबुन किनिदिएको छ । सधैँ यसरी एउटा संस्थाले किनदिएका भरमा मात्रै व्यवसाय दिगो हुन नसक्ने भएकाले अब बजारीकरणको भने चिन्ता लागेको सम्झनाले बताए । मञ्चले दिएको थोरै रकमबाट सुरु गरिएको काममा लगानी पुँजी न्यून हुँदा उत्पादन पनि न्यून भएकाले आफूहरुलाई व्यवसाय विस्तार गर्न समस्या भएको उनको भनाइ छ । जङ्गली कन्दमूलको सहारामा वर्षको आधा समय बिताउने बनकरिया समुदायमा पछिल्ला वर्षहरुमा क्रमशः परिवर्तन देखिएको छ । आधुनिक जीवनउपयोगी सीपसँग टाढा रहेका बनकरिया समुदायका पाँच किशोरी र एक किशोरले एसएलसी/एसइई परीक्षा उत्तीर्ण गरेका छन् । दुई जना किशोरी प्राविधिक क्षेत्रमा लागेका छन् । बनकरिया जातिमा पहिलो शिक्षित महिला सन्तोषी बनकरियाले कृषि प्राविधिक (जेटिए) बनेर गाउँमा नै काम गर्न थालनी गरेकी छिन् । वनकरिया समुदायबाट पहिलोपटक एसएलसी परीक्षा (२०७२) उत्तीर्ण गरेकी पम्फा वनकरिया ल्याब असिस्टेन्ट टेक्निसियन विषय अध्ययन गरी हाल मनहरीको रजैयामा ल्याब असिस्टेन्टको जागिर खाइरहेको मुखिया सन्तमायाले जानकारी दिए । पछिल्लो वर्षमा सरकारले वनकरिया समुदायलाई जनही मासिक रु चार हजार सामाजिक सुरक्षाबापत भत्ता दिन थालेपछि उनीहरुको आर्थिक अवस्थामा केही सुधार आएको छ । विगत १८ वर्षदेखि सुकुम्बासीका रूपमा मकवानपुरको मनहरी–४ मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख वनकरियाको आफ्नो नाममा जग्गा छैन । अल्पसङ्ख्यक वनकरीयाले जङ्गलमा फिरन्ते जीवन बिताउँदा कष्ट भएको भन्दै २०६२ सालमा यहाँको कबुलियती वनमा नेपाल सरकारले नै बस्न दिएको थियो । उनीहरुले यही बसोबास गरेकै स्थानमा सामूहिक जग्गाधनी पूर्जा माग गर्दै आएका छन् । ‘वनकरिया’ नेपालको सबैभन्दा थोरै जनसङ्ख्या भएका आदिवासी जनजातिमध्येको एक जाति समुदाय हो । उनीहरुको सङ्ख्या दैलेखमा फिरन्ते जीवन गुजारिरहेका राउटे जातिको भन्दा पनि कम छ । मकवानपुरको मनहरि गाउँपालिका–४ मसिने नजिक मुसेधापमा बसोबास गर्ने यो समुदाय लोपोन्मुख जाति समुदायभित्र पर्दछ । मुसेधापमा अहिले २५ घरपरिवारमा ९३ जना वनकरिया बसोबास गर्दै आएका छन् । मनहरी गाउँपालिका–४ मा रहेका वनकरियाहरुले राष्ट्रिय परिचयपत्र पनि बनाइसकेका छन् भने दुईवटा निर्वाचनमा मतदान पनि गरेका छन् । स्थायीरुपमा बसोबास गर्न र एकमुठ्ठी माटो आफ्नो भन्न नपाएकोमा भने उनीहरु दुःखी छन् । शिक्षित बन्दै वनकरिया समुदाय वनकरिया समुदायका बालबालिका हरुलाई अध्ययन गराउनको लागि उनिहरुकै बस्तिमा स्थानिय सरकारले इसिडी कक्षा सञ्चालनमा ल्याइरहेको छ भने उक्त कक्षा अध्यापनको जिम्मा सन्तोषी वनकरियालाई नै दिइएको मनहरी गाउँपालिका–४ का वडाध्यक्ष प्रकाश थापाले जानकारी दिए । पशुपति माविका प्राध्यापक भानुभक्त आचार्यले वनकरिया समुदायमा छोराछोरी बढाउनुपर्ने चेतना जागृत भएको बताउँछन् । उनको अनुसार हालसम्म तीन जनाले एसएलसी र तीन जनाले एसइई पास गरेको छन् भने करिब १९ जना बालबालिका नियमित विद्यालय आइरहेका छन् । वनकरिया बस्तिमा