समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग, युवा विदेशिँदा व्यवसाय मारमा

भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै चर्चा हुने गरेको छ । पछिल्लो समय भने दक्ष कालिगड र कच्चापदार्थको अभावमा यो व्यवसाय समस्यामा पर्न थालेको छ । एकातिर दक्ष कालिगडको अभाव, अर्कोतिर सीप सिक्नुपर्ने युवा विदेश पलायन हुँदा त्यसको मार यस व्यवसायमा परेको छ । रोजगारी र पढाइका लागि युवाहरू विदेश जाने क्रम बढेको बताउँदै आरन उद्योगी घनश्याम विश्वकर्माले भने, ‘युवा पलायन र कच्चापदार्थको अभावका कारण पनि खुकुरी बनाउने आरन उद्योगहरूको सङ्ख्या दिनानुदिन घट्दै गइरहेको छ ।’ जिल्ला सदरमुकामका साथै कोट, दलगाउँ, गोगने, खावा, खैराङ, टक्सार, बोखिम, दाँवा, तिम्मा, दिङ्ला, देउराली, जरायोटारलगायत क्षेत्रहरूमा भोजपुरे खुकुरी बनाउने गरिएको छ । कालिगड र वनपैदावर कच्चापदार्थ अभावमा यी क्षेत्रका उद्योगहरूसमेत बन्द हुने अवस्थामा पुगेका छन् । राणाकाल र पञ्चायतकालदेखि नै प्रसिद्ध भोजपुरे खुकुरी जनशक्ति र सल्लाका काठ, कोइला, गोल जस्ता कच्चापदार्थको अभावका कारण उत्पादनमा कमी आउन थालेको उद्यमीहरूको गुनासो छ । रञ्जिता खुकुरी उद्योगका सञ्चालक दिनेश गजमेरले भने, ‘हाल भनेजस्तो दक्ष कालिगड भेटिँदैनन्, काठको त्यस्तै अभाव छ । यसकारण उत्पादन खट्दो छ, माग धान्न सकिएको छैन । कालिगड अभावका कारण महँगो ज्याला दिएर काम गराउनुपर्ने अवस्था छ ।’ भोजपुरे खुकुरी प्रयोग गर्न, सजाउन र कर्मचारीको स्वागतदेखि बिदाइमा समेत बिक्री हुने गरेको उर्मिला आरन उद्योग भोजपुरका सञ्चालक हिरा श्रेष्ठले बताए । भोजपुरमा सिरुपाते, बासँपाते, चित्लाङे, कोथिमुडा, पानवाला, धारखोले, बुदुनालगायतका खुकुरी बनाइन्छ । ‘यहाँ १९६५ सालदेखि नै खुकुरी उत्पादन सुरु गरिएको बताइन्छ । २०२७ तिर तत्कालीन राजा महेन्द्र जिल्ला भ्रमणमा आएका बेला बोखिमका स्थानीय सिंगबहादुर विकले उपहारस्वरूप उहाँलाई खुकुरी दिएको र राजा बक्सिससहित यसको प्रचार भएपछि यहाँको खुकुरी लोकप्रिय हो’, उनले भने । स्थानीय बजारमा प्रतिगोटा खुकुरीको मूल्य ८०० देखि एक हजार ८०० सम्म पर्ने गरेको छ । जिल्लाका ग्रामीण क्षेत्रमा बुदुने र बाँसपाते खुकुरीहरू बढी प्रयोगमा आउने गरेको छ । यहाँको खुकुरी धरान, उदयपुर, खाँदबारी, काठमाडौं हुँदै बाहिरी मुुलुकहरूमा समेत चिनो, उपहार र सजावटका लागि ढुवानी हुने गरेको छ । यसको संरक्षणका लागि सरकारी तवरबाटै पहल गरिनुपर्ने यहाँका व्यवसायीको माग छ । रासस

