नेपालमा लगानी गर्न अमेरिकी व्यवसायीलाई अध्यक्ष ढकालको आग्रह, लगानी सुरक्षित हुनेमा जोड
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो तीन दशकमा भएको बजार वृद्धि, भारतलगायत विकसित मुलुकमा प्राप्त भन्साररहित पहुँच एवं ऊर्जा खरिदबिक्री सम्झौतालगायतका कारण नेपाल विदेशी लगानीकर्ताका लागि आकर्षक गन्तव्य बन्ने बताएका छन् । अमेरिकाको वासिङ्टनमा युएस चेम्बर अफ कमर्शले आयोजना गरेको कार्यक्रममा नेपाली र विदेशी बजारसमेतलाई हेरेर नेपालमा लगानी गर्न अध्यक्ष ढकालले आग्रह गरे । उनले नेपालमा उत्पादन गरी यहाँको बजारसँगै विश्व बजारमा बिक्री गर्न सकिने सम्भावना तर्फ लगानीकर्ताको ध्यानाकर्षण गराए । यसैगरी, भारतसँग भएको दश हजार मेगावाट बिजुली खरिद सम्झौता र हालै बंगलादेशसँगको समझदारीले जलविद्युतमा अपार सम्भावना देखिएको जानकारी पनि उनले अमेरिकी लगानीकर्ताहरूलाई दिए । नेपालमो प्रकृति र संस्कृतिको मिश्रणले पर्यटकहरूलाई आकर्षित गर्ने बताउँदै पर्यटन पूर्वाधारमा लगानी गर्न पनि अध्यक्ष ढकालले आह्वान गरे । संसारको सबैभन्दा बढी जनसंख्या रहेको भारतीय सीमाबाट औसत दुई घण्टाको दूरीमा शीतल र स्वस्थ वातावरणसहितको हिलस्टेसन विकास गर्न सकिने सम्भावना उनले लगानीकर्ताहरूलाई देखाए । लगानी सहजीकरणका लागि महासंघले एफडीआई हेल्प डेस्क स्थापना गरेको जानकारी दिँदै अध्यक्ष ढकालले आवश्यक सहजीकरण गर्नेबारे लगानीकर्तालाई आश्वस्त पारे । महासंघले एफडीआई हेल्प डेस्कमार्फत सहजीकरण गरिरहेको छ । उनले नेपालमा पर्याप्त विदेशी मुद्राको सञ्चिती रहेको बताउँदै अध्यक्ष ढकालले लगानीको जोखिम न्यून हुँदै गएको बताए । साथै सरकारले कानुन सुधार र द्विपक्षीय लगानी सम्झौताको खाका तयार पारेको पनि उनले जानकारी गराए । अध्यक्ष ढकाल विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुने क्रममा वासिङ्टनमा छन् । यसअघि उनले अन्तर्राष्टिय वित्त निगमका उच्च अधिकारीहरूसँग पनि भेटघाट गरेका छन् ।
विद्युत बक्यौता नतिर्ने तीन दर्जन उद्योगको लाइन काटियाे, आक्रामक बने कुलमान
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत बक्यौता नतिर्ने उद्योगको पुनः लाइन काटेको छ । प्राधिकरणका अनुसार बिहीबार साँझ ८ बजेबाट विभिन्न उद्योगहरूको लाइन काट्न थालिएको हो । हालसम्म अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक, घराना फुड्स, गोयन्का फुड्स, कसमस सिमेन्ट, र बाबा जुट मिलको लाइन काटिएको बुझिएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार साँझ उर्जामन्त्री दीपक खड्कासँग भेटेका थिए । मन्त्रीसँगको भेटपछि उनले आधा दर्जन बढी उद्योगको लाइन काटेका हुन् । बक्यौता नतिर्ने सबै उद्योगको लाइन क्रमश: काट्दै जाने तयारी प्राधिकरणको छ । उद्योगीहरूलाई डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता तिर्न तीन महिनाको समय दिएर लाइन जोडिदिएको थियो । तीन महिनाको अवधि बिहीबार पूरा भएको छ ।
नेपालमा लगानीका लागि विश्व समुदायलाई अध्यक्ष ढकालको आग्रह
वासिङ्टन डिसी । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आएका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपामला प्रत्यक्ष वैदेशिक लगानीका लागि विश्व समुदायलाई आग्रह गरेका छन् । बुधबार यहाँ विभिन्न फोरममा सहभागी भएका साथै पदाधिकारीहरुसँगको भेटघाटका क्रममा उनले नेपालमा हाल लगानीमैत्री वातावरण रहेको तथा वैदेशिक लगानीका लागि आवश्यक पर्ने कानुनहरुमा पनि संशोधन भएकाले लगानीका लागि सो आग्रह गरेका हुन् । अध्यक्ष ढकालले नेपालमा प्रत्यक्ष वैदेशिक लगानीका लागि नेपाल उद्योग वाणिज्य महासङ्घले आवश्यक समन्वय गर्ने पनि उनीहरुलाई आस्वस्त पारे । अन्तर्राष्ट्रिय वित्त निगम आइएफसीका दक्षिण एसिया निर्देशक इमाद फाकुरीसँग उनले बुधबार गरेको भेटवार्तामा अध्यक्ष ढकालले निगमले नेपालको निजी क्षेत्रलाई कसरी सबलीकरण गर्ने भन्ने विषयमा छलफल भएको जानकारी दिए । सो भेटका क्रममा विश्वमा कोरोना महामारी र रुस युक्रेन युद्धपछि देखिएको आर्थिक मन्दीको अवस्था तथा यसले नेपालको अर्थतन्त्रमा पारेको प्रभाव एवं नेपालको अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा पनि कुराकानी भएको बताए । सो भेटपछि राष्ट्रिय समाचार समितिसँग कुरा गर्दै अध्यक्ष ढकालले भेटको अवसरमा निगमका कार्यकारी निर्देशकसँग नेपालको जलविद्युत्, पर्यटन पूर्वाधार तथा सूचना प्रविधिलगायतका क्षेत्रमा निजी क्षेत्रसँगको सहकार्यका विषयमा पनि छलफल भएको जानकारी दिए । नेपालका यी क्षेत्रमा लगानीका लागि आफूले विश्व समुदायलाई आग्रह गरेको उनको भनाइ थियो । सो भेटमा आइएफसीका अधिकारी र महासंघका प्रतिनिधिको पनि सहभागिता रहेको थियो । त्यसैगरी अध्यक्ष ढकालले बुधबार नै ब्रिटिस इन्टरनेशनल इन्भेस्टमेन्टका कार्यकारी निर्देशक समिर अभयङकर र इन्भेस्टमेन्ट निर्देशकसँग पनि भेटवार्ता गरेका थिए । सो भेटका क्रममा पनि उनले नेपालको पर्यटन जलविद्युत् तथा पूर्वाधार निर्माणमा कसरी लगानी अभिवृद्धि गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको बताए । अध्यक्ष ढकालले उनीसँग नेपालमा लगानीका प्रसस्त सम्भावना रहेकाले पर्यटन, जलविद्युत्, सूचना प्रविधि एवं ‘हस्पिटालिटी’ का विविध क्षेत्रमा लगानी गर्न आग्रह पनि गरेका थिए । उनले नेपालमा लगानी सम्मेलन सम्पन्न भएपछि नयाँ नयाँ क्षेत्रमा लगानीका लागि वैदेशिक लगानीकर्ता आकर्षित भएका पनि सो अवसरमा जानकारी दिएका थिए।