हाल उच्च शिक्षा अध्ययन गर्ने छात्रासमेत भएको उनले बताए । वनकरियाहरु बिद्यालय भर्ना नहुँदा उनिहरुको घरमा नै गएर विद्यालय भर्ना अभियान चलाउनु परेको उल्लेख गर्दै प्राध्यापक आचार्य हाल विद्यालय आएका बालबालिकामा पनि पढाइप्रति लगाव बढेको बताउँछन् । कक्षा १२ मा अध्ययन गरिरहेकी सम्झना वनकरियाले आफूलाई पत्रकार बन्ने ठूलो धोको रहेको बताए । उनले आफ्नो समुदायको खबर लेख्न आउने अन्य पत्रकार जस्तै आफू पनि समाचार बनाउन सक्षम बन्ने चाहना राखे । जनसङ्ख्या घट्दो अवस्थामा देशकै अल्पसङ्ख्यक यस समुदायमा जनसङ्ख्या घट्दो रहेको छ । विवाहका लागि योग्य उमेर समूहका पुरुषभन्दा महिलाको सङ्ख्या बढी भएकाले जनसङ्ख्या घट्दो रहेको देखिन्छ । महिला विवाह गरेर समान संस्कृति भएका चेपाङ जातिसँग जाने भएकाले जनसङ्ख्या घट्दो भएको स्थानीयवासी बताउँछन् । उनीहरुमा चेपाङ समुदायसँग विवाहबारी गर्ने चलन छ । दुई दशकअघिदेखि मात्रै फिरन्ते जीवनशैलीलाई त्यागेर एकै स्थानमा बसोबास शुरु गरेका आदिवासी वनकरिया जातिले अझै पनि स्थायी बसोबास गर्न पाएका छैनन् । केही वर्षअघि देशका ‘धर्तीपुत्र’ भएको ठहरसहित स्थानीय प्रशासनमार्फत नागरिकता पाएका वनकरिया जाति अहिले पनि शतप्रतिशत सुकुम्वासी छन् । विसं २०५९ मा देशको लोपोन्मुख आदिवासी जनजातिका रूपमा सूचीकृत भएको वनकरिया जाति अहिले राष्ट्रिय निकुञ्जको जग्गामा अस्थायीरूपमा बसोबास गर्दै आएका छन् । हाल वनकरियाको बसोबास रहेको मुसेधाप खहरेको बगर भएकाले यहाँ कृषि उत्पादन राम्रो हँुदैन । यहाँको उत्पादनले वनकरिया समुदायका लागि तीन महिना मात्रै खान पुग्छ । वनकरिया समुदायको आर्थिक अवस्था सुधार गर्न गाउँपालिकाले वनकरिया होमस्टे सञ्चालन गरिदिएको भएपनि प्रभावकारी बन्न नसकेको पालिकाकी उपाध्यक्ष सीता पुलामीले जानकारी दिए । गाउँपालिकाले लोपोन्मुख वनकरिया जातिको रहनसहन, खानपिन, परम्परा एवं संस्कृतिको प्रचारप्रसार गर्दै उनीहरुको आर्थिकस्तर माथि उकास्न तथा उनीहरुको जीवनशैलीको अवलोकन गर्न चाहने र उनीहरुकै घरमा बास बस्न चाहनेका लागि घरबास सञ्चालन गरे पनि पाहुना नआउँदा यो प्रयास सफल नभएको उनी बताउँछन् । उपाध्यक्ष पुलामीका अनुसार आर्थिक स्तरमा सुधार ल्याउन पालिकाले उनिहरुले नै सुरु गरेको साबुन उत्पादन कार्य प्रबद्र्धनमा सहयोग योजना बनाएको छ । गाउँपालिकाले वनकरिया बस्तीलाई विस्तारै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्दै लैजाने लक्ष्य लिएको छ । वनकरिया बस्तीमा उत्पादन भएको तरकारी, अन्न, फलफूलसँगैको खोलाको माछा, त्यहीको घट्टमा पिसेको पिठोका परिकार प्रवद्र्धन गरिने उनले बताए । रासस
नेपालमा लगानी बढाउन उपसभामुखको आग्रह
