हेटौंडा सिमेन्ट उद्योगमा सुरक्षाकर्मी भाडा साढे ४ करोड रुपैयाँ

काठमाडौं । हेटौंडा सिमेन्ट उद्योगले ३ वर्षका लागि सुरक्षाकर्मी भाडामा लिने भएको छ । हेटौंडा सिमेन्ट उद्योगले साढे ४ करोड रुपैयाँमा ३ वर्षका लागि सुरक्षाकर्मी भाडामा लिने भएको हो । उद्योगको सुरक्षाको जिम्मेवारी ललितपुरको मानभवनस्थित बज्र सेक्युरिटि सर्भिस प्रालिले पाएको छ । बज्र सेक्युरिटिलाई ३ वर्षका लागि उद्योगको सुरक्षाको जिम्मेवारी दिइएको हो । ३ वर्षसम्म सुरक्षा गरेवापत बज्र सेक्युरिटिलाई उद्योगले ४ करोड ६९ लाख ९२ हजार २४१ रुपैयाँ भुक्तानी गर्नेछ ।

१ करोड बढी लगानीमा बायोप्लान्ट उद्योग सञ्चालन, प्लास्टिक निरुत्साहित गर्ने

काठमाडौं । प्लास्टिक निरुत्साहित गर्ने उद्देश्यले कैलालीको भजनी नगरपालिका-१ मा दुई जना युवाले मष्टा बायोप्लान्ट उद्योग सञ्चालनमा ल्याएका छन् । बजारमा प्रयोग हुने प्लास्टिकको विकल्पमा वातावरणयुक्त झोला उत्पादन गर्न उक्त बायोप्लान्ट उद्योग सञ्चालनमा ल्याइएको हो । भजनी-५ का भीमबहादुर विक र वडा नं १ का करन कार्कीले संयुक्त लगानीमा उद्योग सञ्चालन ल्याएका हुन् । सरकारले प्लास्टिक झोला प्रतिबन्धसम्बन्धी कार्ययोजना २०७८ स्वीकृत गरेसँगै उद्योग सञ्चालनमा ल्याएको भीमबहादुर विकले बताए । बजारमा प्रयोगमा ल्याउने प्लास्टिकले मानवीय तथा वातावरणीय रुपमा प्रतिकूल असर पर्ने भएकाले विकल्पका रुपमा उद्योग सञ्चालनमा ल्याइएको उनको भनाइ छ । १ करोड रुपैयाँभन्दा बढी लगानी गरेर सञ्चालनमा आएको उद्योगले दैनिक सात क्विन्टलसम्म झोला उत्पादन गर्नसक्नेछ । झोला बनाउने उपकरण खरिद गर्न मात्रै रु ८० लाख खर्च भएको विकले जानकारी दिए । ‘आफ्नै क्षेत्रमा केही गर्नुपर्छ भन्ने मानसिकताले समयको आवश्यकताअनुसार उद्योग सञ्चालनमा ल्याएका हौँ, स्थानीय सरकारको साथ सहयोग भयो र प्लास्टिक निषेध गर्न सकियो भने स्थानीयस्तरमा रोजगारी सिर्जनादेखि व्यवसाय चलायमान बन्दै जाने विश्वास गरेका छौँ,’ उनले भने । दुई वर्ष सम्भाव्यता अध्ययन गरेर उद्योग सञ्चालनमा ल्याइएको अर्का सञ्चालक करन कार्कीले बताए । उद्योगको भविष्य स्थानीय सरकार र व्यापारीमा निर्भर रहने उनको भनाइ छ । ‘स्थानीय सरकारले स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर वातावरणमैत्री झोलाको प्रयोगलाई प्रोत्साहन गर्न सक्नुपर्छ । यो अहिलेको आवश्यकता हो भने सरकारले ल्याएको कार्ययोजनाको कार्यान्वयन गर्ने आधार पनि हो, हामीले प्लास्टिकको विकल्पको आधार तयार गरेका छौँ । यसमा व्यापारी र सरकारको साथ चाहिएको छ,’ कार्कीले भने । भारतसँग खुला सिमाना भएकाले प्लास्टिकका झोला सहजै चोरीपैठारीबाट नेपाली बजारमा भित्रने समस्या रहेको बताउँदै कार्कीले सोही कारण बजारीकरणमा चुनौती हुने उल्लेख गरे । प्लास्टिकको झोला बजारमा प्रतिकेजी ३ सय रुपैयाँमा उपलब्ध हुँदा उद्योगले उत्पादन गरेको वातावरणमैत्री झोला प्रतिकेजी ३५० रुपैयाँमा बिक्री गर्नु परिरहेकाले बजारीकरणमा समस्या हुने उनको भनाइ छ । स्थानीय बजारमा उत्पादन भएको झोला खपत नहुँदा धनगढीमा भने राम्रो माग भइरहेको कार्कीले बताए । ‘धनगढीमा प्लास्टिक निषेध गरिएको छ । त्यहाँ हाम्रो उद्योगको झोलाको माग बढिरहेको छ, स्थानीय बजारमा व्यापारी महँगोमा झोला खरिद गर्न चाहिरहनुभएको छैन,’ उनले भने । गत असोज १ गतेदेखि सञ्चालनमा आएको उद्योगले २० जनासम्मलाई रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ । तत्काल नागरिकमा विश्वास दिलाउन नसकिए पनि निकट भविष्यमा आफैँ माग बढेर जाने विश्वास उनीहरुको छ ।

