लक्ष्मी स्टील्सले ५३ करोड रुपैयाँको सेयर बेच्दै, १५ दिनभित्र आवेदन दिनुपर्ने
काठमाडौं । लक्ष्मी स्टील्स लिमिटेडले ५३ करोड रुपैयाँको सेयर बिक्रीमा राखेको छ । कम्पनीले प्रतिकित्ता २६५ रुपैयाँका दरले २० लाख कित्ता सेयर बिक्रीमा राखेको हो । जस आधारमा कम्पनीले ५३ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको हो । कम्पनीको गत माघ २८ गते बसेको संचालक समितिको बैठकले चुक्ता हुन बाँकी रहेको २० लाख कित्ता जगेडा सेयर बिक्री गर्न प्रस्ताव गरिएको थियो । उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले १५ दिनभित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ । खरिदका लागि कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–३२, तिनकुने (न्यौपाने टावर)मा आईपुग्ने गरी आवेदन गर्नुपर्नेछ । यदि म्याद भित्र विद्यमान सेयरधनीहरूबाट आवेदन नपरेमा संस्थापकभन्दा बाहिरका व्यक्ती वा संगठीत संस्थालाई उक्त सेयर बिक्री गरिने लक्ष्मी स्टिल्सले जनाएको छ ।
सम्भावनाहरुलाई अवसरमा बदल्न आवश्यक छ: अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका प्रशस्त सम्भावनाहरु रहेको उल्लेख गर्दै ती सम्भावनाहरुलाई अवसरमा बदल्नु पर्ने बताएका छन् । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७२औं स्थापना दिवसको अवसरमा शनिबार बुटवलमा आयोजित कार्यकममा बोल्दै अध्यक्ष ढकालले नेपालमा केही छैन भन्ने गलत भाष्य स्थापित भएको भन्दै त्यसलाई चिर्न आवश्यक रहेको समेत बताएका हुन् । ‘नेपालमा प्राकृतिक स्रोत साधनको प्रचुर सम्भावना छ । हामीले यसलाई ‘क्यापिटलाईज’ गर्नु सक्नु पर्छ । यहाँ भएका स्रोत साधनमा आधारित भएर लगानी गर्ने हो भने उद्यमशिलता पनि विकास हुने र रोजगारी पनि प्रसस्त सिर्जना गर्न सकिन्छ,’ उनले भने । यस्तै अध्यक्ष ढकालले देशको आर्थिक विकासका लागि नीतिगत स्थिरता कायम गर्नु पर्ने र आन्तरिक लगानीलाई प्रोत्साहन गर्नु पर्ने बताए । ‘मुलुकको आर्थिक समृद्धिका लागि नीतिगत स्थिरताका साथै आन्तरिक लगानीलाई प्रोत्साहन गर्नु पर्छ । यसो गर्न सके मात्रै मुलुकमा लगानीको वातावरण सिर्जना, उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न सकिन्छ,’ उनले भने । अध्यक्ष ढकालले नेपाल उद्योग वाणिज्य महासंघले जिल्ला नगर उद्योग वाणिज्य संघहरुको माग अनुसार विधान संशोधन गरिएको बताउँदै विधान संशोधनसंगै जिल्ला नगर उद्योग वाणिज्य संघबाट महासंघमा जानको लागि अवसर सिर्जना गरेको बताए । वि.स. २०१० सालमा स्थापित बुटवल उद्योग वाणिज्य संघ पश्चिम नेपाल कै अग्रणी संस्था भएको उल्लेख गर्दै अध्यक्ष ढकालले बुटबल उद्योग वाणिज्य संघले उद्योगी व्यवसायीहरुको हकहित संरक्षण, सम्बर्द्धनका साथै यस क्षेत्रको शिक्षा, स्वास्थ लगायतका अन्य पूर्वाधारको विकासमा समेत नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकोमा संघको प्रशंशा गरे । कृषि, पर्यटन, उद्योग, व्यापार सबै दृष्टिले रुपन्देही नेपालकै उर्वर भूमी रहेको चर्चा गर्दै अध्यक्ष ढकालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्र ९सेज०, बुटबल अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, भन्सार र पछिल्लो समय निर्माण भएका अन्य भौतिक पूर्वाधारको विकास त्यसका आधारहरु रहेको समेत अध्यक्ष ढकालको भनाइ छ । कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले यस क्षेत्रका उद्योगी व्यवसायीहरुले २००९ सालमा तदर्थ समिति गठन गरी विधिवत रुपमा २०१० साथमा बुटवल उद्योग वाणिज्य संघको स्थापना गरेको जानकारी गराउँदै संघको स्थापनासंगै संघले यस क्षेत्रको आर्थिक, सामाजिक तथा भौतिक विकासमा समेत लगानी सहितको नेतृत्वदायी भूमिका खेल्दै आएको बताए ।
सीएनआई र पीआरआईबीच उद्योग, सेवा सान्दर्भिक अनुसन्धानमा सहकार्य गर्ने समझदारी
काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) र नीति अनुसन्धान प्रतिष्ठान (पीआरआई) बीच नीतिगत विषयमा सहकार्य गर्ने समझदारी भएको छ । नेपाल सरकारलाई नीतिगत विषयमा अनुसन्धान गर्दै सुझाव दिँदै आएको प्रतिष्ठान र उत्पादनमूलक एवं सेवामुलक उद्योगहरुको प्रतिनिधिमूलक संस्था परिसंघबीच उद्योग, सेवा र सम्बद्ध सबै क्षेत्रका सार्वजनिक नीति सान्दर्भिक अनुसन्धानमा सहकार्य गर्ने गरी समझदारी भएको हो ।परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालको उपस्थितिमा बिहीबार परिसंघ सचिवालयमा आयोजित हस्ताक्षर कार्यक्रममा प्रतिष्ठानका तर्फबाट कार्यकारी अध्यक्ष प्राडा लेखनाथ शर्मा र परिसंघकोतर्फबाट महानिर्देशक डा. घनश्याम ओझाले हस्ताक्षर गरे । सो अवसरमा अध्यक्ष अग्रवालले परिसंघले नेपाल सरकारलाई अनुसन्धानमा आधारित रहेर नीतिगत सुझाव दिँदै आएकोमा अब प्रतिष्ठानसँगको समझदारीले सो कार्यलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।उनले प्रतिष्ठान र परिसंघको सहकार्यले सरकारलाई स्पष्ट एवं प्रभावकारी नीतिगत सुझाव दिन सफल हुने र त्यसले समग्र अर्थतन्त्रको विकासलाई सहयोग गर्ने बताए । परिसंघले ‘रिसर्च सेल’ स्थापना गरी कुनै पनि नीतिगत सुझाव दिँदा अनुसन्धानमा आधारित रहेर दिँदै आएको छ । प्रतिष्ठानका कार्यकारी अध्यक्ष शर्माले निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था परिसंघसँगको सहकार्यले विषयगत अनुसन्धानका लागि सहकार्यको संस्कृतिलाई बलियो बनाएको बताए । उनले प्रतिष्ठानले अनुसन्धानमा आधारित रहरै सरकारलाई सुझाव दिँदै आएकाले परिसंघसँगको सहकार्यले यस कार्यलाई थप बलियो एवं प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । सो अवसरमा परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, प्रतिष्ठानका प्रवक्ता डा. दिपक कुमार खड्कालगायत सहभागी थिए ।