युनिलिभरको नाफा साढे ५२ करोड रुपैयाँ, सञ्चित नाफा ५ अर्ब २८ करोड पुग्यो

काठमाडौं । युनिलिभर नेपालले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा ५२ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५५ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा ४.६३ प्रतिशत घटेको देखिन्छ । असोज मसान्तसम्म कम्पनीले २ अर्ब २५ करोड ४५ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । असोजसम्म कम्पनीको अन्य आम्दानी २ करोड ६७ लाख रुपैयाँ रहेको छ भने कुल आम्दानी २ अर्ब २८ करोड १२ लाख रुपैयाँ छ । गत वर्षको सोही अवधिमा कम्पनीको अन्य आम्दानी २ करोड ७९ लाख रुपैयाँ र कुल आम्दानी २ अर्ब ३५ करोड ३० लाख रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीको कस्ट अफ मेट्रियल कन्जम्ड १ अर्ब २ करोड ५१ लाख रुपैयाँ, कर्मचारी खर्च १७ करोड ७७ लाख रुपैयाँ, वित्तीय खर्च ९० लाख रुपैयाँ गरी कुल खर्च १ अर्ब ६३ करोड ७५ लाख रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीको कुल खर्च १ अर्ब ६७ करोड ९७ लाख रुपैयाँ थियो । गत वर्षको तीन महिनामा १२ करोड ८ लाख रुपैयाँ कर खर्च छट्याएको कम्पनीले यसपटक ११ करोड ६८ लाख रुपैयाँ छट्याएको छ । ९ करोड २१ लाख रुपैयाँ पुँजी रहेको कम्पनीको सञ्चित नाफा ५ अर्ब २८ करोड १३ लाख रुपैयाँ रहेको छ । गत वर्ष सञ्चित नाफा ४ अर्ब ८२ करोड १४ लाख रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर आम्दानी ५७२ रुपैयाँ रहेको छ । यस्तै, कम्पनीको मूल्य आम्दानी अनुपात २५० गुणा छ भने प्रतिसेयर नेटवर्थ ५ हजार ३३७ रुपैयाँ रुहेको छ ।

लगानी निरुत्साहित हुने र विकास रोकिने कुनै पनि कार्य नगर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक सम्मृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावी पुस्तालाई समेत गरिबी र अभावको दुष्चक्रमा पार्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले आयोजना गरेको दोस्रो गण्डकी प्रदेश महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले लगानी निरुत्साहित हुने र विकास रोकिने कुनै पनि कार्य नगर्न सबैमा आग्रह गरे । ‘नेपालका कतिपय क्षेत्रमा अझै पनि विकास र लगानीमा अवरोध पुर्‍याउने सोंच हटेको छैन । यस किसिमका अवरोधले लगानीमा मात्र नभई देशको समृद्धि र विकासमा समेत नकारात्मक असर पार्छ,’ अध्यक्ष ढकालले भने । मुलुकमा विशेष गरी धार्मिक र सांस्कृतिक पर्यटन पूर्वाधार विकासको ठूला सम्भावना रहेको बताउँदै ढकालले यसका लागि ठूलो पूँजी आवश्यक पर्ने र त्यसको लागि लगानीको वातावरण बन्नुपर्ने बताए । ‘हामीले चन्द्रागिरि केबलकार बनाउँदा पनि यस्तै प्रतिरोधको सामना गर्नुपरेको थियो । तर अहिले त्यो क्षेत्र समृद्ध छ । स्थानीयले रोजगारी पाएका छन्, मुलुकले एउटा पर्यटकीय गन्तव्य पाएको छ,’ उनले भने । अध्यक्ष ढकालले गण्डकी प्रदेश र गैंडाकोटको विकासको सम्भावनालाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए । उनले गण्डकी प्रदेशको सम्भावनालाई उजागर गर्न निजी क्षेत्र र सरकारले सहकार्य गर्न आवश्यक रहेको समेत बताए । हालै नेपाल चीन कोरोला नाका पुगेर आएको प्रसङ्ग उठाउँदै उनले म्याग्दीदेखि कोरोलासम्मको बाटो स्तरोन्नति गर्ने हो भने कालीगण्डकी कोरिडोरले विश्वका दुई ठूला अर्थतन्त्र जोड्दै नेपालको आर्थिक विकास र सम्मृद्धिमा प्रमुख भूमिका खेल्न सक्ने बताए । आफू महासंघको नेतृत्वमा आइसकेपछि विभिन्न मुलुकमा पुगेर वैदेशिक लगानी भित्र्याउन पहल गरेको बताउँदै अध्यक्ष ढकालले वैदेशिक लगानी भित्र्याउन महासंघले पहल गरिरहेको दावी पनि गरे । उनले प्रदेश सरकार तथा स्थानीय तहका नेतृत्वलाई आफ्नो कार्यकालको मूल्याङ्कन आफूले गरेको कामको नतिजाबाट गर्न आग्रह गरे ।

उद्योगधन्दा बन्द हुने अवस्था आउन दिइन्न : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगधन्दा बन्द हुनेगरी कुनै पनि गतिविधि गर्न नदिइने स्पष्ट पारेका छन् । विराटनगरस्थित होटल ह्यारिसनमा आज पत्रकारसँग कुराकानी गर्दै उनले औद्योगिक क्षेत्र निर्वादरूपमा सञ्चालने हुने विश्वास दिलाए । उद्योगहरूमा काटिएका बिजुली लाइन नजोडिएको सम्बन्धमा पत्रकारहरूले राखेको जिज्ञासामा जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘कुनै पनि हालतमा देश बिगार्न नदिन्न, उद्योगधन्दा निर्वादरूपमा सञ्चालन हुनुपर्छ ।’ प्रदेश सरकारले विकासको कामसँगै सुशासनका क्रियाकलापलाई पनि निरन्तर अगाडि बढाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले संविधान संशोधन संसद्ले गर्ने भएकाले सोहीअनुसार प्रक्रिया सुरु हुने स्पष्ट पारे ।