काठमाडौं । उपसभामुख इन्दिरा रानाले नेपालमा लगानी बढाउन उद्योगी-व्यवसायीहरुसँग आह्वान गरेकी छन् । बुधबार साँझ काठमाडौंमा रेष्टुरेण्ट एण्ड बार एशोसिएशनको ३४ औं वार्षिक साधारण सभा तथा ११ औं महाधिवेशनको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेकी हुन् । उनले निजी क्षेत्रले नेपालमा कमाएर विदेशमा लगानी गर्ने भन्दा मेरो देश आफैँ बनाउँछु भन्ने नारासहित नेपालमै लगानी गर्न आवश्यक रहेको बताइन् । नेपाली खानेकुराहरुलाई ब्राण्डिङ गरी विश्वमा पुर्याउनसके नेपाली युवाहरुलाई धेरै भन्दा धेरै रोजगारी दिन सकिने बताइन् । होटल तथा रेष्टुरेण्टहरुमा बढी भन्दा बढी अग्र्यानिक खानेकुराको प्रयोग गर्न आग्रह गरिन् । उपसभामुख रानाले निजी क्षेत्रको काम गराइले सरकार पनि बाध्य भएर देश विकासका लागि काम गर्ने हुटहुटी हुनेगरी निजी क्षेत्र देश विकासमा लाग्नुपर्ने आवश्यकता रहेको बताइन् । ‘युवाहरुलाई हामीले नेपाली फुडहरु यहीँ आफैँले गरेर रेष्टुरेण्टक्रै छेउमा फलाएर, देखाएर हामीले अग्र्यानिक प्रयोग गरेका छौँ भन्नेतिर लाग्यौँ भने हामी अग्र्यानिकको लागि रिसोसेर्सका लागि हामी धनी छौँ । वागमतीको गनाइरहेको खोलाहरुलाई बरु हामीले बोरिङ गरेर भएपनि हामीले सुन्दरी जलको पानी कसरी हुन्छ सरकारलाई हुटहुटी लगाएर सरकारसँग सहकार्य गरेर हामी पनि सँगै लाग्छौँ यो देश बनाउन भनेर लाग्नुपर्छ । यहाँ कमाएको पैसा अरु देशमा लगानी गर्ने भन्दा । हामीले हामीसँग भएको श्रोत, साधनको प्रयोग गरी नेपाली उत्पादनहरुलाई ब्राण्डिङ गर्नुपर्छ’, उनले भनिन् । कार्यक्रममा रेष्टुरेण्ट तथा बार एशोसिएशन नेपाल (रेबान) का नवनिर्वाचित अध्यक्ष संघर्ष बिष्टले रेबानको विधान संशोधन गरी रेबानलाई देशभर फैल्याउने योजना रहेको बताए । उनले रेष्टुरेण्ट एण्ड बार एशोसिएशन अहिले ६/७ वटा जिल्लामा मात्रै सिमित रहेको भन्दै देशभर फैल्याउनका लागि नेपाल उद्योग वाणिज्य महासंघ लगायतका संघ संस्थाहरुसँग् सहयोग गर्न आग्रह गरे । उनले रेबान बलियो भए अन्य निजी संघसंस्थाहरु बलियो हुने बताए । ‘विधान संशोधन गरेर अघि बढाउने र रेबानलाई देशभर फैल्याउने हाम्रो योजना छ । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन अहिले ६७ वटा जिल्लामा मात्रै छाैँ । अब हामी चाहन्छाैँ, विधान संशोधन गरेर नेपाल अधिराज्यभर फैल्याउन चाहन्छाैँ । हामी बलियो भयो भने एफएनसिसिआईहरु बलियो हुने हो । हामी एक अर्कासँग मिलेर अघि बढ्नुपर्छ’, उनले भने । उनले नेपाल सम्भावना नै सम्भावना बोकेको देश भएकाले सबैले आफ्नो क्षेत्रबाट सकेको काम गर्नुपर्ने बताए । रेबानको नयाँ कार्यसमितिमा अध्यक्षमा संघर्ष बिष्ट, प्रथम उपाध्यक्षमा नरेशध्वज श्रेष्ठ, क्षेत्रगत उपाध्यक्षमा लक्ष्मण बराल पोखरा, क्षेत्रगत उपाध्यक्षमा नरेश गिरी, सौराह,महासचिवमा शरदकुमार दाहाल, कोषाध्यक्षमा विप्लव भट्ट, सचिवमा सचिन कर्माचार्य, सहकोषाध्यक्षमा उद्धव ढकाल निर्वाचित भएका छन् । कार्यसमिति सदस्यमा अनुपलाल कक्षपती, नृपेश श्रेष्ठ, गुणराज श्रेष्ठ, तैजससुन्दरलाल कक्षपती, रितेश श्रेष्ठ, डोलबहादुर थापा सारु, निःवर्तमान अध्यक्ष अरनिको राजभण्डारी, पदेन सदस्यमा नरेश भट्टराई, ध्रुव गिरी, जितेन्द्रलाल भूमी, अच्युत भट्ट, मनोनित सदस्यमा एकराज अधिकारी र देवेन्द्र गिरी छन् ।