पश्मिनाको कच्चा पदार्थ डोल्पामा स्रोत पहिचान, आयात घटाउने प्रयासमा उद्योगी

काठमाडौं । पश्मिनाको कच्चा पदार्थका रूपमा प्रयोग हुने च्याङ्ग्राको भुवा आयात घटाउन उद्योगीहरूले डोल्पामा स्रोतको पहिचान गरेका छन् । डोल्पाको छार्काताङसेन गाउँपालिकामा पुगेर बिहीबार काठमाडौं फर्किएको नेपाल पश्मिना उद्योग सङ्घको टोलीले म्याग्दीको बेनीमा पत्रकारसँगको भेटघाटका क्रममा त्यहाँ पनि सङ्कलन केन्द्र बनाएर भुवा लैजाने तयारी गरेको जानकारी दिए । सङ्घका अध्यक्ष धनप्रसाद लामिछानेले छार्काताङसेनमा पालिएका च्याङ्ग्राको भुवालाई पश्मिनाको कच्चा पदार्थका रूपमा प्रयोग गर्ने उद्देश्यले स्थलगत भ्रमण, किसानसँग छलफल र नमूना सङ्कलन गरिएको जानकारी दिए । ‘डोल्पामा प्रशस्त च्याङ्ग्रापालन भए पनि बजार नपाउने नभएकाले धेरै किसानले भुवा निकाल्ने गरेका छैनन् । निकालेको भुवा पनि चिनियाँ बजारमा जाने गरेको छ, पछिल्लो तीन वर्षयता मुस्ताङबाट भुवा सङ्कलन गरेर लैजाँदै आएका छौँ । डोल्पाको पनि भुवा थपियो भने कच्चा पदार्थको आयात कम हुन्छ,’ उनले भने । डोल्पामा भुवाको सम्भाव्यता अध्ययनका लागि अध्यक्ष लामिछानेको नेतृत्वमा सङ्घका सचिव गीता श्रेष्ठ, कार्यकारी निर्देशक सृजना भट्ट, सल्लाहकार भीम शेरचन, उद्योगी किन्चु श्रेष्ठ र नेपाल फाइवर प्रोसेसिङ प्रालिका सञ्चालक छिरिङवाङदी गुरुङको टोली छार्का गएको थियो । कात्तिक ८ गते जोमसोमबाट डोल्पा गएको टोलीले छार्काका च्याङ्ग्रा फार्म अवलोकन, भुवाको नमूना सङ्कलन र किसान र जनप्रतिनिधिसँग छलफल गरेर फर्किएको हो । छार्काताङसेन गाउँपालिकाका उपाध्यक्ष कर्मा डुण्ढुकले भुवाको बजार सुनिश्चित गर्न, सङ्कलन गर्ने सीप र प्रविधि सिकाउन र सङ्कलन केन्द्र बनाउन प्रस्ताव गरेका थिए । मुस्ताङ हुँदै छार्का सडक सञ्जालमा जोडिन लागेको र बजार नजिक पर्ने भएकाले भुवा बिक्री गर्न पनि सजिलो हुने उनले बताए । समुद्री सतहबाट पाँच हजार मिटर उचाइमा रहेको छार्काका करिब एक सय घर किसानले ३० हजारभन्दा बढी च्याङ्ग्रा पालेका छन् । वैशाख, जेठ र असार च्याङ्ग्राको शरीरबाट भुवा निकाल्ने याम हो । बजारको सुनिश्चितता नभएकाले भुवा ननिकाल्ने भएकाले च्याङ्ग्राको शरीरबाटै झरेर खेर जाने गरेको छार्काका किसान कुन्साङ नामग्यालले बताउनुभयो । भुवाले बजार पाएमा च्याङ्ग्रापालक किसानले अतिरिक्त आम्दानी गर्न पाउने उनले बताए । भुवाको नमूनाको गुणस्तर परीक्षण गरेपछि उपयुक्त देखिएमा किसानलाई भुवा सङ्कलन गर्ने आधुनिक सीप सिकाउने, प्रविधि हस्तान्तरण गर्ने र सङ्कलन केन्द्र स्थापना गरेर खरिद गरिने सङ्घका सचिव गीता श्रेष्ठले बताए । सङ्घको समन्वयमा मुस्ताङबाट २०७९ मा १ करोड ३४ लाख रुपैयाँ मूल्यको २ हजार किलोग्राम, २०८० मा ९० लाख रुपैयाँको भुवा खरिद भएको थियो । यस वर्ष प्रतिकिलो ४ हजार ५ सय रुपैयाँका दरले १ हजार ६सय किलोग्राम भुवा खरिद गरेर लोमान्थाङको सङ्कलन केन्द्रमा राखिएको छ । च्याङग्राको भुवा पस्मिनाका लागि (क) श्रेणीको कच्चा पदार्थ हो । डोल्पामा चौरीको भुवालाई पनि कच्चा पदार्थका रूपमा प्रयोग गर्न अध्ययन भएको छ । प्राकृतिक रूपमा विरलै उत्पादन हुने च्याङ्ग्राको भुवाबाट मात्रै प्रत्येक वर्ष सानो परिमाणमा उत्पादन गरिने पश्मिनाको व्यावसायिक माग बढ्दो छ । नेपालबाट निर्यात हुने प्रमुख वस्तु पस्मिना बनाउन च्याङ्ग्राको भुवा प्रशोधन गरेर बनाएको धागो कच्चा पदार्थका रूपमा प्रयोग हुन्छ । नेपाल पश्मिना उद्योग सङ्घका अनुसार नेपालबाट वार्षिक ३ अर्ब रुपैयाँको पस्मिना निर्यात हुन्छ भने वार्षिक १९५ टन पस्मिना बनाउन आवश्यक पर्ने भुवाको धागो आयात हुन्छ । विदेशबाट कच्चा पदार्थ आयात घटाउन स्वदेशकै किसानबाट च्याङ्ग्राको भुवा खरिद गर्न थालिएको पश्मिना उद्योगी किच्नु श्रेष्ठले बताए ।