पछिल्लो समय अर्थतन्त्र लयमा फर्कन थालेको छ : अध्यक्ष ढकाल

काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय अर्थतन्त्र सुधार हुन थालेको बताएका छन् । राजस्व अनुसन्धान विभागले आयोजना गरेको राजस्व चुहावट नियन्त्रयासँग सम्बन्धित नवीन प्रावधानहरू र भीसीटीएसको प्रयोग तथा परिपालनासम्बन्धी आन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो ६ महिनाको मासिक प्रतिवेदनलाई उल्लेख गर्दै अर्थतन्त्र लयमा फर्किन थालेको दाबी गरेका हुन् । अर्थतन्त्रका वाह्य र आन्तरिक क्षेत्रहरू लयमा फर्किएको, आयात र निर्यात वृद्धि भएको, कर्जा विस्तार ५.२ प्रतिशतले वृद्धि, राजस्व १२ प्रतिशतले वृद्धि भइरहेकाले बजार चलायमान भएको उनको भनाइ छ । यो धेरै राम्रो अवस्था नभए पनि सकारात्मक तरिकाले अघि बढ्को अध्यक्ष ढकालले बताए । यस्तै, उनले सरकारले पछिल्लो समय अध्यादेशमार्फत गरेको कानुनी संशाेधनले नीजि क्षेत्रलाई सकारात्मक बल पुगेको बताए । उनले कानुन निर्माणसँगै कार्यन्वयनमा पनि ध्यान दिन सरकारलाई अनुरोध गरे । उनले भने, ‘सरकारले एकैसाथ १२ वटा कानूनलाई अध्यादेशमार्फत संसोधन गरेको छ । त्यो अनुसारको नीति, कार्यविधि बनाएर कार्यन्वयतर्फ अघि बढ्न सरकारलाई अनुरोध गर्दछु ।’ निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्न सकिएन भने रोजगारी र राजस्वमा चाप पर्ने र सग्रह अर्थतन्त्रलार्य नै असर गर्ने अध्यक्ष ढकालकाे भनाइ छ । यसका लागि व्यवसायीमैत्री नीतिमा सरकारले प्राथमिकता दिनुपर्नेमा उनले जाेड दिए । उनले भने, ‘निजी क्षेत्रको लगानीलाई प्रोमोट गर्न सकिएन भने निजी क्षेत्रले व्यवसायी क्रियाकलाप अघि बढाउन सकेन भने त्यसले राेजगारी, राजस्व र पुर्वधार निर्माणमा नकरात्मक असर पुग्छ । त्यसकारण पनि राम्रा कानुनलाई कार्यान्वयन गर्न सरकारले तदारुकता देखाउनु पर्दछ ।’

