टर्कीको वार्षिक औद्योगिक उत्पादन सूचकांक २ वर्ष यताकै उच्च

काठमाडौं । टर्कीको औद्योगिक उत्पादन सूचकांक फेब्रुअरीमा वार्षिक रूपमा ११.५ प्रतिशतले बढेको छ । जुन विगत दुई वर्षको सबैभन्दा तिब्र वृद्धि हो । गत वर्षको सोही अवधिको तुलनामा खनन तथा उत्खनन सूचकाङ्क १२.८ प्रतिशतले, उत्पादन परिसूचक ११.९ प्रतिशत र विद्युत, ग्यास, स्टीम र वातानुकूलित आपूर्ति सूचकाङ्क ७.७ प्रतिशतले बढेको तथ्याङ्कले प्रमुख क्षेत्रहरूमा उल्लेख्य वृद्धि भएको देखाएको छ । मासिक आधारमा उत्पादन फेब्रुअरीमा ३.२ प्रतिशत बढेको छ । यो मार्च २०२३ पछि सबैभन्दा तिब्र वृद्धि हो । विशिष्ट उपक्षेत्रहरू जाँच्दा खानी र उत्खनन सूचकांक ३.२ प्रतिशतले घटेको देखियो भने उत्पादन र बिजुली, ग्यास, स्टीम र वातानुकुलित आपूर्ति सूचकाङ्क क्रमशः ३.८ प्रतिशत र ०.३ प्रतिशतले बढेको छ ।

एफएनसीसीआईले अर्थतन्त्रको पुनरुत्थानका लागि राजनीतिक सहयोगको आह्वान गर्दै

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसी)ले अर्थतन्त्रको पुनरुत्थानका लागि राजनीतिक सहयोगका लागि आह्वान गर्ने भएको छ । महासंघले आफ्नो ५८ औँ वार्षिक साधारणसभाका अवसरमा यस्तो आह्वान गरिने जनाएको हो । महासंघको वार्षिक साधारणसभा चैत २८ गते हुँदैछ । सभाको उद्घाटन कार्यक्रम बिहान ८ः३० डाकिएको छ। सभामा मुख्य राजनीतिक दलका प्रतिनिधिहरुलाई डाकिएको महासंघले जनाएको छ । महासंघको सभामा मुख्य वक्ताका रुपमा भारत उद्योग परिसंघका अध्यक्ष सञ्जीव पुरी रहेछन् । पुरीको नेतृत्वमा भारतीय लगानीकर्ताहरुको टोली सभामा सहभागी हुनेछन् ।

हेटौँडा सिमेन्टबाट उत्पादन सुरु हुन अझै एक हप्ता लाग्ने

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले सिमेन्टको उत्पादन सुरु गर्न अझै एक हप्ताको समय लाग्ने भएको छ । करिब दुई हप्ताअघि उक्त उद्योगका केही उपकरण बिग्रिएर मर्मत सम्भार गर्न उत्पादन कार्य बन्द गरिएको थियो । अहिले विभिन्न उपकरणको मर्मत सम्भार गरिने भएकाले तत्काल कोइलाको अभावका कारणबाट उद्योग सञ्चालनमा ल्याउन कठिनाइ उत्पन्न भएको छ । सो उद्योगले अहिले रकम जुटाएर कोइला खरिद गर्न बोलपत्र आह्वान गरी थप कोइला ल्याउने कार्य भइरहेको उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले जानकारी दिए । उनका अनुसार उद्योगमा अहिले एक हजार आठ सय मेट्रिकटन कोइला रहेको छ । कोइला पर्याप्त ल्याइसकेपछि आगामी वैशाखको पहिलो हप्ताबाट सिमेन्ट उत्पादन सुरु गर्ने तयारी भइरहेको पनि महाप्रबन्धक पाण्डेले उल्लेख गरे । हाल सो उद्योगलाई आश्यक पर्ने कच्चापदार्थ चुनढुङ्गा धादिङका जोगीमारा, मकवानपुरको भैँसे खानीबाट दैनिक ढुवानी गरी ल्याइरहेको सो उद्योगका नायव महाप्रबन्धक नवीनकुमार कर्णले बताए । अहिले सो उद्योगमा सिमेन्ट प्याकिङको कार्य भइरहेको छ । करिब दुई लाख ७५ हजार बोरा सिमेन्ट काठमाडौं, भैरहवा, काठमाडौं, नेपालगञ्जलगायत विभिन्न सहरमा आपूर्ति गर्ने क्रममा उद्योगबाट कर्मचारी खटाइएको उद्योगका महाप्रबन्धक कर्णले जानकारी दिए । सो उद्योगमा साविक सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको भएता पनि अहिले दैनिक १० हजार बोरा मात्रै उत्पादन रहेको छ । तत्कालीन सरकारले विसं २०३३ वैशाखमा हेटौँडाको लामसुरेस्थित उक्त उद्योगको स्थापना गरिएको थियो । तत्कालीन सरकारको रु एक अर्ब ५० करोडको लगानीमा सो उद्योगको स्थापना गरी विसं २०४३ मङ्सिर २६ गतेबाट व्यावसायिक रुपमा सिमेन्टको उत्पादन गरिएको थियो । रासस