कोशी प्रदेशमा भइरहेको बन्दले लगानीमैत्री वातावरण बिथोलियो : निजी क्षेत्र

काठमाडौं । नेपालका तीनवटा निजी क्षेत्रका संस्थाहरूले पाथिभरा (मक्कुम्लुङ) क्षेत्रको पर्यटन विकास तथा प्रवर्द्धन गर्न केवलकार निर्माणको परियोजना अघि बढिरहेको सन्दर्भमा यसको विरोध गर्दै भइरहेका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले संयुक्त विज्ञप्ति जारी गर्दै बन्द हडतालका कार्यक्रम तत्काल रोक्न आग्रह गरेका छन्। उनीहरूले परियोजनाको विषयलाई लिएर कोशी प्रदेशका जिल्लाहरूमा भइरहेको बन्द हडतालले त्यहाँको शैक्षिक, आर्थिक तथा सामाजिक जनजीवनसमेत अस्तव्यस्त भएको सर्वसाधारणले सास्ती भोगनु परेको र यस्ता गतिविधिले देशको पूर्वाधार विकासका लागि लगानीमैत्री वातावरण विथोलिने अवस्था सिर्जना हुने बताएका छन् । ’नेपालको समग्र आर्थिक विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको सर्वविदितै छ । उद्योग, व्यापार, बैंकिङ, ऊर्जा, कृषि, पर्यटन, सञ्चारलगायत अन्य विभिन्न पूर्वाधार विकास तथा सेवा क्षेत्रमा निजी क्षेत्रको गरेको लगानीले देशको समृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएकाे छ । तर विकासका कार्य रोक्न भइरहेका पछिल्ला गतिविधिले नेपालमा लगानी गर्ने स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई नकारात्मक सन्देश प्रवाह गर्ने हुनाले सम्बन्धित सरोकारवालाहहरूलाई यस विषयमा गम्भीर बन्न,विकास निर्माणको कार्यलाई सहज र निर्वाध रूपमा सञ्चालन गर्ने वानतावरण सिर्जना गर्न आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ । पर्यटनमा निजी क्षेत्रले अर्बौं रुपैयाँ लगानी गरिसकेको, हजारौं नेपालीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी प्रदान गरिरहेको अवस्थामा पाथिभरा (मक्कुम्लुङ) मा बन्ने पर्यटकीय पूर्वाधारले त्यहाँ जान चाहने वृद्धवृद्धा, अशक्त बालबालिकासहित अन्य यात्रुहरूलाई सुरक्षित, छिटो र सुविधाजनक यात्रा उपलब्ध गराउनुका साथै पूर्वाधार निर्माणले त्यहाँको धार्मिक सांस्कृतिक तथा साहसिक पर्यटन प्रवद्र्धन, कृषि, हस्तकलाको विकासमार्फत व्यवसायको प्रवद्र्धनका साथै स्थानीयका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीका अवसर सिर्जना हुने र देशकै पर्यटन विकासमा सकारात्मक प्रभाव पार्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तै, केवलकार निर्माणका लागि स्थानीय तह र स्थानीय बासिन्दाहरू सहमत रहेको बन्नुपर्छ भन्ने धारणा राखिरहेको सन्दर्भमा केवलकार बन्न दिनु हुँदैन भनेर बाह्य हस्तक्षेपसहित केवलकार निर्माण कार्यमा अवरोध हुनुलाई दुःखद मात्र नभई विकासको प्रवाहलाई रोक्ने प्रयासका रूपमा निजी क्षेत्रले लिएको समेत विज्ञप्तिमा उल्लेख छ । उनीहरूले विकासमा देखिएको यो अवरोध कुनै एउटा परियोजनाको विरोध मात्रै नभएर देशको पूर्वाधार विकासका लागि लगानीमैत्री वातावरण विथोलिने अवस्था सिर्जना हुनुको साथै नेपालमा लगानी गर्ने लगानीकर्ताहरुलाई यसले नकारात्मक सन्देश प्रवाह गर्ने बताएका छन् । यस्तै उनीहरुले समस्याको समाधान वार्ताबाट गर्न सकिने जनाउँदै विकासको यो प्रयासलाई सकारात्मक रूपमा ग्रहण गर्न र पाथिभरा (मक्कुम्लुङ) केवलकार परियोजनालाई सहज र निर्वाध रूपमा अघि बढाउन स्थानीय समुदाय, सम्बन्धित निकाय तथा सरोकारवालाहरूलाई निजी क्षेत्र हार्दिक अपिल गरेका छन् । यसैबीच नेपाल उद्योग वाणिज्य महासंघका कोशी र गण्डकी र कर्णाली प्रदेशका सभापतिरूले पनि आज छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै यस विषयमा महासंघ प्रदेश समितिको ध्यानाकर्षण भएको जनाएका छन् । उनीहरूले कोभिड महामारी लगायतका कारण संकटमा परेको अर्थतन्त्रको विकास गरी पुरानै अवस्थामा ल्याउनका लागि नेपाल सरकार र निजी क्षेत्र लागि परिरहेको अवस्थामा विकासका लागि भइरहेका प्रयासमा अवरोध हट्नु पर्ने धारणा राखेका छन्। ‘राज्यको नियम कानुन तथा प्रणालीले स्वीकृति तथा अनुमति प्रदान गरेर तथा स्थानीय नागरिकको भावना र चाहना बमोजिम नै निर्माणको काम सुरु गर्दैगर्दा उत्पन्न भएको बाह्य परिस्थितिले यो आयोजनालाई जे जसरी अवरोध उत्पन्न गर्न खोजिएको छ ।यसबाट नेपालको आर्थिक विकासका लागि अत्यावश्यक स्वदेशी एवं विदेशी लगानीका क्षेत्रमा पक्कै पनि सकारात्मक सन्देश दिएको छैन,’ जारी विज्ञप्तिमा भनिएको छ । यस्तै, विज्ञप्तिमा देशका कैयौं स्थानमा पर्यटन पूर्वाधारहरुको निर्माण गरी दशौं हजार व्यक्तिलाई रोजगारी प्रदान गरिरहेको तथा राजस्वका माध्यमबाट मुलुकको अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याइरहेको देशको व्यावसायिक ग्रुपको अगुवाइमा निर्माण हुन लागेको केबलकार आयोजनाका विरुद्धमा जेजस्ता क्रियाकलापहरू हाल देखिएका छन् । त्यसले पक्कै पनि देशमा लगानीको वातावरण बनाउने नभएर भत्काउने काम गरिरहेको उल्लेख छ ।